२२ मंसिर २०७८ बुधबार
कला

इतिहासको अध्ययन गर्नेलाई कोसेली ‘रुकुमको पत्रकारिता’

रुकुम भन्नेबित्तिकै अझै पनि धेरैको मनमा भौगोलिक विकटता, गरिबी, अभाव, सशस्त्र द्वन्द्वजस्ता कुराको स्मरण हुन्छ।

निश्चय पनि रुकुम यी शब्दसँग परिचित छ। वर्षौं देखिको गरिबी, अभाव हरेक रुकुमेलीले भोग्दै आएका साझा समस्या हुन्। भौगोलिक विकटता त रुकुमको भूबनोटसँग जोडिएकै कुरा भइहाल्यो। पहाडी बस्ती भएकाले एक गाउँबाट अर्को गाउँमा जाँदाको कठिन सबैले भोग्नैपर्छ।  

२०५२ सालमा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेपछि करिब एक दशक आम रुकुमेली द्वन्द्वसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिए भने यही द्वन्द्व रुकुमलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अर्को औजार पनि बन्यो। सशस्त्र द्वन्द्वको सुरुवाती जिल्ला पनि भएकाले यसका फाइदा/बेफाइदामा रुकुमको हिस्सेदारी छँदै छ।

आम सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु, विकास अवरुद्ध हुनु द्वन्द्वका नकारात्मक पक्ष हुन्। चेतना स्तरमा वृद्धि तथा राजनीतिकमा नयाँ पुस्ताको आगमन सकारात्मक पक्ष हुन्।

यस्तो पृष्ठभूमिको जिल्लामा पत्रकारिता, साहित्य जस्ता विशुद्ध बौद्धिक जागरुकता कस्तो थियो होला भन्ने उत्सुकता धेरैलाई हुन सक्छ। अझ सशस्त्र द्वन्द्वको अन्त्य तथा सूचना र प्रविधिको विकासपछि यस्तो चाहना झनै बढ्नु स्वाभाविक हो।

यस्तै चाहना मेटाउने गरी रुकुममा बसेर पत्रकारिता गरिरहेका मेघराज खड्काले ‘रुकुमको पत्रकारिता’ नामक पुस्तक प्रकाशित गरेका छन्। उनले विशुद्ध पत्रकारिताको इतिहास केलाउन खोजे पनि साहित्य, संस्कृति, रहनसहन तथा विकासको प्राचीन अवस्था जान्न खोज्ने बौद्धिक वर्गका लागि यो पुस्तक उपयोगी देखिन्छ।

रुकुमको पत्रकारिताको इतिहास खोजी गर्ने सम्भवतः पहिलो पुस्तक भएकाले समेट्नुपर्ने धेरै विषयवस्तु छुटे पनि इतिहास खोतल्न पहिलो गोरेटो बन्न सफल भएकामा कुनै विवाद छैन।

पुस्तकमा रुकुमको छापा, रेडियो, टेलिभिजन पत्रकारिताको इतिहास खोतल्ने प्रयास गरिएको छ। अप्ठेरो परिस्थितिमा रुकुमलाई कर्मथलो बनाएका पत्रकारको अनभुव समेटिएकाले पुस्तकको ओज निकै बढेको छ।

लेखकले अनुभवद्वारा खारिएका पत्रकारलाई स्थान दिँदा पुस्तकमा प्राथमिक सूचना पर्न सफल भएका छन्। तिनै सूचनालाई द्वितीय रूपमा प्रयोग गरिएको भए सायद पुस्तक त्यति पठनीय नहुन पनि सक्थ्यो।

सशस्त्र द्वन्द्व र अन्य असहज अवस्थामा पत्रकारले रुकुमजस्तो अवसर त्यति धेरै नभएको जिल्लामा बसेर पत्रकारिता गर्नु सानो रुचि र धैर्य होइन भन्ने आम पाठकले बुझ्न उत्तिकै जरुरी रहेका बेला यो पुस्तक उपयोगी छ। विकसित तथा पश्चिमा मुलुकमा भएको भए अप्ठेरो परिस्थितिमा काम गर्ने जोकोही राज्यको नजरमा पर्ने गर्छन्।

तर कामभन्दा चाकडी, चाप्लुसी र नाजायज धन्दा चलाएर फाइदा लिने प्रवृत्ति मौलाएको हाम्रो जस्तो मुलुकमा नीति निर्माण तहमा पुग्ने जो कोहीका लागि लेखकले पुस्तकमार्फत आँखा खोलाउने सचेत प्रयास गरेका छन्।

चाप्लुसी र गलत फाइदामा रुमलिएकाले यो खासै महत्त्व नदिए पनि मनमा कर्मप्रति विश्वास हुनेका लागि यो पुस्तक मार्गनिर्देशक हुनेमा शंका छैन। खासगरी सशस्त्र द्वन्द्वका बेला पत्रकार दोहोरो बन्दुक (सुरक्षाकर्मी र माओवादी) को चपेटामा थिए।

आमसर्वसाधारणलाई समेत द्वन्द्व प्रभावित इलाकामा बस्न कठिन भइरहेका बेला त्यस्ता इलाकामै बसेर सत्य, तथ्य समाचारका लागि खट्नु कम्ती कठिन कार्य होइन। अलिकति तलमाथि भयो भने त्यहाँ पत्रकारिताले दिएको भूलसुधारको सुविधा उपयोग गर्ने छुट पत्रकारलाई थिएन।

त्यही भएरै सशस्त्र द्वन्द्वका बेला सामान्य गल्ती वा गल्ती नहुँदानहुँदै पनि ठूलो संख्याका पत्रकारले ज्यान गुमाउन पुगेका थिए। एकातिर द्वन्द्वरत पक्षबाट जोगिएर सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ पत्रकारिता आर्थिक दृष्टिकोणले आकर्षक पेसा पनि थिएन। पत्रकारिता केवल समाज र देशप्रतिको गर्विलो चाहनाले मात्रै हुने गरेको थियो।

पुस्तकले तिनै देश र समाजप्रति गर्विलो आँट बोकेका पत्रकारको अनुभव समेटेको छ, जुन भावी सन्ततिका लागि मार्गनिर्देशक बन्न सक्छ। अप्ठेरो बेला काम गर्दाको अनुभवबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्छन्। पुस्तकमा लेखकले इतिहास खोतल्न बढी मेहनत गरेका छन्।

सँगसँगै पत्रकारिताको विकासमा समाज र राज्य चुकेका घटनालाई पनि प्रस्तुत गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो। पत्रकारिता भनेको एउटा कुनै जागिरसँग जोडिने वा तुलना गर्ने पेसा होइन। पत्रकारिताले देश र समाजलाई पुर्‍याइरहेको योगदानबारे बुझाउन सक्ने हो भने जागिरसँग तुलना गर्ने प्रवृत्तिलाई कम गरी यो विशिष्टिकृत पेसा हो भनेर बुझाउन सकिन्छ।

त्यस्तै सत्तामा रहँदा होस् वा बाहिर, पत्रकारिताको महत्त्व र योगदानबारे गफ गर्न नथाक्नेले पत्रकारको दयनीय अवस्था हुँदा कस्ता योगदान गरेका थिए? त्यस्ता विषयमा पनि अब प्रश्न गर्नुपर्ने भएको छ। पुस्तकमा यस्ता कुरा पनि उठाउन सकेको भए त्यसले रुकुमको सिंगो पत्रकारितालाई अझ न्याय प्रदान गथ्र्यो। कतिपय व्यक्तिलाई अहिले पनि पत्रकारिता र राजनीति उस्ताउस्तै लाग्छ। त्यही भएर पनि कैयौं व्यक्ति पत्रकारितामार्फत राजनीतिक दलको पृष्ठषपोषण गर्छन्।

पुस्तकमा ‘पार्टीकारिता’ कुनै पनि हालतमा पत्रकारिता होइन र त्यस्ता व्यक्तिलाई पत्रकारको हैसियत दाबी गर्ने हक हुँदैन भन्ने विषय उल्लेख गर्न सकेको भए स्वतन्त्र पत्रकारले गर्व गर्ने अवस्था रहन्थ्यो। किनकि नेपालमा राजनीतिक दलको चाप्लुसी गरेर अवसर लिने र अवसर खुस्किएपछि पत्रकार दाबी गर्ने प्रवृत्ति निकै बढेको छ।

साथै पुस्तकमा उल्लेख गरिएका केही सूचनालाई पुनः परीक्षण गरिएको भए राम्रो हुन्थ्यो। कतिपय कुरा सुनेकै/भनेकै भरमा उल्लेख गरिएको जस्तो देखिन्छ। नेपालमा पत्रकारिता र अन्य पेसाबीचको लक्ष्मण रेखा स्पष्ट रूपले कोरिनुपर्ने अवस्था पनि आइसकेको छ।

प्रकाशित: ६ कार्तिक २०७८ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App