२२ मंसिर २०७८ बुधबार
कला

पुर्ख्याैली संस्कृति खोज्दै म्हपूजा गर्न नेपाल आउने युवाको कथा

‘अब इतिहासको अन्त्य भयो।’ बर्लिन पर्खाल ढलेसँगै अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले गरेको उद्घोष हो यो। यही उद्घोष वाक्यबाट ‘सेप्टेम्बर १७’ उपन्यासको सुरुवात हुन्छ। यही वाक्यको सत्यता जाँच्न उपन्यासको कथाले अमेरिकाका सहर चहार्छ, युद्धग्रस्त इराक पुग्छ, भक्तपुरका गल्ली र गाउँ डुल्छ।

विश्व परिवेशको उपन्यास

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’मा विश्व राजनीतिको सजीव चित्रण गरिएको छ। नेपाली उपन्यास विधा बढीजसो समसामयिक विषयकै वरिपरि घुमेको पाइन्छ। पौराणिक कथा र इतिहासका प्रसंगलाई लिएर पनि थुप्रै उपन्यास लेखिएका छन्।

हिजोआज, बहिष्करणमा परेका भुइँमान्छेको कथा पनि लोकप्रिय विषयवस्तु भएका छन्। योसँगै जसरी अहिले नेपालीहरू विश्वका अनेकौं मुलुकमा फैलिरहेका छन्, त्यसअनुरूप हाम्रो उपन्यासको विषयवस्तु भने विश्व सामाजिक–राजनीतिक परिवेशमा फैलिन नसकेकै हो। यसैको अभावपूर्ति ‘सेप्टेम्बर १७’ उपन्यासले गरेको छ, भलै यो नेपालभाषामा होस्।

पहिचानको रिक्तताबोध

यस उपन्यासको मुख्य पात्र हो, रोमुलस। लेखकले यो नाम युरोपेली मिथकीय पात्रबाट जुराएका छन्। आमा–बुबाको पत्तो नभएको, जंगलमा फेला परेको ई. पू. आठौं शताब्दीको मिथकीय पात्र हो, रोमुलस। ऊ पछि सैनिक भई प्रगति गर्दै गर्दै राजा बनेको थियो। भनिन्छ, रोम सहर उसकै नामबाट बसाइएको हो।

‘सेप्टेम्बर १७’ उपन्यासको मुख्य पात्रको पनि आमा–बुबाको पत्तो हुँदैन। ऊ अमेरिकाको अस्पतालमा जन्मिन्छ, जहाँ ऊ जन्मेको केही समयपछि नै आमाको मृत्यु हुन्छ। बुबा अगाडि देखापर्दैन। रोमुलससित जन्मदाताको चिनोको रूपमा मात्र आमाको नागरिकताको प्रमाणपत्र हुन्छ, तर नेपालीमा लेखिएकाले उसले त्यो के हो भनेर ठम्याउन सक्दैन।

ऊ अनाथालयमा हुर्किन्छ र युवा भएपछि अमेरिकी सेनामा भर्ती हुन्छ। इराक युद्धउप्रान्त लुकेर बसेका सद्दाम हुसेनलाई खोज्ने अमेरिकी योजना ‘अपरेसन रेड डन’ को एउटा सदस्य हुन जान्छ। योजना सफल पनि हुन्छ।

रोमुलससित जीवनमा सबै थोक हुन्छ, भौतिकताका हिसाबले। उसलाई राष्ट्रपतिबाट पाउने सम्मान र पदकले कुरिरहेको हुन्छ। तर, सफलताबीच पनि ऊ आफूलाई खालीखाली महसुस गर्छ। यसको कारण हो, ऊसित पहिचान छैन। उसलाई थाहा छैन, ऊ को हो, ऊ के हो? आफ्नो संस्कृति के हो, इतिहास के हो?

अमेरिकी सेनाभित्र पनि हरेकको आ–आफ्नो सांस्कृतिक ऐतिहासिक पहिचान हुन्छ- कोही ब्राजिलियन मूलका, कोही मेक्सिकन, कोही स्कटिस मूलका। सद्दाम हुसेनलाई पक्रने आफ्नो योजना सफल भएको उपलक्ष्यमा राखिएको समारोहमा हरेकले आ–आफ्ना पुख्र्यौली पहिचानसित जोडिएका गीत, नाच प्रस्तुत गर्छन्।

त्यतिन्जेल रोमुलसले पनि आफ्नी आमा नेपाली भएको तथ्य थाहा पाइसकेको हुन्छ, तर सेनाको तालिम र युद्धमा जानुपर्ने अनिवार्यताले ऊ नेपालसित परिचित हुन पाइरहेको हुँदैन। उसलाई आफ्नो पुर्खाको पहिचान प्रस्तुत गर्ने इच्छा हुन्छ, तर ऊ लाचार भइदिन्छ।

यसैले उसले पहिचानको रिक्तता अनुभव गरिरहेको हुन्छ। साथै, यसले गहिरो मनोवैज्ञानिक असर पनि पारिरहेको हुन्छ। यसैको कारण उसमा निको हुन नसक्ने रोग पलाउँछ र अमेरिकाको अस्पतालले उसको जीवनको अन्तिम मिति तोक्छ- सेप्टेम्बर १७। लेखकले यसै मितिबाट उपन्यासको नाम जुराएका छन्।

पहिचानको खोजमा रोमुलस

डाक्टरबाट मृत्युको मिति घोषणापछि रोमुलस आफ्नो आमाको घर खोज्न हिँड्छ। उसले अमेरिकामा पढिरहेकी नेपाली विद्यार्थीलाई आमाको नागरिकता देखाएर आमाको नाम, ठेगाना पत्ता लगाइसकेको हुन्छ। नागरिकता अनुसार उसकी आमा भक्तपुरको बनमाला परिवारकी छोरी हुन्।

इन्टरनेट सर्चबाट उसले थाहा पाइसकेको हुन्छ, आफू काठमाडौं उपत्यकाको आदिवासी आमाकी छोरा रहेछ! काठमाडौं घुमेर फर्केका व्यक्तिबाट काठमाडौं र भक्तपुरको सांस्कृतिक उत्कृष्टताको बारेमा सुनिसकेको हुन्छ। शोधपत्रहरू पढेर थाहा पाइसकेको हुन्छ कि बनमाला भनेको भक्तपुरको नवदुर्गासित सम्बन्धित परिवार हो।

नवदुर्गाका मुखौटाको चित्रमा उसले आफ्ना दाजुभाइ र मामाहरू देख्छ। तर समय नमिलेर आफ्नो मावली जाने इच्छा पूरा भइरहेको हुँदैन। जब मृत्युको मिति नै तोकिसकेको हुन्छ, ऊ जीवनको एउटै इच्छा पूरा गर्न मावली खोज्दै भक्तपुरका गल्ली र गाउँहरू चहार्न नेपाल आइपुग्छ। यही नै ‘सेप्टेम्बर १७’ को रोचकताले भरिपूर्ण कथा हो।

व्यापकता नै विशेषता

यो उपन्यास उल्लिखित कथामा मात्र सीमित हुँदैन। कथावस्तुको विश्व व्यापकता यसको उल्लेख्य विशेषता हो। यसैले कृतिलाई अहिले प्रकाशित भइरहेका उपन्यासको भीडमा भिन्न र विशिष्ट बनाइदिएको छ। उपन्यासको सुरुवात अमेरिकाको सिकागोबाट हुन्छ।

लेखकले रोमुलसको दीक्षान्त समारोहको बहानामा प्रिन्सटन विश्वविद्यालयको नायस सभाकक्षको भव्यताभित्र पाठकलाई पुर्‍याउँछन्। साथै, प्रिन्सटन सहर अमेरिकी स्वाधीनता संग्रामको एउटा विशिष्ट केन्द्र रहेको र त्यहाँ स्वतन्त्रताका लागि धेरै सहिदको रगत पोखिएको पनि उल्लेख गर्न चुक्दैनन्।

फेब्रुअरी १५, २००३ मा इराक युद्धको विरोधमा न्युयोर्कका सडकमा उर्लेकोे जनसागरको प्रदर्शनको वर्णन भएको परिच्छेद अत्यन्त रोचक र आकर्षक छ। यसैमा आर्क बिसप डेसमन्ड टुटुको ऐतिहासिक भाषण पनि रहेको छ। यसको वर्णन यति जीवन्त छ कि पाठकलाई आफैं पनि प्रदर्शन स्थलमै उपस्थित भएको अनुभूति दिलाउँछ।

वर्णन सीप नै यस उपन्यासको आकर्षण हो, उपन्यासकारको बलियो पक्ष हो। तर जति बाहिरी घटनाको वर्णनमा लेखकको खुबी झल्केको छ, त्यसको ठिक विपरीत पात्रको आन्तरिक मनोविज्ञानको चित्रण कमजोर छ। उपन्यासमा सजीव मनोवाद र चामत्कारिक संवादको कमी धेरथोर खट्किन्छ।

सद्दाम हुसेनको खोजीका लागि ‘अपरेसन रेड डन’मा रोमुलस सहभागी भएसँगै कथाले इराक प्रवेश गर्छ। यही बहानामा इराकको ऐतिहासिक मेसोपोटामिया सभ्यता र बेबिलोन सहरको गौरव उपन्यासको पात्रमार्फत पाठकसम्म पुर्‍याउन लेखक चुक्दैनन्। ‘इराक एक बकपत्र’ र ‘सद्दाम हुसेनको इजलास’ यी दुई परिच्छेदले उपन्यासलाई गम्भीर राजनीतिक चेतनाले भरिपूर्ण बनाइदिएको छ।

इतिहासको पुनर्प्राप्ति र भविष्य

उपन्यासको आखिरी अंश भक्तपुरका गल्ली र गाउँमा आएर टुंगिन्छ। रोमुलस आफ्नो पुख्र्यौली ठाउँसित जोडिन्छ, उसले यहाँको संस्कृति सिक्छ, भाषा सिक्छ। उसले आफूलाई चिन्छ। अनि, म्हपूजामा सरिक हुन्छ। उसकी हजुरआमाले म्हपूजा विधिको मिहीन र गहन विश्लेषण प्रस्तुत गरिरहेकी हुन्छिन्।

‘अब इतिहासको अन्त्य भयो’ भन्ने फुकुयामाको दम्भपूर्ण वाक्यबाट सुरु भएको उपन्यास सो उद्घोषलाई दरो चुनौती दिँदै इतिहासको अन्त्य नभएको र हुन पनि नसक्ने स्पष्ट पार्छ। समग्रमा उपन्यास ठूला शक्तिले बलजफ्ती गर्न खोज्ने सम्मिलीकरण (एसिमिलेसन)को सशक्त विरोध गर्न सफल भएको छ।

अझ नायकलाई आमातिरको संस्कृतिलाई पुख्र्यौली संस्कृतिको रूपमा पछ्याउन लगाउन समर्थ भएबाट उपन्यासलाई प्रगतिशील छलाङ प्रदान गर्न लेखक सफल भएको छ। यो कार्य कुनै अधिकारवादी प्रस्तुतिबिना सहज र स्वाभाविक रूपमा सम्पन्न गर्न सक्नु लेखकको कलात्मक खुबी हो।

निश्चय पनि बच्चाको लागि आमा नै प्रथम हो। भोलि योजनापूर्वक वा दुर्घटनावश बाबुको पहिचान नभएका जन्मिने बालबालिका धेरै हुन सक्नेछन्। तिनीहरूका लागि आमा नै पुर्खा हुने छन् र आमाको इतिहास नै आफ्नो इतिहास हुनेछ। आज जसरी नेपाली विश्वमा फैलिने क्रम जारी छ, त्यसरी नै भोलि ‘रोमुलस’हरू आफ्नो पुख्र्यौली पहिचान खोज्दै नेपाल आउने क्रम पनि बढ्नेछ। त्यसैले यो उपन्यास नेपालीको निकट भविष्यको कथा हो।

प्रकाशित: ६ कार्तिक २०७८ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App