८ वैशाख २०८१ शनिबार
कला

पाल्पाको पीर

कुरा २०६२/६३ सालको जाडो यामको हो। म राष्ट्रिय मानव अधिकार आयोगको आयुक्त थिएँ। बेलुका द्वारिका होटलमा केही विदेशी पर्यवेक्षकको साथमा ‘कृष्णार्पण’ डिनरको स्वाद लिइराखेको थिएँ। शाहीकालको समय थियो।

हामी देशमा मानव अवस्था एवं स्थितिका बारेमा चियोचर्चा गरिराखेका थियौं। विदेशी पर्यवेक्षकहरू तत्कालीन समयमा मानव अधिकारको स्थितिबाट सन्तुष्ट थिएनन्। हुन त हामी पनि कहाँ सन्तुष्ट थियौं र? तर हामी त्यति आक्रामक हुन सकेका थिएनौं, किनभने हाम्रा लागि राज्यपक्ष र विरोधीपक्ष दुइटै समान थियो।

हामी तटस्थ थियौं। हामी कसैको पक्षमा थिएनौं। हामी कसैको बचावमा पनि थिएनौं। हामीलाई हाम्रो सीमा र अधिकार तथा कर्तव्यको पूरा ज्ञान थियो। रात्रिभोज सकेर हामी आ–आफ्नो गन्तव्य भनौं या गुँडतिर लाग्यौं। भोलिपल्ट बिहान नै मलाई पाल्पा माओवादीद्वारा भएको भयंकर आक्रमणको आकलनका लागि अभिभारा दिइएको थियो।

म एकाबिहानै चिया खाएर सडक मार्गबाट पाल्पा जानका लागि प्रस्थान गर्दा सात बजिसकेको थियो। म र एकजना गाडी चालक थियौँ। गाडी संयुक्त राष्ट्रसंघीय आयोजनाबाट प्राप्त थियो।

यस्तो यात्रामा म धेरैजसो उपन्यास विधाको पुस्तक लिएर हिँड्दछु र बाटाभरि पढिरहन्छु। यस्तो यात्रामा कोही पढाइमा बाधा व्यवधान उत्पन्न गर्दैन। राम्रोसित सफर पनि काटिन्छ र पढाइ पनि पूरा हुन्छ। मुग्लिनमा गएर दिउँसोको खाना खाइयो।

बेलुकातिर पोखरा पुग्यौं। पर्यटकीय नगरी पोखरामा प्रथमपल्ट स्तरीय होटलमा बास बस्नेको व्यवस्था गरिएको थियो। प्रेम थापा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक थिए। उनले सम्पूर्ण व्यवस्था गरेका थिए। पोखरामा गएपछि थाहा पाइयो कि पोखरा पाल्पा सडकखण्ड विद्रोही पक्षले बन्द गरेका छन्।

विभिन्न बाधा अड्चन र विरोधको गतिविधि सञ्चालित हुनु स्वाभाविक थियो। त्यो सडकखण्ड बन्द भएपछि आयोगका प्रमुख नयनबहादुर खत्रीज्यूले मलाई निर्देशन दिनु भो कि पोखराबाट फर्केर नारायणघाटको बाटो जानुस् र अर्का आयुक्त सुदीप पाठकज्यू पनि तपाईंको साथमा पाल्पा जानुहुन्छ। मैले त्यस आदेशानुसार नारायणघाट आएर सुदीपज्यूलाई नारायणघाटमा भेटें र सँगै पाल्पाका लागि प्रस्थान गरें। साथमा हुनुहुन्थ्यो आयोगका अधिकृत यज्ञ अधिकारी।

हामी बेलुका पाल्पा पुग्यौं। एउटा होटलमा बास बस्यौं र त्यहाँको वास्तविक स्थिति बुझ्न थाल्यौं। त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई अपहरणकारीले गोप्य स्थानमा लगेर राखेका थिए। त्यहाँ स्थित ब्यारेकबाट धेरै प्रहरीलाई पनि अपहरणको शैलीमा नै गोप्य स्थानमा लगेका थिए। भोलिपल्ट खाजा खाएर सुदीप पाठकज्यू प्रजिअको अत्तोपत्तो अभियानमा लाग्नुभयो र पाल्पाको सदरमुकाम तानसेनबाट टाढाको स्थानसम्म जानुभयो।

मचाहिँ तानसेनस्थित रानीभवनको स्थिति बुझ्नतिर लागें। रानीभवनस्थित कार्यालयहरूको हबिगत हेर्न लायकको थियो। रानीभवनको भवन स्वयं क्षतविक्षत अवस्थामा थियो। वरिपरिका झाडीहरूबाट मानिसहरू लास ल्याएर रानीभवनको प्रांगणमा जम्मा गर्दै थिए। केही युवकको लास पनि थियो त्यसमा, तर कसैले कसैलाई चिन्ने स्थितिमा थिएन।

संयोगवश त्यस दिन सरस्वती पूजाको दिन थियो तर मचाहिँ लासैलासको बीचमा बिन्दास बन्न पुगेको थिएँ। मलाई विरक्तिको अनुभव भइराखेको थियो। लुगा फेर्ने स्थिति पनि थिएन र त्यो सम्भव पनि थिएन। रानीभवनमा माओवादीहरूले खाना खाएको र आफ्ना घाइते साथीहरूको उपचार गरेको केही प्रत्यक्षदर्शी बयान गर्दै थिए।

रानीभवनको प्रांगणबाट बाहिर आउँदा त झन् रगतले लतपतिएको लोमहर्षक दृश्य देखियो। आक्रमणको दोस्रो दिनपछि तानसेनस्थित रानीभवन गोली र बमबारुदको धुँवाले कुइरीमण्डलमा परिणत भएको थियो। कहीँकहीँ फाट्टफुट्ट बम पड्केको आवाजबाट सम्पूर्ण तानसेन आक्रान्त थियो। पूरा जलेका, आधा डढेका सेताकाला कागजका टुक्रा धुवाँसँगै आकाशमा उडिरहेका थिए। आगोले पोलिएका पर्खाल पालैपालो गल्र्याम्मगल्र्याम्म ढलिरहेका थिए।

चारैतिरबाट उडेको धुवाँको मुस्लोले मेरो दुवै आँखा नदेख्ने जस्तो भइराखेको थियो। म त आक्रामणको तेस्रो दिनको दृश्य देखिराखेको थिएँ, जुन कहालीलाग्दो थियो। पहिलो दिन र दोस्रो दिनको दृश्य हेर्नलाई कस्तो हबिगत भएको होला सहजै अनुमान लगाउन सक्दथें। यस्तो हृदयविदारक दृश्य हेरेपछि तानसेनवासीलाई कस्तो आघात खेप्नुपरेको थियो होला।

बाटोभरि गोलीका खोका छरिएका थिए। तराई मधेसमा होलिका दहनपछिको दृश्य मेरो सामुमा थिए। होलिका दहनमा मानिस रमाउँछ तर यहाँको दृश्य विदारक दृश्यमा मानिसको जीवन कति क्षणभंगुर र सस्तो रहेछ, त्यसको आभास भइराखेको थियो।

सत्ताका लागि लडाइँमा कतिपय नौजवानले जीवन न्यौछावर गरेका थिए, त्यसको लेखाजोखा थिएन। म त खाली जलेको भित्तापर्खाल र त्यहाँ जम्मा भएको थुप्रोबाट धुवाँको मुस्लो मात्र देखिराखेको थिएँ। मेरो आँखाको अगाडि श्मशानजस्तो दृश्य उपस्थित थियो। नराम्रो किसिमको गन्ध चारैतिर वातावरणमा व्याप्त थियो, जसको हरक मेरो नाकको प्वालमा पसिराखेको थियो बलात र हठात।

म मृत्युका बारेमा सोच्नका लागिबाध्य भएँ। धेरैजसो विद्वानले मृत्युका बारेमा सोचेर आफ्ना धारणा यसरी व्यक्त गरेका छन्। दार्शनिक कवि खलील जिब्रानको शब्दमा मृत्युको अर्थ यस्तो छ: ‘आखिर मर्नु हो के? हावामा नांगो उभिनु र घाममा पग्लिनु।

सास रुक्नु, बेचैन वेगवती हालहरूबाट मुक्ति पाउनु हो, ताकि त्यो माथि उठोस्, विस्तार पाउन सकोस्। बन्धनरहित भएर असीममा समाउनु। जीवन र मरण अभिन्न छ जस्तो सरिता र सागर।’

कवीरको शब्दमा मृत्युः
‘जिस मरने से जग डरे, मेरे मन आनन्द
कब मरि हौ, कब भेटि हौ पूरन परमानन्द।’
महाकवि जयशंकर प्रसादको शब्दमा मृत्युः
‘बन्धन काट मुरारी तब मृत्यु की चीरनिन्द्रा हिम–सी शीतल लगती हैं।’

प्रसिद्ध कथाकार निर्मल बर्माले यसरी मृत्युलाई बुझेका छन्ः ‘मानिस समयका साथ आफ्नो सबै लगाव र वासनालाई यसरी छाड्दै जानुपर्दछ।

सर्पले आफ्नो काँचुली छोडिदिन्छ, रुख आफ्नो पात र फल खसालिदिन्छ। जहाँ पहिला प्रेमको पीर बस्दै थियो, त्यहाँ सिरिफ खाली गुफा हुनु पर्दछ, जसलाई समय आएपछि सन्न्यासी र जनावर छाडेर गइहाल्छन्। बूढो हुनु बिस्तारै बिस्तारै आफूलाई खाली गर्ने प्रक्रिया होइन।’

प्रकाशित: ६ कार्तिक २०७८ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App