१३ असार २०७९ सोमबार
कला

सम्झौता

कथा

मेरो छेवैको सोफामा जीवन सुतिरहेको थियो। म जति प्रयास गरे पनि निद्रादेवीको काखमा जान सकिरहेकी थिइनँ। चिट्चिट् पसिना आइरहेको थियो। जति पेनकिलर खाँदा पनि मेरो जिउ र खुट्टा दुख्न कम भएको थिएन। म एक किसिमले चिन्तित थिएँ, भोलि मलाई काठमाडौं जानु थियो। हामी एक सामाजिक संस्थाको कार्यक्रमको सिलासिलामा धुलिखेलस्थित एक होटलमा थियौँ।

यस्तो दुर्घटना भयो भनेर अशेषलाई कसरी भन्ने ! अहिलेसम्म बनावटी र झुटो कुरा मैले कहिल्यै गरेकी थिइनँ। मलाई शरीरको पीडा र चिन्ताले एकदमै सताइरहेको थियो। भन्न त मैले जीवनलाई पनि भनेकी थिएँ, तर जीवनले ‘नडराउ सम्झौता, म छँदै छु नि’ भनेको थियो। उसको बोलीले एक किसिमको ढुक्क हुन्थ्यो, फेरि एउटा डरले सताइहाल्थ्यो।

ऊ अझै आनन्दले सुतिरहेको थियो। लाग्थ्यो, उसलाई केही पनि चिन्ता थिएन, मचाहिँ मुटुको धड्कन गनेर बसिरहेको थिएँ। निद्रा कोसौँ टाढा थियो। मेरो मनमा कुरा खेलिरहेको थियो– जीवन के हो ? अनि खुसी के हो ? मानिस आफूले चाहेकोे खुसीका लागि के के मात्र सहन र गर्न तयार हुन्छ !

अस्तिजस्तो लाग्छ, जीवन र मेरो भेटघाट भएको तर ६ वर्ष बितिसकेछ। हामी दुवै जना एउटा सेमिनारका लागि पोखरा गएका थियौँ। पोखरा एयरपोर्टमा आफ्नो सुटकेस उठाउन खोज्दा जुत्ता खै कुन्नि केमा अड्केर म लडेँ, मेरो खुट्टा मर्कियो। 

त्यतिबेला जीवनले आफ्नो पकेटबाट रुमाल झिकेर मेरो खुट्टामा बाँधिदिएको थियो। त्यो क्षण आज पनि सम्झन्छु। एउटा सिनेमाको सुटिङजस्तो दृश्य थियो त्यो। हुन पनि जीवन हिरोभन्दा कुनै कम थिएन। गोरो, अग्लो अनि नीला आँखा भएको ऊ हलिउडको एक्टर ब्राड पिटभन्दा राम्रो लाग्थ्यो, म त आफ्नो दुखाई बिर्सेर उसलाई हेरिरहेकी थिएँ।

‘म्याडम, तपाईं कता जाने हो। कोही लिन आएको छ कि ? हेलो म्याडम !’

उसको आवाजले म झसंग भएँ र बोलेँ, ‘मलाई कोही लिन आएको छैन। फूलबारी होटलमा जाने हो। त्यहीँ मेरो एउटा सानो कार्यक्रम छ।’

‘एए, म पनि त्यहीँ जाने हो। राम्रै भयो। होटलले गाडी पठाइदिएको छ, त्यसैमा सँगै जाउँ। हिँड्न अप्ठेरो भएको छ भने गाडीसम्म मसँगै जाऊँ।’

उसले हात दियो। म पनि उसको हात समाएर गाडीमा गएर बसेँ। उसको साथ मलाई राम्रै लागिरहेको थियो। उसले जे भन्यो, म त्यही मानिरहेकी थिएँ। हामी दुवैजनाको एक आपसमा परिचय पनि भएको थिएन, तर अरूले हेर्दा हामी पुरानै मित्रजस्तै देखिन्थ्यौँ। जीवन र म स्कार्पियोको पछाडि सिटमा सँगै बसेका थियोँ। एयरपोर्टबाट फूलबारी होटल अलि टाढै थियो।

गाडाीमा बस्दा मलाई खुट्टाले अलि गाह्रो पारेको थियो। तर मैले यसो उसो गर्‍यो कि जीवनले सोधिहाल्थ्यो– गाह्रो भयो कि ! मैले ‘केही भएको छैन’ भन्थेँ। गाडी आफ्नो स्पिडमा फूलबारीतिर लागिरहेको थियो। एसओएस बालग्राम वन विज्ञान संस्था हुँदै जाँदै थियौँ। 

हामी एकापसमा कुरा गरिरहेका थिएनौँ। कुरा पनि कसरी गर्ने भर्खरै त भेट भएको थियो। बीचबीचमा जीवन कुरा गर्न खोज्थ्यो, फेरि मेरो अनुहार हेरेर चुप लाग्थ्यो। धेरै समयको मौनतापछि जीवन बोल्यो– बाई द वे म जीवन। अनि म्याडमको नाम ?

अँ साँच्चि हाम्रो परिचय पनि भएको छैन। कस्तो अचम्म परिचयविना नै आत्मीयता बढिसक्यो। म मुसुक्क हाँसेर बोलेँ– जीवन म सम्झौता। कस्तो अचम्म, हामी यति नजिक भइसक्यौँ तर परिचय नै छैन। हामी दुवै हाँस्यौँ। वातावरण एकछिन रमाइलो भयो।

होटल पुग्यौँ, म रिसेप्सनमै सोफामा बसेँ। जीवनले मेरो लगेज रुममा पठाइदियो। अनि मसँगै मेरो कोठामा आयो र भन्यो– म्याडम, सँगै लन्च खाउँला।

मैले भनेँ– भोलि मेरो प्रेजेन्टेसन छ, तयारी पनि गर्नु छ, म रुममै बस्छु। मलाई खट्टाका लागि रेस्ट पनि चाहिएको छ। भोलि कार्यक्रममा भेटोँला।

जीवन गयो। मैले सावर लिएर कोठामेै लन्च मगाएर खाईवरी भोलिको प्रेजेन्टेसनको तयारीमा लागेँ। तर जतिसुकै ध्यान एकाग्र गर्न खोज्दा पनि जीवन मात्रै मनमा आउँथ्यो। उसलाई सम्झँदा मलाई खुसी लागेको थियो। उसले मप्रति गरेको व्यवहार, आफ्नोपना अनि भलादमी कुराकानीबाट म निकै नै प्रभावित भएकी थिएँ। 

भोलि कहिले होला र जीवनसँग भेट होला भन्ने व्यग्र चाहना बढ्न थाल्यो। यो मन पनि अचम्मको हुने रहेछ। कोही मान्छे आफ्नो बन्नलाई धेरै समय लाग्दो रहेनछ। यसो हेर्दा एकै क्षणमा मन परिहाल्दो रहेछ। मलाई मात्र यसो भएको हो कि जीवनको पनि यस्तै अवस्था होला। 

उसको नाम सम्झिँदा पनि मेरो मुख रातो अनि एक किसिमको रमाइलो हुन थाल्यो। जीवनलाई सम्झँदासम्झँदै कुन बेला सुतेँ छु, बिहान एकैचोटि जीवनको कल आउँदा पो उठेँ। जीवनले आत्तिएको स्वरमा भन्यो– के भो तिमीलाई सम्झौता, मैले कतिचोटि फोन गरेँ तिम्रो रुममा। तिमीले रेस्पोन्स नै गरिनौँ। म त आत्तिएँ, तिमीलाई ठीक त छ नि ? प्रश्नै प्रश्न।

मैले भनेँ– कति धेरै प्रश्न एकैचोटि। म ठीक छु। मलाई केही भएको छैन। अलि भुसुक्कै निदाएँछु अब मसँग फोनमै कुरा गरिरहन्छौ कि मलाई तयार हुन पनि दिन्छौ ? मलाई ढिलो भइसक्यो, बरु मिल्छ भने मलाई कफी र स्यान्डविच भनिदेऊ। म एकैचोटि कार्यक्रम हलमै आउँछु।

म तयार हुन लागेँ। आज मलाई आफू राम्रो हुन मन लागेको थियो, जीवनको हेराई मबाट अन्त कतै नजाओस् जस्तो भएको थियो। म प्रायः टमब्वाई भएर हिँड्थेँ। मलाई आफ्नो रहनसहनको कुनै वास्ता थिएन। थियो त केवल करिअरको। तर, मलाई आज एउटा आकर्षक व्यक्तित्व भएर हिँड्न मन लागेको थियो। के मलाई एक झलकमै जीवनसँग माया बस्यो ? यो के भयो मलाई ? हिजोदेखि किन मेरो सोच–विचारमा परिवर्तन आएको छ ! के मान्छे मायामा परेपछि यो सबै परिवर्तन हुन्छ ? न घर परिवार सम्झेकी छु, न बिहानको चिया, जुन मलाई नभई हुँदैनथ्यो। न बाहिर घुमघाममा निस्कन मन भएको छ। पहिलापहिला पोखरा आउँदा  माछापुच्छ्रेलाई मेरो क्यामराले निकै क्याच गर्थ्यो। तर, हिजोदेखि अहिलेसम्म एकचोटि पनि माछापुच्छ्रे सम्झेकी छैन। मलाई आफैँदेखि अचम्म लागिरहेको थियो।

फेरि कोठाको फोन बज्न थाल्यो। फोन नै नउठाई हतारहतार बाहिर निस्केँ। कार्यक्रम सुरु भइसकेको थियो। अर्गनाइजरले स्वागत भाषण दिँदै थिए। म पनि आफ्नो नाम लेखिएको सिटमा गएर बसेँ। साँझ ४ बजेतिर कार्यक्रम सिध्धियो। भोलि काठमाडौं फर्कनु थियो। जीवनसँग भोलि छुट्टिनुपर्छ भन्ने डरले मलाई सताइसकेको थियो। कार्यक्रम कोठाबाट निस्कँदा जीवनले सोध्यो– सम्झौता, तिम्रो के कार्यक्रम छ ? मैले हत्तपत्त भनेँ– केही छैन। खाली छु। अनि, हामी दुवैजना होटलको बगैँचामा बसेर कफीको चुस्की लिँदै केही नबोली बस्यौँ। हामी दुवैलाई कसरी कुरा उठाउने र कुरा गर्नै भन्ने थियो। 

मनले त हामी एकअर्काको एकदमै नजिक भइसकेका थियौँ। जीवनलाई पनि भोलि छुट्टिने डरले सताएको छ जस्तो लाग्थ्यो। फूलबारीको बगैँचा, झन् यसमा पूर्णिमाको जून, साँझ त्यसै त्यसै रोमान्टिक थियो। 

वेटरले केही अर्डर छ भनेर सोध्थ्योे अनि जान्थ्यो। हामी एकअर्काले केही नबोल्दा पनि मनमा शान्ति र आनन्द आइरहेको थियो। लाग्थ्यो, यो समय यहीँ नै स्थिर होस्। हामी यसैगरी बसिराखौँ जस्तो लागेको थियो। तर आफूले सोचेजस्तो कहाँ हुन्थ्यो र ? समय त आफ्नो चालमा दौडिहाल्थ्यो। वेटर आएपछि पो थाहा भयो, रातको १० बजिसकेको रहेछ। अनि हामी उठ्यौँ, भोलि बिहानको नास्ता तल खाने, त्यसपछि एकछिन फेवाताल घुम्दै तालबाराहीको दर्शन गर्ने, र साझँको फ्लाइटमा काठमाडौं फर्कने सल्लाह भयो।

सायद धेरैबेर आफ्नो मनपरेको मान्छेसँग बसेर होला, आज मन शान्त थियो। आफ्नो लुगा प्याकिङ गरेर सुतेँ। भोलिपल्ट बिहानै ब्रेकफास्ट गरेर ताल बाराही दर्शन गर्न गयौँ। बिहानको समय न्यानो घाममा फेवातालको सयर, ओहो कति रमाइलो क्षण लाग्थ्यो। कतै जलकुम्भी फूलेको, रंगीचंगी डुंगा फेवातालमा यता र उता बगिरहेको दृश्यले मेरो मन लुटिरहेको थियो। त्यसमाथि मन परेको मान्छेसँग साथ। जता जाँदा पनि जीवनको हात समाएर हिँड्थेँ। जीवनले बस भन्दा बस्थेँ, उसले जे भन्थ्यो खुरुखुरु त्यही मान्थेँ। लाग्थ्यो, मलाई केही गर्न आउँदैन।

जीवनको साथमा समय बितेको थाहै भएन। हामी सँगै काठमाडौं आयौँ, छुट्टिने बेला उसले ‘सम्झौता, तिम्रो नम्बर देऊ न, म दुई दिनपछि विराटनगर फर्किन्छु। यहाँ बसुन्जेल भेटौँला। अनि, म झसंग भएँ। ऊ विराटनगरको पो रहेछ। मैले उसको बारेमा केही पनि सोधेकी थिइनँ। नम्बर साटासाट गरेर आआफ्नो बाटो लाग्यौँ।

आइतबारदेखि अफिस जानुपर्ने थियो। घर पुगेँ। मामु टिभी हेरेर चिया खाइरहनुभएको थियो। ग्वाम्लाङ्ग मामुलाई अँगालो हालेर काखमा सुत्न मन लागेको थियो। मेरो मनमा धेरै कुरा खेलिरहेका थिए। मामुसँग पनि मनको कुरा बाँड्न सकेकी थिइनँ। म लुपुक्क परेर त्यहीँ सुतेँ। एकछिनसम्म मामुले कपाल चलाएको थाहा थियो, कुन बेला निदाएँ पत्तो नै भएन। 

राति जीवनले म्यासेन्जरमा फोन गरेपछि उठेँ। उसले पोखरामा खिचेका थुप्रै तस्बिर पठाइदिएको थियो। अनि, मेसेज पनि गरेको रहेछ। उसको आमालाई सन्चो नभएर भोलि नै विराटनगर फर्कनुपर्ने भयो। बिहान पशुपति पनि जाने अनि नास्ता पनि सँगै गर्नै भन्ने प्रस्ताव गरेको थियो। मैले पनि हुन्छ भनेर म्यासेज पठाएँ।

भोलिपल्ट बिहान पशुपति र गुह्येश्वरी दर्शन गर्न गयौँ। गुह्येश्वरीको दर्शन गर्दा जीवनले मेरो हात समात्यो, मैले पनि उसको हात छुटाइनँ। हामी दुवैजना एकअर्काको हात समाइसमाई भर्‍याङ चढिरह्यौँ। एक्कासि जीवनले भन्न थाल्यो– सम्झौता, तिमीलाई देखेदेखि मैले आफूले आफैँलाई पूर्ण सम्झेको छु। हुन त दुई दिनको मात्र भेटघाट हो, तर यो दुई दिनमा म हरेक सेकेन्ड खुसीले बाँचे। 

सायद मनपरेको जीवनसाथी पाउन वर्षौं कुर्नुपर्नै होइन रहेछ। दुई दिनमै मैले सबै खुसी पाएँ। म त्यो खुसी त्याग्न चाहान्नँ, तर मेरा केही जिम्मेवारी छन्– बैनीको विवाह, भाइको पढाइ। अनि आमा एक्लै हुनुहुन्छ। बुबा हामी सानै छँदा बित्नुभयो। हाम्रो जिम्मेवारीले गर्दा आमाले ठूलो संघर्ष र दुःख भोग्नुभएको छ। सम्झौता, के तिमीले पनि मलाई मन पराउँछौ ? हतार छैन, सोचेर भन। मैले त खालि आफ्नो मनको कुरा तिमीसँग राखेको।

म एकनाशले सबै कुरा सुनिरहेकी थिएँ। मैले भनेँ– जीवन हिजोदेखि तिमीले जे अनुभव गर्‍यौ, मैले पनि त्यही अनुभव गरेँ। तिम्रो दुई दिनको साथले मैले धेरै कुरा पाएँ। सायद यही नै होला माया। अब त म तिमीबिना अरूलाई कल्पना गर्न पनि सक्दिनँ। 

मेरो मनले तिमीलाई जिन्दगीभर कुर्ने छ। जीवन आज तिमी घर जाँदै छौ। आमालाई राम्ररी औषधि गर। आमाले धेरै दुःख गर्नुभएको छ, तिमीहरूलाई हुर्काउन। अब आफ्नो जन्मदिने आमालाई धेरै सुख देऊ जीवन। तर, मलाई सधैँ फोन गर्नू। मलाई पनि माया गर्न नबिर्स। म तिम्रै मायामा बाँच्न चाहन्छु।

आज जीवन गएको करिब महिना दिन भइसकको थियो। उसको अत्तोपत्तो केही थिएन। म हरेक क्षण उसलाई पर्खेर बसेकी थिएँ। दिनमा कैयौँपटक फोन हेर्थें, म्यासेन्जर हेर्थें। तर उसले सबै डिएक्टिभ गरेको थियो। उसको  पहुँचमा पुग्ने कुनै माध्यम थिएन। 

जीवनलाई दुई दिनमै मनको राजा बनाएकी थिएँ। तर उसको कुनै खबर नपाउँदा छटपटी र पीडाबाहेक केही थिएन। आज त उसको खबर आउला, भोलि त ऊसँग भेट होला भन्थेँ, तर हरेक दिन निराश हुन्थेँ। मलाई कसैसैग बोल्न मन लाग्दैनथ्यो। प्रायः एकान्तमा उसैको कल्पनामा समय बिताउँथेँ म। घर–परिवार सबै अचम्म मान्थे मलाई के भयो भनेर।

योबीचमा धेरै ठाउँबाट विवाहको प्रस्ताव आयो। मैले मानिनँ, अनि एक दिन आमालाई भनेँ– मैले आफ्नो जीवनसाथी चुनिसकेकी छु। म अरूसँग विवाह गरेर उसलाई माया दिनै सक्दिनँ। आमा, मलाई केही समय दिनुस्। आजभोलि भन्दाभन्दै वर्ष दिन बित्यो। जीवनको कुनै खबर आएन। आखिर घर–परिवारको मन राख्न मैले विवाह गर्नैपर्‍यो। 

सबै कुरा बिर्सैर मैले अशेषको घर–परिवारमा खुसी हुन कोसिस गरेँ। सधैँ सबैलाई खुसी राख्ने प्रयास गरेँ। सबै खुसी थिए तर अशेष मबाट टाढा हुन खोज्थ्यो। सधैँ म जति नजिक हुन प्रयास गर्थें। ऊ त्यति टाढा जान्थ्यो। ओछ्यानमा पनि ऊ मलाई ढाड फर्काएर सुत्थ्यो।

मैले धेरै प्रयास गरेँ ऊसँग नजिक हुन तर सकिनँ। उसको के बाध्यता थियो, मैले जान्ने कोसिस पनि गरिनँ। समय बित्दै गइरहेको थियो। बिहान–बेलुका घर–परिवारमा, दिउँसो महिला उत्थान सम्बन्धी काम गर्ने गैरसरकारी संस्थामा काम गर्न जान्थेँ।

एक दिनको कुरा हो, सिभिल मलमा कफी खाइरहेकी थिएँ, जीवन एक्कासि मेरो अगाडि उभियो। मलाई बोल्न मन थिएन। अन्तै फर्कें। मलाई रिस पनि उठेको थियो। मैले बोल्ने प्रयास नै गरिनँ। तर ऊ बोलिरह्यो– सम्झौता, मलाई माफ गर। म तिमीसँग माफी नमागी बाँच्न पनि सक्दिनँ। एक्कासि मेरा धेरै बाध्यता अनि जिम्मेवारी आइलागे, त्यसैले तिमीबाट टाढा भएँ। आमालाई बचाउन सकिनँ, बैनीको विवाह भयो। भाइ कुलतमा फस्यो। यस्तै कारणले गर्दा म टाढा भएँ। तर तिमी मेरो मनबाट कहिले पनि टाढिइनौ। प्लिज मलाई माफ गर।

‘होइन जीवन, तिमी पनि त मेरो मनबाट टाढा भएका छैनौँ। म तिमीलाई आजको दिन पनि उत्तिकै माया गर्छु तर मेरो जिम्मेवारी अलि थपिएको छ। अनि तिमी मात्रै, खै त म्याडम ?

ऊ चारैतिर हेरेर मेरो छेउकै कुर्सीमा बस्यो। हामीले कफी पियौँ।

उसलाई पुनः भेटेदेखि हाम्रो दैनिकीमा केही फरक आयो– घरको काम, अफिस, एकअर्कासँग फोन र घन्टौँ च्याट।  

म खुसी थिएँ। जीवनको स्वर सुन्न पाउँदा पनि मलाई पुग्थ्यो। अशेषले जति तिरस्कार गरे पनि मैले त्यसलाई गम्भीर रूपमा लिन्नँथेँ।  

एउटा कार्यक्रमका लागि धुलिखेल जानुपर्ने भयो। यसबारे मैले जीवनलाई भनेकी थिइनँ। तर, जीवनसँग त्यहीँ भेट भयो। त्यसपछि हामी काभ्रेपलाञ्चोकको दर्शन गर्न गयौँ। मोटरसाइकलले ठक्कर दिएर मेरो खुट्टा फ्याक्चर भयो। पाँच हप्ताका लािग प्लास्टर गरिएको थियो।

सोफामा सुतिरहेको जीवन ब्युँझियो। म कता कता स्मृतिमा हराइरहेकी थिएँ। उसले भन्यो– अब केही खाइवरी काठमाडौं जाऊँ। तिमीलाई म घर पुर्‍याइदिन्छु। तिमीलाई केही नराम्रो त हुन्न ?

हामी काठमाडौं आयौँ। मलाई एकदमै डर लागिरहेको थियो। घरमा अशेषले कुरिरहेको रहेछ। जीवन ट्याक्सीबाट ओर्लियो र अशेषलाई नमस्ते भन्यो। आफ्नो परिचय दिँदै भन्यो– म जीवन। हामी एउटै कार्यक्रममा थियौँ।

जीवन बोलिरहेको थियो, अशेषले वास्तै गरेन। अशेषले मलाई समाएर घरभित्र लिएर गयो। जीवन गेटबाटै फर्कियो।

मैले पाँच हप्ता घरमै बिताउनु थियो। मसँग समय काट्ने कोही थिएन। सबै आ–आफ्नो काममा व्यस्त। जीवन मात्रै थियो, मेरो जीवनमा समय दिने। म त्यसैमा खुसी थिएँ। पछिल्लो भेटपछि पनि जीवनले फोन र म्यासेजमा मलाई ‘आई लभ यु’ भन्थ्यो। म त्यो वाक्यले खुसी हुन्थेँ तर मैले उसलाई माया गर्छु भन्दिनँथेँ।

जीवनको जन्मदिन आयो। फोन गरेर मैले उसलाई जन्मदिनको शुभकामना दिएँ। कुरा हुँदै जाँदा अनयासै ‘आई लभ यु सो मच जीवन’ भन्न पुगेँ। अशेष ढोकामै रहेछ।

‘ओहो अशेष कतिबेर भयो आएको ?’ मैले सोधेँ।

‘म अघि नै आएको, तिमी जीवनसँग फोनमा व्यस्त थियौ,’ उसले यति मात्र भन्यो।

ओहो सबै कुरा सुन्यो, अब के गर्ने ! म रातोपिरो भएँ। अशेषमा भने केही फरक परेकोे थिएन, मेरो र जीवनको सबै कुरा सुनेर पनि।  

मेरो प्लास्टर खोलेको केही दिनमा अशेषले भन्यो– सम्झौता, आज हामी डिनरमा कतै जाउँ है। तिमी राम्री बनेर बस, म लिन आउँछु।

त्यस दिन हाम्रो विवाह भएको पाँचौँ वर्षगाँठ थियो। अशेषले होटलको व्यवस्था गरेर मलाई लिन आयो। होटलको एउटा क्याबिन गुलाफै गुलाफले सिँगारिएको रहेछ।

‘अशेष, कति राम्ररी सजाएको ! खै त कोही छैन अरू, तिमी र म मात्र ?’ मैले सोधेँ।

अशेषले भन्यो– विशेष पाहुना आउँदै छन्।

त्यत्तिकैमा जीवन आयो, वातावरण नै रमाइलो भइरहेको थियो। अशेषले तीनवटा कफी मगायो। कफी पिउँदै अशेष उठ्यो बोल्न थाल्यो– जीवन, सम्झौता, आज म केही कुरा भन्न गइरहेको छु। सबैभन्दा पहिला सम्झौतालाई मनैदेखि धन्यवाद दिन चाहन्छु। आजको दिनसम्म मेरो घर–परिवार र मलाई साथ र सहयोग गरेकामा। उसको युवा मनमा धेरै चाहना थिए होलान्, मैले उसका युवा चाहनालाई ठेस  पुर्‍याएर उसलाई तिरस्कृत गरेँ। ऊप्रति कहिले आकर्षण भइनँ, किनकि समाजमा पुरुषका रूपमा जन्मे पनि पनि एउटी नारी हुँ।

जीवन, तिमीले सम्झौतालाई अपनाऊ। उसलाई दुलही बनाएर लैजाऊ। धेरै माया देऊ। तिम्रै मायाले शक्तिले होला उसले मेरो फ्रस्टेसन, इरिटेसन, मेरो तिरस्कार सहेकी छे। म पनि एउटा नारी हुँ, तर सम्झौताको जस्तो सहनशीलता ममा छैन। त्यसैले आज मैले बोल्नुपर्छ भनेर आफ्नो कमजोरी सबै स्विकार्छु।

यो जीवनमा मैले सम्झौताबाट धेरै कुरा सिकेको छु। त्यसैले आज म सत्य बोल्न तिमीहरूको सामु उभिएको छु। यो कुरा मैले मेरो विवाह अगाडि भन्नुपर्ने थियो।

 मनुष्य जीवन एकैपटक हुन्छ, जस्तो रूपमा जन्मिए पनि हामीले सहर्ष स्विकारेर खुसीसँग जीवनयापन गर्नुपर्दछ। सम्झौता, यति धेरै त्याग नगर, आफ्नो मन मिल्नेसँग जीवनयापन गर। समाजका कारण मैले आफ्नो पहिचान खुलाउन पाइनँ, जसले गर्दा तिमीले अप्ठेरो व्यहोर्नुपर्‍यो, मलाई माफ गर, सम्झौता।  

प्रकाशित: १६ आश्विन २०७८ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App