६ वैशाख २०८१ बिहीबार
कला

अस्ताइन् कमला भासिन

दक्षिण एसियामा नारीवादी आन्दोलनकी प्रतीक मानिने भारतीय अधिकारकर्मी कमला भासिनको निधन भएको छ। लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित उनको दिल्लीमा निधन भएको हो। 

उनी निकट नारीवादी कार्यकर्ता कविता श्रीवास्तवका अनुसार भासिनले जीवनको अन्तिम अवस्थासम्म आफ्ना गीत र कवितालगायतका माध्यमबाट मानिसहरूलाई ऊर्जा दिइरहेको बताएकी थिइन्। ‘जुन महिनामा उनलाई कलेजोमा क्यान्सर भएको थाहा भएको थियो। त्यसको तीन महिनामै उनले हामीलाई छाडेर गइन्। यो सबैभन्दा ठूलो रोग हो,’ कविताले भनिन्।

सन् १९४६ अप्रिल २४ तारिकमा तत्कालीन पञ्जाबको शाहिदानवालीमा जन्मिएकी कमला आफूलाई मध्यरातको बच्चा भन्ने गर्थिन्। चिकित्सक बुबासँग राजस्थान पुगेकी उनले त्यहाँ सामाजिक अवस्था, महिलाको स्थान, अवरोध र चुनौतीलाई नजिकबाट नियालेकी थिइन्। 

राजस्थान युनभिर्सिटीबाट स्नातकोत्तरसम्मको पढाइ गरेकी उनी थप अध्ययनको लागि जर्मन गएकी थिइन्। कमलाले समाजवादी विकासको पढाइ गरेकी थिइन्। उनले राजस्थानमा सेवा मन्दिर संगठनसँग मिलेर जमिनको विषयमा पनि काम गरेकी थिइन्। सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन्।

उनले दक्षिण एसियामा लैगिंक समानता, शिक्षा, गरिबी निवारण र नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। दक्षिण एसियाली देशहरूमा सञ्जाल बनाएर महिला अधिकारको हक हितसम्बन्धी नेटवर्क ‘संगत’की संस्थापक भासिनले त्यस अभियानमा लाग्नुअघि सन् १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनमा काम गरेकी थिइन्। 

कमलाका ‘लाफिङ म्याटर्स’ (२००५), ‘एक्स्प्लोरिङ मस्कुलिनिटी’ (२००४), ‘बोर्डर्स एन्ड बाउन्ड्रिज: वुमन इन इन्डियाज् पार्टिसन’ (१९९८), ‘ह्वाट इज पेट्रियार्क’ र चर्चित कविता ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं (किनकि म छोरी हुँ, मैले पढ्नु छ)’ (१९६५)लगायत प्रकाशित छज्। त्यस्तै भारतको अधिकांश गुञ्जिने ‘आजादी’ (स्वतन्त्रता) को नारालाई भासिनले चर्चित बनाएकी थिइन्।

दुई वर्षअघि काठमाडौं आउँदा कमलाले भनेकी थिइन्, ‘फेमिनिजम् भन्नु पुरुषलाई गाली गर्नु या पुरुषलाई सक्नु होइन, दुवैले पाउने अधिकारको समानता हो, समान अवसर होस् भनी लागि परेको विद्रोहको चित्कार हो। कारण महिला स्वतन्त्र हुनु भनेको पुरुष पनि स्वतन्त्र हुनु हो।’ संसारमा नारीवादी आन्दोलन चलिरहनुको मतलब अझै महिला र पुरुषबीच असमानता कायमै छन् भनेर बुुझ्नुपर्ने धारणा उनको थियो।  

‘नारीवादले पितृसत्ता मात्र नभएर जातिवाद, नश्लवाद तथा यौनिक र अल्पसंख्यकमाथि हुने भेदभावको विरोध गर्छ,’ उनले भनेकी थिइन्, ‘समाजले महिला र पुरुष भनी छुट्याउने संस्कारको सिको साना बालबालिकाहरूले गरेका छन्। महिला र पुरुषको मात्र नभएर अन्य लिंगका मानिसहरूलाई समेत भेदभाव गरिनु गलत हो।समानताको बहस पितृसत्ताको सोच विरुद्ध हो, न कि पितृसत्ताको ठाउँमा मातृसत्ता हुनुपर्‍यो भनेको होइन।’  

उनले ग्रामीणदेखि महानगरीय संस्कृतिमा हुर्किएका महिलालाई एक सूत्रमा बाँध्दै नारीवादी आन्दोनलाई संगठित स्वरूप दिएकी थिइन्। ‘सन् १९७५ मा सुरू भएको नारीवादी आन्दोलनको क्रममा भारतमा विभिन्न बलात्कार मुद्दा, बलात्कार कानुन संशोधन र दाइजो नपाएको निहुँमा हुने हत्याजस्ता मुद्दामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। 

पछिल्लो ४५ वर्षसम्म उनले महिला आन्दोलनको हिस्सा बनेर मानव अधिकारको विषयमा पनि काम गरेकी थिइन्,’ श्रीवास्तवले स्मरण गरेकी थिइन्। उनले महिला उत्थानको लागि भारत, पाकिस्तान, बंगलादेश र नेपालमा अभियान सञ्चालन गरेकी थिइन्।

सन् १९९० को दशकमा नारीवादी आन्दोलनमा महिलाहरूको शोषणविरुद्ध भासिनले आवाज बुलन्द बनाएकी थिइन्। मजदुर, आदिवासी, दलित र समलिंगी महिलाको पक्षमा काम समेत गरेकी थिइन्। सन् १९९१ मा कोलकातास्थित जावेदपुर विश्वविद्यालयमा भासिनको नेतृत्वमा महिलाले ड्रम बजाएर पुरुष सत्ताबाट स्वतन्त्रता माग्दै नारा लगाएका थिए। त्यसपछि उनले नारा र गीतमार्फत दक्षिण एसियामा नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएकी थिइन्।

प्रकाशित: ११ आश्विन २०७८ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App