७ वैशाख २०८१ शुक्रबार
कला

पढ्नै पर्ने व्यक्ति कृतिः साहित्यकार गोविन्दराज भट्टराई

समीक्षा

उद्धव विष्ट चुम्लुङे 

 

प्राडा गोविन्दराज भट्टराई अंग्रेजी र नेपाली दुवै भाषासाहित्यमा गहिरो अध्ययन भएका र दुवै विधामा सशक्त कलम चलाउने समालोचक तथा साहित्यकार मानिन्छन्  डा. कुमारप्रसाद कोइरला र सूर्यप्रसाद लाकेजूबाट सम्पादन गरिएको अनि अक्षरमार्ग पनौती, काभ्रेद्वारा प्रकाशन गरिएको पहिलो संस्करण २०७२ फाल्गुण भएको साहित्यकार गोविन्दराज भट्टराई पुस्तक पहिलो खण्डमा ४९ जना विद्वान साहित्यकारबाट निजका लेखरचना तथा व्यक्तित्व बारेमा उल्लेख गरिएको छ भने खण्ड २ मा गोविन्दराज भट्टराईका केही रचना भनेर २० वटा रचना प्रस्तुत गरिएको पाइन्छ ।अन्त्यमा कृतज्ञता ज्ञापन तीक्ष्ण व्यंग्य र साहित्यिक लाग्दछ। ५७० पेजमा हार्डकभर मूल्य रुं १००० भएको पुस्तकको वितरक ओरिएन्टल प्रकाशन गृह बागबजार रहेको छ।

अक्षर मार्गको विशेष अंकको रूपमा प्रकाशन गर्ने शुरूको उद्देश्य भए पनि प्राडा गोविन्दराज भट्टराईको बहुआयामिक व्यक्तित्व हुनाले धेरै सामग्री संकलन भई डा. कुमारप्रसाद कोइरालाको अथक विद्वत मेहनतका कारण गहकिलो पुस्तक प्रकाशनको महान कार्य सफल भएको देखिन्छ। प्राडा भट्टराईका बारेमा डा. कोइराला लिखित सम्पादकीयमै उल्लिखित शब्दमा भन्नु पर्दा ( स्नातक र स्नातकोत्तर तहका पाठ्यपुस्तक साथै सयौं शोधपत्र लेख्नुभएका, चार उपन्यास, छ निबन्ध, छ समालोचना र एउटा कविता कृति प्रकाशन गरिसक्नुभएका भूमण्डलीय विचार अघि सार्ने भट्टराई एक व्यक्ति नभएर एक संस्थाजस्तै हुनुभएको छ भन्ने उल्लेख हुनुले संकलित सामग्रीहरूबाट छुट्टै पुस्तक प्रकाशन गर्ने निर्णय लिइएको खुलाइएको छ।

प्रकाशकीय लेखमा नै स्पष्ट पाइन्छ, प्राडा भट्टराई नेपाली वाङमयको क्षेत्रमा अनुवाद साहित्यको उन्नतिका लागि एक चित्त भएर लाग्नु भएको, नेपालीहरूको महान धार्मिक ग्रन्थ रामायणलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउने महान कार्यमा उहाँ समर्पित हुनुहुन्छ। एक ठूला साहित्यकारको नाम हो डा. गोविन्दराज भट्टराई शीर्षकको लेखमा प्रोफेसर बालकृष्ण पोखरेलले (जय प्रतिभा, जय सफल सम्पादक। जय कलमप्रति इमानदार लेखक उल्लेख गर्नुभएको पाइन्छ। गोविन्दाय नमोनमः शीर्षकका लेखक नगेन्द्र शर्माले झमक घिमिरेको आत्मकथा जीवन काँडा कि फूलको अंग्रेजी भाषामा अनुवादको अन्तिम परिमार्जन गर्नुभएको उल्लेख गर्दै विपी कोइरालाको हिटलर र यहुदीको अनुवादलाई खार्ने र ताछतुछ पार्ने कामको जिम्मा पनि प्राडा भट्टराईबाटै पूरा हुने विश्वास सहित उनको सिर्जना कर्मको माध्यमबाट नेपाली भाषा साहित्यले नोबेल पुरस्कार चुम्न सकोस् भन्ने शुभकामना राखेको पाइन्छ। एसिया, अमेरिका, युरोप र अफ्रिका महादेशका विभिन्न सम्मेलन तथा कार्यक्रममा तेईस पटक सहभागी रहिसक्नुभएका प्राडा गोविन्दराज भट्टराई बाईस वटा पदक, सम्मानपत्र, पुरस्कार र विभूषणबाट सम्मानित भइसकेको पाइन्छ।

समीक्षक

संघर्षले नै व्यक्तिको जीवन सार्थक बनाउँदछ भन्ने सार्थक उदाहरण र युवा पुस्ताका लागि प्रेरणाको खानी हो यो पुस्तक। विद्यालयमा अध्ययनरत विद्यार्थी उमेरमा यस्ता पुस्तक पढेर बुझ्ने अवसर पाएको जो कोही व्यक्ति भविष्यमा होनाहार व्यक्ति हुन सक्छ। मानिसलाई सम्पत्तिले बनाउने होइन मेहनत र लगावले नै मानव बनाउँदछ भन्ने जिउँदो उदाहरण यस पुस्तकलाई लिन सकिन्छ। विद्यालयहरूमा हप्तामा एक पिरियड यस्ता व्यक्ति, कृतिका बारेमा जानकारी दिलाउन सकेमा पनि हाम्रा विद्यार्थीहरू गरिखाने हुन मद्दत मिल्ने थियो भन्ने लाग्दछ।

पिता पं. टेकनाथ भट्टराई, माता मन्दोदराबाट पाँचथर जिल्लाको फलैंचा गाविस वडा – १ च्याङ्थापुमा २०१० श्रावण १२ गते जन्मनुभएका गोविन्दराज भट्टराईका सात दाजुभाइ र पाँच दिदीबहिनी गरी १२ सन्तान उल्लेख गरिएका छन्। ताप्लेजुङ जिल्लाको फावाखोला ओसे निरन्तर आवागमन भएको दुई वर्ष बिताएको। हाङदेवा, मिडिल स्कुल पूरा गरेको च्याङथापु पाँचथरमा माध्यमिक शिक्षा अध्ययन र २०२६ सालमा झापा जिल्लाको हालको आदर्श विद्यामन्दिर मावि घैलाडुव्वाबाट एसएलसी उत्तीर्ण गर्नुभएका भट्टराई यसपछि भुटान पुगेर डेढ वर्ष पढाएर केही कमाएर बनारसमा आइए अध्ययन गर्न जानुभएको उल्लेख गर्नुभएको पाइन्छ। वनारसको अध्ययनपश्चात मोरङको उर्लाबारी, झापाको दमक जस्ता स्थानमा अध्यापन गराउँदै सरकारी अध्ययन  बिदा र निजी  अध्ययनबाट  बीएड, एमए र एमएड उत्तीर्ण भएपछि दमक क्याम्पस हुँदै २०३८ सालदेखि धनकुटा बहुमुखी क्याम्पसमा अध्यापन।  २०३८ साल फाल्गुणमा धनकुटा  कचिडेकी  अञ्जना वस्तीसँग विवाह। त्यस समय अञ्जना त्रिविवि काठमाडौंमा अंग्रेजी विषयमा एमए अध्ययन गर्दै हुनुहुन्थ्यो। २०४८ सालमा काठमाडौं सरुवा हुनुभएर २०५१ देखि पाँच वर्ष पीएचडी अध्ययनका लागि भारतको हैदरवाद विश्वविद्यालयमा दुवै जना जानुभयो। दुई छोरी सेवा र श्रृचा पनि साथै गए। यही अध्ययनले दुवै श्रीमानश्रीमतीलाई पीएचडी डा. उपाधि प्राप्त भयो भने दुवै प्राध्यापक पनि हुनुभयो। हाल दुवै छोरी पनि जागिरे।

पानीले धक्का दिइरहेको ढुङ्गा मात्र चिल्लो हुनसक्छ भनेझैं विभिन्न स्थानमा सर्दै निरन्तर मेहनत गरिरहेको मानिस मात्र सफल हुन सक्छ भन्ने ज्वलन्त उदाहरण मानिनुहुन्छ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई। सर्वसाधरण नेपालीका छोराछोरीले आफैंले मेहनत गरेर जहाँसम्म पुग्न सक्ने ठाउँ हो त्यहाँसम्म भट्टराई दम्पती पुग्न सफल भएको देखिन्छ। कतिपय मानिस आफू सफल हुन नसकेकामा आमाबाबालाई दोष लगाउने, सम्पत्ति नभएकाले गर्न नसकेको भन्नेहरू र अझ भनौं वाहाना बनाउनेहरूको हाम्रा समाजमा कमी छैन। ती सबैका मुखमा बुझो खाँदिदिने जीवनी र मेहनतको प्रस्तुति यस पुस्तकलाई लिनुपर्दछ।

झापाबासी साहित्यकार तेराखले लेख्नु भएको शब्‍द सापटी लिएर भन्नु पर्दा रुटलेस जीवनी हो प्राडा गोविन्दराज भट्टराईको जीवनी। जसको जरो एकै ठाउँमा गाडिएको छैन। बरु ताप्लेजुङ, पाँचथर, भुटान, बनारस, मोरङ, झापा, दमक, धनकुटा, काठमाडौं, हैदरावाद, कीर्तिपुर हुँदै संसारका विभिन्न मुलुकका विभिन्न स्थान टेक्दै फर्कदै गरेको पाइन्छ। नेपाली साहित्यमा प्रकाशित विभिन्न विधाका कृतिहरूलाई अंग्रेजीमा उल्था गरेर विश्वसाहित्यमा नेपाली साहित्यलाई चिनाउनुपर्छ भन्ने महान उद्देश्यका साथ विभिन्न कृति उल्था गरिसक्नु भएका भट्टराईको उद्देश्य पूरा हुन सकोस्, आफू मात्र नभएर अरूलाई पनि साहित्यिक लेखरचनाका लागि उत्प्रेरणा दिइरहनुहुने भट्टराई अंग्रेजी भाषाका प्रकाण्ड विद्वान र नेपाली भाषा साहित्य, समालोचना लगायत विविध विधाका कर्मठ व्यक्तित्वको कलम अविरल बग्छ इन्द्रावतीझैं सलललल बगिरहोस्, बगिरहोस् हार्दिक नमन गर्दछु। सूर्यप्रसाद लाकोजूका शब्दबाटै प्राडा  गोविन्दराज भट्टराईलाई चिनाउनु पर्दा –

उनी विचारको क्यानभासमा

अक्षरका कला पोख्छन्

उनका कला

उपन्यास भएर फुल्छन्

कविता भएर फक्रन्छन्

निबन्ध भएर उठ्छन्

समालोचना भएर उभिन्छन्

अक्षर भूमिका यी कर्म योद्धा  

जोसँग कहिल्यै नसकिने

ज्ञानको हिमाल छ।

यस्ता साधक विद्वानको सुस्वास्थ्य, प्रेममय दीर्घ जीवनको कामना गर्दै यस महान कार्यमा संलग्न सबैमा कुइन्टल, कुइन्टल नमन व्यक्त गर्दछु।

प्रकाशित: ९ आश्विन २०७८ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App