coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कला अवधारणा

अहिले आर्ट काउन्सिलको भित्तामा एउटै कलाकारका दुईवटा अजीवका चित्र झुन्डिएका छन्। दुवै एकैजसो लाग्ने चित्र एउटा सन् २०२० र अर्को २०२१ मा बनेका हुन्। हेर्दा दुईवटा देखिए पनि मूलतः गोटा गन्तीले हेर्दा आठवटा चित्र छन्। एउटामा चारवटा चित्र छन् तर झट्ट हेर्दा एउटैजस्तो देखिन्छ। दुवैको पृष्ठभूमिको रङलाई र मोटिफलाई याद नगर्ने हो भने यी दुवै पनि एउटै लाग्छन्। मूलतः चारवटा चित्रलाई मिलाएर कलाकारले एउटा चित्र बनाएका छन्। समग्रमा भन्नुपर्दा एउटै चित्र अनि आठवटा चित्रलाई कलाकारले प्रस्तुतिमा एउटा भ्रम (दृष्टि भ्रम) पनि फालेको देखिन्छ। यो चित्रका चित्रकार मुकेश श्रेष्ठ हुन् ।

अप आर्ट

विश्वमा सन् १९७० को दशकमा कलामा एक अचम्मको मुभमेन्ट आएको थियो। यस वेला कला अभिव्यक्ति र अभिव्यञ्जनाको मात्र माध्यम हो भन्ने पुरानो विचारबाट बाहिर आउने प्रयास हुँदै थियो। यस वेला कलाको इतिहासमा बाह्य स्वरूपको परिवर्तनसँगै शैली, लक्षण, कला–संयोजन र मोटिफको खोजीमा सर्जकबीच होडबाजी भएको देखिन्थ्यो। कलाको दर्शन, समूहको प्रस्तुति र कलामा ‘सिग्नेचर’को बिगबिगी बढेको देखिन्थ्यो। यी सन्दर्भ चुरोमा पुगेपछि कलाकार विचार वा अवधारणामा उत्रन खोेजेका देखिन्छन्। 

यसपछि कलालाई एउटा माध्यम बनाएर समसामयिक अवस्था माथिको आफ्नो विचारलाई कलाकारले पस्कने जमर्को गरे। यसबाट पनि थोरै अलग्गै क्षेत्रमा फड्को मार्ने क्रममा कलाकारबाट भ्रम सिर्जना गर्ने कलाको विकास भएको थियो। यसका लागि आफ्नो कलालाई अनि आफूलाई अरूभन्दा पृथक् देखाउन कलाकारले अनेकौँ प्रयोग गर्ने थालेको देखिन्छ।

पृथक् देखिने चित्रमा विचार, मानिसको मनोभाव, समाजका कुरा आदि भने पाइँदैनथ्यो। अथवा, यी सन्दर्भसँग यी कलाकारको चासो रहेको देखिएन। चलायमान (जीवन्त) जस्तो देखिने आँखालाई तिरिमिरी पार्ने आदि किसिमका कलालाई ‘अप आर्ट’ भनिन्थ्यो। यसको मुख्य उद्देश्य भनेको ‘अप्टिकल इल्युजन’ मात्र थियो।

विशेषतः कालो, सेतो रङ बढी मात्रामा प्रयोग हुने यस्ता कलामा गति, लुकेका रूप र कम्पन हुने गर्दथ्यो। कम्पन यसको स्वभाव हुँदा वास्तविक रूप बिलाउँदै र झुल्कँदै गरेको देखिनु नै ‘दृष्टि भ्रम’को द्योतक बन्न जान्थ्यो। रूपलाई बंग्याएर विकृत पार्दै लाने स्वभावमा यस्तो कलाको निर्माण हुन्थ्यो। यस्ता चित्र हेरिरहँदा आफैँ चलायमान हुँदै के के जाति देखिँदै जाँदा भावकमा यसले दृष्टि भ्रम पैदा गरिदिन्थ्यो। भावकले रमाइलो मानून्, अचम्ममा परून्, मिथ्या ठानून्, झुक्काएको ठानून् वा वास्तविक ठानून्– भावकमा यस्तै मनोभाव ल्याउनु नै कलाकारको लक्ष्य हुन्थ्यो।

दूरान्तरभेद (दृश्यचित्रलाई रेखा र रङबाट ठाडो र नजिक देखाउने टेक्निक) शाश्वत सत्यता होइन। जुन दृश्य हेर्दा तेस्रो आयामिक देखिन्छ, तर छामी हेर्दा भने यो दोस्रो आयामिक रूप (धरातल) मै बनेको देखिन्छ। यसलाई दृष्टि भ्रम नै भन्ने गरिन्छ। कालान्तरमा यसैको विकसित रूप ‘अप आर्ट’ हुन सक्छ। अहिलेका कलाकारले यसैलाई आधार मानी दृष्टि भ्रमको परिकल्पनालाई सिर्जनामा मात्र सीमित नराखी कलाको प्रस्तुति वा प्रदर्शनमा यो अवधारणालाई प्रयोग गर्न थालेको देखिन्छ।

सन् १९३८ मा भिक्टर भासार्लीको ‘जेब्रा’ नामक चित्रबाट यो कलाले गति लिएको मानिन्छ। यो कलालाई स्रोतका रूपमा बाउहाउस कला आन्दोलनलाई लिने गरिन्छ। जर्मनको आर्ट स्कुल बाउहाउसले सन् १९१९ देखि १९३३ सम्म क्राफ्ट र फाइन आर्टलाई सँगै जोडेर कला बनाउने अप्रोच विकास गरेका थिए। पछि यो कलाको स्कुल डिजाइनका लागि प्रख्यात भयो। 

जसमा एउटा कलाकारको आर्टिस्टिक प्रोडक्सन (कलाकारको नितान्त आफ्नो भिजन)ले मास प्रोडक्सनलाई प्रभावपूर्ण गुणस्तर बनाउँछ भन्ने सिद्धान्त थियो। कलाकारको सिर्जना (डिजाइन)ले मासलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्दा यसको प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव समाजमा पर्छ, यसबाटै समाज अधोगति वा उन्नतितर्फ जाने हो, यसैमा निर्भर हुन्छ भन्ने जस्ता अवधारणा विकास भएका थिए। आज यसै अवधारणामा विज्ञापनको नाममा देखिने अनेकौँ कलाकारका सिर्जनाले बजारलाई आफ्नो मुठीमा कसेको देखिन्छ।  

समाजमा मास कम्युनिकेसनले प्रभावपूर्ण भूमिका लिन थालेपछि व्यक्ति विशेषको अवधारणा, विचार र सन्देशलाई कसरी, कस्तो कलाको सिर्जना गरी (डिजाइन गर्ने प्रक्रियामा) यसैको हजारौँप्रति बनाएर हजारौँ भावकमा यसलाई संप्रेषण गर्न सकिन्छ भन्ने अवधारणा बढ्नुमा यो बाउहाउसको अवधारणालाई मूल स्रोतको रूपमा लिने गरिन्छ। 

जहाँ एस्थेटिक्सको सुगन्ध (लालित्य) पनि हुन्थ्यो र हरेक व्यक्ति विशेषको दैनिक कार्य पनि यसैमा समावेश भएर आएको देखिन्थ्यो। यही कलात्मक भ्रमबाट उपभोक्ता आकर्षित हुँदा कलाको व्यापार व्यवसाय फस्टाएको देखिन्छ। व्यापारमा अति उच्च स्तरको सफलता प्राप्त भएको हुँदा बाउहाउसको यो अप्रोच सवत्र्र फैलिएको थियो। यही कलात्मक भ्रम जताततै प्रचलनमा आई अहिले सिर्जनशील कलामा पनि देखापरेको छ। यही क्राफ्ट र फाइन आर्टको कोल्याबोरेटिभ फर्म नै पछिल्लो कालमा आएर पप आर्टका लागि आधारभूमि बन्यो। यस्तो कला प्रवृत्ति सीमाहीन बन्दै व्यावसायिक, सिर्जनशीलभन्दा पर गएर व्यक्ति, समूहगत, समग्र समुदाय आदि हुँदै उत्तरआधुनिक कलाका कैयौँ हाँगाबिँगा विकसित भएको देखिन्छ।

दृष्टि भ्रम

मुकेशको माथि उल्लेख गरिएको कला अप आर्ट त होइन, तर भावकमा अप आर्टको दृष्टि भ्रम दिने पक्षलाई यसले च्यापेको अनुभव गर्न सकिन्छ। अहिले नेपालमा पनि विश्वमा स्थापित भइसकेका कलाका कैयौँ अत्याधुनिक मान्यता, तौरतरिका, प्रस्तुतिका अप्रोच र प्रयोगलाई समग्रमा ल्याउने कोसिस गरेको देखिन्छ। मुकेशको यो काम पनि यसभन्दा टाढा छैन। दुईवटा, चारवटा वा यसभन्दा पनि धेरै चित्रलाई टुक्रामा विभक्त गरी यी सबैलाई एउटैजस्तो देखाउने (भ्रम सिर्जना गर्ने) गरी भित्तामा थोरै दूरीमा प्रदर्शन गर्ने चलन छ। 

कसैले साना क्यानभासलाई टेढोमेढो रूपमा, कसैले चतुर्भुज र कसैले त्रिकोणाकार रूपमा पनि यस्ता चित्र बनाएर प्रस्तुत गर्छन्। भित्ता र भुइँको सहारामा एकमुष्ठ प्रस्तुति गर्दा यो एक अलौकिक रूपमा दृश्यावलोकन हुन जान्छ। तथापि यो नेपालमा नितान्त नौलो होइन। यस्तो प्रदर्शन गर्ने तरिका नेपालमा छिरेको धेरै भइसक्यो।

एउटै काम ठूलो बनाउन र कहीँ पठाउन गाह्रो हुने भएपछि एउटै विषयलाई स–साना क्यानभासमा बनाई मिलाएर भित्तामा झुन्ड्याउँदा एउटै ठूलो चित्र देखिने भ्रम सञ्चारित हुन्छ। थाहा पाएर वा अनायसै हुन गएको यो प्रस्तुतिमा नौलो अवधारणा पस्न गएको धेरैलाई हेक्का नभएको हुन सक्छ। 

कला सिर्जना गर्दा नौलो प्रयोग गर्ने, यसपछि त्यसैलाई प्रदर्शन वा प्रस्तुत गर्दा अर्कै प्रयोग गर्ने, यही चित्रबारे औपचारिक कार्यक्रम गर्दा नयाँ प्रयोग गर्ने प्रचलन उत्तरआधुनिक कलाको मूल विशेषता हो। जुन अहिले पश्चिममा समसामयिक कलाको नाममा बढी चिनिन्छ। नेपालमा भने अघिल्लो दुई पक्षलाई बढी प्रयोग गरिए पनि तेस्रो पक्षलाई कम प्रयोग गरिएको देखिएको छ। कला प्रदर्शनीको औपचारिक कार्यक्रममा यस्ता नौलो प्रयोग एकताका खुबै गरिएको भए पनि पनि हिजोआज यी कुरा सेलाउँदै गएको छ।

जिरो ग्राभिटी

मूलतः मुकेशको यो काम एउटा कन्सेप्चुअल र पप कलाको उत्कृष्ट नमुना हो। युवा कलाकारमध्ये राम्रो शिल्प दक्षता र रचना क्षमता भएका मुकेश बनारसबाट कलामा स्नातकोत्तर हुन्। केही वर्ष उनले टियुमा स्नातकोत्तरका कलाका विद्यार्थीलाई प्राध्यापन गर्थे। बनारस जानुअघि नै उनले रेखा र रङमा राम्रो पकड बनाइसकेका थिए। 

बनारसबाट फर्केपछि उनको सोच र कलाको प्रस्तुति फरक ढंगबाट देखिन आएको हो। अहिले उनको प्रदर्शित काम जिरो ग्राभिटी सिरिज अनुसार ‘बेगर्स विथ ब गोल्डेन बोउल’ नामकरणका साथ आएको छ। जुन मूलतः राजनीतिक मुद्दामा आधारित छ। 

उनको दुईवटा काममध्ये एउटामा उप विषयको रूपमा ‘मेल अन्डरवेयर’ (पुरुष भित्री वस्त्र) र अर्को ‘गोल्डेन बोउल’ (सुनको कचौरा) शक्तिशाली पात्रका रूपमा देखापर्छन्। औँलाहरू अनेकौँ मुद्रामा स्थापित हुँदा सुनको कचौरालाई किसिम किसिमबाट समातेको देखिन्छ।

अर्को चित्रमा पुरुषले लगाउने किसिम किसिमका भित्री वस्त्रलाई चित्रित गरिएको छ। सपाट, समतलीय र एउटै वस्तु घरीघरी दोहोरिने रिपिटेसनको अप्रोच प्रयोग भएको छ, क्राफ्ट र फाइन आर्टको समागमन पनि हो यो। सन् ६० को दशकमा देखापरेको पप आर्टको आन्दोलनमा यस्ता कला संयोजन अत्यधिक रूपमा देखापरेका थिए। उनका काममा अप आर्ट र पप आर्टको आंशिक विशेषतालाई समेटिएको देखिन्छ।

उनको कलाको मूल कथनलाई कोट्ट्याउँदा आजको हाम्रो राजनीति दृष्टिगोचर हुन्छ। आम जनताको मूल समस्यालाई एकातिर पन्छाएर आजका हाम्रा राजनीतिज्ञ मूलतः दुईवटा काममा व्यस्त छन्। राजनीतिज्ञको पहिलो काम देखिन्छ– कुनै न कुनै बहानामा मगन्ते भएर विदेशी दातासँग हात थापी माग्नु। आफैँसँग सुनकै कचौरा हुँदाहुँदै पनि त्यसमा विदेशीसँग भीख माग्नु नियति र प्रवृत्ति बनेको छ। 

अर्को कुरा, नेताहरू बकम्फुसे ठुल्ठूला गफ दिन व्यस्त देखिन्छन्। अनि, आरोप–प्रत्यारोपमा राजनीतिज्ञ अल्झी बस्नु निजी स्वभाव बनिसकेको, बनाइसकेको देखिन्छ। बोल्दा भन्नु–नभन्नु ओकलेर राजनीतिज्ञ सर्वांगमा नांगिएका छन्। मेल अन्डरवेयर यसैको सटीक प्रतीक हो। आफू सर्वांगमा नांगिएको राजनीतिज्ञ आफैँलाई थाहा छैन। आम जनताले स्पष्ट नेतामा अन्डरवेयर मात्र देख्न थालिसके। यही मूल अवधारणाको वरिपरि उनको चित्र घुमेको छ, जसमा समसामयिक अवस्था र आममान्छेले दैनिक प्रयोग गर्ने वस्तुलाई पात्रका रूपमा प्रयोग हुँदा कला अब्बल देखिन पुगेको छ।

यो मुकेशको काम विश्वमै प्रचलनमा रहेको पप कलाको संयोजन, प्रस्तुति, ढाँचा र विषयवस्तुमा आधारित भएर संगठित भएको देखिन्छ। पप कलाकार मूलतः आममान्छेले प्रयोग गरिरहने वस्तुलाई आफ्नो कलाको मूल पात्र बनाउँछन्। 

आम भावकलाई कलासँग जोड्नु यसको ध्येय देखिन्छ। यस्ता कलाको अवलोकनपछि आम जनतामा एक खालको भाव सञ्चारित हुन्छ। यस्ता कलामा यथार्थ गुणस्तरका रेखा र रूपको बुझिने गरी प्रयोग हुन्छ। एस्थेटिकल्ली रूपमा पनि उच्चस्तरको कलामा यस्ता कलालाई मापन गर्न सकिन्छ।

पप आर्ट

पप आर्ट सन् १९५० को अन्तअन्ततिर बेलायत र अमेरिकामा उदाएको थियो। मूलतः यो कलाको आन्दोलन फाइन आर्टको परम्परालाई चुनौती दिँदै देखापरेको हो। विशेषतः सन् १९४० ताका चर्चित भएको अमूर्त अभिव्यञ्जनावादी कला आन्दोलनको रियाक्सनमा पप कलाको प्रादुर्भाव र विकास भएको थियो। समाजमा देखापरेका ‘पपुलर’ र ‘मास कल्चर’ यसको आधारबिन्दु थियो भने विज्ञापनका कमिक बुक र मास प्रोडक्सनका रूपमा बनाइएका सामान्य वस्तु यस्ता कलाका सक्कली पात्र हुने गर्थे। यी कलाकार अति सामान्य अनि चाख नभएका वस्तुलाई मूल विषय बनाउने गर्थे। 

यसबाहेक यस्ता चित्र चम्किलो र उज्यालो स्वरूपमा र बिनास्वादको कलाका रूपमा विकास भएको थियो। कहीँ देखिरहेको विज्ञापन कलाजस्तो देखिने यस्ता चित्रको अवलोकनपछि भावकले केही छ कि भनी खोजी टोपल्ने इच्छा राख्दैनथे। यसो हुँदा भावकको मन प्रफुल्ल वा रोमाञ्चित हुने प्रसंग नै हुँदैनथ्यो। ‘फाउन्ड अब्जेक्ट’लाई पनि प्रयोग गर्ने भएकाले यस्ता कलालाई दादा आन्दोलनको नजिक राखेर हेर्ने गरिन्छ। 

दादा आन्दोलनकै बखत (सन् १९१६ तिर) डुचेम्पले रेडिमेन्ट अप्रोचको विकास गरी यस्ता फाउन्ड अप्रोचलाई प्रयोग गर्न थालिसकेका थिए। तथापि त्यति वेला र अहिलेको अवस्थामा धेरै फरक आइसकेको छ। त्यसबखत दादाको मूल मन्त्र अर्थात् दादा आन्दोलनले बोक्ने गरेका आवेग (जस्तै – ध्वंशात्मक प्रवृत्ति, अराजकता र व्यंग्य)लाई बहिष्कार गर्दा यो पप आर्ट एक अलग्गै विशेषताका साथ कला इतिहासमा स्थापित भएको देखिन्छ।

मास्क सिरिज

यही प्रदर्शनीमा अर्को अलग्ग रूपमा पृथ्वी श्रेष्ठको मास्क सिरिजका अनौठा दुईवटा कला पनि प्रदर्शित छन्– ‘लिभिङ ह्वाइट टर्बान’ र ‘वाचिङ थ्रो योर आइज’। पहिलोमा नेवारी संस्कृतिमा यसको  महत्त्वको सन्दर्भ छ। दोस्रोमा आफ्नो आँखाबाट नहेरेर मास्कको आँखा वा आध्यात्मिक आँखाबाट देख्ने भावार्थ लुकेको अनुभव हुन सक्छ।

मास्क सिरिजमा लामो समयदेखि काम गरिरहेका पृथ्वी इलुस्ट्रेसन कलामा पनि पोख्त छन्। सरल र मनमोहक रेखाले गर्दा उनका कलाले त्यसै पनि प्र्रभावपूर्ण ढंगले सन्देश सम्पे्रषित गर्छन्। यसैले उनका यथार्थ र आकृतिमूलक काम उच्चस्तरकै हुने गर्छ। यसैले उनका हरेकजसो काममा पोट्रेचर, जीवजन्तु वा फूल आदिको संयोजन गरिएको हुन्छ। पोट्रेचरकै वरिपरि घुम्ने लालसाले गर्दा उनका चित्रमा र उनले गर्ने पर्फर्मेन्स आर्टमा गहिरो सामञ्जस्यता देखिन्छ।

 चित्रमा भने यथेष्ट मात्रामा फेन्टासी सर्वत्र फैलिएको देखिन्छ। उनी नेपाली पर्फर्मेन्स कलामा अगुवा कलाकार पनि हुन्। सम्भवतः लामो समयदेखि निरन्तर रूपमा पर्फर्मेन्स आर्ट गरिरहनु र पर्फर्मेन्स आर्टको संयोजन, आयोजना र यसै विधालाई प्रमोट गरिरहने कलाकारका रूपमा उनलाई भेट्ट्याउने अर्को कलाकार भेटिँदैन होला।

पृथ्वीले यसपटक आफ्नो अनुहार आफैँले मास्कले छोपी एक पोट्रेचर बनाएका छन्। यो चित्र संयोजनमा लोभलाग्दा फूलले घेरा हालेको देखाइएको छ। पाश्र्व भागमा मन्दिरमा सजिएको भाँती देवीदेवताको अवस्थिति छ। पछाडिको भागका यी पाँचवटा देवीदेवता पौभाचित्रका रूपमा दृष्टिगोचर हुन्छन्। यी देवीदेवताका चित्र उनका समसामियक चित्रमा समावेश हुँदा परम्परागत कला र समसामयिक कलाको समागमन भएको देखिन्छ। 

फेन्टासीसँगै आजको अवस्थामाथि गुढ रहस्यको रूपमा रहेको हाम्रो परम्परागत आध्यात्मिक शक्तिको समिश्रण उनको कलामा देख्न सकिन्छ। हिजोआज नेपाली युवा समसायिक चित्रकार पौभा र थांका मोटिफलाई समग्रमा हाउभाउ समेत मिलाएर प्रस्तुत गर्न रमाउन थालेका छन्। नभत्काई सग्लो रूपमा गरिएका यस्ता परम्परागत पौभाचित्र यति सबल देखिन्छन्, यी चित्र मोटिफको रूपमा मात्र प्रयोग भएका होलान् भनी अलग्गाउन गाह्रो हुन्छ।  

पृथ्वीले कलालाई परम्परासँग जोड्ने रहर मात्र गरेका होइनन्, उनको काम आध्यात्मिक शक्ति आर्जन गर्ने सन्दर्भसँग पनि जोडिएको छ। आफूसँग बच्चैदेखि जोडिँदै आएका यी आध्यात्मिक रूप कसरी सिर्जनाभन्दा अलग भएर बस्छन् ! कोभिड र लकडाउनमा पनि नेवार समुदायले आफ्नो संस्कृतिलाई आ–आफ्नै किसिमले निरन्तरता दिए। त्यसैले क्यानभासमा प्रत्यक्ष वा परोक्ष रूपमा ती सन्दर्भ आइहाल्छन्। आफ्नो अलग्ग पहिचान, परम्परादेखि दैनिक जीवनसँग जोडिँदै आएको चाडपर्वको संरक्षणको द्योतकका रूपमा उनको कामलाई हेर्न सकिन्छ। 

नेवार समुदायले सदियौँदेखि संस्कारमा चलाइआएका यस्ता देवीदेवताका मास्क हरेकजसो जात्रामा कुनै न कुनै रूपमा प्रयोग भएको देखिन्छ। यो मास्क विधिवत पूजाआजा गरी लगाउँदा सामान्य मान्छेमा भगवान् अवतरित हुन्छ भन्ने जनविश्वास पाइन्छ। भगवान्को मास्क लगाउन विशेष जातिको व्यक्ति हुनुपर्छ। नुवाइधुवाइ, शुद्ध भएर, परम्परागत अनेकौँ मान्यता नीति–नियममा बसेर मात्र यस्तो भूमिका निर्वाह गर्न आधिकारिक मानिन्छ।

मास्क लगाउने व्यक्तिमा भगवान् चढ्छ भन्ने विश्वास बोकेका व्यक्ति विशेषले मास्क लगाएका व्यक्तिलाई भगवानकै रूपमा हेर्ने गर्छन्। यस्ता मास्कसहित गह्रँगो पहिरन लगाएर सडक र मन्दिरको प्रांगणमा बाजागाजासहित पारम्परिक तरिकाबाट नाच्ने प्रचलन छ। यो नाच र यसैमा गाइने गीतको परम्पराको एक अलग्गै इतिहास छ।

यस्ता जात्रामा महिला–पुरुषको ठूलो भीडले आनन्द लिनु वा रमाइलो मान्नुका साथै आफ्ना आराध्य देवीदेवतामा भक्तिभाव पनि राख्छन्। त्यसैले देवीदेवताको भूमिका निभाउनेले लगाउने यस्ता मास्कले मानिसमा आस्था भाव मात्रै ल्याउँदैन, संस्कार र संस्कृति जीवित तुलाउँदै समुदायबीच एकता कायम गर्छ।

उनको अर्को चित्रमा सेतो कपडालाई विशेष अर्थका साथ प्रयोग गरिएको छ। मूलतः जसको सहयोगविना मास्क अनुहारमा अड्न सक्दैन। अर्को अर्थमा सेता कपडालाई नेवारी संस्कारमा अति महत्त्वका साथ प्रयोग गर्ने प्रचलन छ। गहिरो ध्यानमग्न अनुहारमाथि गुथेको ठूलोे फेटा, फेटाभित्र गुजुल्टिएको सर्प, काँधमाथि बसेको उल्लु आदिको संयोजन अजीव लाग्छ। पछाडि पृष्ठभूमिमा थुप्रै देवी भावभंगिमाका साथ आ–आफ्ना वाहनमा चलायमान रूपमा चित्रित गरिएको छ। अलि गहिरिएर हेर्दा हरेक देवीले अलगअलग कथा बोकेको आभास हुन्छ। समग्रमा कलाकार पृथ्वीले कला–संस्कृतिलाई आध्यात्मिक शक्तिसँग जोडेर विश्वलाई देखाउन चाहन्छन्।  

पछिल्लो कालमा आएर आजका समसामयिक कलाकार आफ्नो पहिचानको खोजी गर्न तीव्र रूपमा लागिरहेका छन्। ग्लोबलिजम्को प्रभाव सँगसँगै अहिले ‘लोकलाइजेसन’को अवधारणा पनि अगाडि आइरहेको छ। ग्लोबलिजम्को दबदबाले हरेक राष्ट्रको स्थानीय पहिचानलाई मेट्दै गएको सन्दर्भमा लोकलाइजेसनको सन्दर्भ र महत्त्व बढ्दै गएको देखिएको छ। हामी विश्वका सबैजसो कला एउटैजस्तो प्रवृत्तिमा परिवर्तित भइरहेको देखिन्छ, तापनि यसैमा आ–आफ्नो एक अलग्ग पहिचान अगाडि बढिरहेको अवस्था छ।

बुट्टामाथिको आकर्षण

यही प्रदर्शनीमा अर्को शक्तिशाली कामको रूपमा मुना भडेलको काम देखिन्छ। उनको काम झट्ट हेर्दा सामान्य महिलाको पोट्रेचरका रूपमा देखिए पनि त्यसभित्र अनेकौँ अर्थ र भावार्थ लुकेको आभास हुन्छ। यति मात्र होइन, कलाकारको गहिरो अवधारणा समेत यसैमा गाँसिएको देखिन्छ। शिल्प दक्षता र कल्पना शक्तिमा तीक्ष्ण देखिएकी मुना पछिल्ला पुस्ताकी शक्तिशाली भिजुअल आर्टिस्ट हुन्।

महिलाको शरीरसहितको मुखाकृतिबाट पहिरनमा रहेको प्याट्रन (आकर्षक बुट्टा) लाई उनले एक अलग्ग परिचयका साथ प्रस्तुत गर्न चाहेको देखिन्छ। चाडबाड तथा जात्रामा शृंगार गरेर सहभागी हुनुमा महिलाको आफ्नो एक अलग्ग पहिचान छ, अर्थात् यसैलाई उनले खोजीको विषय बनाएकी छन्। मुनाले महिलाको हक–अधिकारको सन्दर्भभन्दा पनि महिलाको सौन्दर्यलाई समाज र संस्कृतिसँग जोड्न चाहेको देखिन्छ। अहिलेको परम्परा मात्र नभएर शाश्वत नैसर्गिक स्वभावको परिकल्पनामा उनले पछाडिको चित्रको पृष्ठभूमिमा राजस्थानी लोककलाका नारी पात्रलाई चित्रित गर्ने कोसिस गरेकी मात्र छैनन्, नारीको स्वभाव र प्रकृतिलाई समेत प्रस्तुत गरेकी छन्।

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

प्रकाशित: ९ आश्विन २०७८ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App