७ वैशाख २०८१ शुक्रबार
कला

‘एक’बाट एउटै मात्र अपेक्षाः बहस

मनोज पण्डित नेपाली फिल्म उद्योगमा एउटा सचेत फिल्मकर्मीका रूपमा चिनिन्छन्। शायद यही कारण पनि उनका फिल्म विवादित बन्छन्। पछिल्लो समय उनी ‘एक’ फिल्म लिएर आउने तयारीमा छन्। उनी खास मुद्दा लिएर फिल्म बनाउँछन्। ‘एक’मा भने उनले सुरक्षाको अवधारणा बोकेर आएका छन्। नामै काफी छ भनेजस्तो उनले फिल्मको नाम ‘एक’ किन राखे त ?

उनलाई लाग्छ, ‘एक’ वास्तवमै ठूलो पोलिटिकल शब्द हो। संसारमा, हरेक कुरा शून्यबाट शुरु हुन्छ तर शून्य अभौतिक तत्व हो। भौतिकमा चाहिँ सबैभन्दा ठूलो ‘एक’ हो।  

‘संसारमा सबैभन्दा ठूलो द्वन्द्व नै ‘एक’सँग छ,’ उनी व्याख्या गर्दै भन्छन्, ‘एक हुन चाहने, एकबाट छुट्टिन चाहने, एक बनाउन चाहनेहरू बीच द्वन्द्व भइरहन्छ। माक्र्सवादले ‘मदजुरहरू एक हौँ’ भन्छ। शासकहरू जनतालाई आफूमा एक बनाउन चाहन्छन्। 

आन्दोलनकारीहरू आन्दोलनमा एक भएर लाग्न आह्वान गर्छन्। त्यसैले ‘एक’ सबैभन्दा डाइनामिक अङ्क हो।’  त्यसैले ‘एक’ अङ्क उनले छाने तर यो फिल्म उनको नितान्त निजी असुरक्षाको भावबाट जन्मिएको उनको स्वीकारोक्ति छ।

‘मलाई व्यक्तिगत रूपमा मानिसका लागि सबैभन्दा महत्वपूर्ण कुनै अवधारणा छ भने त्यो सुरक्षा हो भन्ने लाग्छ,’ उनले फिल्मको ‘कन्सेप्सन’का बारेमा भने, ‘बाल्यकालदेखि नै म सधैँ असुरक्षित मान्छे हुँ। असुरक्षित भएकै कारण मलाई कहीँ न कहीँ आफू दह्रो हुनुपर्छ भन्ने अनुभूति हुन्थ्यो।’

उनको व्यक्तिगत असुरक्षा बढ्दै जाँदा आफूजस्तै देश पनि असुरक्षित लाग्यो। ‘ग्रेटर नेपाल’ डकुमेन्ट्रीको निमार्णपछि देश कुन तहमा कमजोर र असुरक्षित छ भन्ने कुराको बोध उनलाई भयो। उनलाई सेनाले देश जोगाउँछ भन्ने कुरामा रत्ति विश्वास छैन। सेना त युद्धमा मात्र काम लाग्ने हो। 

युद्धमा जानुअघिसम्म देशलाई दह्रो र सुरक्षित बनाउन एउटा दर्बिलो गुप्तचरी संरचना चाहिन्छ, जसले देशलाई हुनसक्ने खतराबाट जोगाओस्। देशमा एउटा दर्बिलो गुप्तचरी संस्था हुने हो भने हिंसात्मक परिस्थितिको सामना गर्ने परिस्थिति नै नरहने उनको धारणा छ। यही गुप्तचरी संस्थाको अवधारणालाई उनले कथामा उनेर ‘एक’ बनाएका हुन्।

उनलाई ‘एक’ बनाउन घच्घच्याउने अर्को पक्ष चाहिँ नेपालको मधेस नै देशबाट अलग त हुने होइन आशंकाले पनि जन्माएको उनको विचार छ।  

‘मधेसमा राज्यप्रतिको निराशा व्याप्त छ,’ उनको आशंका व्याख्या गर्दै थप्छन्, ‘उनीहरू एक्लो अनुुभव गरिरहेका छन्। त्यो एक्लोपन र निराशा कुनै पनि बेला विस्फोट हुनसक्छ र अगल देश बनाउने अवधारणालाई बल पुर्‍याउन सक्छ। 

यस्ता कुराले कसलाई फाइदा पुर्‍याउँछ थाहा छैन तर नेपाल र नेपालीलाई घाटा पुर्‍याउँछ। त्यसैले, देश जोगाउने संयन्त्रको विकास गर्ने अवधारणास्वरूप ‘एक’ जन्मेको हो।’ ग्रेटर नेपाल बनाउँदै गर्दा यो सोच घनिभूत भएको उनी बताउँछन्।

आफ्ना फिल्महरू ‘छायाँ’ र ‘खाग’ उद्देश्यमूलक फिल्म थिए। ‘लक्ष्य’ उनको पहिलो फिल्मलाई उनले आफ्नो आलोकाँचो प्रयास ठान्छन्। निर्माणका हिसाबले सन्तुष्टि पाएको फिल्म चाहिँ उनलाई ‘दासढुङ्गा’ हो। यो फिल्मलाई उनी ‘ट्रिकी’ वा बाठो फिल्म भन्न रुचाउँछन्। तर ‘एक’लाई भने आफ्नो बाल्यकालको कमजोरीलाई फिल्ममार्फत पस्किएको बताउँछन्।

‘म बच्चामा ज्यादै डरपोक मान्छे थिएँ,’ उनी खुल्छन्, ‘म लड्न सक्दिन थिएँ। लड्न जाँदा पनि म सधैँ कुटाइखाने मान्छे हुँ। तर ‘एक’मा चाहिँ म पात्रहरूका माध्यमबाट लडेको छु। ‘हामी लड्न सक्छौँ’ भन्ने मनोविज्ञानलाई पात्रहरूको माध्यमबाट स्थापित गराएको छु।’

आफ्नो अस्तित्वका लागि लड्नु, युद्ध गर्नुमा उनी कुनै खोट देख्दैनन्। ‘आफ्नो सुरक्षाका लागि संसारमा युद्ध हुन्छ,’ उनी भन्छन्, ‘पछिल्लो समय तालिवानले गरेका युुद्ध सही छ, उनीहरूका लागि। 

तालिवानहरूसँग पञ्जशिर उपत्यकामा भइरहेको युद्ध पनि सही छ, उनीहरूका तर्फबाट। यहाँ जोकोहीले आफ्नो स्वाधीनता र शक्तिका लागि लडिरहनुपर्छ। हामी पनि एक किसिमको युद्धमै छौँ। र, युद्धको तयारी गर्नुपर्छ भन्ने स्पष्टताचाहिँ मैले ‘एक’मा प्रस्तुत गरेको छु।’  

तर जब नेपालीले आफ्नो अस्तित्वका लागि कुरा उठाउन थाल्छन्, त्यसलाई विवादित बनाइन थाल्ने मनोजको बुझाइ छ। उनलाई डर छ, ‘यो फिल्म मेरा अघिल्ला फिल्महरूभन्दा धेरै विवादित हुन्छ। यो फिल्म कुनै शक्तिका लागि रोक्नैपर्ने आवश्यकता पनि बन्न सक्छ। किनभने, मैले ‘एक’मा अझै ठाडो भाकामा भनेको छु कि, मेरो देशलाई छिमेकी तथा शक्तिशाली देशहरूका एजेन्टहरू खेल्ने मैदान बनेको छ। र, यहाँ उनीहरूका स्वार्थ अत्यन्तै धेरै हावी भइरहेका छन्।’  

उनी अहिले एमसीसीका विषयमा भएका तर्क–वितर्कहरूको उदाहरण दिँदै भन्छन्, ‘नेपालमा अहिले एमसिसीमाथि प्रश्न गर्न थालेका छन्, शंका गर्न थालेका छन्। र, शंका गर्न आवश्यक छ। खुसी लागेको छ, कम्तीमा नेपालीहरूले शंका गर्नचाहिँ सिक्यौँ। र, मैले पनि ‘एक’का माध्यमबाट त्यस्ता धेरै संस्था, निकाय तथा शक्तिहरूमाथि शंका गरेको छु।’

उनको यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज हुँदैछ। सिनेमा हलमा उनको यो फिल्म लाग्ने छैन। किन त ? ‘मलाई बोध भयो कि फराकिलो दर्शकका लागि म फिल्म बनाउदिनँ रहेछु,’ पण्डितको स्वीकारोक्ति छ, ‘यो पनि व्यापक दर्शकका लागि बनाएको होइन तर बनाउने क्रममा दर्शकलाई पनि देखाउनुपर्छ भन्ने अवधारणाहरू चाहिँ जोडिँदै गएका छन्।’  

उनको सिद्धान्त- सिनेमा दर्शक देखाउनुपर्छ तर बनाउँदाको उद्देश्य नै दर्शकलाई राखेर भने बनाइनु हुँदैन। एक उनी आफैँले हेर्न चाहेको फिल्म भनी परिभाषित गरिरहेका छन् उनले।  

तर उनका अन्य फिल्मले विवाद उत्पन्न गरेजस्तै यसले उत्पन्न गर्ने विवादले फिल्म प्रदर्शन त रोक्ने होइन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘प्राथमिक कुरो त सिनेमा बनिसक्यो। सिर्जना भइसक्यो। सिर्जना यस्तो कुरा हो कि, यसलाई कसैले दबाउन खोजेर, रोकेर रोकिँदैन। 

प्रश्नचाहिँ के हो भने, यस सिनेमाले मासमा डिस्कोर्स क्रिएट गर्छ कि गर्दैन ? जहिले पनि हाम्रा शासक, सत्ता र शक्तिहरू मसँग डराएको अवस्था छ। ‘ग्रेटर नेपाल’का बेलामा भारत डरायो, रोक्न खोज्यो। ‘दासढुुङ्गा’का बेलामा नेकपा एमाले पार्टी डरायो, रोक्न खोज्यो। ‘बधशाला’का बेलामा सेना डरायो, रोक्न खोज्यो। तर त्यसले कसैलाई पनि फाइदा भएन। उनीहरूले जति रोक्न खोजे, बहस उति बढ्यो।’  

यसपालि पनि देशी-विदेशी गुप्तचर शक्तिहरू ‘एक’लाई रोक्न लागिपर्ने उनको आशंका छ। लागे पनि अन्ततः उनीहरूलाई नै फाइदा नगर्ने उनको बुझाइ छ। ‘किनकि सिर्जना वस्तु होइन, त्यसैले यो उनीहरूले वशमा हुँदैन,’ उनी भन्छन्, ‘यो त एउटा अवधारणा हो, यो जुनसुकै माध्यमबाट पनि सञ्चारित हुनसक्छ। त्यसैले, मलाई रोक्छन् भन्ने कुराको चिन्ता छैन। चिन्ता चाहिँ मैले बहसलाई जतातर्फ डोर्‍याउन खोजेको छु त्यतातिर जान्छ कि जाँदैन ?’

पछिल्लो समय भारतले ‘रअ’को कामलाई फिल्ममार्फत ‘ग्लोरिफाई’ गरिरहेको छ, तपाईंले पनि त्यस्तै गर्न खोजेको हो ? ‘अहिले भारतको कन्टेक्स्टमा ‘रअ’लाई ग्लोरिफाई गर्नुपर्ने बाध्यता छ, चाहे त्यो देशभित्रैका जनताको मनोविज्ञान निर्माण गर्न होस् या बाहिरीका लागि,’ पण्डितको बुझाइ छ, ‘देशको स्वार्थका लागि ‘रअ’ले भूूमिका खेलेको पनि छ तर दुर्भाग्य, जब ती सिनेमा नेपालमा रिजिल हुन्छन्, नेपालीले तिनको काममा ताली बजाउँछन् र बिर्सिन्छन्, हामी त्यही ‘रअ’को चलखेलका कारण अस्थिर अवस्थामा छौँ। ‘रअ’माथि बनेका चलचित्रहरू हेरेर रमाउनु, प्रशंसा गर्नु हामीले आफ्नै स्वाधीनतालाई बन्धक बनाउनुजस्तै होइन र ?’  

यो फिल्ममार्फत नेपालको स्वार्थ रक्षाका लागि जासुसी संन्यत्र ‘सीएसआई’ आवश्यक छ भन्ने बुझाउन खोजेका छन्। उनी भन्छन्, ‘‘एक’ हेर्नुभनेको सिनेमाका हिसाबमा कमी कमजोरी होलान्, तर राष्ट्रियताका लागि एउटा भोट दिएजस्तै हो। कल्पना गरौँ, यदि नेपालमा दश लाख जनताले ‘एक’ हेरे। 

अब के हुन्छ ? घर-घरमा यसले उठाएका मुद्दाहरूमा बहस हुन थाल्छ। भोलि के थाहा, आफ्नो राष्ट्रियता बलियो बनाउने ‘सीएसआई’जस्तो संस्थाको निर्माण हुन्छ कि !’

नेपालमा त राष्ट्रवाद भद्दा राजनीतिक मुद्दा बनाइएको सन्दर्भमा उनले यो फिल्मलाई त्यस्तो भद्दा बनाउनबाट जोगाउने प्रयास गरेको उनी बताउँछन्। ‘मेरो राष्ट्रवाद नितान्त देशको स्वार्थसँग सम्बन्धित छ। ‘गे्रटर नेपाल’ बनाउँदा पृष्ठभूमिबाटै मेरो मान्यता आफ्नो भूूगोललाई जोगाउनुपर्छ भन्ने हो। 

देश बलियो हुन नेता पनि बलियो हुनुपर्छ भनेर मैले राम्रो नेताको मृत्युप्रति ‘दासढुुङ्गा’मा पनि प्रश्न गरेकै हो। त्यतिमात्र पनि होइन, राष्ट्रियताको अर्को पक्षमा चाहिँ मैले देशको सुरक्षा संयन्त्रमाथि पनि प्रश्न गरेको हो। यो देशको भूूगोलमा जनतामात्र होइन, जनावर तथा पशुपंक्षी पनि बाँच्न पाउनुपर्छ भन्ने राष्ट्रियताको कुरा गरेको हो। म राजनीतिक चेतका साथ सिनेमा बनाउँछु। ‘एक’को पछाडिको राजनीतिक स्टेटमेन्ट हो, ‘राष्ट्रलाई बलियो बनाउन सकेमात्र नागरिकको जीवन समृद्ध हुन्छ।’  

उनी भन्छन्, ‘‘एक’मा मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन, छ त केवल देशको छ। म सिनेमाको माध्यमबाट काल्पनिक रूपमा एउटा यस्तो संयन्त्रको निमार्ण गर्दैछु, जसले देशलाई योगदान दिओस्। देशी विदेशी चलखेलबाट उत्पन्न अस्थिरताबाट देशलाई बचाओस्। तर बनाउने क्रममा, स्रोतहरूको उपलब्धता, ज्ञानको सीमितताले कहीँकतै सिनेमालाई अलिकति असहज भएको छ। तर पनि, ‘एक’ले एउटा डिफिन्डिङ फोर्स तयार गरोस् भन्ने कुरालाई ध्यानमा राखेर सिनेमा बनाएको छुु।’  

आफ्नो फिल्ममेकिङमा ‘एक’ले ठूलो प्रभाव पारेको उनको आत्मस्वीकृति छ। उनले आफ्नो फिल्महरूलाई वर्गीकरण गर्दा दुई भागमा वर्गीकरण गरेका छन्।

पछिल्लो समय उनले लेखेको पुस्तक ‘सिनेमा मन्थन’ लेखनपूूर्व र लेखिसकेपछि आफ्नो फिल्ममेकिङलाई मूल्याङ्कन गर्नुपर्ने उनको आग्रह छ। ‘जीवचक्र’, जुन अहिले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ, योबाहेक जति पनि सिर्जनाहरू उनले गरे, ती ‘सिनेमा मन्थन’भन्दा अगाडिका हुन्। 

उनको नजरमा ‘दासढुुङ्गा’ एकदमै ‘क्लेबर’ फिल्ममेकिङ हो। ‘बधशाला’ प्यासेनेट फिल्म मेकिङ हो। पहिलो फिल्म ‘लक्ष्य’ ‘इनोसेन्स फिल्म मेकिङ’ हो। ‘ग्रेटर नेपाल’लाई भने उनी अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सिर्जना हो। उनको बुझाइ छ, ‘ग्रेटर नेपाल मैले बनाइनँ, ममार्फत् बनेको मात्र हो, जसमाथि म आजीवन गर्व गर्न सक्छु।’

‘एक’लाई उनी ‘दासढुुङ्गा’जस्तै क्लेभर सिनेमा मान्छन्। यसमा मभित्रको मेकिङकै क्रममा विकास भएको ‘यसलाई चाहिँ मासमा पुुर्याउनुुपर्छ’ भन्ने चहाना पनि मिसिएको छ। यो फिल्म आफ्नो किशोरावस्थाबाट युुवावस्थामा प्रवेश गर्दाखेरी जुुन विधाको फिल्म मन पराउँथे, त्यसैको प्रतिबिम्ब रहेको उनको स्वीकारोक्ति छ। उनी भन्छन्, ‘यसमा मेरो युवावस्थामा प्रवेश गर्दैगर्दाको रिस, आवेग तथा कुण्ठा मिसिएको छ। त्यसैले, ‘एक’ मेरा अघिल्ला सिनेमाहरूभन्दा धेरै फरक छ।’  

यो फिल्ममा कुनै पनि स्टार कलाकार छैनन्। किन त ? ‘मलाई स्टारसँग काम गर्नुमा कुनै इच्छा छैन। घमण्डजस्तो सुनिएला, तर म स्टार जन्माउने निर्देशक हुँ। स्टारडमको भारी बोक्नुभएकासँग काम गर्दा मलाई असहज हुन्छ। मलाई चाहिने भनेको ‘कच्चापदार्थ’ हो। र, ‘कच्चा’ चिजलाई लिएर फिल्म बनाउनु मेरो सोख पनि हो। त्यसैले म ‘जीवन चक्र’जस्तो फिल्म बाटोमा हिँड्दै गरेको मान्छेलाई लिएर पनि बनाउन सक्छु। घमण्डजस्तो सुनिएला, तर यो मेरो आफैँप्रतिको विश्वास हो।’

प्रकाशित: ९ आश्विन २०७८ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App