११ कार्तिक २०७८ बिहीबार
कला

प्रश्न

लघुकथा

लता केसी

‘सन्तान धेरै पढोस्, असल बनोस् भनेर कुन आमाबाबुको चाहना हुँदैन र?’ आखिर किसान भक्तबहादुरले पनि त्यही त गरेका थिए। आफ्नो एउटा सन्तानलाई विज्ञान र प्रविधिमा उच्च शिक्षा दिने सपना देखेका थिए। छोरो खेततिर जाँदा उनलाई रोक्थे र भन्थे, ‘ए बाबु माटोमा पसीना बगाउनु तेरो नियति होइन, तेरा लागि म परिश्रम गर्छु। तँ पढ् मात्र है।’

बुबाको सपना बोकेर ऊ विदेश पस्यो। समयको अन्तरालमा ऊ उतै फस्यो। पढाइ  र काम उसको नशा बन्यो। गाउँघर बिर्सियो। ठूलै प्रगति गरेको छ रे छोराले। वैज्ञानिक बनेर नयाँ नयाँ विषयमा खोज गर्दै छ रे भनेर नाक ठूलो पार्दै गाउँभरि डुल्दै हिँड्थे उनी। छोराको पौरख बखान गरेर उनी थाक्दैनथे। संसारभरिको भाग्यमानी आफैंलाई ठान्न थालेका थिए।

क्रमिक रूपमा  उनलाई बुढ्यौलीको रोगले गाँज्न थाल्यो। घर शून्य थियो। न त बुहारी न त नातिनातिना! आँखा देख्न छाडे। कान सुन्न छाडे। तातो पानीको भरमा सास गन्ने अवस्था आइपुग्यो। छोराको खबर अत्तो न पत्तो भयो। विरक्त भावमा उनी भन्न थालेका थिए,‘किन मैले छोरालाई सानैदेखि माटोमा खेल्न  दिइनँ ?’

प्रकाशित: ४ आश्विन २०७८ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App