१५ चैत्र २०८० बिहीबार
कला

रामानुज दर्शनका दुई पुस्तक सार्वजनिक

श्रीवैष्णव युवा परिषद् नेपालले ‘श्री रामानुजाचार्य एवम् विशिष्टाद्वैत दर्शन’ र ‘यतीन्द्रमतदीपिका’ पुस्तक सार्वजनिक गरेको छ। 

१२२५ पेजको रामानुजाचार्य एवं विशिष्टाद्वैत दर्शनभित्र रामानुजाचार्यको दर्शन, जीवनी, नेपाललगायत विश्वकै विद्वान्हरूका विभिन्न भाषामा लेखिएका करिब ३ सय वटा लेख, रामानुजाचार्यका समग्र कृतिहरूको सारांश र रामानुजाचार्यसम्बद्ध स्तोत्र समेटिएको विशालकाय ग्रन्थ सार्वजनिक गरिएको हो। रामानुजाचार्यसम्बद्ध सम्पूर्ण विषय समेटिएको नेपाली भाषाको पहिलो पुस्तक भएको वक्ताहरूले बताएका छन्। ‘यतीन्द्रमतदीपिका’ श्रीनिवासाचार्यद्वारा रचित कृतिको नेपाली अनुवाद सार्वजनिक गरिएको हो।  

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य, परिषद्का अध्यक्ष ऋषि प्रपन्नाचार्य, वैष्णव परिषद्का अध्यक्ष देवराज आचार्य, युवा परिषद्का महासचिव सुदर्शन नेपाल, प्राडा काशीनाथ न्यौपाने, प्राडा भागवत ढकाल, सहप्राडा नारायणप्रसाद गर्तौला, पुस्तकका प्रधानसम्पादक डा. रघुनाथ नेपाललगायतले विश्वविद्यालय तहमा ‘विशिष्टाद्वैत दर्शन’ अध्यापन गराउनुपर्नेमा जोड दिए।

नेपालमा रामानुजाचार्यद्वारा प्रतिपादित दर्शन अध्ययन अध्यापन हुने १५ गुरुकुल छन्। जहाँ एक हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको जनाइएको छ। उच्च अध्ययनका लागि नेपालमा व्यवस्था नभएकाले ती विद्यार्थी भारत जाने गरेको कार्यक्रमका वक्ताले जानकारी दिए।

कार्यक्रममा परिषद्ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ। परिषद्ले जोशीलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरेको हो। संस्कृत भाषामा लेखिएको अभिनन्दन पत्र नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र दाहालले वाचन गरेका थिए। शताब्दी पुरुष जोशीले आफ्नो जीवनकालमा धेरै पटक सम्मानित भए पनि संस्कृत भाषामा लेखिएको अभिनन्दन पत्रद्वारा पहिलोपल्ट सम्मानित हुन पाएको भन्दै खुसी व्यक्त गरे। 

सोही क्रममा उनले संस्कृत भाषा नेपाली भाषाको समेत जननी भएकाले संरक्षण गनुपर्नेमा जोड दिए। उनले वैष्णव सम्प्रदायको जीवित इतिहासका रूपमा विश्वकै सबैभन्दा ठूलो बूढानीलकण्ठको मूर्ति, चोरी भएको र विदेशबाट ल्याई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको वामनको मूर्तिका साथै धेरै पुराना मूर्तिहरू रहेका र तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए।  

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, पूर्वउपकुपति माधवराज गौतमलगायत विशिष्ट विद्वान्हरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २ आश्विन २०७८ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App