१६ चैत्र २०८० शुक्रबार
कला

मल्ल के सुन्दरको उपन्यास सेप्टेम्बर १७ विमोचित

वरिष्ठ पत्रकार एवं मानवअधिकारकर्मी मल्ल के सुन्दरद्वारा लिखित नेपाल भाषाको उपन्यास ‘सेप्टेम्बर १७’ विमोचन गरिएको छ। नेपाल भाषा एकेदेमीबाट प्रकाशित उपन्यासको शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरे। उनले उपन्यासमा मानिसमा हुने संवेदनाको उतारचढाव र व्यथालाई उपन्यासकारले उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको बताए।

कार्यक्रममा लोकसाहित्यविद् मदनसेन बज्राचार्यले विमोचित पुस्तकबारे बोल्दै नेपाल भाषामा लेखिएको भए पनि उपन्यास अन्तर्राष्ट्रियस्तरको रहेको बताए। ‘यस उपन्यासमा आफ्नो पहिचान खोज्दै गरेका नेपाली मूलका एक अमेरिकी सैनिकको व्यथा दर्साइएको छ। तर यो व्यथा गैरआवासीय नेपालीको मात्र होइन, आफ्नो पहिचान छोडेर विदेशमा बस्नुपरेका विश्वका सबै नागरिकको हो। यो उपन्यासलाई अंग्रेजीमा अनुवाद गरी पहिचान गुमाएका मानिसको व्यथा विश्वसामु ल्याउनुपर्छ’, उनले भने।  

उपन्यासकार मल्लले उपन्यासमा पहिचानबिनाको मानिसको व्यथा कस्तो हुन्छ भन्ने दर्साएको बताउँदै मृत्यु बोध भइसकेका मानिसको दर्शन कस्तो हुन्छ भन्ने पनि देखाउन खोजेको सुनाए। ‘इराक युद्ध लडेका एक अमेरिकी सैनिक जोसँग पैसाको केही कमी छैन, सुविधा सम्पन्न छ तर उसको आफ्नो पहिचान छैन। आफ्नो पहिचान खोज्न उसले गरेको संघर्षको कथा उपन्यासमार्फत भनेको छु’, उनले भने।

मल्लको नेपाल भाषामा प्रकाशित यो पाँचौं उपन्यास हो। यसअघि नै नेपाल भाषामा उनका ‘नसना’, ‘व लँपु थ्व पलाः’, ‘द पोस्टर’ र ‘शंखधर साख्वाः’ उपन्यास प्रकाशित भइसकेका छन्। ‘व लँपु थ्व पलाः र ‘शंखधर साख्वा’ नेपाली भाषामा पनि प्रकाशित भइसकेका छन्।

प्रकाशित: २ आश्विन २०७८ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App