३ कार्तिक २०७८ बुधबार
कला

दुर्गन्ध

लघुकथा

प्रकाश खड्का अभियान

करीब एक घण्टा हिँड्नुपर्थ्यो। कलेज पुग्न। धेरैजसो बाटोमा राजनीतिकै कुरा हुन्थे। कच्ची सडक थियो। त्यो पनि दश ठाउँमा पोखरी जमेको। फोहोरमैला जताजतै छरिएका, अव्यवस्थित थिए। दुर्गन्धले हिंडी साध्य थिएन। त्यसैले जुके नेता र भ्रष्ट कर्मचारीप्रति चिढिन्थ्यो अग्नि। ऊ स्वभावैले क्रान्तिकारी थियो। त्यसैले स्ववियुको चुनावमा सभापतिमा उठ्यो।

ऊ भन्ने गथ्र्यो, ‘नालीका किरा र जुके नेता उस्तैउस्तै हुन्। गरीबको रगत चुस्छन्। अकुत धन जोड्छन्। आशा बाँडेर झोले बनाउँछन्। क्रान्ति र सुशासनको नाममा कैयौंको जिन्दगी बर्बाद गरे। कत्तिको उठिवासै लगाए। यस्ता भ्रष्टहरूलाई नंग्याउनुपर्छ। यिनका काला धन जफ्त गरेर देश विकास गर्नुपर्छ।’

उसको भाषणमा देशको भविष्य थियो। सबैले उसकै साथ दिए। चुनाव अग्निको पक्षमा गयो।

जिम्मेवारीको बोझले म शैन्य सेवामा प्रवेश गरे। समयले सानैदेखिको हाम्रो साथलाई छुट्टायो।

दस–बाह्र वर्षपछि दशैंको टिकामा हाम्रो भेट भयो। कुरैकुरामा तराईमा दश बिघा जमिन, ललितपुरमा तिन ओटा अपार्टमेन्ट कम्प्लेक्स, तिनोटा कार र करोडौको बैंक ब्यालेन्स रहेको बतायो।

साथीको प्रगतिले खुसी भए तर अनौठो गन्धले भाउन्न गरायो। लाग्थ्यो,त्यो दुर्गन्ध आँधी बनेर उसको शिर वरपर मडारिरहेथ्यो।

प्रकाशित: ३१ भाद्र २०७८ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App