coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सिकाउँछ घरले

बालकविता

प्रभा भट्टराई आचार्य

 

विद्यालय बन्द भाछ कोरोनाको डरले,

घरै बस्छु धेरै कुरा सिकाउँछ घरले!

राम्रै होला भोलि–पर्सि छिटो उठ्ने बानीले,

सबै भन्छन् कस्तो राम्रो योगा गर्छे नानीले!

भान्छातिर गए पनि रमाइलो उत्तिकै,

मीठो–मीठो खाना पाक्छ बजारको जत्तिकै!

पिठो पाएँ गिलो–गिलो, डल्लो–डल्लो घुमाएँ,

हात्ती, घोडा, चरा, मुसा केके, केके बनाएँ!

 

रेडियो र टिभि पनि साथीजस्तै लाग्दछ,

राम्रा–राम्रा कुरा सुन्दा अल्छी सबै भाग्दछ !

कैलेकहीँ गीत सुन्छु, नाच्छु, गाउँछु, बजाउँछु,

चित्र कोर्छु राम्रा–राम्रा, कोठाभरि सजाउँछु!

 

राम्रा–राम्रा कथा पढ्छु राम्रा– राम्रा कविता,

एकैछिनमा सक्किहाल्ने छोटा–छोटा छरिता!

पढ्दा–पढ्दा दिक्क लाग्थ्यो, साँच्चै पैले पैले त,

पुस्तक नै रमाइलो लाग्न थाल्यो अ‍ैले त !

प्रकाशित: २८ भाद्र २०७८ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App