३ कार्तिक २०७८ बुधबार
कला

महिलाको छाती

कार्यस्थलमा पुरुषमाथि महिलाबाट हिंसा हुन्छ कि हुँदैन ? ‘मिडिया एड्भोकेसी ग्रुप’ले एक महिनाअघि यही विषयमा छलफल गरेको थियो, पुरुष पत्रकारसँग। आफ्ना अनुभव राख्ने क्रममा मैले त्यहाँ भनेको थिएँ, ‘जवान बाहिरी महिलासँग कुरा गर्दा कहाँ हेर्ने भन्ने समस्या हुन्छ। त्यसमाथि अधिकारकर्मी महिला हो भने अझ बढी सचेत भइन्छ। ’  

यो मेरो मात्रै निजी अनुभव थिएन, मलाई अरू धेरै पुरुषले यसबारे सुनाएका थिए। कुनै जवान महिलासँग कुरा गर्दा कतिबेरसम्म आँखामा हेर्नु ! अन्तैतिर हेरेर कति कुरा गर्नु ! घरीघरी संवेदनशील अंग ओठ, छाती लगायत नछोपिएका भागमा आँखा पुग्छन्, कतिपय अवस्थामा त अवचेतन रूपमा आँखाहरू त्यहाँ गढ्नै पुग्छन्। र, महिलाहरूले अप्ठेरो महसुस गर्छन्।

मलाई एक पत्रकार बहिनीले भनेकी थिइन्, ‘आफ्नो शरीरमा यौनजन्य परिवर्तन आएदेखि नै महिलाले अन्य पुरुषले छोएको र आफ्ना अंगमा हेरेको छिटै महसुस गर्छन्। तर, उक्त पुरुषले कुन नियतले छोयो वा हेर्‍यो भन्ने बेग्लै पाटो हो।’

अस्ति मात्रै एक केटी साथीले मैले लगाएको नयाँ सर्ट छामिन् र भनिन्, ‘बाक्लो देखिए पनि पातलो पो रैछ। तिमीलाई निकै सुहाएको छ। साँच्ची, यसरी महिलाले पुरुषलाई छुँदा ह्यारेसमेन्ट हुन्छ वा कस्तो फिल हुन्छ ?’

यतिसम्म त केही हुँदैन, आत्मीय अनुभव हुन्छ। तर, यसो गर्ने महिला आफन्त वा घनिष्ठ साथी (एकअर्काको स्वभाव, अवस्थासँग परिचित र विश्वास गर्न योग्य) हुनुपर्छ। चिनजान भएको त्यति धेरै भएको छैन भने त्यस्तो व्यक्तिले यस्ता निजी विषय छुनु वा हस्तक्षेप गर्नुअघि अनुमति लिनुपर्छ। ठाउँ र परिस्थिति हेरी बोली र व्यवहार (छुवाई वा चलाई) अस्वाभाविक हुनु हुँदैन। यो पुरुष र महिला दुवैमा लागू हुने कुरा हो। यो चेतना आएको पनि ममा धेरै भएको छैन।  

गणतन्त्रपछि हामीकहाँ सामाजिक न्यायसँगै विभेद, हिंसाबारे तीव्र रूपमा बहस भइरहेका छन्। सामाजिक न्याय स्थापनाका लागि ‘घरेलु हिंसा (कसुर र सजाय) ऐन–२०६६’, ‘मुलुकी अपराध संहिता–२०७४’, ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१’ जस्ता कानुन बनेका छन्, जसमा वैवाहिक बलात्कारदेखि करणीको आसयसम्ममा सजायको व्यवस्था छ। त्यसैले अचेल विशेषतः फरक लिंग, जात, समुदाय र क्षेत्रको व्यक्तिसँग बोल्ने, छुने–चल्ने, हेर्ने गतिविधिसँगै यौनजन्य विषयमा हामी सचेत हुन थालेका छौँ।

यस्तो प्रकारको सचेतना मानिसमा विशेषतः दुई कारणले आउँछ– १) राज्यको नियम–कानुन, समाज र सत्ता (व्यक्तिको राजनीतिक र सामाजिक हैसियतको पनि) को डरले। २) अध्ययन, चिन्तन, मनन र विवेकले।  

मैले कैयौँ महिलाबाट सुनेको छु, ‘फलानोले कस्तरी घुरेर हेरेको ! मलाई त डर लाग्यो। ’  

कैयौँ पुरुषले भनेको सुनेको छु, ‘फलानीले मलाई निकै हेरी। ’

दुनियाँमा कुनै दोहोरो गल्ती हुन्छ भने त्यो अकस्मात्को स्वाभाविक आँखा जुधाइ नै हो। तर, एउटाले अस्वाभाविक रूपमा हेरेपछि अप्ठेरो महसुस गरी अर्कोले हेर्न पुग्नुमा यो भनाइ लागू हुँदैन। एकले अर्कोलाई विशेषतः पुरुषले महिलालाई घुरेर हेर्नु वा हेर्न पुग्नु र महिलामा डर वा अन्य कुनै विचार उत्पन्न हुनुका पछाडि धेरै कारण छन्। ती कारणमाथि बहस हुन आवश्यक छ।

देख्नु र हेर्नु

दृष्टि भएकाले हिँड्दा–डुल्दा वा बस्दा वरपर धेरै चिज स्वाभाविक रूपमा देख्न पुग्छौँ। देखेपछि मात्र हेर्ने कुरा हुन्छ।  

हामीले सुन्छौँ– कस्तो देख्नै नपाएझैँ हेरेको ! यहाँ यो वाक्य नकारात्मक रूपमा आएको छ। यसले के अथ्र्याउँछ भने, कसैले कसैलाई अप्ठेरो महसुस हुने गरी हेरेको छ, वा कुनै चिज वा दृश्यलाई अस्वाभाविक रूपमा हेरिएको छ। यसले यो संकेत गर्छ– स्वाभाविक र सहज रूपमा देख्न नपाउने चिज नै हामी हेर्न खोज्छौँ। हामी बोलीचालीमा भन्छौँ– फिल्म, नाटक वा नाच हेर्न जाने। तर देख्न जाने भन्दैनौँ।

‘देख्नु’ शब्द नेपाली भाषा र समाजमा निकै सकारात्मक, अझ भनौँ आत्मीय वा भावनात्मक रूपमा पनि प्रयोग हुने गरेको छ। जस्तोः फलानोलाई कस्तो देख्न मन लागेको छ। धेरै वर्षमा भेटेको मान्छेलाई ट्वाल्ल हेर्न पुग्यौँ भने पनि नकारात्मक अर्थ लगाउँदैनौँ, बरु प्रेम, सद्भाव र आत्मीयताको रूपमा लिन्छौँ।

आज किन हामीले एक–अर्का (विशेषतः पुरुषले महिला)लाई प्रेम, सद्भाव र आत्मीय भावमा हेर्न सक्दैनौँ र कसरी हेर्ने भनेर बहस गरिरहेका छौँ ?

भारतीय लेखक डा. एनके गुप्ताले आफ्नो पुस्तक ‘बडी ल्यांग्वेज’मा लेखेका छन्, ‘जो स्त्री कुनै पुरुषलाई आकर्षित गर्न चाहन्छे, उसले त्यस पुरुषतिर हेर्दै प्रायः आफ्नो नितम्बमा हात राख्छे र छातीमा अत्यधिक कृत्रिम उभार ल्याउने कोसिस गर्छे। ताकि पुरुषको दृष्टि त्यहाँबाट नहटोस्।’

गुप्ताले यो कुरा जे आधारमा लेखे, यसको लामो इतिहास छ। त्यो इतिहास खोज्न एउटा प्रश्नको सुरुङ भएर अगाडि बढ्नुपर्छ– कुनै स्त्रीले कुनै पुरुषलाई आफूतर्फ आकर्षित गर्न किन आवश्यक भयो ?

मानसिकताको नियम

सिग्मन्ड फ्रायडले आफ्नो पुस्तक ‘अ जनरल इन्ट्रडक्सन टु साइकोएनालाइसिस’मा भाषाविद् तथा मनोविद् एच स्पर्बर (उप्सला)को भनाइ उद्धृत गरेका छन्, ‘भाषाको उत्पत्ति र विकासमा यौन आवश्यकताले सबैभन्दा ठूलो भूमिका निभाएको छ। आदिम मानिसले पहिलो ध्वनि कुराकानी गर्न र यौन साथीलाई बोलाउनका लागि निकालेको थियो। ’

यसलाई मान्ने हो भने ‘मानिसले भाषामा प्रयोग गर्ने अधिकांश शब्द र हाउभाउ (शरीरको भाषा) यौनसँग सम्बन्धित हुन्छन्’ भनेर मान्नुपर्छ। अधिकांश भाले पशुपक्षीले पोथीलाई आकर्षित गर्न आवाज निकाल्ने र शरीर फुलाउने गरेको देखिन्छ। यसमा विभिन्न खोज भइरहेका छन्। त्यस्तै, गाउँ समाजमा द्विअर्थी (विशेषतः यौन र अन्य अभिधा अर्थ दिने) बोलेर पुरुष र महिला जिस्किरहेका हुन्छन्। वा, पुरुषले महिलामाथि हिंसा गरिरहेका हुन्छन्। आज पनि कति साहित्य द्विअर्थीमै पाइन्छन्।

स्वाभाविक देख्नु र मनसाय, आशय र दुराशयले हेर्नुबीच फरक रहेको माथि आएको छ। मनसाय अर्थात् मनको आशय। नेपाली बृहत् शब्दकोशले ‘आशय’ शब्दको अर्थमा ‘भाव, मतलब, तात्पर्य, इच्छा, कामना, उद्देश्य, नियत, गूढ अभिप्राय’ शब्द उल्लेख गरेको छ। यहाँनेर प्रश्न उठ्छ– मान्छेको मनमा ‘आशय’ वा ‘दुराशय’ भाव कसरी उत्पन्न हुन्छ ?  

मानिसमा उत्पन्न हुने आशयभाव स्वाभाविक प्रवृत्ति हो। इच्छा, उद्देश्यले नै मानिस आजको अवस्थामा छ। तर इच्छा र उद्देश्य सम्भव हुने खालको वा नियमसंगत हुनुपर्छ। जस्तोः कसैलाई राजा वा कार्यकारी शासक हुने इच्छा जाग्यो। वा, चन्द्रमा छुन मन लाग्यो। राजा हुने एउटा नियम बनाइएको थियो। युद्ध जितेर वा राजाको जेठो छोरो भएर राजा हुन सकिन्थ्यो। आज हामीकहाँ राष्ट्रपति र प्रधानमन्त्री हुने एउटा नियम वा प्रक्रिया छ। चन्द्रमासम्म पुग्ने पनि विज्ञानको एउटा नियम छ, जुन नियम थाहा नहुँदा हिजोका मानिसलाई चन्द्रमा छुनु ठूलो कल्पनाको कुरा थियो।

यहाँनेर भन्न खोजेको के भने, मानिसले प्राचीनकालदेखि नै परिवार, समाज र राज्य चलाउने नियम बनायो। र, प्रकृतिको पनि आफ्नै नियम छ। मानिसले बनाएका अधिकांश नियम यौन र विवाहसम्बन्धी थिए र छन्। यौन मानिसको मात्रै होइन, सृष्टिकै मूलप्रवृत्ति हो। सृष्टिलाई नियाल्ने हो भने यौनका लागि भयानक लडाइँ भएको देखिन्छ। 

अधिकांश जनावरका भालेले समूहमा पोथीलाई भोग गर्न ज्यानकै बाजी राखेर अर्को भालेसँग लड्छन्। यतिसम्म कि भालेले पोथीलाई भोग्न पहिले स्वयं पोथीलाई जित्नुपर्ने हुन्छ। तपाईंले वरपर देख्नुभएकै होला, कुखुराको भालेलाई पोथीले तबसम्म पत्याउँदिनँ, जबसम्म भाले राम्रोसँग बास्न जान्दैन। बास्न सिक्दै गरेको वा राम्रोसँग बास्न नजानेको भालेसँग पोथी लड्छे। लडाइँमा जित्यो भने मात्र भालेले पोथीलाई भोग्न पाउँछ।यही नियम गाई र बहरमा पनि देखिन्छ।अर्थात् पोथीलाई भोग गर्नका लागि भाले समूहमै सबैभन्दा बलियो हुनुपर्छ।

यहाँनेर यो निष्कर्ष निकाल्न सकिन्छ, प्रकृतिले नै स्वस्थ भालेबाट सन्तान उत्पादन गर्न चाहन्छ, ताकि सन्तान पनि स्वस्थ नै जन्मियोस्। समूहमा सबैलाई जित्न सक्ने भाले निश्चय नै सबै प्रकारले स्वस्थ हुन्छ। तर, विवेक भएको मानिसको हकमा पशु प्रवृत्ति लागू हुँदैन र भएन। तर, राज्यको उत्पत्तिसँगै विभिन्न समूहमा युद्ध हुँदा हार्ने समूहका पुरुषलाई जनावर सरह दास र महिलालाई यौनदासी बनाउने प्रचलन थियो।

मानिससँग विवेक भएकैले सभ्यताको सुरुवातसँगै समाजका जान्ने–बुझ्ने वा शासकले अन्य मानिसलाई एक प्रकारको अनुशासनमा राख्न (त्यो अनुशासन अन्यायपूर्ण भए पनि) र मानिसमाथि शासन गर्न नियम बनाउन थाले। तर, नियम सधैँ शासक वर्ग वा समाजका बहुसंख्यकले आफूलाई हित हुने गरी बनाउँदै आए। नियमलाई लागू गर्न सजाय तोकियो, मानिसले लुकिछिपी नियम तोड्ने भएकाले अलौकिक शक्ति र धर्म जोडेर त्रासको मानसिकता निर्माण गर्ने प्रयास गरियो, जस्तो कि यसो गरे भगवान् रिसाउँछन्।

अझ नीच योनिमा पुनर्जन्मको त्रास पनि देखाइयो। हामी हिन्दूहरूको प्राचीन नियममध्येको एक मनुस्मृतिमा उल्लेख छ, ‘परपुरुषसँग व्यभिचार गर्ने स्त्री संसारमा पनि निन्दित मानिन्छन् र मरेपछि अर्को जन्ममा स्याल्नी अथवा कुष्ठरोगी भएर दुःख पाउँछन्।’

समाज र राज्यमा पुरुषकै सत्ता भएकाले यहाँ स्त्रीलाई आफ्नो पतिबाहेक अन्यसँग यौन सम्बन्ध राख्न रोक लगाइएको छ। यसको अर्थ यो हो, स्त्रीले यौनसम्बन्ध राख्नका लागि विवाह गर्नैपर्छ। यसमाथि कुन वर्ण (जाति)का स्त्रीले कुन जातिका पुरुषसँग यौन सम्बन्ध राख्न र विवाह गर्न सक्छन् भन्ने पनि नियम बनाइएको थियो।

मनुस्मृतिमा अर्को श्लोक भन्छ– ‘उत्तम जातिका पुरुषसँग सम्भोगको इच्छा गर्दै उसको सेवा गर्ने कन्यालाई मार्नुहुँदैन, तर हीन जातिलाई पछ्याउन लागेकी कन्यालाई रोक्नुपर्छ।’

प्रकृतिसँग संघर्ष गर्दै आउँदा आदिम मानिसले अलौकिक शक्ति (ईश्वर)को कल्पना गर्‍यो। जन्म–मृत्यु र पृथ्वीको उत्पादन शक्तिलाई एक रहस्य ठान्यो। आगो वा सूर्य, पानी, वायु आदि प्राण र प्रकृतिसँग सम्बन्धित भएको थाहा पाएपछि यिनलाई अलौकिक शक्ति (ईश्वर) मान्यो। अलौकिक शक्ति वा प्रकृतिको आराधनाको नाममा धर्म र धार्मिक अनुष्ठान बने। 

धार्मिक अनुष्ठान संस्कृतिको रूपमा विकास हुँदै आए। कुनै संस्कृति मानिसको जीवनपद्धति बन्न वा मानिसको मन–मस्तिष्क बस्न निकै लामो समय लाग्छ। अझ यो कतै न कतै कुनै धर्मको आधारमा टेकेर बनेको वा बनाइएको हुनुपर्छ। अधिकांश संस्कृति धार्मिक अनुष्ठानमा आधारित हुन्छन्। यसको उद्देश्य मानसिक शक्ति बढाउने नै हुन्छ। यहाँनेर स्पष्ट हुनैपर्छ, सबै संस्कृति मानिसलाई शासन गर्न बनाइएका र खराब हुन्छन् भन्ने होइन। 

संस्कृतिले मानिसको जीवनपद्धतिलाई सहज बनाउने भूमिका खेलेको हुन्छ। यद्यपि, अधिकांश संस्कृति मिथक (अलौकिपात्र, वैज्ञानिक रूपमा प्रमाणित नहुने अपत्यारिलो कहानी वा विश्वास)मै आधारित हुन्छन्। र, अन्ततः धार्मिक नियम र संस्कृतिले मानिसको मन–मस्तिष्कमा शासन गर्न पुग्छन्। त्यसैले समाजमा विभेदकारी नियम पनि बिस्तारै बिस्तारै परिवर्तन हुँदै आएका छन्।

लामो अभ्यासमा रहेका धार्मिक नियमले मानिसमा एक प्रकारको मानसिकताको निर्माण गर्छ। यसो किन हुन्छ भने दुनियाँमा दुई थरी मानिस हुन्छन्– आस्थावान् र तार्किक। यसलाई धर्मशास्त्रको दृष्टिकोण अनुसार, आस्तिक र नास्तिक (लोकायतिक)को अर्थमा बुझ्न सकिन्छ।

समाजले मान्दै आएका कुरा कसैले तर्क नगरी स्वीकार गर्छ, कसैले त्यसमा तर्क गर्छ। तर्क गर्नेले त्यसका अपत्यारिला, अवैज्ञानिक र अन्यायपूर्ण कुरा खुट्ट्याउँछ। उसले पुनर्जन्म र ईश्वरलाई खोज अनुसन्धानको विषय मान्छ, तर यसको नाममा भएको शासनको विरोध गर्छ। आस्तिकले भने धार्मिक कुरालाई सत्य र व्यावहारिक मानेर विश्वास गरेका हुन्छन्। जस्तो: देवता वा पितृका नाममा दूध चढाउनुमा उनीहरूको आफ्नै विश्वास र तर्क हुन्छ।

स्त्रीको छाती र मनोविज्ञान  

वनमा रहने पशुपक्षीले नुहाउने (पानीमा रुझ्ने र डुबुल्की मार्नेबाहेक) वा शृंगार गर्ने गर्दैनन्। उनीहरू शारीरिक रूपमा स्वस्थ र सुन्दर प्राकृतिक रूपमै हुन्छन्। र, उनीहरू जैविक रूपमा तयार भएपछि वा समय आएपछि यौन सम्बन्धका लागि तयार हुन्छन्। तर, मानिसको हकमा सौन्दर्य र शृंगारको प्रबल भूमिका देखिन्छ।

मानौँ, सडकमा एक स्त्री धेरै दिन ननुहाएर बसेकी छन्। उनको छाला र कपडा मैलोले पुरिएको छ, कपाल भताभुंग र लट्टा परेको छ। तर, उनी समाजको मानक अनुसारकी राम्री र जवान नै हुन्। यस्ती महिलालाई देखेर वा हेरेर समाजमा सम्मानित र सामान्य अवस्थाको कुनै पुरुष यौनिक रूपमा आकर्षित होला भनेर कल्पना गर्न सकिँदैन। तर, उस्तै अवस्थाको सडकमै रहेको अर्को पुरुषबारे केही भन्न सकिँदैन।

कुनै पुरुष वा स्त्री कतै पहिलो भेटमै एक अर्काप्रति आकर्षित हुन सक्छन्, जसलाई विश्वले नै ‘लभ एट फस्र्ट साइट’ (पहिलो नजरमै प्रेम)को मान्यता बनाएको छ। यो प्रेम हो वा यौन आकर्षण मात्रै ? यसबारे पनि विभिन्न परिभाषा छन्।  

मानौँ, हाम्रो समाजमा कुनै एक पुरुष र स्त्री पहिलो भेटमै बोल्दै नबोली एकअर्काप्रति आकर्षित भए। त्यसपछि कुरा हुँदै गयो। कुरा हुनका लागि उनीहरूबीच भाषा मिल्नुपर्ने वा कुनै माध्यम भाषा हुनुपर्ने हुन्छ। त्यसपछि उनीहरूबीच देश, समाज, धर्म, जाति, वर्ग र कति शिक्षित भन्ने सम्मका कुरा आउँछन्।यी इत्यादि कुरा नमिलेर बिहे नभएका थुप्रै उदाहरण छन्। उनीहरूबीच विवाह पो भएन, यौन सम्बन्ध त हुन सक्छ।

यहाँनेर, विपरीत लिंगीहरू एकअर्काप्रति आकर्षित हुनका लागि पहिले वर्ग आयो। एउटा सडकमा, अर्को महलमा भएर हुँदैन। दोस्रो कुरा, केलाई राम्रो मान्ने भन्ने सौन्दर्य–मानक चाहियो। कोही बोलीबाट, कोही वेशभूषाबाट, कोही शारीरिक अवस्थाबाट, कोही चालढालबाट आकर्षित हुन सक्छन्। 

यसरी आकर्षित हुनका लागि सौन्दर्यको मानक र उनीहरूको मानसिकताको पनि भूमिका हुन सक्छ। मलाई एकपटक एक अर्धबैंसे पुरुषले भनेका थिए– ‘मलाई सारी लगाएकी अर्धबैंसे विवाहित महिला निकै सेक्सी लाग्छ। किनभने, ब्लाउज र सारीबीच उसको कम्मर देखिन्छ, नितम्ब र कम्मरबीच छालाको खण्ड परेको मलाई निकै सेक्सी लाग्छ। ’

त्यस्तै, एक युवतीले भनेकी थिइन्, ‘शारीरिक रूपमा फिट पुरुषको केही लामो पछाडि फर्काएको कपाल मलाई निकै मनपर्छ। अझ त्यो कपाल हिँड्दा अलिअलि हल्लियोस् र निधारतिर आउन–आउन खोजोस्। ’

सारी लगाएकी महिलाप्रति आकर्षित हुने पुरुषबारे यो भन्न सकिन्छ कि उनले महिलाको कम्मरबाट यौनजन्य कल्पना गर्छन्। त्यस्तै, पछाडि फर्काएको लामो कपालसहितको पुरुष मनपराउने युवतीको मानसिकता धेरै कुराबाट प्रभावित देखिन्छ। जस्तोः टेलिभिजनका सिरियलमा देखाइने कपाल पाल्ने देवता, कपाल पालेका हिरो वा खेलाडीबाट उनले सौन्दर्यको मानक बनाएको हुनुपर्छ। जसलाई उच्च सम्मानका साथ बारम्बार देखाइन्छ, वा त्यसलाई हेर्न पुगिन्छ, त्यो मानिसका मनमा बस्न पुग्छ।  

जहाँसम्म स्त्रीको छातीको कुरा छ, यो एक बच्चाका लागि प्राकृतिक रूपमै बाँच्ने आधार हो। तर, जबदेखि शृंगारको प्रचलन आयो, तबदेखि एक पुरुषका लागि स्त्रीका ओठ, आँखा, नाक, कान, घाँटी र छाती यौन आकर्षणका ‘केन्द्र’ बन्न पुगे। कामुकता र महिलाको सौन्दर्यबारे कामसूत्रदेखि भर्तृहरिको शृंगारशतक, नवरससम्ममा उल्लेख छन्। छाती लगायत शरीरको आकार र चिह्नका आधारमा सामुद्रिक शास्त्र बनेको छ।  

राज्यको उत्पत्ति र निजी सम्पत्तिको स्वामित्वको सुरुवातसँगै पुरुषले स्त्रीलाई विवाह गरी ‘निजी’ बनाउन थाल्यो। अझ भनौँ, अंश र वंशको हकविहीन बनायो। सत्ता र शक्तिमा रहेका पुरुषले धेरै महिलालाई ‘निजी’ बनाउन थाले।  

डा. एनके गुप्ताले उल्लेख गरेको ‘पुरुषलाई आकर्षित गर्न महिलाले छातीमा कृत्रिम उभार ल्याउने’ कुरा शक्ति, सत्ता, सम्पत्ति, पुराना नियम र मानसिकतासँग सम्बन्धित छ।

महिलाको आकर्षक छाती लगायतलाई सौन्दर्य मानक बनाउने पुरुष नै हो। शक्तिशाली पुरुष (पति)लाई आफ्नो वशमा राख्न महिलाले पुरुषले बनाएकै सौन्दर्य मानक अपनाउनुपर्ने भयो। वर्ग र शासकीय वा सामाजिक हैसियत छुट्ट्याउन शृंगारमा बहुमूल्य आभूषणको प्रयोग हुन थाल्यो। हाम्रै भूगोलको इतिहासमा पनि राजपरिवारले र सामान्य नागरिकले लगाउने पहिरन तोकिएको थियो।

आजभन्दा दुई सय वर्षअघि भारत, केरलाको त्रावणकोरमा शूद्र जातिका महिलालाई स्तन छोप्ने छुट थिएन। तल्लो जाति भनी पहिचान गर्न सहज होस् भनी स्तन नछोप्ने नियम बनाइएको बताइन्छ। छोपे मुलाकरम (स्तन छोपेको कर) तिर्नुपथ्र्यो। यहाँका मारथन्ड बर्मा (१७१९–१७५८) नामक राजाले यस करको सुरुवात गरेका थिए।

समाजमा वर्गीय खाडल हुँदैनथ्यो, वा समाजवादी व्यवस्था हुन्थ्यो, शासक र नागरिकको जीवनशैलीमा फरक हुँदैनथ्यो, शासन–प्रशासनमा पुग्ने नियमहरू सबैलाई समान हुन्थ्यो, मानिसबीच ठूलो–सानोको मान्यता हुँदैनथ्यो, यौनबारे भ्रमपूर्ण मूल्य–मान्यता हुँदैनथ्यो भने यहाँ कसैले कसैलाई आकर्षित गर्न आवश्यक पर्दैैनथ्यो। मानिसहरू पहिलो नजरमै प्रेममा पर्थे, विवाह गर्थे वा सुरक्षित यौन सम्बन्ध राख्थे, समाज त्यसरी नै चल्थ्यो। 

प्रकाशित: २६ भाद्र २०७८ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App