३ कार्तिक २०७८ बुधबार
कला

पठनीय संग्रह ‘फेसबुक आइडी’

पुस्तक

विश्वराज अधिकारी

‘फेसबुक आइडी’ विष्णु भण्डारी आचार्यको लघुकथा संग्रह हो। यस लघुकथा संग्रहमा जम्मा ४० लघुकथा समाविष्ट छन्। प्रत्येक लघुकथाको समीक्षा वा परिचर्चा यसप्रकार गरिएको छ। ‘पक्राउ पुर्जी’  लघुकथाले एक स्वार्थी पतिको तल्लो स्तरको कर्तुत बयान गरेको छ। संस्कारले अरूलाई अर्ति दिने मान्छे स्वयं असल चरित्रको हुनुपर्छ भन्ने सन्देश यो लघुकथाले बोकेको छ। ‘माइत’ लघुकथाले एक स्वार्थी भाइ र उसको परिवारले धनी भएपछि मात्र दिदी र उसको परिवारलाई आदर गर्ने देखाएको छ। ‘माया’ मा एक रिसाहा शिक्षकको क्रूरताको प्रभावी किसिमले देखाइएको छ। खर्चिलो बन्दै गएको चाडपर्वले ल्याएको सामाजिक कुरित ‘दसैं खर्च’ मा दर्शाइएको छ।  

‘साहू’ लघुकथा एक अत्यन्त साहसी महिलाको कथाको रूपमा उत्तम हुन्थ्यो यदि सो महिला निजको पतिको मृत्यु हुनुभन्दा पहिले साहसी भएको भए किनभने उनको साहसको जस पतिको मृत्युलाई दिइएको छ। अर्थात् उनी पतिको मृत्युपछि मात्र साहसी भएकी छन्। बाबुले आफ्नो सपनाको भारी छोरालाई बोकाएको सन्देशमूलक लघुकथा हो ‘सिप’। आशीर्वाद एक सुन्दर लघुकथा हो। यो लघुकथाले नेपाली समाजको (कु) चरित्रलाई राम्रो गरी प्रस्तुत गरेको छ। यौन कथा भए पनि सामाजिक चेतना जगाउने एक उत्तम लघुकथा हो ‘छाडा कुरा’।

‘गलत निर्णय’ ले दोस्रो पत्नी ल्याउने पतिविरुद्ध सङ्घर्ष गर्न प्रेरित गर्छ। यस्तो भइदिए हुन्थ्यो भन्ने उद्देश्य बोकेको यो एक आदर्श कथा हो ‘नयाँ आइडी।’ ‘मनोबल’ मा व्यवहार सुधार कार्यमा उत्प्रेरणाको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा देखाइएको छ। यो आम पाठकका लागि एक उपयोगी कथा हो। ‘के काम’ मा संयुक्त परिवारमा वृद्धवृद्धाहरूलाई छोराबुहारीले गर्ने अनादर देखाएको छ। यसले अहिलेको समाजको कुरीतिको राम्रो चित्रण गरेको छ।

विष्णु भण्डारी आचार्यको ‘फेसबुक आइडी’ 

समाजमा दोहोरो मापदण्डमा बाँच्ने अनेक व्यक्ति छन् भन्ने कुरा ‘सल्लाह’ मा  कुशलताका साथ दर्शाइएको छ। ‘पुरानो कुरा’ को विषयवस्तु गम्भीर भए पनि यो कथा जुन किसिमले समाप्त गरिएको छ, त्यसले यो कथालाई हल्का पारिदिएको छ। यो एक प्रेम कथा हो। हितयार ‘प्रिजेन्स अफ माइन्ड’ लाई  केन्द्रमा राखेर लेखिएको एक सन्देशमूलक लघुकथा हो। यो लघुकथाले युवतीहरूको साहस अभिवृद्धि गर्छ। एक आदर्श मिसिएको लघुकथा हो ‘समाजसेवा’।यसमा यथार्थभन्दा नाटकीयताको प्रयोग बढी भएको छ।

‘पृत्रीप्रसाद ’ एक सामान्य लघुकथा हो। ‘अंशबन्डा’ समाजमा बिरलै हुने किसिमको यो एक आदर्श लघुकथा हो। ‘कमाइ’ मा सरकारी कर्मचारीहरूले गर्ने भ्रष्टाचार देखाइएको छ। ‘धर्म संस्कृति’ मा नेपालमा हुने जातीय विभेदलाई रोचक किसिमले देखाइएको छ।

‘चोट’ लघुकथा हुनुका साथै समाजमाथि गरिएको एक अर्थपूर्ण व्यंग पनि हो।कोरोनासँग सम्बन्धित भए पनि एक सामान्य लघुकथा हो कोरोना रिपोर्ट। ‘परिवर्तनको नारा’ राजनीति मिसिएको यो एक सामान्य लघुकथा हो। ‘महसुस’ एक सामान्य सामाजिक लघुकथा हो।संकल्प एक काल्पनिक लघुकथा हो। कथाकारको कल्पना पक्ष यस लघुकथामा निकै सक्रिय भएको छ। यो एक आदर्श लघुकथा पनि हो।

‘वाहियात’ एक सामान्य लघुकथा हो तर  यसलाई अर्थपूर्ण बनाउने ठाउँ भने थियो। लक्षिनकी बुहारी सामाजिक समस्या दर्शाउने यो एक सामान्य लघुकथा हो। ‘नारी दिवस’ सासू र बुहारी दुई परम्परागत शत्रु हुन्। अझै केही अवस्थाहरूमा सासूको व्यवहार झनै कठोर हुन्छ। यो कुरा यो लघुकथाले दर्शाएको छ। पछुतो एक सामान्य लघुकथा हो। फेसबुकले बनाइदिएको सम्बन्धमाथि व्यंग्य गरेर लेखिएको यो एक सामान्य विषयवस्तु भएको लघुकथा हो ‘फेसबुक सम्बन्ध’।

‘चुनौती’  नाटकीय किसिमले लेखिएको यो एक सामान्य लघुकथा हुन पुगेको छ। भविष्य एक सुन्दर एवं शिक्षाप्रद लघुकथा हो। राम्रो विषयमा लेखिएको यो लघुकथाले एक खास सन्देश दिन्छ। ‘पश्चाताप’ एक सामाजिक लघुकथा हो। यो लघुकथामा एक व्यक्तिले आफ्नो क्रूर स्वभावप्रति पश्चाताप गरेको पाइन्छ। ‘संघर्ष’ पनि एक सामाजिक लघुकथा हो। यसमा नकारात्मक उत्प्रेरणाबाट सकारात्मक प्रतिफल प्राप्त हुन सक्ने स्थितिलाई रोचक किसिमले दर्शाइएको छ। ‘सुसाइड नोट’को प्रकृति विशेष किसिमको छ। समाजमा ज्यादै कम देखिने घटना यो कथाको विषय बनेको छ। नेपाली समाजको यथार्थ चित्रण गरिएको एक राम्रो मनोवैज्ञानिक लघुकथा हो ‘सोच’।

कुनै व्यक्ति कतिसम्म लोभी र निर्दयी हुन सक्छ भन्ने यथार्थ ‘छिमेकी’ले राम्रो गरी देखाएको छ। सासू र बुहारीको सम्बन्धमा बुहारीलाई खल पात्रको रूपमा देखाइएको उम्दा लघुकथा हुन पुगेको छ ‘दान’। ‘किरिया’ लघुकथा पनि एक सामाजिक व्यंगको रूपमा प्रस्तुत हुन पुगेको छ।

यो लघुकथा संग्रहमा मुख्य रूपमा हाम्रो समाजमा देखिने खल पात्रहरूको चर्चा बढी गरिएको छ। यसैगरी दोहोरो मापदण्डमा बाँच्ने व्यक्तिहरूको असली चरित्रलाई यो लघुकथा संग्रहका कथाहरूले राम्रो गरी उदांग पारेका छन्। संग्रहका लघुकथाहरू मुख्य गरी सन्देशमूलक छन्। सुन्दर किसिमले लेखिएका छन्। पति र पत्नी बिच हुने अनेक किसिमका मतभेद यो संग्रहमा देख्न सकिन्छ।

कुनै लघुकथाको समापन गर्दा कथाकारले हतारमा उक्त लघुकथा समापन गरेको देखिन्छ। केही समय लगाएर (अन्य विकल्प र विस्तार सोचेर) त्यस्ता लघुकथाहरू कथाकारले लेखेको भए ती लघुकथाहरू अति सुन्दर र सन्देशमूलक हुने थिए।

हामीले कृति वा पुस्तकको नाम राक्दा विशेष ध्यान दिनुपर्छ किनभने पुस्तकको नामले सो पुस्तकभित्रका कुराहरू छोटकरीमा भन्नुपर्छ। त्यसकारण पुस्तकको शीर्षक भनेको पुस्तकको मुहार हो। जसरी मुहारद्वारा व्यक्ति चिनिने गर्दछ त्यसैगरी पुस्तकको शीर्षकद्वारा पुस्तक चिनिने गर्दछ। यस संग्रहका कथाहरूलाई प्रतिनिधित्व गर्ने किसिमबाट यो संग्रहको नाम राखेको भए लघुकथा संग्रहको शीर्षक अझै प्रभावकारी हुने थियो। पुस्तकको नामले पाठकलाई पुस्तक खरिद गर्न उत्प्रेरित गर्नुपर्छ। पुस्तकको नाम उच्चारण र संस्मरण गर्न सजिलो हुने पनि हुनुपर्छ। पुस्तकको नाम राख्दा यी कुराहरू विचार गर्न अत्यावश्यक छ।

कृतिमा भाषिक त्रुटिहरू निकै छन्। लघुकथा ‘संस्कार’ मा पुरुषार्थी भनिएको छ तर पुरुषार्थ लेख्नु सही हुन्छ। लघुकथा ‘नयाँ आइडी’ मा प्रशस्ती भनिएको छ तर प्रशस्त हुनुपर्ने हो। ‘पुरानो कुरा’ लघुकथामा सन्तोषी हुनुपर्नेमा सन्तोषै लेखिएको छ। लघुकथाकारले वाक्य निर्माणमा पनि ध्यान दिनुपर्ने देखिन्छ। आशा छ, आगामी कृतिहरूमा कृतिकारले यसतर्फ ध्यान दिनुहुनेछ।

यो संग्रह लेखनका लागि विष्णु भण्डारी आचार्यलाई शुभकामना व्यक्त गर्दछु। कृति र कृतिकारको सफलताको कामना गर्दछु।

प्रकाशित: २५ भाद्र २०७८ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App