coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपाली सेरामिक आर्ट

सेरामिक आर्ट (माटोको कला) सम्भवतः सबैभन्दा प्राचीन कला हो।पूर्वइतिहास कालदेखि आजसम्मको यात्रामा यसले अनेकौँ आरोह–अवरोह झेल्दै अगाडि बढेको देखिन्छ। यात्राका क्रममा यसले समय सान्दर्भिक हुँदै विविध स्वरूपमा आफूलाई परिवर्तित गर्दै आएको देखिन्छ। फलस्वरूप यो माटोको कला विविध नामका साथ देखापर्‍यो।

माटोको कला बनाउन अलग अलग टेक्निकको प्रयोग भएको देखिन्छ। काँचो माटोबाट बनाइने कला, माटो पकाएर बनाइने कला, माटोमाथि कोरेर बनाइने कला (चित्र) लगायत माटोबाट विभिन्न कला निर्माण गर्न सकिन्छ। विशेषतः माटोलाई पोलेर विभिन्न प्रकारले कलाको रूप दिइन्छ।एकपटक पोलिसकेपछि पनि पुनः पोलेर आफूले खोजेको रङ, इफेक्ट, टेक्चर, चमक ल्याउन अनेक प्रयोग भएको देखिन्छ। कहिले चर्को घाममा सुकाएर, कहिले छायामा राखेर, कहिले ताप दिएर अनेक प्रकारले माटोको कला बनाउने प्रचलन छ। यसैलाई पोटरी, टेराकोटा, सेरामिक कला आदि नाम दिन थालियो।

टेराकोटाको कुरा गर्दा काँचो माटोलाई कुनै वस्तुको रूप दिइसकेपछि त्यसलाई ठूलो चुलो वा भट्टीमा जलनशील सामग्रीबाट विशेष प्रकारको फाइरिङ गरी ६ सयदेखि एक हजार डिग्री सेल्सियसकोे तापक्रममा पोल्ने गरिन्छ।  

सेरामिकमा योभन्दा बढी तापक्रम चाहिन्छ। कलाकार गोपाल कलापे्रमीको अनुभवमा सेरामिक कलामा सामान्यतः ११ सय डिग्री सेल्सियस आवश्यक हुने र यसलाई पुनः पोल्ने क्रममा आवश्यकता अनुसार घटाउनु, बढाउनुपर्ने हुन सक्छ।सेरामिक कला अन्तर्गत पोलिसकेको वस्तुमा रंग लगाइसकेपछि पुनः थप तापक्रममा पोल्ने गरिन्छ। कहिले रंग लगाएर पोल्ने, कहिले पोलेर रंग लगाउने गरिन्छ। यसरी अनेकौँ प्रयोग गरिने हुँदा सेरामिक कला वा टेराकोटालाई पनि अनेकौँ उपनाम दिइएका छन्। माटोमै केही केमिकल मिसाएर कला बनाउन थालेको देखिन्छ।

वास्तुकलाको शुभारम्भ माटोबाटै भएको देखिएको छ।माटोकै गारो, इँटा, माटोले नै छानो पोतेको पाइन्छ। ढुंगा, घाँसपात, स्याउलाको गारोमा पनि माटोकै प्रयोग गरिन्छ। हरप्पा र मोहनजोदारो सभ्यतामा माटोको इँटालगायत सामग्री उत्खनन भएका छन्।  

वास्तुकलामाथि पनि अनेकौँ प्रकारका कला समाहित हुँदै आएको देखिन्छ। एक कलामाथि अर्को कला थपिँदा समग्रमा वास्तुकलाकै विश्लेषण भइरहँदा पनि कहिले माध्यम (माटो, धातु, काठ आदि)को, कहिले चित्र वा मूर्तिको, कहिले संरचनागत ढाँचा (प्यागोडा, शिखर, स्तुपा, दरबार वा विहार शैली आदि)को वर्णन गर्ने प्रचलन छ। यसमाथि विभिन्न कलात्मक बुट्टा, प्रतीकात्मक नैसर्गिक आकृति बन्ने गरेको देखिन्छ।प्रकृतिको चित्रणदेखि दैनिक जीवनयापनका क्रियाकलाप कलामा उतार्दा कलाको अर्को विधा बन्न पुगेको पनि पाइन्छ। वास्तुकलामाथि चित्रकला वा मूर्तिकला थपिँदै एक अर्कै शैली र प्रकृतिमा देखिनु यो कलाको विशेषता हो।

कला र कलाकार  

कलाकारले सिर्जना गरेको कला नितान्त उसको निजी सम्पत्ति हो। कतिपय मानवले खास प्रतिभा लिएर आएका हुन्छन्। उनीहरूले उपलब्ध सामग्रीबाट कलाको निर्माण गर्ने गर्छन्। यसैलाई अझ सदुपयोग गर्ने क्रममा यो प्रभावपूर्ण कला समाजका अन्य क्षेत्र (धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक गतिविधि)को अभिन्न अंग बन्न पुग्छ।गुफाका भित्ता, ढुंगा वा चट्टानमा कोरेर, खोपेर, कोतरेर वा पोतेर कला बनाउने उपक्रम कलाकारले सुरुकै कालदेखि गर्दै आए। तथापि मानिसले गुफा कलाभन्दा अघि नै सहजै उपलब्ध हुने माटोको प्रयोग गरेर कला बनाएको आकलन गर्न सकिन्छ। माटाका कला चाँडै गलेर सडेर जाने भएकाले आज त्यसको सबुत पाइँदैन।

पछिल्लो कालमा आएर यही माटोको कलामा पनि कलाकारले विभिन्न आकर्षक प्राकृतिक टेक्चर (तात्तातो माटोको वस्तुलाई पराल वा घाँसपातमा घुसाएपछि वस्तुमा स्वस्फूर्त देखापर्ने रूप) देखाउन थालेपछि कला सिर्जनाले अर्को नयाँ मोड लिएको देखिन्छ।हरेक सिर्जनाको विशेष स्वरूप हुने हुँदा त्यसको आर्थिक र सामाजिक मूल्य पनि बढ्न थाल्यो।

स्वाभाविक हिसाबले हातैले बनाएका बुट्टाहरू, जुन सदियौँदेखि कपी वर्कका रूपमा बन्दै आएको थियो, कलाकार यसैमा मात्र अल्झेनन्। यसमा थप नयाँ नयाँ प्रयोगात्मक अभ्यास अवलम्बन गर्न थाले। कलाकारमा शिल्प दक्षता मात्र होइन, रचना दक्षता पनि रहेको ठहर पछिल्लोकालका कलाविद्ले गर्न थालेका छन्। पछिल्लोकालमा आएर कलाकारको विचारको ओज कलामा गाँसिन गएपछि सेरामिक कला नितान्त नौलो मोडमा प्रवेश गरेको महसुस गरियो। यही सोच नै पछि समसामयिक कलाको मूल आधारशिला बनेको देखिन्छ।

भावाभिव्यक्तका लागि मानिसले शिल्प, रचना र विचारको सहारा लियो। पछि क्रमशः कलालाई मानिसले आर्थिक र सामाजिक क्षेत्रसँग जोड्न थाल्यो। यसरी समसामयिक सेरामिक कलाको एक अलग्ग मान्यता स्थापित हुन पुगेको देखिन्छ।उपयोगी कलाका रूपमा प्रयोग गरिने भाँडाकुँडा पनि मानिसले महँगो दाममा खरिद गरी सजाउने, प्रदर्शन गर्ने प्रचलन बढ्न थाल्यो। तर सेरामिक कला कहाँनेर व्यावसायिक र कहाँनेर सिर्जनशील भनी अलग्गाउन गाह्रो पर्छ।

प्राचीन सभ्यता र माटोको सम्बन्ध  

सम्भवतः सबैभन्दा पहिला मानवले आफ्नो आधारभूत आवश्यकतामा माटो र ढुंगालाई अंगीकार ग¥यो। क्रमशः मानवका लागि माटो र ढुंगा अभिन्न अंग बन्न पुगे। यसरी माटोलाई खेलाउँदा खेलाउँदै कलाको जन्म भएको हुनुपर्छ। ढुंगाको हतियार बनाउँदा बनाउँदै सर्जकले यसभित्र कला घुसेको पत्तै पाएनन्। पछि मात्र कलाविद्ले यो पुरातात्त्विक वस्तुमा कलाको सुगन्ध देखे। जसरी ढुंगालाई एकापसमा ठोक्काउँदा ठोकाउँदै आगो निस्केपछि तत्कालीन परिस्थितिमा नौलो आविष्कार भएको थियो। आगोमा पोलेर बनाइएका माटोको सामान हुँदै मानिसले आधुनिक वेशभूषा, गरगहना, हातहतियार, भाडाकुँडा वा दैनिक उपभोगका वस्तु बनाउन पुग्यो। आज पुरातात्त्विक कलाको रूपमा तिनको विश्लेषण हुने गर्छन्।  

कलाको इतिहास खोतल्ने क्रममा प्राचीन सभ्यताको चर्चा गर्नुपर्छ। सिन्धुघाँटीको सभ्यता यसको ज्वलन्त उदाहरण हो। सिन्धुघाँटीको सभ्यता इसापूर्व ७००० देखि ६०० सम्मलाई आँकिने गरिन्छ। यसलाई व्यवस्थित सहरको रूपमा परिकल्पना गरिएको छ। टेराकोटाको प्राचीनता खोज्ने क्रममा कलाविद्ले यसलाई चाइनिज पोटरी १० हजार वर्ष इसापूर्व, ग्रिक पोटरी ७००० इसापूर्वसम्म पुर्‍याएका छन्। 

यसरी नै मेसोपोटामियन र इजिप्सियन कलालाई पनि माटोको पोटरी बनाउने सन्दर्भमा प्राचीनकालकै मान्ने गर्छन्। रोमन वास्तुकलामा डेकोरेटिभ आर्टका रूपमा टेराकोटा उहिल्यैदेखि प्रख्यात थियो। अझ टेराकोटाको पहिलोपल्ट प्रयोग भएको सन्दर्भमा त विद्वानले यसलाई ‘भेनस अफ डल्नी भेस्टोनाइस’को उदाहरण दिँदै २६,००० इसापूर्वसम्म पुर्‍याएका छन्। यो काल मूलतः इसापूर्व २६००० देखि २४००० सम्म सक्रिय रहेको बताइन्छ।

जहाँसम्म सिन्धुघाँटीको सभ्यता सन्दर्भ छ, यसले विशाल क्षेत्र ओगटेको भए पनि मूलतः हरप्पा र मोहनजोदारोलाई मुख्य स्थलको रूपमा मानिन्छ। अहिले त यसैको वरिपरिको अन्य कैयौँ क्षेत्रको पनि उत्खनन भइसकेका छन्। र, ऐतिहासिक आलेख तयार भएका छन्। यी सबैजसो ठाउँमा अनेकौँ  पुरातत्त्व वस्तु पाइएका छन्। जसमा माटोका कला यथेष्ट रूपमा पाइएको छ। जहाँसम्म हरप्पा र मोहनजोदारोको मात्रै सम्बन्ध छ, यहाँ योजनाबद्ध बाटोघाटो, नल, ढल, शौचालय आदिको भग्नावशेष प्राप्त भएको हुँदा यी ठाउँ त्यसबखतका सभ्य सहर हुन सक्ने कल्पना गरिएको छ। 

त्यस बखतका मान्छेमा अन्य धेरै विषय सँगसँगै कलाको पनि यथेष्ट ज्ञान सीप थियो। स–साना माटोको मूिर्त मात्र होइन, धातुको मूर्तिकला समेत प्राप्त भएका छन्।यसबाट त्यसबखत यहाँको कलाको स्तर उच्च रहेको कलाविद् आकलन गर्छन्। धातु मूर्तिका लागि साँचो बनाउन यसअघि माटोकै मूर्ति बनाउनुपर्ने हुँदा धातुको मूर्ति बनाउनुअघि माटोको मूर्ति बने होलान् भन्ने सहजै अन्दाज गर्न सकिन्छ। यसैवेला एक अलग्ग लिपि पनि प्राप्त भएको छ। यसलाई पढ्न भने सकिएको छैन। यसर्थ अहिले यो एक कला हो वा लिपि हो, अलग्गाउन सकिएको छैन। जे जस्ता कला यस बखत प्राप्त भएका छन्, यसको मूल स्रोत र प्रारम्भ माटोबाटै भएको हो भन्न गाह्रो पर्दैन।

आद्य कलाका रूपमा चिनिने सेरामिक कला अहिले समुदायको अभिन्न अंग बन्न पुगेको देखिन्छ। लोककलाको परम्परामा माटोलाई खेलाएर भित्तामा समेत कला बनाउने परम्परा (लो रिलिफ आर्ट) आज पनि छ। प्राचीनकालमा घरका भित्तामा यस्तो कला बनाउने प्रचलन रहेको वंशावली र अन्य ग्रन्थमा प्रशस्तै उल्लेख गरिएको छ। उहिल्यैदेखि केटाकेटीका लागि खेलौना बनाउन यही माटोको प्रयोग गरिन्थ्यो। यसरी माटोसँगै खेल्दाखेल्दै कला शिल्प भएका केटाकेटीले कला बनाउन पुगेको अनुमान गर्न सकिन्छ।

माटोका कला वा मूर्तिलाई मानिसले संस्कृतिमा समावेश गर्दै आयो।धर्मसँग गाँसेर मानिसले इतिहासमा प्रशस्त मूर्ति बनायो, जसको प्रमाण र अवशेष अझै पाइन्छ।  

नेपालमा सेरामिक्स कला  

नेपालमा माटोका कलाको निर्माण प्राचीनकालदेखि नै चल्दै आएको हो। लुम्बिनी क्षेत्रको उत्खननबाट प्राप्त पुरातात्विक वस्तुले यसको इतिहासलाई अझअगाडि तान्न सकिने ठाउँ देखिन्छ।यस ठाउँमा इसापूर्व तेस्रो शताब्दीका सम्राट अशोकले स्थापना गरेको स्तम्भ कला प्राप्त भएको छ। यसले त्यसबखत वा अझअघि यस क्षेत्रमा माटोका कला बन्ने गरेको सहजै अनुमान गर्न सकिन्छ। तथापि सिलसिलेवार रूपमा नेपाली माटोको कलाको इतिहास लेख्न सकिएको छैन। पोटरी, टेराकोटा भन्दै सेरामिक कलाको सन्दर्भ उठाउँदा हामीले माटोका समसामयिक कलाको प्रसंग बढी मात्रामा उठाउँछौँ।नेपालमा आज माटाको कला केही धार्मिक कलाका रूपमा, केही लोककला र केही समसामयिक कलाको रूपमा देखापरेको छ।

यसको अर्को परिचय भनेको उपयोगी कला हो। मूलतः हामीकहाँ माटोका भाँडाकुँडा, मूर्ति लगायत सामग्री प्रयोग हुँदै आएको पाइन्छ। उपयोगी कला अर्थात् व्यावसायिक कलाको रूपमा फस्टाएकाले यसको समाजमा विशेष महत्त्व  रहेको छ। विशेषतः काठमाडौं उपत्यका र तराई क्षेत्रमा माटोका सामान औधि मात्रामा बन्ने गरेको पाइन्छ। त्यसो त माटोका सामान नेपालका विभिन्न जातिका संस्कारमा पनि प्रयोग हुन्छन्।यसरी दैनिक जीवनापनसँग गाँसिँदै जाँदा नेपालमा माटोका कलाको संस्थागत विकास भएको देखिन्छ। यही अवधारणाअन्तर्गत नेवार समुदायमा गुठीको परिकल्पना गरिएको हो।

नेवार समुदायमा जन्मदेखि मृत्युसम्म गरिने दर्जनौँ संस्कार छन्। संस्कारहरू सदियौँदेखि अनवरत रूपमा पालना हुनुमा गुठीको भूमिका देखिन्छ। विभिन्न जात्रा, चाडपर्व मान्दा र जन्मदेखि मृत्युसंस्कार गर्दा माटाका कलात्मक भाँडाकुँडा प्रयोग हुन्छन्।  

उपयोगी कलाको कुरा गर्दा दैनिक उपभोग्य वस्तुका रूपमा माटोकै भाडाकुँडा प्रयोग हुन्थे।अहिले यसमा नयाँ प्रविधि जोडिएर टेराकोटा वा सेरामिक कला उद्योगकै रूपमा माटाका सामान बन्न थालेको देखिन्छ।

नेपाली समसामयिक सेरामिक कलाको जहाँसम्म सम्बन्ध छ, जसरी अहिले यस्ता कला निर्माण भइरहेको छ, यस्तै कला पहिले बन्ने गरेको देखिँदैन। विश्व कलाको इतिहासमा परम्परागत उपयोगी कलालाई कलाकारले आफ्नो भावाभिव्यक्ति र विचारको माध्यम बनाउन थालेपछि यो सेरामिक कला व्यावसायिक र सिर्जनशील कलाको बारलाई तोडेर अगाडि आएको देखिन्छ।साठीको दशकपछि आम मान्छेले प्रयोग गर्ने वस्तुलाई कलाकारले आफ्नो कलाको मूल पात्र बनाउन थाले।यसरी समसामयिक घटना, सन्दर्भ, सवालले कलामा प्रवेश पाउन थालेको हो। 

सेरामिक कला पनि यही प्रवृत्तिको एक भाग बन्न पुग्यो। नेपालमा यस्ता खाले कलाको श्रीगणेश कलाकार गोपाल कलाप्रेमी गरेका हुन्। थोरबहुत अन्य कलाकारले यस्ता काम गरे पनि लामो समयदेखि निरन्तर रूपमा सिर्जना गरिराख्ने र यसलाई सार्वजनिक (प्रदर्शनी) गर्नेमा उनी नै अगाडि देखिन्छन्। यस कार्यमा उनीजस्तो सक्रिय, सजग र मेहनेती कलाकार अर्को देखिँदैन। गोपाल कलाप्रेमीको अर्को विशेषता भनेको उनी आफ्नै घरमा यस्ता माटोको कला सिकाउने पनि गर्छन्। 

उनले थुप्रै सेरामिक कलाकार उत्पादन गरेका हुन सक्छन्। तर, निरन्तर रूपमा गरिरहने र प्रयोगात्मक रूपमा नयाँनयाँ कला सिर्जना गर्ने अर्को कलाकार अहिले भेट्न गाह्रै पर्छ। उनले औपचारिक रूपमै काठमाडौं विश्वविद्यालयको ‘सेन्टर फर आर्ट एन्ड डिजाइन’मा धेरै वर्ष प्राध्यापन गरे।

आज मात्र होइन, २०औँ वर्ष अघिदेखि उनको घर एक कलाको संग्रहालयजस्तो बनेको देखिन्छ। अनौपचारिक रूपमै जोकसैलाई सिकाइदिने हुनाले विद्यार्थी कलाकार मात्र होइन, अलिकता रहर जाग्ने जोकोही पनि उनको घरमा भीड लाग्ने गथ्र्यो र गर्छन्। यसर्थ उनको घर एक प्रकारले सेरामिक कलाको कार्यशालाजस्तो भइरहेको देखिन्छ।

अत्याधुनिक शैलीमा बनेका यस्ता सेरामिक कला अहिले सिद्धार्थ कला दीर्घामा प्रदर्शन भइरहेको छ। गोपाल कलाप्रेमीको सेरामिकका अत्याधुनिक प्रवृत्ति र प्रविधिलाई हेर्न सकिने यो कला प्रदर्शनीमा उनैको श्रीमती यमुना श्रेष्ठ र छोरा शशांक कलाप्रेमी श्रेष्ठको कलालाई पनि अवलोकन सकिन्छ। झन्डै तीन दशक अगाडिदेखि गोपाल  कलाप्रेमीको घर आफैँमा एक कलाको संग्रहालयजस्तो देखिनुमा उनकी श्रीमती यमुनाको ठूलै हात छ। यमुना राम्रो कलाकार बनिसकेको देखिन्छ।अहिले छोरा शशांक समेत उदाएका छन्।

नेपालको स्थापित समसामयिक मूर्तिकार हुन्, गोपाल। उनको अन्तर्राष्ट्रिय छवि बनिसकेको छ। समसामयिक धारमा माटाका कला बनाउने अनि सामाजिक मुद्दालाई गहिरोसँग उठाउने कलाकारको रूपमा उनलाई चिनिन्छ। नेपालमा उत्तरआधुनिक कलाको प्रवृत्ति भित्र्याउने क्रममा महत्त्वपूर्ण भूमिकामा देखापरेका कला संस्था ‘सूत्र’मा उनी अध्यक्ष रहेका थिए।

राष्ट्रिय, अन्तर्राष्ट्रिय कलाको क्षेत्रमा महत्त्वपूर्ण कला प्रदर्शनी, कला कार्यशाला, रेसिडेन्सीमा दर्जनौँपटक भाग लिइसकेका गोपाल कलाका अनेकौँ थिममा काम गर्छन्।यसपल्ट उनले म्यास्कुलिजम थिमलाई समाएका छन्। फेमिनिजम, जेन्डर र म्यास्कुलिजमको वरिपरि घुमेका उनका कला अब्बल छन्। विषय, अवधारणा, प्रस्तुतिका दृष्टिले थिम (सवाल)सँग प्रभावपूर्ण सामञ्जस्य हुन जाँदा उनका कला सहजै बुझिने र चोटिला देखिन्छन्। रचना क्षमता र शिल्प दक्षताका कारण उनका कलाको अलग्गै पहिचान छ। यसअघि उनको एकल कला प्रदर्शनीमा यो थिमले प्रवेश पाए पनि त्यसबखत आम भावकको त्यस्तो ध्यान तानिन सकेको थिएन।

यसपटक आमभावकले खुलेरै उनको कलामाथि प्रतिक्रिया स्वरूप बहस गरेको देखियो। आम भावक माझ प्रभावपूर्ण ढंगले पुगेको नेपालमा सम्भवतः यो पहिलो समसामयिक सेरामिक काम हो। हुन त यसअघि यही सिद्धार्थ कला दीर्घामा प्रदर्शित कलाकार मनिष हरिजनको काममाथि आमभावकले चासो, चिन्तासँगै विरोध जनाएका थिए। तथापि यसपालिको सकारात्मक प्रतिक्रियात्मक बहस अलग्गै पाराको छ।  

गोपाल कलाप्रेमीले आफ्ना विचारलाई अगाडि सार्न अनेक पात्रलाई विविध पोजमा प्रस्तुत गरेका छन्। महिलालाई शक्तिशाली रूपमा उभ्याइएको स्पष्ट देखिन्छ। उनले साँढे, गधा, घोडा, बाँदर, बोका, भेडा, कुकुरलाई अलिकता सररिअलिस्टिक, अलिकता प्यारोडी, सटायरिकलका साथ प्रस्तुत गरेको देखिन्छ। कतै विविध रूपमा महिलाको आकृतिलाई पनि अगाडि ल्याइएको छ।

सबैभन्दा महत्त्वपूर्ण संयोजन जनावरमाथि महिलालाई विविध पोजमा देखाइनु र हरेकले बिकनी (महिलाले पौडी खेल्दा लगाउने लुगा) लगाएको देखाइनुमा छ। यसैमा चर्चा, बहससँगै आम भावकको विरोधका स्वर उठेको थियो। शशांकले भने जुत्तालाई मुख्य पात्र बनाएर प्रस्तुत गरेका छन्। समष्टिगतमा हेर्नुपर्दा सबैजसो कलामा फेन्टासी देखिनु, देखाइनु मुख्य विशेषता देखिन्छ।

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

प्रकाशित: १९ भाद्र २०७८ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App