१३ असार २०७९ सोमबार
कला

घुम्ती कला पुस्तकालय

नेपालमा हिजोआज कला पुस्तकालयको चर्चा हुने गरेको छ। चर्चा हुने क्रममा जेजस्ता कार्यक्रम भइरहेका छन्, ती सामान्य खालकै छन्, तर यसलाई गर्विलो कार्यक्रम मान्नैपर्छ। किनकि नेपालमा कला लाइब्रेरीको अवधारणा र अभ्यास अहिलेसम्म राम्ररी अगाडि आउन सकेको छैन। त्यसो त कलाको क्याम्पस, कलेजमा कला लाइब्रेरी नभएका होइनन्। 

ललितकला क्याम्पस (भोटाहिटी र कीर्तिपुर दुवै ठाउँमा), केयुको स्कुल अफ आर्ट, सेन्टर फर आर्ट एन्ड डिजाइन र सिर्जना आर्ट कलेजमा पनि कलाका लाइबे्ररी स्थापना गरिएका छन्। यसको प्रयोग र यसमाथि रहनुपर्ने उपादेयताको संचेतना भए वा नभएको कुरा कीर्तिपुरमा रहेको कलाको पुस्तकालय हेर्दा छर्लंग हुन्छ। 

जहाँ नेपाली भाषामा नेपालीले लेखेको नेपाली कलाका कुनै पनि पुस्तक छैनन्। अझ अहिले त यहाँ कलामा पिएचडी गर्नेको लर्को लागेको अवस्था छ। एमफिल र पिएचडीको स्रोत सामग्रीका लागि कलाका आधिकारिक सूचना कति आवश्यक हुन्छन्, भनिरहनुपरेन। तर, कलामा स्नातकोत्तर गर्ने एक मात्र ठाउँमा रहेको यो कलाको पुस्तकालयको अवस्था दयनीय छ।

पहिले नेपाल ललितकला संस्था (नाफा)मा पनि सानो कला पुस्तकालयको व्यवस्था गरिएको थियो। कहिले यसको स्थापना गरियो भन्ने अभिलेख हामीसँग छैन। २०२२ सालमा खुलेको नाफाले यसको स्थापना कहिले गर्‍यो, त्यस वेलाका घटना, परिघटनाको अभिलेख यसै पुस्तकालयभित्र पनि पाइँदैनथ्यो। यसलाई हेर्न एक अलग्ग कर्मचारीको व्यवस्था गरिएको रहेछ। सधैँजसो ढोकामा ठूलो ताल्चा झुन्डिने नाफाको यो पुस्तकालय कक्ष हेर्न मन लागे सम्बन्धित कर्मचारीलाई खोजी खोलिदिन आग्रह गर्नुपर्थ्यो।  

नक्सालमा अवस्थित सीता भवनको भित्रपट्टिको सानो कोठामा स्थापना गरिएको त्यो पुस्तकालयसम्म पुग्न सानो गल्लीजस्तो करिडोर छिचोल्नुपथ्र्यो। सानो अँध्यारो करिडोर हिँड्दै गर्दा यता पनि कुनै कोठा छन् र भनेजस्तो हुन्थ्यो। विशाल सीता भवन (महल)मा तत्कालीन राणा शासकले के प्रयोजनका लागि यस्ता स–साना कक्ष बनाए, यसै भन्न सकिँदैन। 

सानै कोठा भए पनि एकान्त भएकाले अध्ययन गर्न खोज्नेका लागि सहज थिए। यो सीता भवनमा हजारौँ कलाकार, कला मर्मज्ञ, आम भावक कलालाई अवलोकन गर्न आउँथे। किनकि कला अवलोकन गर्ने ठाउँ अयन्त्र थिएन। यसर्थ यहाँ कलापे्रमी, कला अन्वेषकको आवतजावत बाक्लै हुन्थ्यो। तथापि यहाँ कलाको पुस्तकालय पनि छ भन्ने कसैलाई थाहासम्म हुन सकेको थिएन।

एकताका नाफामा यस्तै स–साना कक्षलाई प्रयोगमा ल्याउने क्रममा कलाकारलाई भाडामा दिइएको थियो, जसकारण थुप्रै कलाकारका कला स्टुडियो पनि खुलेका थिए। कलाकारले दिनभरि यही कला स्टुडियोमा कला सिर्जना गर्थे। यही कलाको स्टुडियोले गर्दा कलाकार, कलापे्रमी, कलाका क्रेताको आवातजावत घनीभूत हुन्थ्यो। तथापि कसैले न कला लाइब्रेरीको कुरा गरेको सुनिन्थ्यो, न त कसैलाई यसको चासो रहेको बुझिन्थ्यो। यसर्थ यो कला पुस्तकालयले सधैँ भिरिरहनुपर्ने भारी भोटे ताल्चा उपहारस्वरूप पाएको हुनुपर्छ।

यो पुस्तकालयमा त्यतिवेलाको ललितकला संस्थाकै बारेमा पनि केही जानकारी अभिलेखन भएको पाइँदैनथ्यो। त्यतिवेलाको ललितकला संस्थाले हरेक वर्ष राष्ट्रिय कला प्रदर्शनी गर्नेदेखि अन्य कार्यक्रम गरेको थियो। त्यति वेला साना–ठूला कलाकै क्याटलग निकालिनुपर्छ। त्यस्तै, त्यहाँ कलाकारका एकल कला प्रदर्शनी, समूहगत कला प्रदर्शनी पनि भएका थिए। स्वभावतः यस्ता प्रदर्शनीमा कलाको क्याटलग निकालेकै हुनुपर्छ। तर तिनलाई दस्ताबेजीकरण गर्ने सोच विकास भएको देखिँदैन। विदेशी दाताले उपहारस्वरूप दिएका मोटामोटा कलाका पुस्तक भने केही मात्रामा राखिएको थियो। पुस्तकलाई जतन गरेर नराखिँदा हरेक वर्ष पुस्तकको संख्या घट्दै गएको थियो।

तत्कालीन युवराज वीरेन्द्र शाह यसका अध्यक्ष थिए। त्यतिवेलाका स्थापित कलाकार यसमा कार्यकारी रूपमै संलग्न थिए। किंवदन्तीमा खुलेको जस्तो देखिएको त्यो कला पुस्तकालयको अहिले नामोनिसान छैन। यो कलाको पुस्तकालय बाँचिरहेको भए नेपालको समसामयिक कलाबारे आज सहजै कला इतिहास लेख्न सकिन्थ्यो। दुर्भाग्य, आजसम्म आधिकारिक समसामयिक कलाको इतिहास लेख्न सकिएको छैन।

२०६२ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठन भयो। यसको अगावै नाफाको सबैभन्दो ठूलो कक्षमा वीरेन्द्र कला संग्रहालय खोलियो। यसका लागि खरिद गरिएका समसामयिक नेपाली कला स्थायी रूपमा यही ठूलो कक्षमा प्रदर्शन गर्ने प्रचलन बस्यो। जापानबाट सहयोगस्वरूप ल्याइएका सुहाउँदिला चित्र राख्ने बोर्डमा समसामयिक कलालाई आकर्षक ढंगले प्रदर्शन गर्दा स्वदेशी तथा विदेशी दर्शक अवलोकन गर्न आउन थालेका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि यसैमा पुस्तकले जोडिने मौका पायो भन्नुपर्छ। 

यो हलमा सानो भर्‍याङ चढेर जानुपथ्र्यो। कला हेर्न दर्शकको आवतजावत हुने क्रम बढेपछि बाहिर करिडरकै खण्डमा दुई–चारवटा र्‍याक राखी आफैँले प्रकाशन गरेका केही पुस्तक राख्ने व्यवस्था भयो। यसलाई लाइब्रेरी भने भन्न सकिन्न। यहाँ पुस्तक किन्न भने सकिन्थ्यो। ०७२ को भूकम्पपछि यो संरचना पनि भताभुंग भयो। धेरै पुस्तक नष्ट भए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पछि अस्थायी रूपमा साना–ठूला कक्ष बनेपछि पनि बाँकी रहेका पुस्तकले भर्‍याङभित्रै रहनुपर्‍यो। अहिले आएर यी पुस्तकले आफू रहने सानो अस्थायी बास पाएका छन्। कला पुस्तकालयको सन्दर्भमा हामी कति सचेत छौँ, यसैबाट प्रस्ट हुन्छ।

नाफाबाहेक अन्य कलाका क्याम्पसमा विदेशी कलाका बारेमा लेखिएका मोटामोटा पुस्तक सजाएर राखिएका हुन्थे, अहिले पनि राखिएका हुन्छन्। यस्ता पुस्तकालयमा हाम्रै नेपाली भाषामा लेखिएका पुस्तक पुस्तिका भने राखिएका हुँदैनन्। कलाकार, कलाविद् वा कलामा लेख्नेले विदेशी पुस्तकको कति अध्ययन गर्छन् र यसलाई आफ्नो कला वा लेखनमा कति ल्याएका छन् भन्ने ठूलो प्रश्न अद्यापि हामीमा छँदै छ।

अहिले कलाको स्नातक तह र स्नातकोत्तर तहमा थेसिस लेख्नुपर्छ। विशेषतः नेपाली कलाका बारेमा थेसिस लेख्नुपर्दा यस्ता कला पुस्तकालयको महत्व रहन्छ। थेसिस तयार गर्न कलाकारलाई कस्ता समस्या परेका थिए र छन् भन्ने जगजाहेरै छ। तयार भएका कलाका थेसिस हेर्दा राम्रो पुस्तकालय नभएको परिणति स्पष्ट देखिन्छ। बाध्यात्मक रूपमा लेख्नुपर्ने यस्ता खोज अनुसन्धानलाई अलिकति ध्यान मात्र दिन सकेको भए कमसे कम कलाका कलेज, क्याम्पसमा कलाका पुस्तकालय राम्रोसँग फस्टाउन सक्थ्यो।

‘मोबाइल कला लाइब्रेरी’  

यसर्थ अहिले चर्चा भइरहेको ‘मोबाइल कला लाइब्रेरी’लाई अझ चर्चामा ल्याउन आवश्यक छ। किनभने नेपालीमा लेखिएका पुस्तिक, पुस्तिकालाई खोजी खोजी संकलन गरेर तयार गरिएको छ, यो पुस्तकालयमा। साना–ठूला, स्तरीय वा कमै स्तर भएका पुस्तकलाई पनि मान गरेरै संकलन गरिएको छ। कलाका क्याटलगलाई संकलन गर्ने कोसिस गरिएको छ। अहिले नेपालमा कला प्रदर्शनीमा साना–ठूला कलाका क्याटलग राम्रै प्रकारले निक्लने संस्कार बसेको छ, जसले कलाबारे थोरबहुत सूचना दिने गर्छन्। 

अहिलेसम्म हजारौँ यस्ता कलाका क्याटलग निक्लिसके। यी सबैलाई संकलन गर्न सकियो र व्यवस्थित गर्न सकियो भने पनि कलामा अध्ययन गर्नेका लागि धेरै मद्दत पुग्न सक्छ। यसो गर्न गाह्रो छैन। कलाकारलाई सम्पर्क मात्र गरे यस्ता क्याटलग एक हप्ताभित्रै संकलन हुन सक्ला। तर कलासँग सम्बन्धित सरकारी, गैरसरकारी निकाय, कला ग्यालरी, कलाका संस्था, कलाका स्कुल क्याम्पस कसैले पनि यसतर्फ पहल गरेको देखिँदैन।

‘मोबाइल कला लाइब्रेरी’ अर्थात् घुम्ती पुस्तकालय– जसले संकलित पुस्तकलाई कलाका विद्यार्थी, कलाविज्ञ, कलामा लेख्नेहरूका बीच पुर्‍याउने लक्ष्य राखेको छ। यसैलाई कलाकारको सिर्जनासँग जोड्ने लक्ष्य पनि राखिएको छ। यही क्रममा कलाकार सौर्यगंगा दर्शनधारीले कलाका विद्यार्थीलाई यो पुस्तकालयमा अध्ययन गर्न लगेका थिए। केही पुस्तक पढ्न पनि लगाए र आफूलाई कस्तो प्रभाव भयो, यसैबारे प्रिन्ट मेकिङ कला पनि सिर्जना गर्न लगाए। उनको कोसिस एउटा प्रिन्ट मेकिङ कला वर्कसपको रूपमा अगाडि आयो।

यसैवेला उल्लेख गर्नुपर्ने अर्को सन्दर्भ भनेको कलाकार सरिता डंगोलको ‘क्लासिक कला दीर्घा’ पनि हो, जहाँ पुस्तक र कलालाई जोड्ने सानो प्रयास भएको थियो। सरिताले नेपालीमा छापिएका साना–ठूला कलाका पुस्तक संकलन गरेर राख्ने गरेकी थिइन्। कुनै अन्य कलाको ग्यालरीमा यस प्रकारको सोच आउन सकेको छैन।

क्लासिक कला ग्यालरीमा कलाका पुस्तक किन्न पाउने र पढ्न पाउने व्यवस्था गरिएको थियो। यसबाट कला हेर्न आउने सामान्य भावक लाभान्वित हुने देखिन्छ। कलाको अध्ययन गर्न कम रुचि राख्ने कलाकार पनि यहाँ पुस्तक सहजै उपलब्ध हुने भएपछि केही मात्रामा अध्ययन गरेको देखियो। कलाको कुनै पनि निकायमा कलाका पुस्तक कमै पाइन्छन्। सरिताको जस्तो अवधारणा कला संग्रहालय, कलाका ग्यालरी, कला बिक्री–वितरण हुने ठाउँ, कलाका स्कुल–कलेज, कलाका सरकारी वा गैरसरकारी निकायमा कतै देखिँदैन। कला र पुस्तकको सम्बन्धलाई कायम गर्न नसक्दा कला बुझ्न र बुझाउन सकिएको छैन।

सन् २०१६ मा ‘पार्क कला दीर्घा’को पहलमा नेपाली समसामयिक कलाको प्रदर्शनी रुसको मस्को र पिटर्सबर्गमा गर्ने निधो भएको थियो। यसैमा मैले नेपाली समसामयिक कलाबारे कार्यपत्र पेस गर्ने कायक्रम थियो। कार्यक्रम राम्रै तरिकाले भयो र यसै वेला नेपाली कलाका पुस्तक पनि थुप्रै लगिएको थियो। विशेषतः त्यहाँ बस्ने नेपालीलाई ती पुस्तक बाडिँदिँदा र नेपाली कलाबारे त्यहाँ छलफल गर्दा रमाइलो भएको थियो। त्यति वेला पार्क ग्यालरीका क्युरेटर, सञ्चालक नीरा जोशी प्रधानको पहलमा भएको सो कार्यक्रममा रुस राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष दिनानाथ राजभण्डारी र तत्कालीन रुसी महासंघका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाको ठूलो सहयोग रहेको थियो।

त्यसै वेला मस्कोमा रहेको एउटा कला संग्रहालयमा हामी घुम्न जाँदा देखेको पुस्तक र कलाको सम्बन्धलाई यहाँनेर सम्झन मन लाग्यो। त्यहाँ पुस्तक र कलालाई जोडेको सन्दर्भ अहिलेको हाम्रो मोबाइल लाइब्रेरी र सरिताको प्रयाससँग मेल खाने थियो। त्यो कला संग्रहालयमा विश्वका अति प्रसिद्ध चित्र र मूर्ति प्रदर्शन गरिएका थिए। ती चित्र हेरिसकेपछि त्यसबारे स्वभावतः थप जिज्ञासा हुन्छ नै। यसको निराकरणका लागि सँगै कोठामा थुप्रै कलाका पुस्तक राखिएको थियो। कला संग्रहालयमा प्रदर्शित कुनै पनि कलाबारे थप जानकारी चाहिएमा साना–ठूला, सस्ता महँगा पुस्तक त्यहाँ थिए, जसलाई किन्न सकिन्थ्यो। 

बढीजसो पुस्तक रसियन भाषामै थिए। त्यहाँ आफ्नै जनतालाई पहिले कलामा शिक्षा दिने लक्ष्य राखिएको रहेछ। यसले त्यहाँका आम जनता कलामा कति सचेत भएको देखेँ भने, अर्को दिन अर्कै कला संग्रहालयमा कान्दस्की (अमूर्त कलाको प्रवर्तक मानिन्छन्)को चित्र हेर्न जाँदा एक हजार रुबल जति तिर्नुपरेको थियो, टिकटका लािग। अझ घन्टौँ लाइन बस्नुपरेको थियो। दर्शकको त्यत्रो लाम पुस्तक पढ्ने संस्कार र परम्पराकै उपज थियो।

नेपालमा भने यस्तो परम्परा कहीँ छैन। पुस्तकालयमा पनि नेपाली भाषामा लेखिएका नेपाली कलाबारे पुस्तक, पत्रपत्रिका पाउनु सिंगो डाँडा फोरेर सानो टुक्रा सुन पाउनुजस्तै हुन्छ। नेपाली कलाबारे थोरै जिज्ञासा राख्ने, बुझ्ने चाहनेका लागि नेपाली भाषामा लेखिएका पुस्तक पाउन मुस्किल पर्छ। कलाका दोकान, कला संग्रहालय, कला दीर्घा, स्कुल–कलेज वा कलाका कुनै पनि निकायमा यस्ता पुस्तक पाउन सकिन्न।

अहिलेसम्मको इतिहासमा १२–१५ वर्षअघि एकपल्ट कला पुस्तक र कला क्याटलग संकलन गररे आर्ट काउन्सिलमा एउटा प्रदर्शनी भएको थियो, कलाकार सुन्दर बस्नेतको सक्रियतामा। प्रज्ञा प्रतिष्ठान (साहित्य)ले हरेक वर्षजस्तो गर्ने पुस्तक प्रदर्शनीमा कलाका पुस्तक राख्ने गरिँदैन। यसैगरी भृकुटी मण्डपमा गरिने विशाल पुस्तक प्रदर्शनीमा पनि कलाका पुस्तक राख्ने प्रचलन त्यति देखिँदैन। यस्तो लाग्छ, नेपाली कलाबारे नेपाली भाषामा पुस्तक, पत्रपत्रिका छापिएकै छैनन्। तथापि आजसम्म कलाबारे सयौँ पुस्तक र पत्रिका प्रकाशन भइसकेका छन्। तर, कतैबाट पनि  महत्त्व नदिइँदा ती पुस्तक आम भावक माझ आउन सकिरहेका छैनन्। यस्तो अवस्थामा यो मोबाइल लाइबे्ररीको कार्यक्रम निकै महत्त्वका साथ देखापरेको हो।

यस लाइब्रेरीको विशेषता समय सापेक्ष छ। विशेषतः स्थानीय स्तरमा प्रकाशनमा आएका पुस्तक संकलन गरेर कुनै ठाउँमा राख्ने, कलाकारलाई पढ्ने अवसर दिने, कलाप्रेमीलाई आउन आग्रह गर्ने र यसैमा छलफल गर्ने यसका कार्यक्रम रहेका छन्, जुन आकर्षक लाग्छन्। कलाकार महिमा सिंहले समन्वय गरेको यो कार्यक्रम मूलतः महिमा र सरोज कुशवाहले खोलेको विकल्प आर्ट सेन्टरको एउटा सानो कक्षमा राखिएको छ। घुम्ती पुस्तकालय भएका कारण अहिले एक महिनाका लागि एमक्युबको कला दीर्घामा प्रदर्शन गरिएको छ। 

यसमा थप क्रियाकलाप गर्न रिडिङ सर्कलको नाममा विद्यार्थी कलाकारको एउटा सानो समूह खडा भएको छ। यी विद्यार्थी कलाकारले एक साताअगाडि आफूलाई मन परेको कलाको पुस्तक लैजान्छन्। घरमा अध्ययन गर्छन् अनि तोकिएको कलाको एक थिममा छलफल चलाउँछन्। अथवा, यही थिमका बारेमा कुन पुस्तकमा के लेखिएको छ भनी विश्लेषण र छलफल गर्छन्। यसरी कला अध्ययनको बानी बसाल्ने, विश्लेषण गर्ने उद्देश्य यस लाइब्रेरीले लिएको छ। अर्को आर्ट अर्काइभको कार्यक्रम पनि यसैमा जोडिएको छ। जसलाई कलाकार दीपमालाले समन्वय गरी अगाडि बढाइरहेकी छन्। यो कार्यक्रममा नेपालमा कलाबारे लेखिएका साना मझौला लेखलाई बिब्लियोग्राफी गर्ने उद्देश्य रहेको छ।

झट्ट हेर्दा र सोच्दा यो कार्यक्रम त्यस्तो नौलो लाग्दैन। मोबाइल लाइब्रेरी पहिले पनि भएकै हो। तर, यसमा कला जोडिन आएपछि यसले नौलोपन बोकेको देखियो। नेपालमा सामान्यतः पुस्तकालयमा पाठक कम जाने अवस्था छ। त्यसैले अहिले गाउँगाउँमा स्रोतकेन्द्र खोली त्यसैमा विभिन्न प्रकारका पुस्तक राख्ने कार्यक्रम सञ्चालन हुन थालेको छ। गाउँघरका मान्छे अन्य छलफलका लागि त्यहाँ आउँदा पुस्तक पनि हेर्छन् भन्ने अपेक्षा गरिएको छ। 

यस्तो परिप्रेक्ष्यमा यो घुम्ती कला पुस्तकालय एक अलग्ग प्रकृतिमा मुभमेन्टकै रूपमा आएको छ। यो हङकङको ‘एसियन आर्ट अर्काइभ’को परिकल्पना हो। यो अवधारणा, क्रियाकलापका रूपरेखा र उसैको समग्र डिजाइन अनुसार नेपालमा यस्तो कार्यक्रम भइरहेको हो। नेपालको तर्फबाट सिद्धार्र्थ कला फाउन्डेसनले यसलाई काँध हाल्दा कोल्याबोरेटिभ रूपमा यो कार्यक्रम अझ सार्थक भएको छ। एसिया आर्ट अर्काइभले यसअघि यस्तै कार्यक्रम भियतनाम, म्यानमार र श्रीलंकामा आयोजना गरिसकेको छ। मूलतः आठ–नौ महिनासम्म मात्र सञ्चालन हुने यस्ता कार्यक्रमलाई दिगो बनाउने जिम्मा सम्बन्धित राष्ट्रकै हुने गरेको छ। श्रीलंकामा कलाको युनिभर्सिटीसँग जोडेर यो कार्यक्रम गरिँदा यसलाई दिगो बनाउन सकिएको पनि छ। 

हङकङमा भौतिक रूपमा ठूलो कला लाइब्रेरी स्थापना गरिएको छ। अध्ययन गरेर छलफल गर्नका लागि आयोजकका अनुसार अहिलेसम्म ३४ वटा कलाका थिम निर्धारण गरिएका छन्। जसमध्ये चार–पाँचवटा कलाको थिममा काम भइसकेको छ। आर्ट राइटिङको सम्बन्धमा कलाकारले कसरी आर्ट स्टेटमेन्ट तयार गर्ने भन्ने एउटा वर्कसप पनि भइसकेको छ। कोभिडका कारणले राम्ररी अगाडि जान नसकेको भए पनि यस्ता छलफलका कार्यक्रम भर्चुअल माध्यमबाट हुने गरेको छ।

अहिले यो मोबाइल लाइब्रेरीमा ६ सय जति कलाका पुस्तक संकलन गरिएको छ। जसमध्ये हङकङ एसिया आर्ट अर्काइभले दुई सय ८० पुस्तक प्रदान गरेको हो। योसँगै जोडिएको आर्ट अर्काइभ कार्यक्रममा ५० वटा कलाका पुस्तक र चार सय ५० वटा कला लेखलाई संकलन गरी अर्काइभको प्रक्रियालाई अगाडि बढाइएको छ। 

यसले पूर्णता पाएपछि भविष्यमा वेबलिंकबाट कलामा अनुसन्धान गर्न यो राम्रो स्रोत बन्न सक्ने आशा गर्न सकिन्छ।

(मल्ल कलाकार र कला समीक्षक हुन्।)  

प्रकाशित: १२ भाद्र २०७८ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App