११ मंसिर २०७८ शनिबार
कला

नेपाली समसामयिक कलाको कालखण्ड

नेपाली समसामयिक कलाको शुभारम्भका रूपमा कालशास्त्रीय परम्परा र कुनै कारणवश उदाएको नवीन स्वरूपको सीमांकनलाई लिने गरिन्छ। स्थुल रूपमा हेर्दा नेपालमा कला शास्त्रीयता र समसामयिकता दुई धारमा विभक्त भएको देखिन्छ। नेपालमा शास्त्रीय कलाकै पनि वर्गीकृत कालखण्ड स्थापित हुन सकेको छैन। यसैले समसामयिक कलाको अलग्गै कालखण्ड पहिचान गर्ने काम सजिलो छैन। यसैबीच कलाको इतिहासमा देखापर्ने आधुनिक कला र उत्तर आधुनिक कलाले पनि थोरै अल्मल्याएको देखिन्छ। किनकि, आधुनिक र समसामयिक कलाबीच यथेष्ट मात्रामा ‘ओभरल्याप’ छ।

पश्चिममा पूर्व–ऐतिहासिक, ऐतिहासिक कालदेखिकै कलाबारे निरन्तर अनुसन्धान भएका छन्। कलामा नौलोपन शास्त्रीयता, नवशास्त्रीयता, स्वच्छन्दवाद र यथार्थवादका कैयौं लक्षणलाई इंगित गर्दै कालखण्डको व्यवस्था गरिएको छ। पछिका दिनमा आधुनिक कलाको प्रसंग र यसैबीच विकसित समसामयिक कलाको पनि विश्लेषणात्मक अभिलेखन हुँदा कालखण्डले सजीवता पाएको देखिन्छ। नेपालमा यसरी सिलसिलेवार अभिलेखन बाँकी छ।

कलामा फरकपनाको स्वरूप

कलामा परम्परागत लक्षणभन्दा फरकपन वा नवीन शब्द जसरी सहज रूपमा उल्लेख गरिन्छ, यसलाई केलाउन त्यत्तिकै गाह्रो छ। कलाको स्वरूप आफैंमा पनि परिवर्तन भइरहन्छ । एउटै स्वरूपमा बसिरहने स्वाभाव नहुने भएकाले कला इतिहासमा कालखण्ड आवश्यक परेको हो। सर्जकहरू आफ्ना कलामा नवीनपना ल्याउन दत्तचित्त भएर लाग्छन्। कला ‘भिजुअल आर्ट’ हो। यसलाई पढ्न होइन, महसुस मात्र गर्न सकिन्छ। पछिल्लो कालमा अवधारणा जोडिएपछि मात्र कलालाई पढ्न थालिएको हो। यसैमा पनि तत्क्षण बाह्य स्वरूपले पार्ने प्रभाव त छँदैछ। भावकले कलाकारको विचारलाई त पछि मात्र कलासँग जोडेर हेर्छन्। यसर्थ भन्ने गरिन्छ, भावकले कलालाई तत्क्षण दृश्यावलोकनबाट फरकपनको अनुभूत गर्छन्। यसो हुँदा पनि सर्जकहरू आफूलाई अलग देखाउन मूलतः विषयवस्तु, माध्यम र संयोजनमा विशेष ध्यान दिन्छन्, जसबाट कृतिमा फरकपना आए/नआएको थाहा लाग्छ। कलाकारले अन्तरमनको भावलाई प्रभावित गर्न खोजे पनि बाह्य स्वरूपलाई अलग शैलीमा स्थापित गर्न खोज्छन्। रङ, विषयवस्तु तुलिकाघात, संगठन, मोटिफहरूको छनोट र संयोजनबाट झट्ट हेर्दा अलग देखाउने प्रयास हुन्छ। आधुनिक कलाको शुभारम्भमा यस्तो प्रयोग खुबै चर्को मात्रामा भएको थियो।

उन्नाइसौं शताब्दीको मध्यकालमा उदाएको प्रभाववादीको निश्चित सिद्धान्त, चिन्तन र चित्रण विधि थियो। कलाकारहरू आन्दोलित रूपमा निश्चित गन्तव्यको खोजीमा सामान्य वस्तुमा सौन्दर्य निर्माण गर्न लागिपरेका थिए। यो आन्दोलन आठवटा कला प्रदर्शनीसाथ विश्वमा चर्चित रह्यो। करिब मूलधारका ५० जनाजति कलाकारले यही सिद्धान्तमा अडिग रही कला सिर्जना गरिरहे। यति हुँदाहुँदै  यसका अगुवा मानिने कलाकारहरू मोने, डेगास, रेन्वा, सिसलीका आफ्नै विशेष सिग्नेचर (अलग विशेषता) स्थापित भएको थियो। त्यतिबेला फ्रान्सको पेरिस विश्वकलाको केन्द्र थियो। यी सबै कलाकार पेरिसमा कलाका नयाँनयाँ प्रयोग गर्थे। कलाकार आफैं पनि कस्तो स्कुलिङमा पल्लवित भएको छ भन्ने विषयले अलग सिग्नेचर स्थापित गर्नगराउन मद्दत गर्छ। पछिका दिनमा पनि आधुनिक कलाको हरेकजसो शैलीका कलाकारहरू अलग सिग्नेचर बनाउने कोसिसमा रहेको देखिन्छ। नेपालमा पनि आधुनिकलाको शुभारम्भ र पछिल्लो केही समयसम्म यस्ता सिग्नेचरको सन्दर्भ देखापरेको थियो।

अहिले सिग्नेचरको सन्दर्भ नेपालमै पनि ‘क्लासिक’ शब्दमा परिणत भइसकेको छ। एकै कलाकार पनि अनेकौं प्रकार र प्रवृत्तिका काममा देखिन्छन्। यस्तै विशेषता हुनुले पनि समसामयिक सन्दर्भ ज्यादा जोडि“दा नेपाललगायत विश्वमा समसामयिक कला अझ प्रज्वलित भएर उदाएको छ।

विशेष गरेर मानवको देशान्तर हुने प्रवृत्ति  हुँदा यसले आफूसँग बोकेर ल्याउने भनेको संस्कृति, संस्कार, भाषा र कला नै हो। यही संस्कृति र कलाले आपसमा प्रभाव पर्दा नयाँ स्वरूप र प्रकृतिका कला जन्मन्छन्। पश्चिमी राष्ट्रहरूमा सिर्जनासँगै अनुसन्धान पनि हुन्छ। त्यही परम्पराले गर्दा परिवर्तन हुँदै गएका हरेकजसो नयाँ प्रवृत्तिको अभिलेखन र नामकरण गर्ने प्रचलन छ। यसले कलाको कालखण्ड देखाउन सहयोग गर्छ।

सन् १९५० पछिका यस्ता नौलो कलाका आन्दोलन, शैली र प्रवृत्तिको नामकरण सन् २०१० सम्म मात्रै हेर्दा पनि कम्तीमा ५० वटा स्थापित मान्यता बनिसकेका छन्। इन्स्टलेसन, पर्फमेन्स, साइट स्फेसिफिक, लेन्ड आर्ट, पप आर्ट, अप आर्ट, भिडियो आर्टजस्ता थोरै नामले नेपालमा प्रवेश पाए पनि चर्चा पनि हुन सकेको देखिन्न। यसरी कलामा लेखाजोखा, अनुसन्धान र नामकरण हुने प्रचलन नेपालमा छैन।

फरकपनाको परिचर्चा गर्न परम्परागत कलाको लक्षण, विशेषता र प्रभावमा विकसित भएको अलग शैली र स्वरूप हेर्नुपर्ने हुन्छ। मोटामोटी रूपमा भारत र तिब्बत (चीन) बाट प्रभावमा परेर विकसित भएको हाम्रा मूर्तिकला, चित्रकला र वास्तुकलाको एउटा खण्ड र पश्चिमी मुलुकका कलाको दर्शन, कला निर्माण प्रक्रिया, सामग्री प्रयोग आदिलाई आधार मानेर अर्को खण्डको व्याख्या गर्ने परम्परा छ। स्थुल रूपमा यस्तो देखिए पनि सूक्ष्म रूपमा हेर्दा भने यसैभित्र पनि धेरै ससाना खण्ड विभाजित भएको देखिन्छ।

मानव आफू पुगेको ठाउँको संस्कृति, दिनचर्या, स्वभाव र वातावरणको प्रभावले सिर्जनात्मक प्रकृतिमा नौलोपन देखिन्छ, जुन देशान्तरमा मात्र आधारित नभई परिवर्तनशील समाजको बनोट, परिवर्तित सामाजिक मूल्य–मान्यता, राजनीतिक परिवर्तन, धार्मिक र आर्थिक अवस्थाको परिवर्तनले पनि कलाको स्वरूपलाई प्रत्यक्ष–परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ। उदाहरणका रूपमा भारतमा भएको पटना शैली। मुगल बादसाह (विशेष गरेर अकबर) ले कलालाई उच्चस्तरको सम्मान दिँदा फस्टाएको मुगल मिनियचर चित्रकला आज पनि विश्वमा परिचित छ। त्यसपछि कलालाई कम वास्ता गरिँदा भारतमा मौलिक कलाको विशेषता डगमगाएको थियो। भारत स्वयं बेलायतको उपनिवेशको चंगुलमा फस्दा कलाकारलाई बाँच्नै गाह्रो थियो। त्यसबखत कलामा स्थापित मान्यता भत्काउँदै बेलायती साहेबलाई मनपर्ने पश्चिमी कला शैली र परम्परागत भारतीय शैली मिसाउँदै कलाकारले कला सिर्जना गरेका थिए, जुन बिक्री पनि हुन्थ्यो। भारतको विहार प्रान्तको आजको राजधानी पटना भएकाले यो कला पटना शैलीका रूपमा चर्चित भयो। यसैगरी कोलकातामा भएको अर्को कलाको शैली कालीघाट पनि हो। सस्ता कागज र रङ प्रयोग गरी परम्पराभन्दा अलग ढंगले बनाइएका चित्रहरूको अलग विशेषता देखिन्छ। भारतको कला इतिहासमा यस्ता खण्ड अनेकौं छन्।  

यसरी राजनीतिक र सामाजिक अवस्थाले परिवर्तन भएका शैली र प्रवृत्ति विश्लेषण गर्दै कला विभिन्न कालखण्डमा विभाजित भई अलग पहिचान बनाउने प्रक्रियामा हुन्छ। कति ठाउँमा थाहै नपाई कलाका नौला प्रकृति दृश्वालोकन गरिरहिएको हुन्छ। आजको अवस्थामा त ग्लोबइजमको प्रभावमा, नेट र साइबर कल्चरले अति द्रुत गतिमा वातावरण, मानवीय सोच, दिनचर्या, संस्कार आदिलाई प्रभावमा पार्दा स्वभावतः सिर्जनामा पनि परिवर्तन देखिन्छ। आजको विश्वमा कला सिर्जनामा एकैजसो पद्धतिको विकास भइसकेको छ, यसबारे सोच र अवधारणा पनि त्यति फरक देखिँदैन। यसो हुँदा सामान्य रूपमा अलगजस्तो देखिए पनि समग्रमा जतासुकैका कलाहरू एकसमान देखिन्छन्।

अब हाम्रो कलाको मौलिकता नभत्किनेगरी परिवर्तन भएको कलाको स्वरूप कसरी पहिचान गर्ने ? आज कलामा देखिएको अपत्यारिलो स्वभावले कुनै निश्चित ठाउँको, राष्ट्रको प्रकृति र स्वाभाव आवश्यक छैन भन्ने मान्यताले ठाउँ पाउँदैछ। अर्कातर्फ मौलिकता हुनुपर्छ भन्ने तर्क पनि कम छैन। मौलिकतावरिवरि घुम्ने लोककला र परम्परागत कलासमेत आज समसामयिक कलाको प्रकृतिसँग नजिक देखिँदै जाँदा यसले अझ आफ्नो मौलिकताको पहिचान गर्न गाह्रो हुन थालेको छ। समसामयिक कला पहिचानका लागि यो थप चुनौती हो।

समसायिक कलाको भावार्थ

सामान्यतः आजको कला नै समसामयिक कला हो। कलाविद्हरूका अनुसार समसामयिक कला भनेको लिभिङ आर्टिस्ट (सक्रिय कलाकारको कला) हो। यसलाई सही मान्ने हो भने आधुनिक प्रवृत्तिका कैयौं कला समसामयिक कलामा अट्दैनन्। यसले गर्दा आज विश्वकला जगत्मा आधुनिक शब्दको कम प्रयोग हुने गर्छ। उल्लेख गर्नैपरे ‘ओल्ड मोर्डन आर्ट’ र ‘न्यु मोर्डन आर्ट’ भन्छन्। नव आधुनिक कला, उत्तर आधुनिक कला यस्तै अनेकौं नाम र उपनाममा कलाको चर्चा हुने गरेको छ। सम्भवतः सजिलोका लागि आज देखिने नौलो प्रवृत्तिको कलाका लागि समसामयिक कला बढी प्रयोग हुने गरेको छ। पश्चिमको कला वातावरणलाई हेर्ने हो भने आज आधुनिक कला इतिहासको पानामा मात्र अभिलेखन भएर अगाडि बढेको छ।

तथापि आधुनिक र समसामयिक कलाको विशेषतालाई जतिसुकै अलग्याउन खोजिए पनि मापनका खास सूचकहरूचाहिँ बन्न सकेका छैनन्। यसकारण यी दुई हुन् वा एकै भनी धेरै कलाकारले चासो लिएको देखिन्न। ठुल्ठुला अन्तर्राष्ट्रिय वायोनाले कला प्रदर्शनीमा पूर्वीय परम्परागत वा आजका कलाकारले बनाएका कला समावेश गर्न थालेको छ। यसर्थ, समासामयिक कलाको चौखट यति चाक्लो बनेको भान हुन्छ, जहाँ हरेक कला अट्छन्। कलाविद्हरूले पनि समसामयिक कलाका मूलभूत सिद्धान्त र विशेषता केलाउन भ्याएकै छन्।

समसामयिक कलाको परिधिलाई जतिसुकै चाक्लो बनाए पनि यसका खास विशेषता र सीमा उल्लेख गर्ने प्रयास कलाविद्हरूले गरेका छन्। धेरै कलाविद्को आ–आफ्नै तर्क रहे पनि अधिकांशको सहमतिमा रहेको समसामयिक कलालाई कालखण्डमा विभाजित गर्दा बिसांै शताब्दीको मध्य र एकाइसौं शताब्दीको शुभारम्भदेखि मान्ने प्रचलन छ। यो कालखण्ड स्पष्ट रूपमा उत्तर आधुनिक कलाको हो। विश्वकला इतिहासमा समसामयिक कलाबारे व्याख्या गर्दा यसलाई मूलतः प्रवृत्ति र सांस्कृतिक विविधतासँग प्रभावित भएर विकसित भएको आकलन गरिन्छ। यसलाई आधुनिक कलाभन्दा अग्रगामी कदमका रूपमा मान्ने प्रचलन छ। आधुनिक कलाभन्दा फरक ढंगबाट सामग्री (सीमाहीन सामग्री प्रयोगका सन्दर्भमा), चित्रण विधि (भुइँ, भित्ता कहीँ पनि जसरी पनि बनाउने सन्दर्भमा), अवधारणा र विषयवस्तुको संगठन गरी यस्ता कलाको निर्माण हुने कलाविद्हरू बताउँछन्। यसर्थ, यसले निश्चित सीमामा बस्नुभन्दा सीमालाई नै चुनौती दिने गरेको छ। यसको अर्थ, समसामयिक कलाको पहिचान सीमाहीन हुन्छ। यस्तो कला कुनै एउटा राष्ट्रको पहिचानमा मात्र बस्न सक्दैन भन्ने पनि अर्थ निस्कन्छ।

समसामयिक कलाको यसअघिका कलाका प्रवृत्तिसँग फरकपना देखाउन केही विशेषतालाई अझ विस्तारमा व्याख्या गरिएको छ। सबैभन्दा पहिले आधुनिक कलाको विकास भएपछि देखिएका युनिफर्म (एकरूपता) हराउँदै जानु यसको मूल विशेषता होे। यसबाहेक कलामा सिद्धान्त, विचारधारा (आइडियोलोजी), इजम आदिको अनुपस्थिति नै समसामयिक कलाको मूल विशेषता देखिन्छ। यसबाहेक कला सामग्री, विषयवस्तु र समयावधिमा विविधता केन्द्रबिन्दुमा देखिन्छ। मूलतः समसामयिक कला एउटा डाइलग (संवाद) को अभिन्न भाग हो, जुन समसामयिकतासँग, व्यक्तिगत तथा समुदायको संस्कृति र संस्कारसँग, परिवार, समुदाय र राष्ट्रको पहिचानसँग सम्बन्धित हुन्छ। यी कुरालाई धेरै हदसम्म आधुनिक कलाले विमति राख्छ भन्ने कलाविद्हरूको बुझाइ छ। त्यसकारण पनि समसामयिक कला साधारण नभएर विशेष हो। युरोपमा देखापरेको आधुनिक कलाको शुभारम्भमा सिर्जनामाथि एउटा निश्चित उद्देश्य, वाक्यपद्धति आदिभन्दा फरक ढंगले समसामयिक कला उदाएको देखिन्छ।

समसामयिक कलाको परिचर्चाका क्रममा सन् १९१० मा आर्ट क्रिटिक्स रोजर फ्रेको पहलमा केही साथी मिलेर पहिलोपल्ट कन्टेम्पोररी सोसाइटी स्थापना गरेका थिए। सन् १९३० देखि अन्य यस्ता निकाय खुलेको देखिन्छ। सन् १९३८ मा अस्ट्रेलियामा कन्टेम्पोररी आर्ट सोसाइटी नै भनेर एक संस्था खोलियो भने १९४५ पछि त्यो राम्रैसँग झाँगिएको पाइन्छ। यसरी विश्वकला इतिहासलाई हेर्दा स्थुल रूपमा कला स्टाइलका रूपमा दोस्रो विश्वयुद्धलगत्तै देखिएको कलाको प्रवृत्ति अनि सन् १९६० मा देखा परेको कलाको प्रवृत्तिलाई मूल रूपमा लिने गरिन्छ। स्वभावतः पहिलो काल भनेको आधुनिक कलावरिपरि घुमेको देखिन्छ भने दोस्रो काल स्पष्ट रूपमा उत्तर आधुनिक कला भएको पाइन्छ। यसर्थ, धेरै हदसम्म आज भनिएको उत्तर आधुनिक प्रवृत्तिलाई पश्चिमाले समसामयिक कलाका रूपमा हेरेको देखिन्छ।

समाजशास्त्री नाथलिया हेहिनिचले ‘मोर्डन आर्ट’ र ‘कन्टेम्पोररी आर्ट’को फरकपनालाई अलग्याएर व्याख्या गरेकी छन्। उनका अनुसार मोडर्न आर्टले परम्परा र प्रथालाई चुनौती दिने काम गरेको छ। जबकि, कन्टेम्पोररी आर्टले कलाकारको कलाकर्म, विचार, सामाजिक सोचमाथि चुनौती दिने काम गर्छ भन्ने आशय व्यक्त गरिएको छ। अन्य कलाविद्हरूले पनि यसैको वरिपरि बसेर व्याख्या गर्छन्। आधुनिकताले कलाकारलाई आफूमा केन्द्रीभूत पार्छ, प्रकाश र रङका माध्यमबाट यसलाई प्रकटीकरण गर्दै यथार्थवादको रुखो सत्यतालाई प्रतिनिधित्व गर्ने कोसिस गर्दैन। कन्टेम्पोररी आर्टमा एउटा मात्र उद्देश्य, दृष्टिकोण नभएर ‘ओपन इन्डेड’ हुन्छ। यसैले यस्ता कलामा सामान्य थिमहरूको दृश्यावलोकन हुन्छ। जस्तो कि राजनीतिको आफ्नै पहिचानबारे, आफ्नै शरीरबारे, ‘ग्लोबलाइजेसन’, ‘माइग्रेसन’को सन्दर्भ, प्रवृत्तिले मानवमा पारेका राम्रानराम्रा असर, समसामयिक समाज, संस्कृति, समय आदिका मुद्दालाई आफ्नो कलाको मूलधारमा राखेको हुन्छ।यसबाहेक संस्थागत रूपमा भएको वा हुनुपर्ने राजनीतिमाथिको समीक्षा आदि पनि यसले आफ्नो परिधिबाहिर जान दिँदैन।

नेपालमा समसामयिक कला

बाह्य राष्ट्रमा समसामयिक कलाको आरोहअवरोह जस्तो रहे पनि नेपालमा आफ्नै पाराले समसामयिक कलाको इतिहास अगाडि बढेको छ। सन् १८५० मा जब पश्चिमी संस्कृति, वातावरण, रितिरिवाज, दिनचर्यालगायतको गहिरो प्रभाव कला, संगीत, गीत, नाटकमा   पर्‍यो तब नेपाली कलामा पनि एउटा अलग मोड देखापर्‍यो । राणा प्रधानमन्त्रीहरूले आफ्नो सोख, मोजमस्तीका लागि यी धेरै कुरा पश्चिमाबाट आयात गरे। बेलायत यात्रामा निस्केका तत्कालीन प्रधानमन्त्री जंगबहादुर र उनले लगेका कलाकार भाजुमान चित्रकार फर्केपछि बनाइएको अलगपनको व्यक्तिचित्र यसको उदाहरण हो।

भाजुमानभन्दा झन्डै ३० वर्षअघि देखापरेका राजमान चित्रकारले बनाएको दृष्टान्त चित्रहरूले पनि पश्चिमी कलालाई नेपाल भित्र्याउने अभ्यास यथेष्ट मात्रमा गरेको देखिन्छ। चित्रकला, मूर्तिकला मात्र होइन, वास्तुकलामा पनि आमूल परिवर्तन त्यसैबेला देखिएको थियो। सिंहदरबार, केशरमहललगायत अन्य दर्जनौं दरबार, महल, भवन बनेका छन्। यी सबै पश्चिम वास्तुकलाको शैलीबाट प्रभावित छन्। टुँडिखेलमा घोडामाथि सवार राणा प्रधानमन्त्रीहरूको पश्चिमी शैलीका मूर्तिकला पनि यसैबेला बनेको हो। चित्रकलामा पनि यस्तै पश्चिमी शैलीका पोट्रेट, सिकारका चित्रहरू आदि पश्चिमी शैलीमै बने। यसैलाई मध्यनजर गरेर कलाविद् नारायणबहादुर सिंहले सम्भवतः पहिलोपल्ट आधिकारिक रूपमा समसामयिक कलाको संकेत गरेका छन्। त्यसो त यसबाहेक यसैबेलाका अनेकौं कलाकारका कला विस्तारमा व्याख्या हुन बाँकी छ। किनकि, यसैबेला नेपाली परम्परागत कला पौभा, थांका आदिमा मुगल र तिब्बतको परम्परागत कलाशैलीको प्रभाव परेको थियो। यसैबेला देखिएका यस्ता परम्परागत चित्रकलामा पनि दृश्यको प्रवेश र दुरान्त भेदको उपस्थिति देखिन थालेको थियो। यी लक्षण पार्श्वभागका समसामयिक कलाका अंश हुन्। यसो हुँदा यसैबखत पनि समसामयिक कलाका कैयौं विषयवस्तुले प्रवेश पाइसकेको थियो भन्न बल मिल्छ। तथापि, यी सबै खोजीकै विषय हो।

यी तथ्यलाई आधार मानी मोटामोटी नेपाली समसामयिक कलामा चार मोड कल्पना गरिएको छ। भविष्यमा नितान्त उत्तरआधुनिक कलाको स्वरूपमा देखा परेका प्रवृत्तिका कलाहरूलाई समसामयिक कलाका रूपमा कसरी समायोजन गरिने हो, यसका लागि अलग्गै चिन्तन र बहस आवश्यक छ। यसका लागि सम्बन्धित कलाका निकाय सचेत हुनु र यसैका लागि सेमिनार, गोष्ठी, अधिकारिक अनुसन्धान गर्नु आवश्यक छ।

नेपाली समसामयिक कलाको पहिलो मोड (खण्ड) सन् १८५०, दोस्रो मोड सन् १९३०, तेस्रो १९६० र चौथो मोड २००३ लाई मान्न सकिन्छ। नेपाली समसामयिक कलाको पहिलो मोडमा नेपाली कला बिस्तारै तेस्रो आयामिक धरातलका साथै माध्यमका रूपमा तैल रङको प्रयोग गर्न थालिएको थियो। विषयगत रूपमा पनि व्यक्तिचित्र, सालिक परम्परा, दुरत्व भेदको अवलम्बन, स्थिर जीवन र दृष्टान्त चित्रको थालनी भइसकेको थियो। व्यक्तिचित्र वा मूर्ति बनाउन मोडल प्रयोगको अभ्याससमेत भइसकेको थियो। यसकारण कलाको स्वरूप निर्माण प्रक्रिया र सैद्धान्तिक रूपमा पश्चिमी कलाशैलीको यथेष्ट प्रभावमा परेको मान्नुपर्छ। त्यसकारण यस्ता कला नेपाली परम्परागतभन्दा नितान्त अलग स्वरूपमा देखापरे।

सन् १९३० उताको समय कलाको संस्थागत विकासक्रम हो। यसबेला विधिवत् रूपमा कला शिक्षा लिई कलाकारद्वय चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार नेपाल फर्किसकेको, नेपालको एउटै मात्र जुद्धकला पाठशाला औपचारिक रूपमा अगाडि बढेको, तेजबहादुर चित्रकार र केशव दुवाडी जुद्धकला पाठशालामा प्राध्यापन गर्न सुरु गरेको (पहिलोपल्ट कलाको पाठ्यक्रम बनेको र प्रशिक्षित कलाकारबाट पढाइ भएको), चन्द्रमान मास्के दरबार हाई स्कुलमा कला सिकाउन सुरु गरेको (कलाबाहेकका स्कुलमा पनि कला विषय राखिएको) अवस्था रहनु र यसबेला देखापरेका कला भनेका पश्चिमी पद्धतिमा नेपाली संस्कृति तथा संस्कारका विषयवस्तुलाई ढालेर गरिएका चित्र यथेष्ट रूपमा बन्नुले पनि यस्ता प्रकृतिका कलाहरूले संस्थागत विकास भएको मान्नुपर्छ। यसबेला सामाजिक यथार्थवादी चित्र बन्न सुरु भइसकेको थियो।

तेस्रो मोड भनेको नेपाली कलामा रचनाको प्रवेश, आधुनिक कलाका सबैजसो शैलीमा प्रभाववादी, अमूर्त, घनवादी, अभिव्यञ्जनावादी, अतियथार्थवादी चित्र बन्नु, मूर्ति पनि अर्ध अमूर्त र अमूर्त बन्नु,, कला ग्यालरीको स्थापना हुनुदेखि लिएर एकल कला प्रदर्शको शुभारम्भ, राष्ट्रियस्तरको कला प्रदर्शनी आदि हुनुले पनि यसबेलालाई आधुनिक कलाको शुभारम्भ भएको ठान्नुपर्छ। सन् २००३ को सन्दर्भ भनेकोचाहिँ नितान्त उत्तर आधुनिक कलाको घोषणासहित आधुनिक कलाभन्दा पृथक कलाको शुभारम्भ भएका कारण चौथो मोडको परिकल्पना गरिएको हो।

(मल्ल कलाकार र कला समीक्षक हुन्।)  

प्रकाशित: ५ भाद्र २०७८ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App