८ कार्तिक २०७८ सोमबार
कला

जीवन: सञ्जयशास्त्र

आफ्नो स्वास्थ्य समस्याबारे कहिल्यै सार्वजनिक माध्यममा नबोलेका काठमाडौं काँढाघारीका सञ्जय सुवेदीले सुरुमै आग्रह गरे– कृपया मलाई दयाको पात्रका रूपमा प्रस्तुत नगरिदिनुहोला।

उनले गीताको श्लोक उद्धृत गर्दै भने:  

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च।

तस्मादपरिहार्येअर्थे न त्वं शोचितुमर्हसि।।

अर्थात्, जसले जन्म लिएको छ, मृत्यु निश्चित छ, मरेकाको जन्म पनि सुनिश्चित छ। यसकारण पनि कुनै उपाय नभएको यो विषयमा शोक गर्न तिमी योग्य छैनौ।

हामी जन्मँदै मृत्युलाई साथमा लिएर आउँछौँ। अर्थात् मृत्यु अवश्यम्भावी छ। तैपनि मृत्यु कहिले आउँछ भन्ने थाहा नपाएकै कारण हामीमा जीवनप्रति अनन्त जिजीविषा हुन्छन्।  

तपाईंलाई जीवन धेरै लामो छैन भन्ने थाहा पाएपछि कस्तो लाग्छ? पक्कै पनि तपाईं आत्तिनुहुन्छ। तर, तपाईं यस्तो व्यक्तिलाई भेट्नुहोस्, जसलाई आफू कुनै पनि बेला मृत्यु हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पूर्ण जीवन बाँचिरहेको छ। सञ्जयमा जीवनको यही सार फेला पर्छ।

सञ्जय यस्ता व्यक्ति हुन्, जो जन्मँदै अत्यन्तै दुर्लभ खाले मुटुरोग लिएर आएका छन्। ‘टेट्रालजी अफ फलो’ भएका व्यक्तिको मुटुको बनोटमै समस्या हुन्छ। यसले गर्दा मुटु र शरीरका अन्य अंगमा रक्त सञ्चारमार्फत अक्सिजन प्रवाह कमजोर हुन्छ। रगतले सहज ढंगले शरीरका विभिन्न अंगमा अक्सिजन पुर्‍याउन  नसकेपछि कमजोरी देखिनु स्वाभाविक हो। त्यति मात्र होइन, यस्ता व्यक्तिको जीवनको अन्त्य कहिले हुन्छ, कुनै ठेगान हुँदैन। सञ्जयका निम्ति यो कुनै चिन्ताको विषय होइन । मृत्यु अवश्यम्भावी छ भन्ने भएपछि जीवनदर्शन यथार्थपरक हुन्छ।

उनी दुई वर्षको हुँदा चिकित्सकले यो समस्या फेला पारे। यसको स्थायी समाधान नभएपछि निरन्तर चिकित्सकको सल्लाहमा जीवन चलाउनुको विकल्प छैन। सञ्जयलाई जुनजुन चिकित्सकले हेरिरहेका छन्, ती सबै उनको सक्रियता देखेर आश्चर्यमा पर्छन्।  

‘डाक्टरसाबहरू यसरी बाँच्नु चमत्कार हो भन्नुहुन्छ,’ सञ्जय भन्छन्, ‘रगत बाक्लो हुन्छ, बेलाबेला अस्पताल गएर सुझाव लिन्छु।’

उनका पिता नेपाली सेनाका पेन्सनवाल भएको हुँदा वीरेन्द्र सैनिक अस्पतालका चिकित्सकले उनलाई नियमित हेरेका छन्। जो सहरका चर्चित चिकित्सकमा पर्छन्। उनीहरूले नै शल्यक्रिया गर्न नहुने र जीवन लम्ब्याउने अन्य चिकित्सा उपाय अपनाउने परामर्श दिँदै आएका छन्।  

सञ्जयलाई स्वास्थ्य परामर्श सेवा दिनेमा भगवान कोइरालादेखि मोतीलाल बज्राचार्यसम्म छन्। १० कक्षामा पढ्दा उनको मुखबाटै रगत आएको थियो। शरीरको रोगप्रतिरोध क्षमता कमजोर हुने नै भयो। दुईपटक त उनलाई क्षयरोग भइसकेको छ। शरीरमा हेमोग्लोबिनको मात्रा सामान्य व्यक्तिमा १२ हुँदा उनीमा २२–२४ पुगेको हुन्छ। अरूको शरीरमा युरिक एसिड सात हुँदा उनीमा १२ हुन्छ। त्यस्तै, जन्डिस वा यस्तै अन्य समस्या हुँदा पनि उनको स्थिति असाधारण हुन्छ।  

‘अहिले पनि अस्पताल गइरहनुपर्छ,’ उनी भन्छन्, ‘अहिले तपाईंसँग बोल्दा हड्डी दुखिरहेको छ। मुटु दुख्छ।’  

यो कुरा उनी अरूलाई सुनाउँदैनन्। उनी यसलाई सुनाउने भन्दा महसुस गर्नेमा हुन्छन्। शरीरले कसरी प्रतिक्रिया गरिरहेको छ, त्यसलाई उनी अवलोकन गर्छन्।

यस्तो जटिल अवस्थामा मानिसलाई जीवनप्रतिको अर्थबोध हुँदैन। अस्वस्थता र अन्य असफलताले मानिसलाई जीवनकै मोह गुमाउने अवस्थामा पुर्‍याउँछ। सञ्जय भने यसरी जीवनसँगै हारेका मानिसलाई परामर्श दिन रुचाउँछन्।

यस्तो जटिल स्वास्थ्य अवस्था हुँदाहुँदै उनले उच्च अध्ययन पूरा गरेका छन्। उनी विद्यावारिधि पूरा गर्न चाहन्छन्। उनले नेपाल संस्कृत विश्वविद्यालयबाट पोस्ट ग्राजुयट पूरा गरिसकेका छन्।

रगत बाक्लो हुने समस्याका कारण बेलाबेला अस्पताल गएर उनले रगत फ्याँक्ने गरेका थिए। अहिले भने सलाइन पानी दिएर त्यसलाई पातलो बनाउने गरेको उनले जानकारी दिए। दिमागमा समेत रगतले नै अक्सिजन  पुर्‍याउने हो। त्यसमा पनि उनलाई व्यवधान हुन्छ। त्यसैले उनी आफूलाई ध्यानमा केन्द्रित गर्छन्, साधना गर्छन्।

‘मेरो शरीर अत्यन्त संवेदनशील छ,’ उनी भन्छन्, ‘मलाई शरीरभित्रै रगत टुक्रिएको समेत थाहा हुन्छ। मुटु ढ्याक्ढ्याक् चलिरहेको, रगत प्रवाह भइरहेको सबै महसुस गर्छु।’

उनलाई थाहा छ, तत्काल मृत्यु हुन पनि सक्छ । सय वर्ष पनि बाँच्न सकिन्छ। कोभिड– १९ का कारण कैयन् युवाको समेत ज्यान गएको छ। चिकित्सकले उनलाई हौस्याउँछन्– तिमी अझै बाँचेकै छौ। तिमीभन्दा युवा यसपटक बितिसकेका छन्।

सञ्जयका अगाडि मृत्युको कुरा गर्न साथीहरूलाई पनि अप्ठेरो लाग्दैन। यसको कारण हो– उनको आत्मविश्वास। पर्यटन व्यवसायी एवं ट्रायथोलनका प्रशिक्षक सन्दीप अर्याल सञ्जयका सुखदुःखका साथी हुन्। उनले सञ्जयको हवाइजहाजमा यात्रा गर्ने चाहना समेत पूरा गराएका छन्। चिकित्सकले उनलाई चार तलाभन्दा माथि नजान सल्लाह दिएका छन्। तर, आत्मविश्वासले उनलाई भारतको अहमदावादसम्म पुर्‍याएको छ।  

सञ्जयलाई सजिलै यात्रा गर्न गाह्रो छ। तैपनि उनी घुम्न चाहन्छन्। साह्रै धेरै जोड लगाएर हिँड्न सक्दैनन्। अवस्था यस्तो भए पनि उनी आर्थिक रूपमा स्वतन्त्र हुन चाहन्छन्। त्यसका निम्ति उनी आफूले सिकेको ज्योतिषशास्त्र र अनुहार हेरेर अरूको भाग्यबारे बताउने सीप उपयोग गर्न चाहन्छन्। उनी आत्मविश्वास जगाउने कार्यक्रमको वक्ता पनि हुन चाहन्छन्।

मृत्यु स्वाभाविक हो, सञ्जय यसलाई धेरै ठूलो विषय बनाउन चाहँदैनन्। त्यही भएर उनी साथीहरूसँग जीवन र मृत्युका बारेमा निर्धक्क कुराकानी गर्छन्।

उनी संस्कृतमै चाणक्य नीतिबाट एउटा श्लोक उद्धृत गर्दै जवाफ दिन्छन्–  

कस्य दोषः कुले नास्ति व्याधिना को न पीडितः।

व्यासनं केन न प्राप्तं कस्य सौख्यं निरन्तरम्।।

(यस जगत्मा यस्तो कसको घर छ, जहाँ कोही कलंक नहोस्, त्यहाँ कुनै रोग वा दुःखबाट मुक्ति होस्। सधैँ सुखमा को रहन्छ ?) 

प्रकाशित: ३० श्रावण २०७८ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App