११ मंसिर २०७८ शनिबार
कला

नेपाली ‘पोट्रेचर’ कलाको नालीबेली

१९औँ शताब्दीको उत्तर्राद्धमा देखापरेका व्यक्तिचित्रसँगै हामीकहाँ  ‘पोट्रेचर’ कलाको प्रारम्भ भएको मानिन्छ। यसअघि हामीकहाँ विद्यमान परम्परागत शैली र ढाँचाका व्यक्तिचित्र, मूर्ति र रेखाचित्र पाइन्छन्। यी सबैलाई सूक्ष्म रूपमा केलाएको आधिकारिक अभिलेख भने पाइँदैन। सम्भवतः यसलाई विस्तारमा अध्ययन अनुसन्धान गर्दै गइयो भने आज भनिने ‘पोट्रेचर’को विशेषता पाउन गाह्रो हुँदैन। १९औँ शताब्दीमा देखिएका यस्ता व्यक्तिचित्र स्पष्ट रूपमा पश्चिमी शैलीमा बनेका छन्, त्यसैले यहाँबाट ‘पोट्रेट’को थालनी भएको हो भन्न सजिलो भएको छ। अझ २०औँ शताब्दीको मध्यतिर आइपुग्दा ‘पोट्रेट’ले पूर्ण रूप लिइसकेको देखिन्छ। यसपछिका दिनमा यस्तै स्वरूप, लक्षण र विशेषताका साथ व्यक्तिचित्र बनाइएको पाइन्छ। यी तमाम चित्रलाई सहजै ‘पोट्रेट’ खण्डमा राख्न सजिलो पनि भएको छ।  

‘पोट्रेचर’ र पोट्रेटको अर्थ  

शब्दकोश अनुसार, ‘पोट्रेट’ले व्यक्तिको अनुहारको चित्र वा फोटोलाई बुझाउँछ। त्यस्तै, ‘पोट्रेचर’ले व्यक्तिको चित्र वा फोटो बनाउने कलालाई बुझाउँछ। यहाँनेर चित्रलाई बढी मात्रामा फोकस गरिएको भए पनि कला शब्दको प्रयोगले यसको आयतन लम्ब्याउन सकिने ठाउँ देखिन्छ। फोटो बनाउने प्रविधि अलग्गै हो। पहिले फोटोलाई एक अलग्ग विधामा राखे पनि अहिले आएर यो पनि कलाको अभिन्न अंग बन्न पुगेको छ। नेपालमा फोटोलाई व्यावसायिक र सिर्जनशील (आर्टिस्टिक) भन्ने प्रचलन पछिल्लो कालमा आएर विकसित भयो।  

विश्वमा १९औँ शताब्दीको मध्यतिर फोटोग्राफीको आविष्कार भएपछि चित्रकारले यसलाई एक चुनौतीका रूपमा अंगीकार गरी प्रभाववादी चित्र बनाएका थिए। प्रकृतिबाट जस्ताको तस्तै उतारिने गरेको यथार्थवादीचित्र भन्दा अझ दुरुस्त रूपमा फोटोग्राफीले निकाली दिएपछि चित्रकारले फोटोग्राफीले गर्न नसक्ने अलग्ग प्रकारको चित्र निर्माण गर्न खोज्दा प्रभाववादी चित्रको जन्म भयो। जहाँ ठुल्ठूला तुलिकाघातको प्रयोग, आधारभूत रङ, उज्याला र चम्किला रङ (प्रकृतिमा यस्ता रङ देखिँदैनन्), झट्ट हेर्दा भद्दाजस्ता देखिने चित्र, दुरान्तभेद भत्काउने उपक्रम हुन थालेको देखिन्छ। जुन प्राकृतिक (नैसर्गिक स्वरूप) रङ र आकृति नभएर कलाकारको मन–मस्तिष्कको उपज भएको स्पष्ट देखिन्थ्यो। अर्थात् मेसिनबाट निकालिएको भन्दा मानव मस्तिष्कबाट मात्र कलाको सिर्जना हुन्छ भन्ने कलाकारको हुङ्कार यसवेला स्पष्ट रूपमा देखापरेको थियो। पछि यही अवधारणा, चित्रण शैली, पद्धतिलाई आधारशिला बनाई आधुनिकलाको उदय भएको मानिन्छ। 

यस्तै तरिकाले मूर्तिमा ‘पोट्रेचर’को सूक्ष्म विश्लेषण गर्दै सालिक भन्ने शब्दको प्रयोग भएको देखिन्छ। मूर्तिकलामा विशेषतः व्यक्तिकै मात्र बढी मात्रामा कला निर्माण गरिएका छन्। विशेषगरी धार्मिक कलाको विकास भएपछि देवीदेवताका यस्ता अनेक मूर्ति बने। जुनसुकै धर्ममा पनि आफ्ना आराध्यदेवलाई भक्तको माझमा स्थापित गर्न यस्ता ‘पोट्रेचर’ विभिन्न रूपमा बनाइएका छन्। कल्पनामा आधारित वा धर्मपण्डितको निर्देशन अनुसार देवीदेवताको मूर्ति बनाएको भए पनि कलाकारले कुनै न कुनै व्यक्ति विशेषको मोडललाई अंगीकार गर्नुपर्ने हुन्थ्यो। यसर्थ यसलाई ‘पोट्रेचर’को नजिक राख्ने धृष्टता भएको छ। यसरी बनाएका ‘पोट्रेचर’मा तत्कालीन समुदायमा रहेको मुखाकृतिको सहारा लिनुपर्ने भएकाले एउटै देवीदेवताका यस्ता मूर्ति पनि ठाउँ अनुसार अलगअलग अनुहारमा देखिन्छन्। अर्कोतर्फ राजा–महाराजाले आफूलाई अभिलेखन गर्न आफ्नै अनुहारलाई स्थापना गर्न थाले। उनीहरूका मूर्ति (‘पोट्रेचर’) अनगिन्ती रूपमा बन्ने गरेका छन्। राजा–महाराजासँग शक्ति र आर्थिक स्रोत हुने हुँदा उनीहरूकै चाहना अनुसार ‘पोट्रेचर’को निर्माण हुन्थ्यो। यसपछि प्रतिमा, सालिक, धार्मिक मूर्ति, सेकुलर वा सेक्रेड आर्ट आदि अनेकौँ शब्द प्रचलनमा आएको देखिन्छ। समग्रमा हेर्दा यी सबैजसो विधा, उपविधामा विभाजित भएको भए पनि मूलतः ‘पोटे«चर’ले सबैलाई कुनै नै न कुनै कुनाबाट सम्बोधन भने गरेको देखिन्छ।  

विश्वकलाको सन्दर्भमा  

विश्वको सन्दर्भलाई हेर्दा ‘पोट्रेचर’को आयतन यसभन्दा अझ फराकिलो छ। ‘पोट्रेचर’ भनेको व्यक्तिचित्रसँगै मूर्ति, फोटो र रेखाचित्र पनि हो। जसले व्यक्तिको चारित्रिक गुण, अभिव्यञ्जना, आन्तरिक भाव, अभिव्यक्ति जस्ता विशेषतालाई अँगालेको हुन्छ। यी विशेषता भएको ‘पोट्रेचर’ले धेरै प्रकारका कलालाई आफूभित्र अँगालेको देखिन्छ। उदाहरणका लागि, इसापूर्व २१४४–२१२४ को बीचमा निर्माण भएको अनुमान गरिएको ‘गुडिया’ मूर्तिलाई सुरुमा पाइएको ‘पोट्रेचर’ मान्ने गरिन्छ। जसमा एउटा कुर्सीमाथि अगाडि हात बाँधेर बसेको पूर्ण आकार (पूर्ण शशरीर)को मूर्ति छ। यस हिसाबमा नेपाली ‘पोट्रेचर’को इतिहासलाई दोस्रो शताब्दीको सम्भवतः जय बर्माको मूर्तिसम्म तान्न सकिन्छ। ठिंग उभिएको राजा (जय बर्माको भनिएको) को मूर्ति छ, जसलाई अहिले छाउनी म्युजियममा राखिएको छ।  

‘पोट्रेचर’को इतिहास खोतल्दै जाँदा यसलाई प्राचीन इजिप्टसम्म पुर्‍याइन्छ, जहाँबाट करिब पाँच हजार वर्षपूर्व यो परम्परा सर्वत्र फैलिएको विश्वास गरिन्छ। मूलतः ‘पोट्रेचर’ फोटोग्राफीको आविष्कार हुन अघिसम्म चित्र, मूर्ति र रेखाचित्रको रूपमा कुनै न कुनै व्यक्तिको अनुहारलाई अभिलेखन गर्नका लागि बनाउने परम्परा रहेको देखिन्छ। तथापि यसलाई अभिलेखन मात्र ठान्नु गल्ती हुन्छ। किनकि यो ‘पोट्रेचर’ अभिलेखनसँगै अन्य कैयौँ सन्दर्भले  महŒवपूर्ण रूपमा देखापरेको छ। पोम्पेइको २००० वर्ष पुरानो भित्ती चित्रमा यस्ता प्राचीन पोट्रेट पाइएका छन् । इसापूर्व पहिलो शताब्दीदेखि सक्रिय रहेको अजन्ता गुफामा कैयौँ पोट्रेट बनेका छन् । तथापि सन् ९८५ पछि पश्चिमको कला इतिहासमा पोट्रेटको स्वरूपमा परिवर्तन हुँदै आएको विश्वास गरिन्छ। रेनेसा पिरियडमा नौलो ढंगले पोट्रेट कलाको विकास भएपछि यसलाई चर्चाको मुख्य विषय बनाएर अगाडि बढाएको देखिन्छ। यस बखतका चित्रमा पहिलाझैँ ‘हाई रिअलिस्टिक फिचर’भन्दा पनि ‘स्टेरियोटिपिकल फेसियल एक्सप्रेसन’मा जोड दिने गरेको देखिन्छ। यसै वेला देखिएको समतलीय पृष्ठभूमिले गर्दा पनि यसवेलाको पोट्रेट कलालाई रिअलिस्टिक फिचर (यथार्थ वा नैसर्गि स्वरूप) भन्दा टाढा लगेको स्पष्ट दृष्टिगोचर हुन्छ।  

‘पोट्रेचर’को इतिहास मूर्तिबाट सुरु भए पनि (सम्भवतः पुराना चित्र प्राप्त नभएका कारण) पछिल्लो कालमा आएर चित्रकलामा बढी केन्द्रित भएको देखिन्छ। सन् १५०३ र १५०६ को बीचमा इटालीका विश्वप्रख्यात कलाकार लियोनार्दो दा भिन्चीले मोनालिसाको मनमोहक पोट्रेट बनाए। धेरै वर्षसम्म यसले खासै चर्चा पाएन। १९औँ शताब्दीको अन्ततिर जब कलामाथिको एस्थेटिक भ्यालु, पुरातात्त्विक सम्पदाको महत्ता बारेमा चासो र चर्चा हुन थाल्यो, तब मोनासिलाको खोजीनिती भयो। तत्पश्चात मोनालिसाबारे अनेकौँ तथ्य सार्वजनिक भए। कलाविद्ले मोनालिसाभित्रै पनि अनेक बहुमूल्य अवयव देख्न थाले। पछिल्लो कालमा आएर कलाविद्ले यस चित्रमा शक्तिशाली तुलिकाघात र अचम्म किसिमको मुस्कान देखे। कलाकारले बडो चलाखीका साथ शिल्प दक्षता प्रयोग गरी मोनालिसाको ओठको कुनामा प्रहार गरेको तुलिकाघातलाई नै विशेष मानिन थालियो। यो पोट्रेटलाई चारैतिरबाट हेर्दा देखापर्ने अलगअलग दृश्य र प्रभावको प्रसंगमा पनि कलाविद्ले भन्न भ्याएको देखियो। कलाविद्ले विश्लेषण गर्दा यसको विशालकाय संयोजन (कम्पोजिसन)देखि सूक्ष्म तर चलाखीपूर्ण हिसाबले गरिएको मोडिलिङ (त्यतिवेला पनि व्यक्ति विशेषलाई मोडल बनाएर व्यक्तिचित्र बनाउने प्रचलन थियो) र वातावरणलाई कोट्याउन भ्याएका छन्। विशेष गरेर यो चित्रको रहस्यमयी अभिव्यञ्जनाले गर्दा विश्व प्रसिद्ध भएको हो। यो फल्याकमाथि तैलरङले बनाइएको चित्र थियो। ‘पोट्रेचर’को इतिहासमा यस प्रकार मूर्तिमाभन्दा बिस्तारै चित्रमा बढी मात्रामा फोकस हुँदै चर्चा भएर आएको देखिन्छ।  

१६औँ शताब्दीका अर्का महान् कलाकार रेम्ब्रान्टले अँध्यारोमा प्रस्फुटित हुँदै पोट्रेट बनाए, जसलाई ‘डार्क पोट्रेट’ भन्न सकिन्छ। जुन कलामा शिल्प दक्षताको पराकाष्ठा रहेको रूपमा चर्चा भयो। लाइट एन्ड स्याडको घनीभूत प्रयोग भएको यो चित्रमा पहिलेभन्दा अद्भुत प्रभाव दृष्टिगोचर हुन्छ। कलाकारले चाहेको निश्चित ठाउँमा भावकलाई एकाग्र हुन बाध्यात्मक परिस्थिति पैदा हुन्छ। यो उनको विशेषता पनि थियो। हरेक रङलाई अँध्यारो बनाउने प्रचलनलाई धेरैपछि प्रभाववादीको आन्दोलनले धेरै चहकिलो रङमा परिवर्तन गरेको थियो। सामाजिक यथार्थवादी कलाकार गुस्ताभ कोर्बेट र होनोर ड्युमिअरले पहिलोपल्ट काम गर्ने मध्यम वर्गका मान्छेको पहिलोपल्ट पोट्रेट कला बनाएका थिए। यसैको अलिपछि प्रभाववादी चित्रकारले कलाको प्रकृतिमाथि प्रश्न उठाउँदै कलात्मक पोट्रेटको नयाँ परिभाषा भिœयाएका थिए। १९औँ शताब्दीको अन्ततिर इन्डस्ट्रिअल रिभोलुसनपछि कलाको मास प्रोडक्सन र आपूर्ति ह्वात्तै बढ्दा पहिलोपल्ट मिडिल क्लासका परिवार यस्ता कलाका सामग्री खरिद गर्न सक्षम भएको देखिएको छ।  

१९औँ शताब्दीका कलाकार भ्यानगग र यसै वेलाका अर्का कलाकार सेजानले दुई अलगअलग पाराले पोट्रेट चित्र बनाए। यसै वेलाका गउगिनको पनि चर्चा गर्ने गरिन्छ। भ्यानगगको सेल्फ पोट्रेट यस विधाको सबैभन्दा चर्चित चित्र हो । जसलाई उनले आफ्नो मनको बह पोख्ने माध्यम बनाएका थिए। चारैतिर डरलाग्दा, मोटा, चहकिला रेखा खेलाएर बनाएको उनको पोट्रेट भाव अभिव्यञ्जनाले मात्र होइन, शैलीगत रूपमा पनि एक अलग्ग देखिन्छ। पहिले कहिले नदेखिएको कलर अप्रोच, निस्फिक्री दौडेका अति शक्तिशाली रेखाबाट बनेका उनका यस्ता चित्र उनको जीवनभर रद्दीको टोकरीमा फालिएको थियो। तर, यसैलाई सन् १९११ ताका देखिएका अभिव्यञ्जनावादीले स्रोतको रूपमा दरिलो आधार माने। यसपछि सेजानले क्युबिक फर्ममा बनाएको पोट्रेट पनि एक अलग्ग स्वरूपमा देखापरेको छ। पछि सन् १९०७ मा पिकासोले यसैका आधारमा क्युबिजमको विकास गरे। यो जम्मै आरोहअवरोह ‘पोट्रेचर’कै सेरोफेरोमा घुमेको देखिन्छ।

२०औँ शताब्दीको शुभारम्भतिर मोडलिङ गरेर बसेको व्यक्ति विशेषको फेसियल फिचरभन्दा व्यक्ति विशेषको अन्तर्मनमा अवस्थिति अभिव्यञ्जनालाई समात्न खोजेको देखिन्छ। यस वेलाका मातिस, पिकासो आदि कलाकारले यसो गर्न रङ, रेखा र रूपलाई खेलाउँथे । यस्तो पहिला कहिले पनि देखिएको थिएन। यो पोट्रेट कलाको नितान्त नौलो रूप थियो। २०औँ शताब्दीको मध्यतिर पोट्रेटको आकर्षण खस्किँदै गएको थियो, तथापि यसैवेलाका कलाकार एन्डी वारहुल र रोय लिचटेनस्टेनले पप आर्टको नाममा यसलाई पुनः लाइमलाइटमा ल्याएका थिए। आज सबैको हातहातमा मोबाइल छ। हरेक व्यक्ति फोटो खिच्न एक्सपर्टको रूपमा अगाडि आएको देखिन्छ। 

नेपाली पोट्रेट कला  

नेपाली ‘पोट्रेचर’ कलाको इतिहासमा राजा जय बर्माको मूर्तिपछि यसै प्रकारको पूर्ण कदको मूर्ति धेरै पछिल्लोकालसम्म देखिँदैन। मल्ल वंशमा आइपुग्दा राजा–महाराजाले आफ्ना अनुहारलाई अभिलेखन गर्ने क्रममा आफ्नै मूर्तिभन्दा पनि देवीदेवताका मूर्ति बनाउन लगाएको पाइन्छ। प्रायः राजा–महाराजाले आफ्नो राज्यकालमा कुनै न कुनै मन्दिर, स्तुपा, विहार वा चैत्य बनाएका छन्। र, त्यसभित्र आराध्य देवीदेवतालाई स्थापित गराएका छन्। तर आफ्नो मुखाकृतिलाई स्थापित गर्न त्यति चासो देखाएको देखिँदैन। मल्लकालमा मन्दिरअगाडि ठूलो स्तम्भमाथि राजाले आफूलाई भक्तका रूपमा राखी आफ्नो ‘पोट्रेचर’लाई स्थापित गरेको देखिन्छ। मल्लकालका भूपतिन्द्र मल्ल वा प्रताप मल्लका यस्ता ‘पोट्रेचर’ छन्। यसपछि एकैचोटि १९औँ शताब्दीको मध्यतिर जंगबहादुरको उदय भएपछि पश्चिमी राष्ट्रको प्रभावमा पश्चिमी शैलीमा आफ्ना ‘पोट्रेचर’ बनाउन थालेको देखिन्छ। यसपछिका कालमा हरेकजसो प्रधानमन्त्री, राजा वा उच्च ओहोदामा बसेका व्यक्ति विशेषको यस्ता मूर्ति वा सालिक बन्न थालेको देखिन्छ। सालिक बनाउने परम्परा प्रजातन्त्रको उदय भएपछि तत्कालीन राजा महेन्द्रले सुरु गरेका थिए। उनले आफ्नो सालिकलाई काठमाडौं उपत्यकामा मात्र होइन, देशभरि राख्न लगाएको देखिन्छ। उनीपछि राजा वीरेन्द्रले यसरी नै आफ्ना मूर्ति र चित्र प्रशस्तै मात्रामा बनाउन लगाएका छन्। यसैवेला उनले हरेक सरकारी अफिसमा आफ्नो चित्र बनाउन लगाई टाँग्न लगाएका थिए। यसवेला सयौँको मात्रामा राजा महेन्द्र, वीरेन्द्र, रानी ऐश्वर्य र अन्य राजपरिवारका व्यक्तिचित्र बनेका छन्। यसैको सिकोमा ०४६ र ०६२÷६३ आन्दोलनपछि नेता, सामाजिक र साहित्यिक व्यक्तित्वका सानाठूला सालिक बन्न थाले। शैलीको सन्दर्भमा भन्नुपर्दा यी सबै मूर्ति वास्तुवादी मूर्ति हुन्। यी सबैजसो चित्र वा मूर्ति व्यावसायिक, कमिसन वर्कका रूपमा बनेकाले कलाकारको सिर्जनाभन्दा पनि बनाउन लगाउनेको इच्छामा बनेको देखिन्छ।

जहाँसम्म चित्रकलाको सन्दर्भ छ। व्यक्तिचित्र १९औँ शताब्दीको मध्यतिर तत्कालीन प्रधानमन्त्री जंगबहादुरकै समयदेखि बन्न थालेको देखिन्छ। बेलायतसँग उनको सम्बन्ध गाँसिएपछि पश्चिमी कलाले नेपालमा यथेष्ट रूपमा प्रवेश पाएको छ। राणा प्रधानमन्त्रीले पोट्रेट कलामा ज्यादा मोह राखेको परिप्रेक्ष्यमा प्रधानमन्त्री चन्द्रशमशेरले दुई कलाकारलाई कलकत्तामा कलाको विधिवत अध्ययन गर्न पठाए । यसवेला राणा प्रधानमन्त्रीदेखि उच्च ओहोदामा बसेका व्यक्ति र राणा परिवारका अन्य सदस्यको प्रशस्त व्यक्तिचित्र बने। यसवेला दीर्घमान चित्रकार, तेजबहादुर चित्रकार, मनोहरमान पुन, चन्द्रमान सिंह मास्केदेखि बालकृष्ण सम, अमर चित्रकार, केशव दुवाडी, कालीदास श्रेष्ठ, डिबी चित्रकार आदि अनेकौँ पोट्रेट कलाकार देखिन्छन्, जसले अति मनमोहक, लोभलाग्दा चित्र बनाएका छन्। यसमध्ये अमर चित्रकारले जति मूर्ति र चित्र अरूले बनाएका छैनन् होला भन्न सकिन्छ।  

यी जति पनि पोट्रेट कला बने, यी सबैजसो यथार्थवादी शैलीमा बने। यसो हँुदा अधिकांश यस्ता पोट्रेट कमिसन वर्कका रूपमा बनेका छन्। मूलतः शैली र प्रवृत्तिगत परिवर्तनका साथ ‘पोट्रेट’ देखिएको सन् १९६० को उत्तराद्र्धमा आएर हो। जब बेलायतबाट लैनसिंह बाङ्देल नेपाल आए, पश्चिमी मुलुकमा स्थापित भइसकेका आधुनिक पोट्रेटको शैलीलाई उनले नेपालमा स्थापित गराए। पश्चिममा देखापरेको यसका दुई धार (विशेषतः भ्यानगग र सेजानले प्रयोग गरेको) मध्ये आत्म अभिव्यञ्जना प्रवृत्तिलाई बढी मात्रामा प्रयोग गरियो। यसरी शैली र प्रवृत्तिभन्दा पनि भाव अभिव्यक्तिमा बढी जोड दिएको देखिन्छ। लैनसिंह बाङदेलका पोट्रेट अति विस्तारमा बनाइएको देखिँदैन। उनका चित्रमा रेखाको बढी प्रयोग भएको छ भने अन्तर्मनको भावलाई वा ‘फेसिएल एक्सपे्रसन’लाई प्रस्तुत गर्न जोड दिएको देखिन्छ। यसैको अलि पछिल्लोकालमा आएर उत्तम नेपालीले थुप्रै पोट्रेट कला बनाए। भावकै अंश लुकेका उनका यस्ता चित्रमा पनि अनुहारलाई बेरूप बनाउने कोसिस गरिएको देखिँदैन। यसपछि मनुजबाबु मिश्रका अति डरलाग्दा, भयावह, पोट्रेट कला देखिन्छ। उनले आफ्नै अनुहारमा जनावरको सिङ आदि बनाई एक अलग्ग प्रकारको कला बनाएका छन्। मनमा रहेको अनेक दर्द, उकुसमुकुस, आक्रोश आदि उनको पोट्रेट कलामा देखिन्छ। शशि शाहले पनि पोट्रेट बनाएका छन्। कमिसन ओर्कका रूपमा भए पनि पछिल्लो कालसम्म अति लोभलाग्दा यस्ता पोट्रेट कला बनाइरहनेमा केके कर्माचार्य, विजय थापा, आइबी मल्ल, बाबुराजा ध्वला, सिर्जनराज भण्डारी आदि छन्। नेपालको समसामयिक कलाको इतिहासमा सन् २००० को उत्तराद्र्धमा पोट्रेट कलाले अति महत्त्व  पाएको देखिन्छ।

विशेष रूपमा पोट्रेट कलालाई आफ्नो मुख्य पात्रका रूपमा प्रयोग गरी, व्यक्तिगत भाव अभिव्यञ्जनाभन्दा पनि समसामयिक अवधारणा पस्कनमा कलाकारको चासो जागेको देखिन्छ। यस्ता युवा कलाकारमा पृथ्वी श्रेष्ठ, मनीषलाल श्रेष्ठ, सुनील सिग्देल, शौरगंगा दर्शनधारी, सविता डंगोल, एरिना ताम्रकार, प्रमिला बज्राचार्य, रोशन प्रधान, सुजन डंगोल, हितमान गुरुङ, कविराज लामा, कैलाश श्रेष्ठ, मुना भाडेल, नवीन नाल्बो, नम्रता सिंह आदि छन्। ओपन एयर दृश्यचित्रमा रमाउने कलाकार पनि पोट्रेट कलामा रमाउन थालेका छन् । यस्ता कलाकारमा मुख्यतः आलोक गुरुङ, एनबी गुरुङ, डि राम पाल्पाली, डिबी याम्फु आदि छन्।

(मल्ल कलाकार तथा कला समीक्षक हुन्।)  

प्रकाशित: २३ श्रावण २०७८ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App