७ वैशाख २०८१ शुक्रबार
कला

चिम्टा

कविता

कमल अर्याल

 

चिम्टाले अँगेनामा चम्किरहेको  

चम्किलो कोइलालाई भन्यो –  

आगो महोदय,

म हजुरलाई नियालिरहेछु  

हजुरको यो चमक  

  – यो ताजापन

  – यो सक्रियता

  –  यो पूर्णता  

सूर्यजस्तै छ हजुरको यो प्रताप  

देखेर म हजुरप्रति  

निकै आकर्षित भएको छु  

मभित्र एक प्रकारको  

– मादकता  

– काउकुती  

– कौतुहलता र हुटहुटी  

जागरण भैरहेको छ।

 

ए प्रतापी अग्नि !

म हजुरलाई  

– अँगालामा कस्न चाहन्छु,  

– प्रेममा डुब्न र डुबाउन चाहन्छु  

म भित्र एउटा हुँडलो अनि एउटा प्यास छ  

अग्नि–प्यास, सौर्य–प्यास  

म त्यो मेटाउन चाहन्छु

अँगेनाको डिलबाहिर पनि छ दुनियाँ  

कृपया बाहिरी संसारमा आउनुहोस्  

सुनौलो समयको  

सुरुवात गरौं – प्रेम गरौं  

एउटा यस्तो प्रेम – दुनियाँले सम्झोस्  

गर्भाधान गराएर म आफ्नो योनिमा  

एउटा रापिलो आवेश जन्माउन चाहन्छु।

 

आगाको भरभराउँदो कोइला

साथीहरूसँग  

– मस्त थियो  

– स्वतन्त्र थियो  

मसिनो सूर्यजस्तै तातो थियो  

ताराजस्तै चम्किलो थियो।

सुरुमा उसले चिम्टाको कुरामा  

खासै चासो देखाएन  

भनौं प्रेम अँकुराएन  

फेरि चिम्टाले बिस्तारै  

आफ्ना चिसा हातहरू  

तातो बनायो र उसलाई  

सुम्सुम्यायो र मायाले  फकायो  

एउटा ब्वाँसे प्रेम देखाउँदै भन्यो –  

महोदय !

अब केहीबेरमा

तपाईं आफ्नै साथीहरूको  

तातोपन र उन्मादको  

सिकार हुनुहुनेछ

र  

खरानी भएर आफ्नो अस्तित्व  

गुमाउनु हुनेछ ।

आगो भ्रममा पर्‍यो – हो कि झैं सोच्यो  

आगाले आफूलाई  

ऐँच्याउन सकेन  

चिम्टाले जित्यो  

अँगेनाबाट आफ्नो अँगालोमा  

प्रेमले बाँधेर  

चम्किलो मसिनो सूर्यलाई  

बाहिर ल्यायो र ढुङ्ग्रोसँग परिचय गरायो  

केहीबेर चम्किरह्यो  

चिम्टाको खुसी धेरैबेर टिक्न पाएन

कोइलाको चम झर्दै गयो  

चिम्टाको चैन हरायो  

मन अमिलो भयो।

चम्किलो कोइला बिस्तारै–बिस्तारै

चिसो र औंसीको रात भयो।

चिम्टाको – होस हरायो, सपना हरायो  

तृष्णा हरायो र सहवासको कल्पित आनन्द पनि हरायो।

 

एकाएक  

खल्लो र मलिन अनुहार लाएर  

चिम्टाले भन्यो –  

मैले यस्तो सोचेको थिइन  

तपाईको त  

– कलर हरायो  

– चमक हरायो

तपाईंले धोका दिनुभो  

असाध्यै ठूलो धोका  

अब तपाईं र मेरो मिलन हुन सक्दैन।

 

कोइलाले ढुम्रोतर्फ दयाको भावले  

हेर्‍यो र आँखाले सोध्यो।

ढुम्रोको अनुहारको रङ र  

चिम्टाको अनुहारको रङ एउटै भयो।

आगोको तातोपन सकियो  

ऊ अँगार भयो।  

एक्लियो,  

चिम्टाबाट एक्लियो  

आफ्ना साथीबाट एक्लियो  

आफ्नोपन हरायो  

अस्तित्व हरायो  

त्यो आगो  

सम्झिंदो होला – चिम्टाको स्वार्थी अनुरोध  

ऊ अँगेनाबाहिर नआएको भए हुने  

बिचरा आगो  

चिम्टा र चाकडीमा रमाउने चम्चाको  

सहोदर मित्रताको भेउ नपाएर  

दुवैको सोच र कर्म एकै हो भन्ने मेसो नबुझेर  

स्वार्थी चिम्टाले चिमोटेको घाउको तालु

टल्काएर टन्टलापुर गर्मीमा  

यतै कतै सडक र गल्लीमा  

पल्टिरहेछ कालो अँगार भएर।

प्रकाशित: ८ श्रावण २०७८ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App