हरिप्रसाद भण्डारी
ऊ भोक र थकाइले लखतरान परेर कोठाभित्र पस्यो। लौरो भित्तामा अडायो। टोपी फुकालेर ओछ्यानतिर फाल्यो र सुइया सुस्केरा हाल्दै खाटको छेउमा बस्यो।
बत्तीको मधुरो प्रकाशमा कोठा मलिन देखिन्थ्यो। एकापट्टि कुनामा सात दिनकी सुत्केरी श्रीमती सुतेकी थिई भने अर्कोपट्टि सानो छोरो पातलो च्यादर ओडेर असजिलो गरी सुतिरहेको थियो। कोठाभित्र रहेका सामानहरू पनि अव्यवस्थित रूपमा यत्रतत्र छरिएका थिए।
ऊ आएको थाहा पाएपछि सानीकान्छीले सिरकले छोपेको मुख खोली, रिसाउँदै उसलाई हेरी र केही नबोली पुनः मुख छोपी। सानो हेराइमा पनि श्रीमती रिसाएकी र रोएकी छ भन्ने कुरा उसले अनुमान लगायो।
एकैछिनपछि सिरकभित्रबाट श्रीमती रोएको आवाज सुनियो। यो सबै देखेर ऊ दिक्क भयो, बसेको ठाउँबाट उठ्यो, बुढीका नजिक गयो र सिरक उठाउँदै बिस्तारै बोलायो।
एकैछिन सानीकान्छी रोई मात्र, बोलिन। एकैछिनपछि रुँदै भनी, “विहान पाँच बजे गएका मान्छे, दिनभरि ....। अहिले रातिको बाह्र बज्न लागिसक्यो।”
ऊ सुँक्क सुँक्क गरी। रुँदै भनी, “लोग्नेमान्छेको पापी जात! हामीलाई जस्तो तिमीहरूलाई हुने भए ...।”
तैपनि ऊ केही बोलेन। वास्तवमा उसको गल्ती पनि केही थिएन। चाहेर दुःख दिन खोजेको पनि थिएन। उसले विचार गर्यो, ‘सात दिनकी सुत्केरी, अहिलेसम्म खानु छैन, नरोएर पनि के गरोस् बिचरी !’
उसलाई आफ्नो जागिरदेखि पनि दिक्क लाग्यो। ‘नगरूँ कसरी नगरूँ, गरूँ कसरी गरूँ? यस्तो अवस्था छ।’ उसले मनमनै विचार गर्यो, ‘हाकिमहरू पेल्या पेल्यै गछन्। हुलचालमा जिउ जोगाउनै मस्किल छ।’
एकपटक लामो सास फेर्यो र पुनः श्रीमतीलाई बोलायो।
“सानी ! ए सानी ! नरो उठ्। सत्ते मैले हेपेर तँलाई दुःख दिन खोजेको होइन। के गरूँ भन् त, आज हुलचाल भयो, डिप्टी थपियो र समयमा आउन पाइनँ। नत्र तेरो यो अवस्था देखेर किन भुल्थेँ र ?”
ढोकाबाट आएको टकटकको आवाजले उसको बोली बिचैमा रोकियो। ऊ उठ्यो र ढोका खोल्यो।“कतिबेला आउनुभो ?” आगन्तुकले भित्र पस्दै सोध्यो।
“भर्खरै आएँ ।” दिक्क मान्दै उत्तर दियो।
“होइन, आज त निकै होहल्ला भयो भन्छन् नि, के भएको हो हँ दाइ ? त्यही सोधूँ भनेर आएको नि !”
“त्यसै भएर त यति ढिला भयो। साला कस्तो दुख्ख!”
एकैछिन दुवै जना चुप रहे। पछि आगन्तुकले नै कुरो अगाडि बढायो, “केको झगडा रहेछ ?”
“के हुनु, देखेनौँ ? बाल्नलाई मट्टितेल छैन, अरू सरसामानको उत्तिकै हाहाकार छ। विदेशीहरूले सहयोग गरिरहेका छैनन्। त्यही त हो, हिजोआजका उरन्ठेउला केटाकेटीहरूलाई के निहुँ पाउँ कनिका बुकाउँ भएको हुन्छ। त्यत्ति भएपछि कमिलालाई कीरो भइहाल्यो नि। ओहो भाषण गरेर, नारा लगाएर उत्पाद गरे बज्याहरूले। हेर न जनता पनि कति बुद्धू हुन्, केटाहरूले सरकारको विरोध गरेका छन् जनता पनि उतै लाग्छन् ऐ गाँठे ! बुद्धि नभएका मुर्खहरू। मलाई पनि साहै्र रिस उठ्यो अनि लौखा साला भन्दै बजाए लाठीले थुप्रैलाई। बल्ल ऐया र आथ्यु भन्दै ढाड बाङ्गो बनाउँदै भागे बज्याहरू !”
ऊ आफूले गरेको पुरुषार्थ सम्झेर र पहिलेका दुःख बिर्सेर एक पटक जोडले हाँस्यो। त्यसो गरेकोमा आफूलाई महान ठान्यो।
“ए त्यसो पो रहेछ। यता पनि ‘विद्यार्थीहरूले फेरि आन्दोलन उठाए रे’ भन्ने हल्ला गरेका थिए मान्छेहरूले। त्यसैले म पनि के रै छ बुझुँ भनेर आएको हुँ ।”
“आयौ यार ठीक गर्यौ। हेर न भोकले हुइया परिएको छ। बुढी रिसाएकी छे। छोरो ऊ त्यहाँ सुतेको छ भोकै। कस्तो दुःख छ यार। जागिर खाएर पनि राम्ररी ज्यान पाल्न नसकिने, सधैँ दुःखैदुःख। दिनभरि पनि कता विद्यार्थीले हानेर मार्छन् भन्ने पिर। हाकिमले कुकुरलाई जस्तो व्यवहार गर्छन्। साला र गधा भन्दै आमासितका गाली गर्छन्। यो जागिर खानुभन्दा त बरु लाहुरे गएको भए हुने थियो जस्तो लाग्छ। अब बल्ल खाना पकाउने हो। छिमेकीहरू सबै सुकिसके, भोलि बिहान पाँचै बजे पुग्नुपर्छ फेरि। कस्तो दुख्ख !”
“हुन्छ त म पनि लाग्छु। रात बितिसक्यो अब सुत्नुपर्छ।” यति भन्दै आगन्तुक बाहिरतिर लाग्यो। उसले खाना पकाउने सुर झिक्यो।
यतिबेलासम्म श्रीमती रुन छोडीसकेकी थिई। यसपटक ऊ नजिकै गयो पहिलेजस्तै गरी बोलायो। यसपटक ऊ रिसाइन बरु गुनासो गरी, “यतिबेलासम्म कस्तो भोक लागिरहेको छ। खान नपाएर बच्चालाई दुध पनि आएको छैन।”
ऊ पुनः रुन थाली ।
“नरो, के गरुँ भन् त ? त्यसै त पुलिसको जागिर झन् आज हुलचाल भयो। हाकिमसँग ‘स्वास्नी सुत्केरी छ जान्छु’ भनेको थिएँ, ‘अहिले यस्तो संकटपूर्ण अवस्था छ तेरी स्वास्नी सुत्केरी !’ भन्दै गाली गरे। आदेश नाघेर आउन पनि सकिनँ।”
“उता स्कुलबाट आउँदा छोरालाई पुलिसले कुटेछन्, पिठ्यूँमा निलडाम छन्, मुखमा चोट लागेर गालैमा सुनिएको छ ...।” रुँदै श्रीमतीले भनी।
“पुलिसले पिटेछन् रे ? के भन्छे यो ?” श्रीमतीको कुरा पुरा हुन नपाउँदै उसले सोध्यो र हतारिँदै गएर छोरालाई उठायो। छोरो रुँदै उठ्यो। छोराको मुखमा काटिएको थियो। गालो सुन्निएको थियो र रुँदारुँदै आँखा वरिपरि फुलेको थियो। उसले छोरालाई काखमा लिँदै पिठ्यूँतिर हेर्यो। त्यहाँ झन् सुन्निएको थियो र लौराको डाम स्पष्ट देखिन्थ्यो।
आफ्नै प्रहरी साथीहरूको व्यवहारप्रति रुष्ट भयो र रिसायो। फेरि सोच्यो, ‘पुलिसले त यसरी नपिट्नु पर्ने।’ त्यसपछि उसले छोरालाई सोध्यो।
“म स्कुलबाट आउँदै थिएँ। बाटामा थुप्रै मानिस चर्को स्वरमा कराउँदै थिए। उताबाट तपाइँ जस्ता थुप्रै पुलिस आए र लौराले हान्दै सबैलाई लघारे। म दगुर्न सकिनँ, एकजनाले मलाई हाने। म अडिन नसकेर बाटामा पछारिएँ। यी मुखमा काट्यो, रगत आयो र म खुब रोए। मलाई कुटेपछि प्रहरीहरू पर दगुरे। म रोएको देखेर एकजना हाम्रा सरजस्ता मान्छेले मलाई उठाए। कपडामा लागेको धुलो झारिदिए। रगत पुछिदिए र चकलेट किनेर दिँदै नरुन भने अनि ऊ त्यहाँ बाहिरसम्म ल्याएर छोडी गए।”
छोराको कुरा सुनेपछि ऊ साह्रै दुःखी भयो र एक पटक रिसायो पनि। उसले भन्यो, “साला मातेर आँखा पनि नहेरी लाठी चलाउने। यत्रा बालकलाई हान्न कसरी हात उठेका होलान्, कोर सल्केका हात !”
ऊ एक्लै बडबडायो अनि झट्ट दिउँसो आफूले लाठी चलाएको घटना सम्झियो। दिउँसोको घटना सम्झेपछि उसलाई आफैँप्रति घृणा जागेर आयो र आफैँले आफैँलाई धिक्कार्यो ।
उसले छोरालाई भुलायो। केही बेरपछि भात खुवाउने र भोलि औषधि किनिदिने कुरा बताउँदै खाना पकाउन सुरू गर्यो ।
“बुबा मैले कुनै गल्ती नगरेकालाई पनि किन हानेका हँ ?” केहीबेरपछि छोराले जिज्ञासा राख्यो ।
छोराको जिज्ञासा सुनेर उसले केही जवाफ दिएन। आजसम्म उसले गल्ती गर्नेले मात्रै चुटाइ खान्छन् भन्ने सम्झेको थियो तर आज उसले प्रत्यक्ष देख्यो आफ्नो छोरो निर्दोष हुँदाहुँदै पनि कुटाइ खाइरहेको थियो। यस घटनाले गर्दा उसलाई आफ्नै पेशादेखि पनि घृणा लागेर आयो। के सोच्यो अनि लामो सास फेर्यो।
“बुबा ! आजै फेरि तपाईँजस्ता पुलिसले हाम्रा हजुरबाजस्ता मान्छेलाई पनि कुटेका थिए। कस्तरी ऐया ऐया भन्दै खोच्याउँदै हिँडेका थिए ती मान्छे। आँखाबाट आँसु चुहाइरहेका थिए बिचरा !”
‘हजुरबाजस्ता ?’ छोराको कुरा सुनेर ऊ झस्कियो अनि झट्ट आफ्ना वृद्ध बुबाको मलिन अनुहार उसका अगाडि नाच्न थाल्यो। त्यस्तैमा उसले घरबाट आएको चिठी सम्झियो जुन दिउँसो अफिसमा बुझेको थियो र अहिलेसम्म पढ्न पनि पाएको थिएन। ऊ झट्ट उठ्यो र खल्तीबाट चिठी निकालेर पढ्न सुरु गर्यो।
‘...बाबु छोरा तलको जग्गामा प्रधानले खिचलो झिकेका छन्। लल्लाघरे सानेको जग्गा पनि आफ्नै नाममा नपाए रे। हाम्रो पनि त्यसै गर्लान् जस्तो छ। मैले कुरो गरेको थिएँ, छोरो पुलिस छ भनेर हुन्छ ? पहिले ख्याल गर्नुपर्छ भनेर कुन्नी के के कानुनका कुरा गरे। मैले बुझिनँ।
साहिँला साहूले अहिले ब्याजसम्म भएपनि नभई हुन्न भनेर धर्ना टेकेका छन्। संस्था (साझा संस्था) बाट भैंसी किन्न लिएका ऋणको उत्तिकै ताकेता आएको छ। ब्याजको स्याज, हर्जाना सर्जना गरेर ठ्याक्कै तेब्बर बनाउको छ रे। घरबारी लिलाम गर्छन् रे भन्छन्।
छोरा तँ नभएपछि हामी त साह्रै हेपाइमा परेका छौँ। अस्ति मुखियाको कान्छो छोराले वन जाँदा हाम्री छोरीमाथि हातपात गरेछ। छोरीका हातमा खुर्पा रहेछ, उल्टातिरबाट हानिछ र पो नत्र......। यहाँ त इज्जत जोगाएर हिँड्न पनि गाह्रो छ....।’
पत्र पढ्दापढ्दै छोडेर कन्चटमा हात राखेर घोरियो अनि लामो सास फेर्यो र ‘किन यस्तो भइरहेको छ हँ ?’ भन्दै दिउँसो विद्यार्थीहरूले गरेका भाषण सम्झियो–
‘...दाजुभाइ तथा दिदीबहिनीहरू हामी पलपलमा सामन्तीसँगबाट ठगिएका छौँ। ती दुष्टहरूले हाम्रो शोषण गर्छन्। हाम्रा चेलीबेटीको इज्जत लुट्न सक्दो प्रयास गर्छन्। हामीमाथि घटिया व्यवहार गर्छन्। हाम्रा कैयौँ दिदीबहिनी विदेशी हाटमा नारकीय जीवन बिताउन विवश छन्। हरक्षेत्रमा हामी सधैँ असुरक्षित छौँ।
हामीले सत्य कुरा गर्दा हामीमाथि प्रहरीका लाठी बर्सन्छन्, पक्राउ गर्छन् र यातना दिन्छन्। हामीजस्ता कैयौँ नागरिक बिनाकारण लामो अवधिसम्म कालकोठरीमा बन्द हुनु परेको छ। यी आज हेर्नुस् त हाम्रा अति आवश्यकीय वस्तु मटितेल, चिनी, चामल आदिको लागि हाहाकार परिरहेको छ। यस्तो किन भैरहेको छ ? सरकारले किन वास्ता गरिरहेको छैन ? विदेशी राष्ट्रहरूले किन हामीलाई सताइरहेका छन् ? यी कुराहरू थाहा पाउनु जरुरी छ। हामी त्यसैका लागि लड्दै छौँ। त्यसैको विरुद्धमा संघर्ष गरिरहेका छौँ ।’
दिनमा सुनेका प्रत्येक कुराहरूले उसको मनमा चसक्क घोँचे ।
‘हामी दुःखी र गरिब हुनु परेको कारण पनि त यिनै फटाहाहरूले गर्दा हो नि’ भन्ने कुरा गम्यो। उसले आफ्नै जागिरका बारेमा पनि विचार गर्यो। उपल्लो तहका व्यक्तिले कसरी हेप्छन् भन्नेबारे गम्यो अनि उसको मनमा यथास्थितिप्रति घृणा जागेर आयो ।
मट्टितेल सिद्धिएर स्टोभ निभेको हुँदा उसका सोचाईहरू पनि त्यसै निभेर गए। उसले झट्ट जरिकेन हेर्यो तर रित्तो थियो! दिनमा मट्टितेलको अभाव छ भनी नारा लगाउने जनतामाथि लाठी चलाएको कुरा सम्झियो । लामो सास तान्यो र त्यहाँ पनि आफूलाई कमजोर ठान्यो।
ऊ किंकर्तव्यविमूढ भयो र ‘ए सानी हेर त तेल सकियो’ भन्दै लाचारी व्यक्त गर्यो।
“बाबा अब भात कसरी पढाउने त ? मलाई कस्तो भोक लागिरहेको छ।” रुन्चे स्वरमा छोरो बोल्यो ।
“बाबु नरोऊ, आज चिउरा खाएर निर्वाहा गरौँ है ?”
“अँ, मुख सुन्निएको छ, दाँतले चलाउनै हुँदैन। यी मुखै खोल्न हुन्न।” मुख देखाउँदै छोराले भन्यो।
सानी केही बोलेकी थिइन। उसले फेरि सोध्यो तर पनि सानीले कुनै जवाफ दिइन्। बिचरी उसका खाना खाने चाहनाहरू पनि त्यसै मरिसकेका थिए।
‘कस्तो संकट ?’ उसले मनमनै विचार गर्यो। दिनमा आफूले सुनेका भाषण बल्ल उसका कानमा रन्किरहेको थिए। उतिबेला त उसले त्यति वास्ता गरेको थिएन तर अहिले आएर ती सबै कुराहरू सही हुन् जस्तो लाग्न थाल्यो उसलाई।
अर्को बिहान पाँचै बजे डिप्टीमा जानुपर्ने थियो तर ऊ गएन । हातमा रित्तो जरिकेन समाएरसारा बजार डुल्यो। मट्टितेलका लागि लागेका लामालामा लाइनमा मिसियो तैपनि मट्टितेल पाउन सकेन। उसले आफ्नो परिवारको दुर्दशा सम्झियो र खाली हात कोठामा जाने हिम्मत आएन।
‘जागिर खाएर, गुलाम भएर पनि कष्ट उठाउनुपर्छ भने जागिर खाएको के सार भयो ? योभन्दा त बरु गाउँमै गएर हलो जोत्नु बेश।’ ऊ यस्तै कुरा सोच्दै बाटाका किनारमा बसेर टोलाइरह्यो। ऊ के गरूँ, के नगरूँ कुनै निष्कर्षमा पुग्न सकिरहेको थिएन, त्यस्तैमा परबाट आउँदै गरेको विशाल जुलुस देख्यो।
‘इन्कलाब– जिन्दाबाद !
सामन्तबाद– मुर्दाबाद !
बिस्तारबाद– मुर्दाबाद !
हाम्रो जित– हुन्छ हुन्छ ।’
जुलुस उसको नजिक नजिक आइरहेको थियो। उसले देख्यो। केके सोच्यो अनि उसको मुटु सिरिङ्ग गर्यो। शरीरमा काँडा उठे। उसले घर परिवार सबै सम्झ्यो अनि ...‘दुःख गरेर जिउँदो लास भएर बाँच्नुभन्दा...’ भन्ने विचार गरी देब्रे हातले खाली जरिकेन समाउँदै र दायाँ हात माथि उठाउँदै जुलुससँगै मिसियो अनि उसको मुखबाट एक्कासि चर्को आवाज निस्क्यिो–
“इन्क्लाव– जिन्दावाद !
सामन्तवाद– मुर्दावाद !”
( चैत्र, २०४५, काठमाडौं, साभार – चिराग)
प्रकाशित: ८ श्रावण २०७८ ०५:४० शुक्रबार