विश्व घिमिरे
गड्याङगुडुङ गरेर आकाश छ गर्जेको,
भुईं पनि थर्केर म त झनै तर्सेको।
डम्मडम्म बादलु घाम छोपी आएछ,
भएभरको उज्यालो यस्ले सबै खाएछ।
कत्रो होला गागरी, आकाशमा अडेको,
पानी सबै पोखियो, खोला झनै बढेको।
घरको टिन बजायो पानी पर्दै रोकिँदै,
सेता फल झरेछन् आकाशबाट ठोकिँदै।
भुइं भयो छपक्कै, बारीभरि ढपक्कै,
पारि पाखा सेतो भो, बसेका छन् लपक्कै।
हिर्काएर रुखलाई, पात सबै झारेछ,
अस्ति भर्खर लगाको, बोटबिरुवा मारेछ।
मारिहाल्यो अमला, मारिहाल्यो चिलाउने,
एकैछिनमा बर्सेर, कति छिटो बिलाउने।
आकाशबाट बर्सन्छ, कत्रो होला यसको रुख,
हिर्काएर हामीलाई, दुख दियो सा¥है खुब।
भाँडकुँडा नबजाऊ, टिन पनि नबजाऊ,
नहिर्काऊ हामीलाई, तिमी आफ्नै घर जाऊ।
दगुर–दगुर कुइरो, बोकी यसलाई पर जा,
असिनालाई बोकेर, उस्को आफ्नै घर जा।
प्रकाशित: ८ श्रावण २०७८ ०३:२४ शुक्रबार