८ श्रावण २०७८ शुक्रबार
कला

घाँसी

लघुकथा

म्यामराज राई

 

भानुजयन्तीको अवसर पारेर संसारभर नेपालीभाषी समुदायमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना भएको उहिले आदिकवि भानुभक्त आचार्यको पालामै स्वर्गवास भएका खड्ग ठाडा मगरले यो पटक स्वर्गबाट धर्तीमा झरेर सबैतिर अवलोकन गर्दै थिए। जसमध्ये एक ठाउँको कार्यक्रममा भने अलिकबेर बसेर हेर्ने निर्णय गरे। भानुभक्तको चर्चापरिचर्चा राम्रो तरिकाले गर्दै थिए,घाँसी पनि जोड्दै–जोड्दै। त्यहाँ उपस्थित वक्ताहरू भाषणद्वारा तथा प्रतियोगीहरूले कवितामार्फत।

स्वागत मन्तव्य सके लगत्तै भाषणबाजी शुरु भयो।

घाँसीसँग भेट – नभएको भए, भानुभक्त कोबाट प्रेरित हुन्थे होला? भन्दै दर्शकमाझ पहिलो वक्ताले आफ्नो भाषण सुरु गरे।

– संस्कृत भाषाको रामायण महाकाव्यलाई नेपाली भाषामा अनुवाद गरेका कारण आदिकवि तथा राष्ट्रिय विभूतिको रूपमा भानुभक्तलाई सम्मान गरिएको हो। मोतीराम भट्टले छरपष्टिएका भानुभक्तका पाण्डुलिपिहरू पुस्तकाकार बनाए।यो चानचुन कुरो हैन।

सबैतिर ताली बज्छ। घाँसीले पनि ताली बजाए। पूरा नामबाट बोलाउँदा उनीहरूको के बिग्रिन्थ्यो। मनमनै गनगनाउँदै दोस्रो वक्ता आए।

–उत्प्रेरक घाँसी हुन्। मरेर लानु के छ र! कम्तीमा एउटा राम्रो काम गर्नुपर्छ भन्दै घाँसीले कुवा खने। त्यसपछि पो भानुभक्तले कविता लेखन सुरु गरेका हुन्।

स्टेज तथा दर्शकहरूबाट पर्र ताली बज्छ। घाँसीले पनि औपचारिकता पूरा गरे झन् गनगनाउँदै।

पछिल्लो वक्ताको पालो थियो।

घाँसीबाट प्रेरणा पाए। भानुभक्त आचार्यले संस्कृत भाषाले गाँजेको नेपाली भाषालाई प्राथमिकताको भाषामा पुर्‍याए। त्यसपछि मोतीरामले भानुभक्तलाई मोतीझैँ चम्काए तर आदिकवि हुनका लागि प्रमुख स्रोत बनेका घाँसीको पूरा नाम,थर के होला? घाँसी भनेको त पेशा हो।

ताली बज्न नपाउँदै दाहिने हात उठाएर झटपट गहुँगोरो वर्ण र नाक थेप्चो व्यक्ति दर्शकबीचबाट उभेको देखिन्छ। उसले भन्छ,

–झोर्ले,घाँसीको नाम र थर ! खड्ग ठाडा मगर हो,जो म नै हुँ।

प्रकाशित: ७ श्रावण २०७८ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App