८ श्रावण २०७८ शुक्रबार
कला

सत्ता

लघुकथा

टंकबहादुर आलेमगर

 

“रञ्जु !”  

“हजुर !”  

“तिम्रो भाषणले पार्टी अध्यक्ष प्रभावित भएर तिमीलाई सम्पर्क समितिको अध्यक्ष बनाउने अरे।”

“कसले भनेको ?” रञ्जु तरङ्ग हुँदै श्रीमान् रमेशसँग सोध्छे।

“प्रदेश समितिको सचिवले।”

त्यो दिन सीटी हलमा अध्यक्षले कामुक भावले हेरेको सम्झेर  रञ्जुले भनी, “चाहिएन अध्यक्ष – सध्यक्ष। गृहिणी नै ठीक छु। तपाईं नै बस्नु।”

“मलाई नदिने अरे। तिमीलाई नै छनेका छन्। यो चिट्ठा हो। मौका सधैं आउँदैन। म नेताकै झोला बोकी हिँडौँ। कहिलेकाही हाम्रो घरतिर पनि आउ न, कोही नेता खोज्द‌ै।”

धेरै फकाएपछि, रञ्जु तयार भई अनि समितिको अध्यक्ष बनी।

पश्चात् – धेरै जसो केन्द्रतिरै बस्छे रञ्जु। केही दिन त रमेशलाई पैसा पठाउने गर्थी तर अचेल रमेश र छोराछोरीको खासै चासो राख्दिन। मुस्किलले फोन उठायो भने “धेरै ल्याङ् नगर्ने। मध्यावधि चुनाव हुँदै छ। सांसदको चुनाव जितेर मन्त्री बन्ने होडमा छु। पैसाको कुरा नगर। बरु खाँदी खेत बेचेर सहयोग गर”भन्थी।

रञ्जुको  कुराले छक्क पर्थ्यो रमेश। गाइँगुई चर्चा हुन्थ्यो,“अध्यक्षको लिसोमा रञ्जु परी।”

कोही खोक्थे, “रञ्जुको रूप चास्नीमा रानो डुब्यो।”

जे सुने पनि रमेशलाई विश्वास थियो, रञ्जुमाथि।

जिल्लाको मध्यावधि चुनाव भयो। रञ्जुले झिनो मतले चुनाव जित्यो। बजारमा चर्चा भयो “रञ्जुकै लागि अध्यक्षले चुनाव गरायो।”

चुनाव जितेपछि  घर आएर कुटपिटको आरोप लगाई रमेशसँग छाड्पत्र लियो रञ्जुले।

वर्ष दिनपछि रमेशले एफएममा सुन्यो, “रञ्जु आफ्नो समर्थकसहित विपक्षको अध्यक्षसँग मिलेर आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ।”

तर त्यो समाचार सुनेर रमेशलाई कुनै अचम्म लागेन। यद्यपि अचानक  मुखबाट फुत्कियो , “लाटी विद्यार्थी, गाउँकी बुझकी छोरी, घरकी सोझी बुहारी, मेरो सुखदुःखको साथी र बाबुनानीकी ममतामयी आमा आज के भयौ ? बधाई  रञ्जु !”

प्रकाशित: ७ श्रावण २०७८ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App