४ कार्तिक २०७८ बिहीबार
कला

अस्ताए क्यानभासका बादशाह उत्तम नेपाली

बिहानी पखै कालो रात भएछ,

खल्तीमा राखेको ठूलो चन्द्र हराएछ,

हुन त जीवनको यो पहिलो रात होइन, हराएको चन्द्र पनि पहिलो होइन,

तर, यसपल्ट हतासिएछु, कहीं भोलि बिहानको सूर्य पनि चन्द्रझैं नहराओस्।

यो कविताका सर्जक एवं आधुनिक नेपाली चित्रकला क्यानभासका बादशाह मानिने उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को ८५ वर्षको उमेरमा बुधबार निधन भएको छ। श्वासप्रश्वास र मुटु रोगको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उनको निधन भएको हो। उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। कलाकार नेपाली करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित थिए।

पाँच वर्षअघि अमेरिकामा हुँदा उनलाई हृदयाघात भएको थियो। नेपाल फर्केको केही समयपछि उनी उपचारका लागि फेरि अमेरिका गएका थिए। त्यहाँ श्वासप्रश्वासको समस्या देखिएपछि बिनाअक्सिजन बस्न नसक्ने भएका थिए। उनलाई तीन महिनाअघि नेपाल ल्याइएको थियो। दुई साताअघि मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि चिरायु अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टर लगिएको थियो।

‘आधुनिक नेपाली चित्रकलाका एक धरोहरलाई हामीले सधैंका लागि गुमाएका छौं,’ चित्रकार तथा प्राज्ञ रमेश खनालले भने, ‘शालीन व्यत्तित्वका धनी उहाँ (उत्तम नेपाली) अमूर्त कलाकार हुनुहुथ्यो। उहाँको कलाले हरेक पुस्तालाई प्रोत्साहित गरेको छ, गरिरहनेछ।’ नेपाली ललितकलाको विकास र प्रवद्र्धनमा सक्रिय नेपालीले नेपालमा आधुनिक अमूर्त कलालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

काठमाडौंको किलागलमा १९९४ वैशाख १८ मा बुवा विष्णुप्रसाद कर्माचार्य र आमा रत्नदेवीको सन्तानका रूपमा जन्मिएका उनले लखनउस्थित कलेज अफ आर्ट एन्ड क्राफ्टबाट चित्रकलामा स्नातक गरेका थिए। उनको परिवार व्यापारको सिलसिलामा भारतको लखनउ पुगेको थियो। उनका बुवा कस्तुरीको व्यापार गर्थे। बुबाले सुरूमा उनले चित्रकार बन्छु भन्दा स्वीकार गरेका थिएनन्। उनको जिद्दीका अगाडि बुबाको केही लागेन्। 

२०१८ सालमा नेपाल फर्किएलगत्तै उनी आधुनिक चित्रकला स्थापित गर्न सक्रिय भएका थिए। उनले पहिलो पटक त्रिचन्द्र क्याम्पसमा एकल कला प्रदर्शनी गरेका थिए। त्यस बेला राजा महेन्द्रले उनका चित्रकला किनेर लगेका थिए। आधुनिक चित्रकलाबारे जानकार हुन नसकेको नेपाली समाजका केहीले उनका कलालाई ‘बहुलापन’ समेत भनेका थिए। तर उनले आधुनिक कलालाई मनको कलाको रूपमा बुझेका थिए।

परम्परागतबाट आधुनिक कलातर्फ ढल्केका उनले लामो समय निजामती सेवामा काम गरेका थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यसमेत रहेका उनले सूचना विभागको विभागीय प्रमुखबाट अवकाश पाएका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उनले २१ पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए। उनले भारत, जापान, बंगलादेश, कोरिया, अस्ट्रेलियालगायत देशमा चित्रकला प्रदर्शनी गरेका थिए। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालयदेखि नारायणहिटी संग्रहालयसम्म उनका कला संग्रहित छन्।

नेपाली गीतकार, अभिनेता र कविका रूपमा समेत परिचित थिए। उनको ‘उत्तम नेपालीका कविताहरू’ कविता संग्रह प्रकाशित छ। ‘आमा’ र ‘हिजो आज भोलि’ फिल्ममा अभिनय गरेका उनले २०३३ सालमा कवितासहित कविको चित्रकला तयार गरेर कला प्रदर्शनी गरेका थिए। त्यसबेला उनले क्यानभासमा कवितासँगै साहित्यकारको आकृति उतारेर पृथक शैलीको कला प्रदर्शनी गरेका थिए। कला र साहित्यलाई हातेमालो गर्नुपर्ने भावसहित २०५४ सालमा उनले ६६ जना स्रष्टाका चर्चित कृतिसँगै उनीहरूका अनुहारलाई क्यानभासमा उतारेका थिए। उनले अर्ध–अमूर्त शैलीमार्फत ती साहित्यकारहरूलाई क्यानभासमा आकार दिएका थिए।

‘करिब पाँच वर्षअघि एकल कला प्रदर्शनीको तयारी गरिरहेको छु भन्नुभएका थियो,’ चित्रकार खनालले भने, ‘स्वास्थ्य स्थिति बिग्रिएपछि उहाँको एकल कला प्रदर्शनी हुन सकेन्। उहाँ वास पेन्टिङबाट धेरै प्रभावित हुनुहुन्थ्यो। वास पेन्टिङदेखि आलंकारिक र ड्रइङ (रेखाचित्र) देखि अमूर्त कलासम्मका भिन्नभिन्न विधामा उहाँ अब्बल हुनुहुन्थ्यो। उहाँले कविता र कलाको जीवन्त प्रयोग गर्नुभएको थियो। नेपालको साहित्य र कलासम्बन्धी प्रतिष्ठित व्यक्तिका मुहार चित्र बनाएर ख्याति कमाउनुभएको छ। त्यसमा उहाँको आफ्नै शैली थियो।’ उनको ताण्डव नृत्य यथार्थवादी कलाको निम्ति परिचित छ। पछिल्लो समय उनी बाँसबारीस्थित घरमा बसेर रङ, कुची र क्यानभासमा रमाइरहेका थिए।

कलाकार तथा निर्देशक नीर शाह ‘आमा’ फिल्ममा नेपालीले यादगार अभिनय गरेको स्मरण गर्दछन्। ‘उहाँ नेपाली फिल्ममा खलनायकको रूपमा परिचित हुन खोज्दै हुनुहुथ्यो,’ शाहले स्मरण गरे, ‘उहाँले चाहेको भए नेपाली फिल्ममा निरन्तरता दिन सक्नुहुन्थ्यो। तर चित्रकलाप्रति उहाँको उत्कट लगाव थियो।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले ललितकलाको विकासमा कलाकार नेपालीको योगदान महत्वपूर्ण रहेको बताए। उत्कृष्ट कालाकार नेपालीको निधनले कला क्षेत्रमा ठूलो क्षति पुगेको उनले बताए। उनी राष्ट्रिय प्रतिभा पुरस्कार, २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट पनि सम्मानित थिए। उनकी पत्नी मन्दिरासहित दुई छोरा उद्यमप्रसाद र सुद्यमप्रसाद तथा दुई छोरी ममता र प्रकृति छन्।

प्रकाशित: ७ श्रावण २०७८ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App