८ श्रावण २०७८ शुक्रबार
कला

विरोध

लघुकथा

 जनक सिक्देल

 

   एउटी कुखुरी गाउँ नजीकैको एउटा खोरमा बस्थिन् । तिनकी दुई चल्ला र दुई चल्ली थिइन्। तिनले चल्लाहरूलाई खुब माया गर्थिन् । जहाँ जाँदा पनि संगै लान्थिन् तर चल्लीहरूलाई लान्थिनन् किनकि विहे गरी अरूको घरमा जाने जात भनी। खानेकुराहरू ल्याउँदा पनि क्वाँक्वाँ गरेर चल्लाहरूलाई मात्रै खान बोलाउँथिन् र उनीहरूलाई नै खुवाउँथिन्। विचरी चल्लीहरू , आमाले खान दिनुहुन्छ भनेर आश गरिरहन्थिन् तर उनी कुनै मतलबै गर्थिनन्।

तिनीहरू आफ्नो कर्मलाई आफैँ धिक्कार्थे र भन्थे , ‘के गर्नु आफ्नै आमाले कोरल्नुभएको त हो नि तर पनि विरोध गर्न मन लाग्छ। कत्ति सहनु, दाजुभाइहरूलाई मायाममता गर्नुहुन्छ । हामीहरूलाई चाहिँ हेला गर्नुहुन्छ। सबै सन्तानलाई एक समान देख्नुपर्ने, माया ममता दिनुपर्ने र खानेकुराहरू पनि बाँडेर खुवाउँनुपर्ने आदि।’

एक दिनको समय थियो। आमाचाहिँ फुत्त बाहिर निस्किन्  र नजीकैको ‘पिपल’ को बोटमुनि माटो खोस्रन थालिन्। माटो खोस्रँदा तिनले चामलका दानाहरू भेट्टाइन् र लगेर आफ्ना चल्लाहरूलाई खुवाइन्। चल्लीहरूलाई दिइनन्।  

उनीहरू पनि खुब रमाईरमाई निल्न थाले। दिदीबहिनीहरूलाई हेर्दै मुसुमुसु हाँस्न थाले  र आमासंग भन्नथाले, ‘आमा, भुँडी त भरियो ।’

चल्लीहरूको पालो यो कुराको विरोध गर्दै आमासंग भने, ‘आमा, हामी हजुरकी सन्तान् होइनौँ ? हाम्रो पनि त दाजुभाइसरहै खाने, लाउने, बस्ने र बाँच्ने हकअधिकार छ।’

आमाचाहिँले पङ्खा हल्लाउँदै भनिनन् , ‘चूप लाग। छोराहरू भनेको त बुढेसकालको सहारा हुन्। छोरीहरू त अरूको घर गर्ने जात हुन्।’

‘त्यसो भनेर कहाँ हुन्छ र ..। हकअधिकार हामीले पनि पाउनुपर्छ। होइन भने होहल्ला गर्छौ ।‘ उनीहरूले एकैस्वरमा जवाफ फर्काए।  

प्रकाशित: ६ श्रावण २०७८ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App