८ श्रावण २०७८ शुक्रबार
कला

जागीर

कविता

टंक सुवेदी

 

फेरि अचानक आज छातीमा सोला हान्यो

मन चसक्क निकैबेर दुखिरह्यो

गला सुकायो

आवाज कर्णप्रिय थिएन

न त छल्न मिल्ने

शब्द अस्पष्ट, निम्छरा र तीता

धेरै पोल्यो मलाई

त्यस्तो आदत थिएन अतीतमा

 

मन भक्कानियो आँखा रसाए

मेरो धर्ती फुट्यो आकाश खस्यो

नियति मानौं या भाग्यको खेल

जागीर अब मेरो प्रिय रहेन

अघिसम्मको काम

अब कुनै कामको भएन

सधैं मलाई खोज्नेहरू बोल्न छोडे

दोकानबाट उधारो आउन छोड्यो  

पद उन्नति त टाढाको कुरा

धरापमा परियो  

सधैंझैं म कहिले घुस खान्न भन्नु

सबैले हेला गर्ने त्यस्तो के गल्ती गरियो

 

तलब सरकार र घरबेटीलाई  

तनाव र पीडा अबोध नानी, परिवार र मलाई  

विवेक चाहिँदैन ‘यस वोस’ भए पुग्छ

साँचो बोल्नु, घुस नखानु आरोप पनि कस्तो  

त्यसैले जागीर महँगो भो जीवन नै सस्तो

 

आज फेरि

सबैले आँखा तरिरहे  

मित्र टाढा भए यही बहानामा पतिले त्याग्नु  

पहिले बेरोजगार, रोजगार फेरि बेरोजगार  

अमुक कारण एउटै थियोे

मैले लुट्न नसक्नु  

आफूले जितेर पनि

अरूको नजरमा उठ्न नसक्नु  

घन्टा बित्यो अनि दिन, महिना र वर्ष

न जागीर मोटायो न त खुशी आयो

सधैं सतायो

सुँक्कसुँक्क रुँदै

उनले आँसु बगाएर भनिन्–  

म उस्तो कि मेरो समाज?

न घर खुशी न हाकिम

बेरोजगार हुँदा समाजले खायो  

जागीरले त सबै खायो।

प्रकाशित: ६ श्रावण २०७८ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App