१६ मंसिर २०७८ बिहीबार
कला

नेपाली ‘कन्टेक्सचुअल आर्ट’

‘कन्टेक्सचुअल आर्ट’ कुनै कला आन्दोलनको उपज होइन। न यो कुनै कलाकारले जन्माएको नयाँ कलाको शैली थियो। सन् ९० को दशकमा भएको एउटा एक्जिबिसन सेमिनारमा विचार विमर्शको उपलब्धिका रूपमा यो ‘टर्म’ले कलामा प्रवेश पाएको थियो। यसैवेला यसैसँग गाँसिएर ‘कोनटेस्ट कन्स्ट’ पब्लिकेसन सार्वजनिक भएको थियो। सन् १९९३ मा पिटर वइबेलले क्युरेटिङ गरिरहेको सो कार्यक्रममा कलालाई विश्लेषण गर्दागर्दै निक्लेको कलाको यो ‘टर्म’ले कलामा एक अलग्ग क्षेत्रको स्थापित गरिदिएको छ। यो युरोपको अस्ट्रियामा घटित घटना थियो। अहिले आएर यो कलाको ‘टर्म’ले नेपालमा पनि प्रवेश पाएको छ।

यो कन्टेक्सचुअलाइजेसन विधिले कलाको काम र सिर्जनाको अवस्थाबीचको सम्बन्धलाई प्रदर्शित गर्छ। सामाजिक, राजनीतिक वा अन्य धेरै क्षेत्रमा भएको परिवर्तनका कुरालाई यो नयाँ अवधारणाले आफ्नो परिधिमा राख्छ। समाजमा विविध कारण मानवीय स्वभाव, चालचलन, भाषा, संस्कार, दिनचर्या आदिमा परिवर्तन हुँदै जान्छन्। स्वभावतः यसले कलामा असर गर्छ, यसैलाई आधारशिला बनाई कलाको निर्माण हुन्छ भन्ने मान्यता ‘कन्टेक्सचुअल आर्ट’मा देखिन्छ। मूलतः यो कलाकार र सामाजिक अवस्थाबीचको अन्तर्क्रिया पनि थियो। यो कला समुदायको अवस्थासँग नजिक रहन्छ। यसैले कति ठाउँमा समुदाय स्वयं यो कलाको एक अंगका रूपमा देखापर्ने गर्छ। तथापि समुदाय संलग्न भएका सबै कला कन्टेक्सचुअल कला होइन। यसैले समुदाय आबद्ध भएर देखिएका यस्ता कला अनेकौँ नाम र उपनाममा देखापरेका छन्। यो कला सामाजिक बनावटको यथार्थमा समेत सहभागी हुन्छ भन्ने परिकल्पना गरियो।  

कोभिडका कारण भएको सुरुवाती लकडाउनमा पश्चिम गुल्मीको आफ्नै गाउँमा बसिरहेका कलाकार भुवन थापा ‘बहुबी’ले एउटा अनौठो प्रकारको कला सिर्जना गरे। उनले आफ्नै बारीका बाँसका हाँगामा ३२ वटा जति डोको सिर्जना गरेका थिए। बाँसका हाँगामा डोकोरूपी कला फुलेका फूलजस्ता बनेका थिए। त्यसलाई उनले सत्यवती लेकको खुला डाँडाकाँडाको चारैतिर गाडिदिए।

नितान्त आफ्नो क्षेत्रलाई नाघेर बाहिर जाने प्रक्रियामा ‘आर्ट एन्ड नन आर्ट कन्टेक्स्ट’ बीचको पारस्परिक सम्बन्धले नयाँ आर्ट फर्मको विकास भयो। जहाँ एकअर्कालाई जोड्ने क्रममा यो ‘कन्टेक्स्ट आर्ट’को जन्म भयो। मूलतः यसले समयलाई खास ‘कन्टेक्स्ट’का रूपमा विचार गर्छ। यस प्रकृतिको कलामा कलाकारको कलालाई मात्र हेरिँदैन। वा, हेरेर व्याख्या विश्लेषण गरिँदैन। मूलतः होलिस्टिक अप्रोचमा यो नयाँ कलाको प्रकृतिले विश्वास गर्छ। भावक (आम नागरिकदेखि कलाविद्, कला समीक्षकसम्म)को कन्टेक्स्टमा समेत यसलाई हेरिन्छ। उदाहरणका लागि पेरिसमा त्यतिवेलाका मान्छेले सन् १८९० मा भ्यानगगको चित्रलाई कसरी हेर्थे ? त्यही चित्रलाई आज अमेरिकी दर्शकले कसरी हेर्छन् ? आदि सोचाइको आरोह अवरोहलाई पनि हेर्ने गरिन्छ। समय, संस्कृति, ठाउँ आदि समग्रको सन्दर्भ उठाउने जमर्को यो नयाँ अवधारणाले गर्छ। अर्थात् कलाकार आइसोलेसनमा नबसी समाजका हरेक वर्गका समुदाय, क्रियाकलाप, घटना वा त्यसवेलाको सोचाइ समग्रमा आत्मसात गरी कलाको निर्माण गरिन्छ। 

कलामा कन्टेक्स्ट  

अन्य कलाको आन्दोलनले ध्यान तानेको जस्तै यो नयाँ अवधारणागत आन्दोलनले सर्वसाधारणको त्यस्तो विघ्न ध्यान तान्न सकेन। यसर्थ पछिल्लो कालसम्म आइपुग्दा यसबारे खासै हल्लाखल्ला हुन सकेन। तथापि यसले पहिला हेर्न छुटेका कलाको महत्वपूर्ण पक्षलाई उजागर गरेको छ। नेपालमा सन् २००० पछि समाजसँग भौतिक रूपमै जोडिने क्रममा कलाकार सक्रिय रहे। यसवेलाका अधिकांश काममा व्यक्तिगत आक्रोश, भय र डर मात्र प्रस्तुत भएको देखिन्छ। भय मनस्थितिका प्रतिविम्बका रूपमा मात्र कला देखिँदा तत्कालीन कन्टेक्स्टलाई बलियो गरी उचाल्न सकेको देखिँदैन। भौतिक रूपमा कलाकारले अनेकौँ प्रयोगात्मक काम गरे, तर यसका शैक्षिक प्रक्रियाको वास्ता नगरिदिँदा धेरै कलाकारका सोच र अवधारणा परम्परागतभन्दा फरक ढंगले आउन सकेन। समाजसँग गाँसिन तत्कालीन चरम उत्कर्षमा पुगेको माओवादी द्वन्द्व र हिंसाले प्रभाव पारेका सन्दर्भ कलामा देखापरे। घटना विशेषको प्रतिविम्ब स्फेसिफिक रूपमा आउन भने सकेको देखिएन। केही कलाकारले मात्र समाजमा घटेको निश्चित घटनालाई केन्द्रमा राखेर प्रतिक्रियात्मक अवधारणा राखेका छन्। यस्तो कामलाई अघि ल्याउने यो आलेखको अभीष्ट हो। सन् २००० अघिसम्म कला सिर्जना गर्दा यसरी सोचिँदैनथ्यो। कलासम्बन्धी मान्यता नै अलग थियो। यद्यपि, यसअघि पनि सम्भवतः जानेर नजानेर कलाकारले यस्ता कलाको प्रयोग गरिरहेका थिए। यस्ता कामलाई यहाँ विश्लेषणात्मक अभिलेखीकरण गर्ने सोच हो। किनकि कलाकारको अन्तर्आत्माले सोचेका गहन सन्दर्भसँगै भन्दै नभनी यस्ता विचार काममा ओर्लिएका देखिएका छन्। सम्भवतः यसमा कलाकार र कलाविद्ले सचेत र संलग्न हुन आवश्यक रहेको सन्दर्भ यो कन्टेक्सचुअल कलासँग गाँसिएको छ। विश्वको कला इतिहासमा विश्वप्रख्यात कला अनेकौँ कोणबाट विश्लेषण गरिए। तर, कन्टेक्सचुअल कलातर्फ कसैको ध्यान जान सकेको थिएन। कलाकारले कुन कला कस्तो कन्टेक्स्टमा बनाउँछ, यस्ता कलाले समाजको कुन भागलाई कसरी प्रभाव पार्छ, आदि कुरामा कला विश्लेषकको ध्यान जान सकिरहेको थिएन।

कला र समाज  

समाजसँग कलाको नाता गाँसिएको नयाँ कुरा होइन। कहिले कला समाजको प्रतिविम्बका रूपमा देखापर्‍यो। राजनीतिक र सामाजिक इतिहास यसै कलाको आधारमा अभिलेखन गर्ने काम पनि गरियो। कहिले कला समाजको संस्कारगत क्रियाकलापमा आबद्ध भएर देखापर्‍यो। कहिले समुदायका लागि उपयोगी हुने क्रममा यसको जन्म भयो। कुनै वेला धर्मको भक्तिभावका लागि कला भरपर्दो माध्यम बन्यो। कहिले समाजले भोगिरहेको कुसंस्कारलाई उठाउने क्रममा कला सिर्जना भए। सम्भवतः यसैको थप पाइलाका रूपमा समाजमा कहालीलाग्दो घटना वा अविस्मरणीय घटना भए तत्क्षण यसलाई आफ्ना कलाद्वारा उद्घाटित गर्ने क्रममा कन्टेक्सचुअल कलाको जन्म भयो। उहिल्यै घटिसकेको राजनीतिक वा सामाजिक घटनालाई कल्पनामा बुनेर भए पनि कलामार्फत जीवन्त बनाउने क्रममा यो कन्टेक्स्टको सन्दर्भ जोडिएको छ। हेर्दै जाँदा कला सिर्जनाका पछाडि धेरै प्रकारका कन्टेक्स्ट जोडिँदै जाने रहेछन्। कला र समुदायबीचका मौन अन्तर्किया हुने गर्छ, जसले सामाजिक बनावट, स्वरूप पनि परिवर्तन हुँदो रहेछ भन्नेतर्फ यो कला मुखरित भएको देखिन्छ। आज कलाकार आफैँ सचेत भएर कन्टेक्सचुअल कला बनाउन लागिपरेका छन् भने लेख्नेहरूका लागि यो एउटा गतिलो आधार बन्न गएको छ।  

कला लेखन  

अलि पुरानो सन्दर्भमा हेर्न खोज्यौँ भने कला इतिहासको आरोह अवरोहमा कलाकार कतिको स्वतन्त्र भए वा भएनन् भन्नेतर्फ कलाविज्ञको ध्यान गएको देखिन्छ। कलाको बाह्य स्वरूपमा शैलीगत र प्रवृत्तिगत कति र कसरी फरक पर्दै आएको छ ? यस विषयमा कलाविज्ञको चासो देखिन्छ। कलामा सौन्दर्यताको पक्षलाई कसरी विचार पुर्‍यायो वा पुर्‍याइएन, यसमा गरिनुपर्ने लेखाजोखामा ध्यान पुगेको देखिन्छ। कलाका विषय, कलामा प्रयोग हुने मोटिफ, प्रतीक, विम्ब, प्रस्तुति र संयोजनतर्फ ध्यान मात्र होइन, राम्रैसँग विश्लेषण भएको देखिन्छ। ‘कन्टेक्स्ट’तर्फ भने कलाकार र कलाविद्ले चियाउन भ्याएको देखिँदैन। यसर्थ कलामा रहेको सौन्दर्यताको मूल्य मान्यतालाई मात्र हेरिने परम्पराबाट अघि बढेर ‘कन्टेक्स्ट’लाई केन्द्रबिन्दुमा राख्न थालियो। एस्थेटिक्सकै परिभाषा पनि समय अनुसार परिवर्तित हुँदै आएको देखिएको छ। अब कलाको मन छुने सन्दर्भ मात्र उठाइँदैन, वरिपरिको हरेक सन्दर्भ, वातावरण, समाज परिवेश र वैचारिक अवयवलाई पनि कलासँग गाँसेर हेर्न थालिएको छ। यसले थोरै भए पनि कन्टेक्सचुअल कलाको सुगन्धलाई कहीँ न कहीँ सम्बोधन गरेको देखिन्छ।  

कला र समाजको एक आपसमा पर्ने प्रभाव, यसको उपजका रूपमा गरिने सिर्जना, समाजका हरेक व्यक्तिविशेषमा अन्तर्निहित कलातत्वको सन्दर्भमा पनि यो अवधारणाले चासो राख्यो। समाजका हरेक व्यक्तिमा कलातत्व अन्तर्निहित हुन्छ। यसर्थ समाजका अवस्थासँग गाँसिएका कुनै पनि स्वरूपका कला महत्वपूर्ण हुन्छन्। यसै मान्यतामा विश्वास राख्ने यो कन्टेक्सचुअल कलाले एक अलग धारको मात्र विकास गरेन, यसको चौखटलाई धेरै फराकिलो बनायो। यसर्थ यो सामुदायिक विकासको नौलो अवधारणा ‘सहभागितामूलक प्रक्रिया’को नजिक रहेको व्याख्या गर्न थालिएको छ। सामाजिक घटना, यसले सिर्जना गरेको सामाजिक अवस्थालाई विकासले खोजखबर गरेझैँ कन्टेक्सचुअल कलाले पनि यसैको सेरोफेरोमा आफूलाई केन्द्रीभूत गर्‍यो। अहिले कोठामा बसेर वा कलाकारले आफूखुसी कलाको सिर्जना गर्नुभन्दा कुन कन्टेक्स्टमा कसले कस्ताखाले कलाको सिर्जना ग¥यो भन्ने खोजखबर तीव्र रूपमा आउन थालेको छ। कलाकारमा पनि अनुसन्धानको पाटो अनिवार्य सर्त बनेको छ। कलाकार कोठाबाट बाहिर आई समुदायको माझमा पुगेर, समाजलाई बुझेर, समुदायलाई संलग्न गराएर कलाको सिर्जना हुन थालेको छ। मूलतः आज विकासको योजना पनि कोठाभित्र बसेर बनाइँदैन। सहभागीतामूलक प्रक्रियाका नयाँ टुल्स प्रयोग गरी समाजको तल्लो तहका व्यक्तिलाई पनि संलग्न गराई विकासका परियोजना बन्ने गर्छन्। 

नेपालका कन्टेक्सचुअल कला  

कोभिडका कारण भएको सुरुवाती लकडाउनमा पश्चिम गुल्मीको आफ्नै गाउँमा बसिरहेका कलाकार भुवन थापा ‘बहुबी’ले एउटा अनौठो प्रकारको कला सिर्जना गरे। उनले आफ्नै बारीका बाँसका हाँगामा ३२ वटा जति डोको सिर्जना गरेका थिए। बाँसका हाँगामा डोकोरूपी कला फुलेका फूलजस्ता बनेका थिए। त्यसलाई उनले सत्यवती लेकको खुला डाँडाकाँडाको चारैतिर गाडिदिए, जुन एक तमासको रमाइलो वातावरण बन्यो। सत्यवती गाउँपालिका– ३ का समुदाय यसैको वरिपरि रमाउँदै उफ्रिरहेको देख्न सकिन्थ्यो। यो काम उनले २०७७ साउनको पहिलो हप्ता सिर्जना गरेका थिए। उनको यो अनौठो कामले नेपाली समसामयिक कलाको इतिहासमा एक अलग्ग कित्ता खडा गर्‍यो। यो उनको कोभिड लकडाउन कन्टेक्स्ट काम थियो।  

कोभिडको चिन्ता र भयले छटपटाइरहेका समुदायका लागि यो आफैँमा अर्को आकर्षणको मेलाजस्तो भएको थियो। सामुदायिक कला, इन्स्टलेसनको स्वरूप र पर्फमेन्सको छ्यासमिसमा बनेको यो कला अस्थायी थियो। तथापि नजिकैका दाङसिंगा, क्वाङ गाउँले यसलाई संरक्षण र सम्हाल्ने जिम्मा लिए। त्यसपछि यो अस्थायी रूपमा रहने इन्स्टलेसन स्थायीजस्तो भएको छ। समुदाय यो कलामा संलग्न मात्र भएनन्, यस्तै काम आफूले पनि गरी हेर्ने थाले। यो एउटा कलाले गरेको प्रत्यक्ष प्रभाव हो। ‘प्रकृति र कला’ नाम दिएको भुवनको यो कृति अमर बनेको छ। यो उनको कला र समुदायलाई जोडेर हेर्ने अभिलाषा र कलाकारकै भाषामा यो कला र समुदायबीचको चुल्ठीबाटी सम्बन्ध हो।  

युवा स्थापित मूर्तिकार भुवनले पहिले पनि भूकम्प कन्टेक्स्टमा काठमा अनौठा अमूर्त मूर्ति बनाई आर्ट काउन्सिलमार एकल प्रदर्शन गरेका थिए। पछि यसलाई उनले कीर्तिपुरको रूखका हाँगाबिँगामा झुन्ड्याएर अर्को अचम्मको काम गरे। उनी यस्तै नौला कलाको प्रवृत्तिमा लामो समयदेखि संलग्न भइरहने शक्तिशाली सर्जक हुन्।  

केही अघिका कन्टेक्स्ट कला  

नेपालको कला इतिहासमा यस्तै प्रकारका अन्य धेरै काम भएका छन्। त्यतिवेला कन्टेक्सचुअल कलाको चर्चा नभएकै अवस्थामा पनि आज फर्की हेर्दा यसैमा मिल्दाजुल्दा कला देखापरेका छन्, यसलाई उल्लेख गर्नैपर्ने हुन्छ। यसमा दुई कलाकार (उत्तम नेपाली र हरिप्रसाद शर्मा) टड्कारो रूपमा अगाडि देखिन आउँछन्। यी दुवै अलग–अलग शैलीमा काम गर्ने कलाकार हुन्। उत्तम नेपाली आधुनिक कलाको पहिलो दशकका शक्तिशाली कलाकार हुन् भने हरिप्रसाद शर्मा स्वच्छन्दवादी, यथार्थवादी कलाकार हुन्। यी दुवै कलाकार एकै ठाउँमा आएको देखिँदैन। दुवैको सोच, मान्यता र कला सिर्जनाका प्रक्रिया पनि अलगअलग देखिन्छ। तापनि दुवैको कलामा कन्टेक्स्ट गहिरो रूपमा समावेश भएको देखिन्छ। उत्तम नेपालीले समसामयिक कन्टेक्स्टलाई लक्षित गरेका छन् भने हरिप्रसाद शर्माले ऐतिहासिक कन्टेक्स्टलाई आफ्नो कलाको केन्द्र बनाएको देखिन्छ।  

विदेशमा उत्तर प्रभाववादीका कलाकार गउगिन, भ्यानगग र अति यथार्थवादी कलाकार डालीका कामलाई विशेष रूपमै उल्लेख गर्ने प्रचलन छ। यस्तै नेपालमा ऐतिहासिक कन्टेक्स्टमा यस्ता कला बनाउने सम्भवतः एक मात्र कलाकार हरिप्रसाद शर्मा हुन्। वयोवृद्ध उनी ऐतिहासिक तथ्यपरक घटनालाई चिन्तनमनन गरेर आफ्ना कल्पनामा बुन्छन्। एउटा गज्जबको कथा उनको मनमा उब्जन्छ। तत्पश्चात् उनले अति डिटेलमा उसवेलाकै पहिरन, विभिन्न पोजका दर्जनौँ मान्छे, घर र सडक बनाई कला संयोजन गर्छन्। आजभन्दा आठ सय वर्षअघि कलाकार अरनिको युवावस्थामै अन्य ८० कलाकार लिएर कसरी चीन प्रस्थान गरेका थिए ? उनलाई सम्पूर्ण समुदाय भेला भएर कसरी बिदा गरेका थिए ? यस्ता सन्दर्भलाई मार्मिक ढंगले उनले आफ्ना कलामा प्रस्तुत गरेका छन्। राजा प्रताप मल्लले देवीलाई आमन्त्रित गरी कसरी पासा खेल्थे ? यस्ता उसवेलाका घटनालाई आजको अवस्थामा सोचेर उनले दर्जनौँ चित्र बनाएका छन्। मूलतः नवशास्त्रीय शैली, स्वच्छन्दवादी र थोरै यथार्थवादी शैलीको नजिकमा रहेर उनले बनाएका चित्रमा नेपाली मौलिक परिवेश देखिन्छ। चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकार आदिले कायम गरिरहेको यो नेपाली मौलिक शैलीलाई निरन्तरता दिने उनी मात्र एक स्थापित कलाकार हुन्। अलि पछिल्लो कालमा आएर यो शैलीलाई निरन्तरता दिन चन्दा श्रेष्ठ लागिपरेको देखिन्छ। यही शैलीमा मास्के वा तेजबहादुर चित्रकारले विशेषतः नेवारी संस्कार र दिनचर्यालाई मुख्य विषय बनाएर कलाको निर्माण गर्थे।  

नेपाली समसामयिक कलामा आधुनिकताको प्रवेश भएताका उत्तम नेपालीले गाउँ फर्कको कन्टेक्स्टमा प्रशस्तै चित्र बनाएका थिए। चित्रमालाको रूपमा सिर्जना भएका यस्ता चित्र सन् १९६८ मा एकल प्रदर्शनीका रूपमा सार्वजनिक भएको थियो। यसबखत कलाकारका यस्ता खाले परिकल्पना उनका समकालीन कलाकारमा देखिँदैन। आजको दिनसम्म यस्ता कला एकल प्रदर्शनीकै रूपमा सम्भवतः कसैले गर्न भ्याएका छैनन्। तत्कालीन राजा महेन्द्रले घोषणा गरेको विकासको नयाँ अवधारणा ‘गाउँ फर्क अभियान’मा अर्धअमूर्त दृश्यचित्र क्युबिक फर्ममा दृश्यावलोकन भएका थिए। मूलतः यो एउटा अमूर्त गाउँको चित्र थियो। यो एकल कला प्रदर्शनीको सन्दर्भ यहाँनेर विशेष रूपमा उल्लेख किन गर्नुपर्ने हुन्छ भने, कुनै कलाकारले एक दुईवटा यस्ता कला गर्छन्, तर यसैलाई निरन्तरता दिँदैनन्। तथापि जुन कलाकारले यसलाई भित्रैबाट आत्मसात गरी विशेष अध्ययन अनुसन्धानसहित निरन्तर गरिरहन्छ र यसैको मात्र एकल कला प्रदर्शनी गर्छ, यसको महत्व अलग्गै हुन्छ। यसैवेलादेखि नेपाली समसामयिक कलाको इतिहासमा एकल कला प्रदर्शनी गर्ने होडबाजी र लहड चलेको देखिन्छ। चित्रमाला (कलालाई सिरिजका रूपमा बनाउने चलन)को अर्को संस्कार पनि यहीँबाट सुरु भएको देखिन्छ। हरिप्रसाद शर्माको यस्ता खाले चित्रको धेरै एकल प्रदर्शनी भइसकेका छन्।  

नेपालमा सन् २००० को उत्तरकालमा उत्तर आधुनिक प्रवृत्तिले प्रवेश गरेसँगै विश्वमा प्रचलित अत्याधुनिक कलालाई पछ्याउने क्रम बढेको छ। कलाकारहरू नयाँनयाँ अवधारणा, माध्यम र कलागत प्रस्तुतिमा सक्रिय रहेका छन्। कुनै न कुनै रूपमा सामाजिक, राजनीतिक अवस्था र घटनासँग जोडेर कला गर्ने आजका नयाँ युवा कलाकारमा नियति नै बन्न गएको देखिन्छ। तथापि यी सबैले कन्टेक्सचुअल कलाकै रूपमा आफूलाई खरो उतारे भन्ने होइन। उल्लेख गर्नुपर्ने केही काम भने छन्।  

कोभिडकै कन्टेक्स्टमा भर्खरै काठमाडौं रत्नपार्कको पुलमुनि १ जुलाई २००१ मा कोल्याबोरेटिभ आर्टका रूपमा बनाएको कला यहाँ उल्लेख गर्नुपर्ने हुन्छ। आफ्नै खर्चले कोभिडलाई नियन्त्रण गर्न अग्रपंक्तिमा लागिपरेका मुख्य पात्र (डाक्टर, नर्स, पत्रकार, प्रहरी आदि)का व्यक्तिचित्रको संयोजनका साथ निर्माण गरिएको यो चित्र छोटोकाल मात्रै जिउँदो रह्यो। तर आमभावक माझ निकै चर्चित रह्यो। रत्नपार्कको अकासेपुलमुनि बनाइएको यो चित्र सात दिनमै मेटाइदिएपछि अहिले काठमाडौं महानगरपालिकाको विरोध पनि भएको छ। दुजाङ शेर्पा, सुमिना श्रेष्ठ, कृपा शेर्पा आदि मिलेर यो विशालकाय भित्ती चित्र निर्माण गरेका थिए। वडा कार्यालयको अनुमति लिएर सत्कर्मका लागि बनाइएको भनिएको भित्ती चित्रकै नयाँ रूप ग्राफिटी आर्टलाई संरक्षण गर्नुपर्ने निकायले नै नाश गरेको सन्दर्भ आम नागरिकले पचाएका छैनन्। यसरी कलाकार सजग भएर आजको ठीक १० वर्षअगाडि कलाकार कैलाश श्रेष्ठ र उनका सहकर्मीले मिलेर संविधान समयमा नबनेको कन्टेक्स्टमा भित्ताभरि यसरी नै चित्र बनाएका थिए।  

सन् २००१ मा ‘विचलित वर्तमान’ शीर्षकमा माओवादी आन्दोलन र यसले समाजमा ल्याएको भय, डर र असुरक्षाको कन्टेक्स्टमा चित्र निर्माण भएका थिए। २००१ मै कलाकार सुदर्शनविक्रम राणाले दरबार हत्याकाण्डको कन्टेक्स्टमा ‘घटना’ नामक काम आर्ट काउन्सिलको बन्द कोठाभित्र गरेका थिए। ज्योति दुवाडीले सन् २००१ मा ‘कस्ट अफ भ्वायलेन्स’ नामक काम वसन्तपुर प्रांगणमा आयोजना गरेका थिए। सन् २००४ मा गोविन्द आजादले ‘वन गन वन बुलेट, हाउ मच राइस’ माओवादी द्वन्द्वकै कन्टेक्स्टमा बनाएका थिए। जसको नाम उनले ‘कन्फ्लिक्ट अफ द पिस’ राखेका थिए। घटनामै आधारित अरू पनि काम भएका होलान्, यसलाई अलग्ग खोजिन बाँकी छ। सडकमा विरोधकै मात्र स्वर आइरहेका बखत अहिलेका कन्टेक्सचुअल काम सकारात्मक रूपमा देखापर्नुलाई एक अलग्ग विशेषताका रूपमा हेर्नुपर्ने हुन्छ। अहिले तथानाम गाली गर्ने अनुशासनहीन संस्कार बसिरहेको अवस्थामा सकारात्मक कलाको निर्माण हुनु स्वागतयोग्य मान्नुपर्छ।  

कग्निटिभ र प्राक्टिकल क्रियाकलाप  

कलाको इतिहासमा कला विश्लेषकको सोच र व्याख्याले कलाको आन्तरिक पहिचानलाई उजागर गरेको छ। भनिन्छ, व्यावहारिक क्रियाकलापमा हामी वस्तु बनाउँछौँ, यसको अर्थ (अवधारणा) दिन्छौँ। जुन मान्यता परम्परागत कलामा देख्न सकिन्छ। जब हामी विचार, अनुभव र इन्द्रीयले अनुभूत गरेका क्रियाकलाप (कग्निटिभ एक्टिभिटिज) को कुरा गर्छौं, यसवेला पहिला अर्थको अवधारणा सिर्जना गर्छौं, यसैलाई स्वामित्व ग्रहण गर्ने क्रममा वस्तुको निर्माण गर्छौं। यस प्रकार कन्सेप्चुअल कलाको निर्माण हुन्छ। यही परम्परागत कलाको सोचबाट माथि उक्लेर कलाकार कन्सेप्चुअल कलामा प्रवेश ग¥यो। यसपछि कलागत विश्लेषणमा विविध कोणमा देखापर्दै कन्टेक्सचुअल कला अगाडि आएको मान्नुपर्छ। कन्टेम्पोररी कन्टेक्स्ट आर्ट, फर्मल कन्टेक्स्ट इन आर्ट, कल्चरल कन्टेक्स्ट इन आर्ट, सोसिएल कन्टेक्स्ट इन आर्ट, हिस्टोरिक कन्टेक्स्ट इन आर्ट आदि नाममा यसको विश्लेषण हुन थाल्यो। यति मात्र होइन, विश्लेषण गर्ने क्रममा अनेक कुराको थप कोण खोजियो– विन्डो स्याड कन्टेक्स्ट, कन्टेक्सचुअल स्ट्रिट आर्ट, कन्टेक्सचुअल स्टुडियो (डालीको घडीको काम), कन्टेक्सचुअल इन्फ्लुयन्स इन आर्ट (भ्यानगगको काम), कन्टेक्स्ट इन आर्ट (गउगिनको काम), कन्टेक्सचुअल फेस आदि–आदि।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: २ श्रावण २०७८ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App