coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आखिर ऊ आयो !

 बुढा बाउको शिरको टोपी फुकालेर आयो,

आमाको अनन्त आशामा बिट मारेर आयो।

प्रियसीको सिउँदोको सिन्दूर पखालेर आयो,

सायद ऊ धेरै नै थाकेर आयो! हारेर आयो !

त्यसैले एउटा बाकसभित्र,

फेरि नबिउँझने गरी  निदाएर आयो !!!

कवि रविन्द्र केसीको हालसालै प्रकाशित कविताको यो अंशले वैदेशिक रोजगारीको नमिठो  पाटाको उजागर गरेको छ । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक पदमा कार्यरत केसीले कामको क्रममा मुलुकको विभिन्न कुनामा  वैदेशिक रोजगारीका थुप्रै कथाहरू अनुभूत गरेको सुनाउँछन् ।  

‘वैदेशिक रोजगारीको यो भेलमा रेमिट्यान्सका खेलौना मात्र हैन पीडाका शवहरू पनि भित्रिरहेको छ,’  केसी भन्छन्, ‘बाकसमा खेलौनाको आशा गरेको बालकले बाबाको शव देख्नुपर्ने अवस्था निकै पीडादायक रहन्छ ।’  

परिवारको सदस्य घर छाडेर जाँदा उसले मात्र हैन सिंगो परिवारले एउटा आशा पालेको हुन्छ। त्यसैले  परदेश हिँडेकै दिनदेखि आफन्तले उसको आगमनको प्रतीक्षा गर्छन्। जब प्रतीक्षाको क्षण लम्बन्छ तब परिवार आत्तिन थाल्छ ।

फर्केला कि ऊ भनेर सधैं,

धेरै पटक भयो अचेल,

मुछेका अक्षताहरू पोखिएका,

उनेका मालाहरू ओइलिएका,

थापेका घडाहरू  रित्तिएका,  

तर पनि कहिल्यै आएन ऊ !

‘वैदेशिक रोजगारीको  यो भेलमा रेमिट्यान्सका खेलौना मात्र हैन पीडाका शवहरू पनि भित्रिरहेको छ,’ कवि रविन्द्र केसी भन्छन्, ‘बाकसमा खेलौनाको आशा गरेको बालकले बाबाको शव देख्नुपर्ने अवस्था निकै पीडादायक रहन्छ ।’  

‘अझै पनि थुप्रै आमाबाहरू परदेसिएका छोराहरूको प्रतीक्षामा यसैगरी उभिरहेका छन्,’ कवि केसी अगाडि भन्छन, ‘तर  सबैको प्रतीक्षा मिठो नहुँदो रहेछ।’ प्रतीक्षा जब लामो हुन्छ तब आशा निराशामा बद्लिन थाल्छ ।  

त्यसैले कवि अगाडि लेख्छन्

– चकनाचुर भए ,

वृद्ध आँखाका अनन्त सपनाहरू !

टुक्राटुक्रा भए,  

वात्सल्यमय र स्निग्ध मनहरू !

बेवारिस भए,

प्रियसीका ती अधूरा अनुरागहरू !

बिर्सेछ सायद परदेशीले,

डुब्नै लागेका डाँडामाथिका ती जूनहरू,

स्नेहले फक्रिएका ती मखमली फूलहरू ,

गुन्जिन बाँकी कलिला जीवनका धुनहरू,  

 आशा यस्तो रबर जो  दुखमा पनि केही समय तन्कन्छ । आवश्यकता अथाह हुन्छ । त्यसको पूर्ति त्यही विदेसिएको छोराले मात्र गर्न सक्ने विश्वास हुन्छ । त्यसैले निराशाका माझमा  आशाको धिपधिप दियो बलिरहेको हुन्छ ।  

तर अझै  पनि,

आँसु झार्दै भन्न छोडेका छैनन् बुढा बाबुले,

आउँछ बुढी, त्यो एकदिन झुक्याएर आउँछ !

साहूको मुखमा बुझो लाउन पुग्ने गरी आउँछ !

मखमली र सयपत्री फूलहरू नओइलिँदै आउँछ !

डाँडाहरूको मखमली र सयपत्री ओइलाउनु अगावै नेपाली छोराहरू स्वदेश फर्किनुपर्ने कविको भाव छ । स्वदेशमै काम गर्ने वातावरणको सिर्जन र युवाहरूमा कामप्रतिको लगाव भयो भने डाँडामा मात्र हैन अनुहारमा पनि सयपत्री र मखमली मगमगाउने सुनाउँछन् तर त्यसो हुन सकिरहेको छैन ।

 ‘आगमन सबै प्रिय हुँदैनन। आगमन सधैं जीवन्त हुँदैनन् । कहिलेकाहीँ आफैले कुरिरहेको आगमन पनि निकै पीडादायक हुन्छ ।’

जस्तो कविले व्यक्त गरेका छन् ।  

नभन्दै  आज अचम्मै भयो !

आखिर ऊ आयो !  

जन्मेकै माटोको टीका लाउन आयो

सायद ऊ धेरै नै थाकेर आयो! हारेर आयो !

त्यसैले एउटा बाकसभित्र,

फेरि नबिउँझिने गरी  निदाएर आयो !!!

प्रकाशित: १७ असार २०७८ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App