coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

समाजवाद कहिले फल्छ ?

कविता

नारायण गिरी

 

एक महिना पहिले  

जब आँप ढकमक्क फुल्दा

जुन खुसी पलाएको थियो

जुन आशा उमङ्ग भरिएको थियो  

त्यो आँपको फूलभन्दा  

कता हो कता अधिक खुसी

जस्तो कि तीन वर्ष पहिले

एकमना सरकार बन्दा थियो ।

तर  

आकाशको कालो बादलसँगै  

मनमा शङ्काको बादल  

कताकता मडारिएको थियो

मोति दाना बर्सिएर

आँपको फूलसँगै

खुसीमा वज्रपात हुन्छ कि

तर त्यसो भएन  

खुसीमा दाग लाएन

जस्तो कि  

एकमना सरकारलाई

कुनै विपक्षी छेकबार लाएन ।

 

अति भए खती हुन्छ भन्थे  

सायद त्यस्तै हो कि कुन्नि  

वातावरणीय प्रतिकूलता आयो

वा भित्रभित्रै भाइरसले खायो

आँपमा फल होइन  

फूल जति सबै धर्तीमा छायो

आशा उमङ्गले भरिएको

यो मन त्यसरी नै कुँडिएर आयो  

जसरी कि  

कुर्सीमा बस्नेले  

अरू कसैलाई गन्दै नगन्दा

मबाहेक अरू पनि छन् नभन्दा

कबुलनामा कागजी खोस्टो मान्दा

जनताभन्दा जदौ गर्ने ठूलो ठान्दा ,

अनि  

कुर्सीका लागि मुख बाउनेले

म र मेरा मात्र खोजी हिँड्दा

सिध्दान्त होइन शक्ति रोज्दा

सिकाउनेको बुई चढ्दा ,

यो उहिलेको कुरुक्षेत्र जस्तो  

रणसङ्ग्राम पो भयो  

मन चस्किएर आयो।

यो आँप त अर्को साल  

फेरि फुल्छ फल्छ  

तर  

मेरो सपनाको समाजवाद  

अब कहिले फुल्ने फल्ने हो ?

प्रकाशित: ११ असार २०७८ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App