४ वैशाख २०८१ मंगलबार
कला

सन्तानका वचन बाणले भित्रभित्रै रोए होलान्

मुक्तक

कमला घिमिरे

 

               १) 

सबैभन्दा ठुलो लाग्ने परिवार र बच्चाहरू

सर्वस्व नै सुम्पिइने मनभित्रका सच्चाहरू।

शिक्षित– दीक्षित, जान्ने–बुझ्ने, गन्ने–मान्ने भए पनि,

अभिभावकले सोच्ने सधैं बालक नै छन् बच्चाहरू।

                 २)

 ठुलो भयो जान्ने, बुझ्ने आफैँ भएँ सोच्न थाल्यो,  

भौतिक सुख र विलासी जीवन मनमनै रच्न थाल्यो।

बा–आमाका फाटेका लुगा घृणा गर्न थाल्यो अब,

गरिबीलाई खिल्ली उडाउँदै उनैलाई घोच्न थाल्यो ।

                ३)

सन्तानका वचन बाणले भित्रभित्रै रोए होलान्,

बाहिरबाहिर मुस्कुराई आँसुले मुख धोए होलान् ।

ठुलो होला सुख देला कल्पनामा बुने सधैं,

परिवर्तित वास्तविकतामा मन, मुटुलाई छोए होलान् ।

                ४)

दिन–रात, घाम–छाँया कुमालेको चर्खाजस्तै,  

टन्टलापुर घामपछि मुसलधारे वर्षाजस्तै ।  

सोच्दा–सोच्दै, गन्दा–गन्दै दिनहरू बितिरहन्छन् ,

सन्तानका प्रगतिमा देखिने निस्वार्थ हर्षजस्तै ।

                ५) 

निर्जीव ढुङ्गा, भगवान् मानी त्यसको पुजा गरिरहँदा,

आफ्ना घरका जीवित भगवान् भोकप्यासले मरिरहँदा ।

कसरी आत्मा शान्ति र प्रगति होला तिनको,

आफ्ना बुज्रुकहरूको आँखाबाट आँसु झरिरहँदा ।

प्रकाशित: ८ असार २०७८ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App