१५ चैत्र २०८० बिहीबार
कला

बिजुलीको चमक

कविता

ओम खनाल

 

लौ हेरौँ पथमा तथा चउरमा चम्केर टल्किन्छ त्यो  

आँखाको चमकै उडाइ त्यसले, थुतेर लैजान्छ हो  

रातैमा पनि त्यो ठुलै छल गरी, आएर चम्किन्छ त्यो  

निद्रामै किन हो मलाई उसले, बोकेर लैजान्छ हो ।

 

कालो पूर्ण सबै भएछ रङ नै, देखिन्न धर्ती अब

पानीका बुँदमा भएजति छिटा, झारी दिएको तब

ए बाबा उठ लौ भनेर तिनले, रोई कराए जब  

ठूलो गर्जन पाउँदा जगत नै, जागा भएथे सब।

 

आधा मात्र निदाउने समयमा, निद्रा बिथोल्यौ किन

कस्तो भो डर आज लौ न किन हो, फुल्दै छ चित्तै किन  

विद्युत्का सँगमा बडो गजबले, वर्षा भएको थियो  

खोज्दैथेँ म त त्यो प्रभा समरको, आफैं लुकेको थियो।

 

छर्दै ज्योति समग्र यो भुवनमा, चट्याङ पर्ने भयो  

कस्तो भो क्षण त्यो थरर्र मनको, सातो लिने नै भयो  

पानी मेघ बनेर पर्छ अनि त्यो, आँधी बनी बेसरी  

रातैमा किन आइदिन्छ दिउँसो, आए हुने सुस्तरी।

 

वर्षाका भलमा बगेर किन हो, चिन्ता छ बाढी हुने

झुप्राका पनि छन् अनाथ विचरा, बग्लान् भनेझैं हुने

आजै रात ठुलै विपत्ति हुन गो, चम्केर सौदामिनी  

जेजे हो सब नै सहन्छु अब ता, राखेँ मनैमा हरि ।

प्रकाशित: ८ असार २०७८ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App