८ कार्तिक २०७८ सोमबार
कला

सामाजिक सञ्जालमा नकारात्मक सन्देश र दुखद समाचार पोस्ट नगरौं

प्राज्ञ – साहित्यकार  लक्ष्मी उप्रेती

 

 

आमा जगमाया प्रसाई र बुबा  वृहस्पति प्रसाईकी छोरीको रूपमा   विसं २०१५ साल, साउन १३ गते  मेची अञ्चल,  ताप्लेजुङ जिल्लामा जन्मिएकी हुन् लक्ष्मी उप्रेती ।  नेपाली साहित्यमा विविध विधाको कलम चलाउँदै आएकी उप्रेती विभिन्न संघसंस्थामा पनि आबद्ध छिन् ।  उनी   नेपाल  प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य पनि हुन्  ।  उनका  पाँच  कविता सङ्ग्रह, दुई कथा सङ्ग्रह,  तीन  जीवनी, समालोचना, खोज र एक किशोर उपन्यास प्रकाशित छ ।  उनी बालसाहित्यमा पनि उत्तिकै कलम चलाउँछिन् ।  वनिता त्रैमासिकका सम्पादक उप्रेतीसित कोरोना केन्द्रित रही गरिएको कुरालाई उहाँ प्रस्तुत गरिएको छ –    

 

    १)  अहिले के गर्दै हुनुहुन्छ ?

यसबेला म विराटनगरमा छु ।  अहिले जहीँ पनि भयावह छ। कोरोना आतङ्कले सबै मानिसहरू घरघरमा बन्दी  छन्। देशविदेशको कुनै ठाउँ सुरक्षित छैन। हृदयविदारक घटनाहरू अकल्पनीय रूपमा घटिरहेछ।

प्रियजन गुमाउनेको पीडा देखेर सबै मर्माहत भइरहेका छौं। कोरोनाका कारण अभावमा बाँच्नेहरू मात्र हैन औकात देखाएर कसैलाई नगन्नेहरू पनि अकालमा मृत्यु वरण गरिरहेका छन्। कोरोनाको बर्बर आतङ्कबाट कसरी मुक्ति हुनु भन्ने एउटै ध्येय छ हरेक मानिसमा यसबेला। सबैको मुखमुखमा अहिलेसम्म बाँचिएको छ भन्ने वाक्य आउन थालेको छ। यसमा म पनि अछुतो हुन सकिन। त्यसैले होला यसबेला केही गर्ने जाँगर नै छैन । उठ्यो सुत्यो, सुत्यो उठ्यो, मोवाइल हे¥यो अधिकांश समय यसरी नै बितायो। कोरोनाको पहिलो लहरमा सिर्जना गर्न खुब जाँगर चलेको मनमस्तिष्क नै अहिले अर्काको जस्तो भएको छ। यसैले सिर्जनामा भावशून्य छ । कहिलेकहीँ यसो कविता फुर्छ त्यो पनि निराशावादी ।  तीनै लेख्ने र  पहिले लेखेका रचनालाई अलिअलि साफी गर्दैछु।

     

 २) कस्तो छ विराटनगरको अवस्था ?  

जटिल नै छ। लकडाउन छ तर सबै मान्छे अनुशासित छैनन्।  आफू पनि असुरक्षित अरूलाई पनि असुरक्षित पार्ने यस्ता मान्छेलाई जति कारबाही हुनुपर्ने हो त्यति हुन कुनै न कुनै रूपले विवश छन् सम्बन्धित निकाय। बोलबालाको  वर्चस्व छ। निमुखा. त जहिले पनि निमुखा नै हुने रैछन्। शक्ति र सम्पन्नलाई अस्पतालको सैया, अक्सिजनको अभाव यातायात पासको असुविधा हुन्न्, जसरी र पनि जुट्छ । त्यस्ता मान्छेहरू दिन आइपुगेर मात्र जान्छन् अभावले जाँदैनन्। तर साँच्चिकै अभावमा पर्नेहरू अकालमा गुमिरहेका छन् । यो संसारकै नियति हो कि हाम्रो देशको मात्र हो थाह छैन।

अनि आफन्तको शोकमा भएर पनि आफै छटपटाइरहेछन् कोरोना संक्रमित भएर। कुनै परिवारमा त बुबाआमा मात्र हैन छोराछोरी पनि एकै पटक गुमिरहेछन्। 

  

    ३)  यस्तो डरलाग्दो अवस्था त अन्तभन्दा काठमाडौंमा नै बढी होला नि, हैन ?

हैन नि, सबैतिरको हालत उहीँ हो। काठमाडौंमा चै धेरै जनसंख्या भएकाले यस्तो देखिन्छ। अनि भाडामा बस्ने मानिसहरू परिस्थितिवश सुरक्षित छैनन् र बढी टाढा सुनिन्छ तर यत तिर पनि उहीँ होला  संक्रमित र मृत्यु दरको पर्सेन्ट।

 

४) राज्यले के गर्नुपर्छ ?

यसबेला राज्यसँगै हरेक मानिसको आवश्यकता हो जीवनरक्षा। एउट साधारण कुरा राज्यले खोपको व्यवस्था समयमा नै गर्नुपर्ने। पहिले डोजको खोप कुन हो समय बितेर अर्को डोजको अन्योल भैरहेछन् मानिसहरू। तर शक्ति र सत्तामा बस्नेका  शाखा सन्तानले चै पाउनु ) र अरूले नपाउने विडम्बना। यस्तो देख्दा बाँच्ने अधिकार  उनीहरूको मात्रै हो र भन्ने लाग्छ । यसलाई राज्यले ध्यान दिनुपर्ने हो तर ध्यान नदिनु राज्यको निकै ठूलो कमजोरी देखिन्छ । अनि यस्तो बेला कहीँ नअलमलीकन अस्पताल, अस्पतालमा चाहिने आवश्यक उपकरण र अक्सिजन, स्वास्थ्य कर्मीको व्यवस्था आवश्यक रूपमा नहुनु राज्यको निकै कमजोरी हो। यस्तो कमजोरीलाई सत्तामा बस्ने ले महत्वका साथ हेरिनु र उपाय निकालेर अग्रसर हुनु पर्ने हो । यो राज्य जन्ताको पनि हो जन्ताले पनि कर तिरेका छन् सत्ताधारीले मात्र हैन।  

 

५) यस्तो अवस्थामा साहित्यकारको  कस्तो भूमिका हुनुपर्छ ?  

हामीले त मुख्य रूपमा आफू र आफ्नो वरिपरिकालाई सुरक्षित हुने उपाय गर्नुपर्छ। यो संकटकालमा राज्यको कायदा र सुरक्षाका मापदण्ड अवलम्बन गरेर राज्यलाई सहयोग गर्नुपर्छ। आफ्ना वरिपरिका मान्छेलाई सम्झाएरबुझाएर खबरदारी गर्नुपर्छ। अब घरभित्र परिवारसँग  रमाउने प्रयासमा सचेत हुनुपर्ने भएको छ। आफू सङ्क्रमण भएमा आफंै सजक भएर अरूलाई सङ्क्रमण हुनबाट जोगाउनेतिर लाग्नुपर्छ। सकेसम्म हिँड्डुल कम गर्नुपर्छ। यदि स्रोतसाधन छ भने  यसबेला गर्नुपर्नेलाई नछुट्याई सहयोग गरौं। अरू साधारण बिरामीलाई महत्व नदिई अस्पताल र स्वास्थ्यकर्मीलाई सहज वातावरण बनाऊ। कोरोना बिरामीको आत्मबल बढ्ने वातावरण दिऊँ। सामाजिक सञ्जालमा नकारात्मक सन्देश र दुखद् समाचार पोस्ट नगरौं। यसो गर्नेलाई कानुनी दायरामा नै ल्याउन राज्यलाई प्रेसर नै दिऊँ। सामाजिक संस्कारका कार्य बिहे वर्तमानमा तडकभडकको माहोल नगरी काम चल्ने वातावरण बनाऊ । त्योभन्दा बढी अरू हामी के गर्न सक्छौं र ! 

साहित्यकार पनि आमजनता नै त हुन् । अब जन चेतनाका कुरा लेख्नुपर्ने आवश्यकता छैन्। साना बच्चाले पनि थाहा पाइसकेका छन् कोरोनाका सबै कुराहरू । तर सुरक्षाका मापदण्ड चै हरेकले अपनाउनु हाम्रो कर्तव्य नै हो। नकारात्मक सन्दर्भका सिर्जना नगरौं। यो कठिन परिस्थितिमा सके सकरात्मक भावका सिर्जना गरौं नसके चुप लागौं। सुरक्षाका मापदण्ड अपनाउ र लेखनमा पनि यसको प्रभावकारीताबारे प्रकाश पारौं। कुनै तडकभडक गर्नेलाई सिर्जनामा प्रस्तुत गरेर सजग बनाऊ । 

यदि सजक  भएनन् भने त्यस्तालाई बहिष्कार गर्ने सामाजिक डण्ड दिनु परे पनि पछि नहटौं।

        ६) अब कस्तो होला अवस्था ? कोरोना नै हो त यो ?

अबको अवस्थाबारे ठूलाठूला वैज्ञानिकहरू स्वास्थ्यकर्मीहरू त मौन छन् भने हामी त के भन्न सक्छौं र? अन्योलले दिन बिताउनु र मृत्यु हुनेलाई सम्झनु मात्र न हो। कोरोना भन्ने तत्व खै के हो। नपत्याउन पनि हामीले भा छैन् स्वास्थ्यकर्मीहरू नै यसको भुमरीमा परिरहेछन्। पत्याउन पनि सहज छैन । तर केहीले सामाजिक सञ्जालको दुरुपयोग गरेर बढी अफवाह फैलिएको कुरा चै हो। जे भए नि यस परिस्थितिमा जीवनको आशामा सुरक्षाका मापदण्ड भित्र चै बस्नु नै पर्छ भन्ने लाग्छ मलाई।

        ७)  बाँकी केही कुरा भए भन्दिनुस् न ! 

कोरोनाबारे धेरै कुराहरू आइरहेका छन्। सुरक्षाका लागि घरायसी उपायसँगै बाहिरी उपाय पनि स्वास्थ्यकर्मीको सुझाव लिएर अविलम्बन गरौं। जसरी होस् यसबेला जीवन बाँच्नु नै बिरामीसँगै परिवारका सबैले प्राप्त गर्ने  ठूलो पुरस्कार हो। यसलाई सबैले बुझेर जीवनलाई हेलचेक्य्राइँ नगरौं। सुरक्षित हुने सबैले प्रयास गरौं। यो युग त्रासदी कालको युग ठानेर हरेकले सजग होऔ।

प्रकाशित: २८ जेष्ठ २०७८ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App