११ असार २०७८ शुक्रबार
कला

थाहा छैन

कविता

सुनिल पोखरेल

 

कतिबेला, अर्कालाई शिघ्र स्वास्थ्यलाभको  

कामना लेख्दालेख्दै

कसैले आफंैलाई शिघ्र स्वास्थ्यलाभको  

कामना लेख्ने समय आउँछ  

थाहा छैन,

कतिबेला अर्कालाई श्रद्धाञ्जली लेख्दालेख्दै  

कसैले आफैंलाई हार्दिक श्रद्धाञ्जली लेख्ने समय आउँछ  

कसैको वियोगमा रोएका  

आँखाका आँसु पुछ्दापुछ्दै  

थाहा छैन  

आफ्नै वियोगमा  

कतिबेला आफन्तहरू रुनुपर्ने हो ?  

समय सन्नाटा र चीत्कारहरू यत्रतत्र सर्वत्र  

अभाव, यातना र वियोगहरू

शहर, गाउँ र बस्तीहरूमा  

कति आमाहरूको काख रोएको छ  

कति प्रियाहरूको सिउँदो पुछिएको छ  

मरेपछि पिण्ड दान गर्ला भनी

जन्माएको छोरालाई  

आफैं मुठी दिएर फर्किदै छन् कति बुढा बाहरू  

कति छोराहरू बालाई पिण्ड दिनै नसक्ने गरी  

स्वाँकस्वाँक गरिरहेछ  

अस्पतालको छिँडीमा अक्सिजनको सहायतामा  

यहाँ अभावको कुनै अभाव छैन  

यहाँ पीडाको कुनै सिमा छैन  

यहाँ आँसुको कुनै अभाव छैन  

अभाव छ त खालि

प्राण वायु, उपचार, खोप  र भेन्टिलेटरहरूको  

अनि एउटा गतिलो राष्ट्र अभिभावकको  

थाहा छैन  

पशुपतिनाथले यो अभाव कहिले पूरा गर्ने हुन्  

उनको बासस्थानको यो सुन्दर भूमिमा ।

प्रकाशित: २६ जेष्ठ २०७८ १९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App