८ वैशाख २०८१ शनिबार
कला

खबरदार, हिंस्रक बचाउन न्याय नमारियोस् !!

डा.  रेणुका सोलु

 

केटीहरू बलात्कृत हुनुमा एउटा प्रमुख कारण त छोटो लुगा लाउनु, अङ्ग प्रदर्शन गर्नु अनि रातसाँझ घरबाहिर निस्कनु नै हो भनेर आरोप लाउनेको जमात ठुलै छ । मेरो शरीर मेरो अधिकार भन्ने चेत भएका महिलाहरू ड्रेसअपकै कारण छोरीचेली बलात्कृत हुन्छन् भन्ने कुराप्रति खेद प्रकट गर्दछन् । सूचनाका आधारमा हेर्ने हो भने खुट्टाको नङदेखि टाउकाको कपालसम्म ढाकेका  अनि दुई वर्षको दुधे बालिकादेखि  ९० वर्षकी हजुरआमासम्म बलात्कारको सिकार भएका खबर पटकपटक आइरहेका छन् ।

भर्खरै मात्रै सुर्खेतको गुर्माकोट नगरपालिका ११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायका युवतीहरूमाथि गुर्माकोट सुर्खेतका केही यौन पिपासुहरूले यौन दुर्व्यवहार गरेको घटना सनसनीपूर्ण र संवेदनशील बनेर सार्वजनिक भएको छ । आफ्ना छोरीचेली अन्य समुदायका पुरुषहरूसँग बोले मात्रै पनि पाप सम्झने राउटे समुदायका लागि यौन  दुर्व्यवहार  जघन्य अपराधभित्र नै पर्छ भन्ने सुनिएको छ । सो घटनाबारे खबर राउटे समुदायमा पुग्यो भने ती पीडित युवतीहरूलाई नै मृत्युदण्डजस्तो कठोर सजाय हुनसक्ने कुरा पनि चर्चामा छ । घरेलु हतियार (भाला रोपेर) प्रयोग गरेर मारिहाल्ने कुरा समेत मिडियामा आउन थालेका छन्  सबै मानवीय मनहरूलाई यो खबरले झन स्तब्ध बनाएको छ यतिखेर।  

राउटे समुदायले देशको कानुन, संविधान बुझ्दैन, जान्दैन र मान्दैन पनि । तर आफ्नै समुदायका मुखियाको आदेशलाई कानुन मान्छ र यही अलिखित कानुन संविधान हो उनीहरूका लागि । त्यहाँ कुनै पार्टी, गुट, उपगुट छैन त्यसैले काखा र पाखाको व्यवहार अनि सज्जनलाई  रिसको आवेगमा फसाउने अनि फटाहालाई विचार या गुटको आधारमा बचाउने हुँदैन त्यहाँ ।मौखिक कानुन नै यतिसम्म कठोर हुन्छ कि त्यहाँ अपराधी ठहरिएकाले क्षमा पाउन मुस्किल छ।

राउटे युवतीहरूसँग केही युवाहरूको यौन दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि सामाजिक  सञ्जालमा  चारैतिरबाट विरोध भइरहेको छ र मृत्युदण्डको समेत माग भइरहेको छ । यो समाजमा यौनपिपासु मात्रै छैनन् । सज्जन पुरुषहरूले यस्ता पशुवत घटना देख्दा आफू पुरुष हुँ भन्न समेत हीनताबोध भएको र यस्ता राक्षसलाई लिङ्गछेदनसम्मको सजाय दिँदा नि कम हुन्छ भनेर बोलिरहेका छन्।

 त्यो घटनामा पीडित युवतीहरूले कुन हदसम्मको पीडा सामना गर्नुपर्यो भन्ने तथ्य सङ्कलन भएको छैन । अनुसन्धान गर्नलाई न्यायिक प्रक्रियामा पीडक र पीडित दुवै पक्षको बयान लिनुपर्ने हुन्छ र युवतीहरूको त स्वास्थ्य परीक्षण समेत गर्नुपर्ने हुन्छ । यो सबै कार्य गर्न राउटे समुदायमा अनुसन्धान समूह खटायो भने त्यहाँ शङ्का हुन्छ र युवतीहरू मुखियाको आदेशको जोखिममा पर्न सक्ने झन् खतरा बढ्छ त्यसैले यो काम अगाडि बढाउन सकिएको छैन भन्ने तर्क छ स्थानीय निकायको।

जल, जङ्गल र जमिन वा प्रकृतिलाई नै आफ्नो देश संसार सम्झेर बसेका फिरन्ते जाति राउटे समुदाय जो प्रकृतिजस्तै निश्चल, निस्वार्थ एवम् कञ्चन हृदयका हुन्छन् । यस्ता सोझा सज्जन समुदायका युवतीहरूलाई मदिराको प्रलोभनमा पारेर यौन   दुर्व्यवहार जस्तो घृणित कार्य जो भएको छ त्यसको जति भर्त्सना गरे पनि कमै हुन्छ। 

बीभत्स बलत्कारपछि बर्बरतापूर्ण हत्यामा परेका निर्मला , भागिरथीजस्ता दर्जनौं छोरीहरूले अहिलेसम्म न्याय पाएका छैनन् बरू न्याय माग्दामाग्दै गरेका आफन्त समेत गुमाएका छन् । विभिन्न शक्तिका आडमा बलत्कारी हत्याराहरू खुलेआम मैदान छोडिएको छ ।  अन्यायकाविरुद्व लड्ने नारा भजाएर दर्जनौँ मन्त्री फेरिइसक्दा पनि ती नै मन्त्री भएको राज्यको कानुनमा बलात्कारीलाई दिइने सजायको बुँदा फेरिएन । हात्तीछाप चप्पल पड्काउँदै नारा –जुलुस गर्ने गोडाहरूले रातो कार्पेट पाए तर पीडितले न्याय पाउन सकेका छैनन् । किन यसो भइरहेको छ भन्ने कुरा वहस पैरवी गर्न जरूरी छ–

       को हुन् बलात्कारी? ’तपाईं हाम्रै नेपाली दाजुभाइ । को हुन् बलात्कृत?’ तपाईं हाम्रै नेपाली छोरीचेली। कस्तो संस्कार दियौँ हामीले? छोरालाई बलात्कारी हुनेसम्म छुट अनि छोरीलाई बलात्कृत हुँदासम्म पनि चुप।

कस्तो नैतिक शिक्षा पढायौँ जो छोरीको दाइजोमा मात्रै परिरह्यो ! छोरालाई नैतिक शिक्षा सिकाउनु पर्दैन? प्रत्येक पुरुष नैतिकवान्, चरित्रवान् हुने हो भने कस्ले गर्छ बलात्कार ? के जनवारबाट बलात्कृत भएका हुन् र छोरीहरू? बलात्कार! त्यसपछि बीभत्स हत्यासमेत गरेको बलात्कारी हत्यारा पनि किन निसंकोच निर्भीक, निडर उच्च शीर बनाएर समाजमा उभिन पाउँछ सानदार ! किन पीडित छोरीले नै लाजको बुर्काले मुख छोपेर शीर झुकाएर अपराधीको सजाय भोगिरहनुपर्छ ? अपराधी को हो? पीडक कि पीडित? किन यसको मूल्याङ्कन समाजले मानवीय संवेदना बुझेर गर्दैन?  लिङ्गमा के छ त्यस्तो जे गरे नि चोखै रहने अनि दम्भमै इज्जत ठडिइरहने अनि योनिमा के छ त्यस्तो खराब ता कि बेइज्जतको भारीजति सबै बोकेर हिँड्नुपर्ने? लिङ्गकै कारण योनी जुठो भयो त लिङ्ग कसरी चोखै रह्यो? यो कस्तो नियम हो? कस्ले बनायो ? यति सत्य कुरा घामजस्तै छर्लङ्गै हुँदासमेत किन समाज भेला भएर मूल सडकमा बलात्कारी लिङ्ग छिनालिँदैन? किन समाजबाट बहिष्कार हुँदैनन् यस्ता हिंस्रकहरू? किनकि शक्तिकै आडमा चलेका हुन्छन् यी प्राय सबै । समाजमा यस्तैको दबदबा हुन्छ अनि निरीहको आवाज दबाइएको हुन्छ।

उच्चपदस्थ व्यक्तिको छोरीचेली बलात्कारको सिकार बनेको खै कहाँ सुनेका छौं हामीले ?  यदि परे भने  बलात्कारी बाँच्न पाउँछ ? छिनभरमा रेटिन्छ । यहाँ सोझासिधा जनता त सबै चुनावका भोट बैँक मात्रै उपभोग भएका छन् । यो देशका नागरिक हौं भन्ने आभाष खै उनीहरूलाई? जबसम्म यो वर्गको चेतनाको स्तर उठ्दैन, जीवनस्तर सुधार हुँदैन तबसम्म उनीहरूका लागि राज्यको कानुन कागजको खोस्टोसिवाय केही अर्थको हुँदैन।

अब ती सोझा राउटे चेलीहरूले न्याय पाउलान् ? कि कुनै पार्टीका कार्यकर्ता भएकाले बहानामा उम्काइन्छ अपराधीलाई? खबरदार!! सोझा चेलीहरूको अस्तित्व मारियो अब न्याय नमारियोस् !

राउटे समुदायमा अनुसन्धान गर्दा थप जोखिम बढ्ने बहाना बनाएर अपराध लुकाउने काम नहोस्! त्यस्ता बलात्कारी यौन पिपासुलाई कानुनको कठघरामा उभ्याउन सकिएन र बलात्कारी अपराधीको सङ्ख्या बढ्दै जान दियो भने हाम्रा  मानवीय संवेदना बोकेका हरेक सज्जन नेपाली दाजुभाइलाई बलात्कारीको दाग नलाग्ला र भोलिका दिनमा नेपाल देशलाई नै बलात्कारीको देश नभनिएला भन्न सकिन्न । सरोकार सबै पक्षद्वारा हेक्का राखियोस ।

प्रकाशित: २६ जेष्ठ २०७८ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App