१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दाइको कपुर बसाउने सुटकेश

कथा

 कमला अधिकारी

 

गाग्रेटोको रातो माटोले दैलो पोतेर कुबिजा घरको खोपामा राखेको पानस हातमा लिई बाहिर निस्किन्छे । आँगनको डिलनिर मुन्टो नुघाएर पारि डाँडातिर हेरिरहेको लक्की कुकुरलाई ‘चे’ भन्दै बोलाउँछे । लक्की कुबिजाको पछि लाग्छ । हातमा लोटा थियो । बाँसघारीको नजिकै रहेको शौचीमा पुग्नै लाग्दा बेले दाइ झुलुक्क देखिन्छन् । ‘अहो दाइ ! यति बिहानै कता हिँड्नुभयो ?’  

‘तिमीलाई नैं भेट्न आएको नि कुबिजा ! घर बुढा छन् कि छैनन् ?’ ‘ल दाइ ! उहाँ त हिजो काइला साहुको घर दाइमा जानुभएको उतै बस्नुभयो। अब एकछिनमा आइपुग्नुहुन्छ।’

 ‘अहिल्यै आउँछ भन्ने के ठेक्का लिन सक्छौ ? नआउन पनि त सक्छ ।’  

‘आउनुहुन्छ, भैंसीले अरूलाई दूध दिँदैन ।’ ‘आजभोलि काहिँला साहुसँग निकै मन मिलेको छ । होस गर है त्यो नेताको केही विश्वास छैन । उतै बहकेला फेरि तिम्रो बुढो ।’ ‘ल के भन्नु भाको काका ? हामी त गरिखाने मान्छे जता काम पाइन्छ त्यतै जानुप¥यो नि ! ठूलाबडासँग पौंठेजोरी खेले मुखमा माड कसरी लाग्छ ?’... कुबिजाको कुरालाई बीचैमा काटेर बेले दाइले भन्छन्, ‘यो अर्काको घर कुटो –कोदालो गरेर कहिले उँभो लाग्छौ ? बरु बुढालाई विदेश पठाऊ । उमेर छँदै हो कमाउने । उमेर हुँदासम्म हल्लिने बुढेसकालमा डल्लिने भयो भनेपछि पछुतो हुन्छ । पैसासैसाको चाँजो म मिलाइदिउँला ।’ कुबिजाको मनमा बेले दाइको कुराले जालो लगाइदिन्छ । मनमनै सोच्छे ठीकै पनि हो । दिउँसोभरि काम ग¥यो । बल्लतल्ल दुई सय रुपैया आउँछ विदेशै गए जितिन्छ । घर सम्हाल्ने म छँदैछु । रतनलाई विदेश पठाउनुप¥यो ।

सँगै बस्ने रहर त थियो नि ! तर भएर के गर्नु माटो खाएर भएन । फेरि घरमा नन्द पनि छिन् । खानलाउन दिनै प¥यो । आँगन पोलेर दिने हामीले नैं हो । अरू दाजुभाइले गर्लान् भन्ने आश छैन। छोराछोरीले आफूले भनेको भएन भने डाँडो खोलो हल्लाउँछन् । सोचमग्न कुबिजा कतिवेला आँगनमा पुगी पत्तो पाउँदिन ।  

रतन घर भेट्किई वरी फलामे बाल्टी लिएर भैंसी दुहुन जान्छ । कुबिजा त्यति खुसी मुद्रामा थिइन । ‘होइन फेरि तिम्रो मुहारमा आज किन औंसी लाग्या छ ? कि नन्दभाउजूको खटपट भयो ?’ ‘ हैन त्यस्तो केही हैन । तपाईँ विदेश जानु के बुढा !’ ‘आज के भुत चढ्यो तिमीलाई फेरि ? विदेश जान पैसा चाहियो नि ! हामीलाई कसले पत्याउँछ ।’ ‘बेले काकाले दिन्छु भन्दै हुनुुहुन्थ्यो ।’ सुरुमा रतनलाई बुढीको कुरा अनौठो लाग्छ । ऊ सोचाइमा पर्छ । हैन यहाँ बसेर जति नैं मरिमेटे पनि बिहानबेलुकाको गर्जो टार्न हम्मे–हम्मे पर्छ । बरु ऋणधन गरेर भए पनि विदेश नैं जान्छु भो।

रतनले विदेश जाने प्रक्रिया अघि बढाउँछ । पैसा बेले दाइले मिलाइदिन्छन् ।

छिट्टै उसको भिसा लाग्छ । घर बसुँ भोकले मरिन्छ विदेश जाउँ शोकले । यति भरिली श्रीमती अनि फूलजस्तै प्यारी बहिनीलाई एक्लो घर छोडेर कसरी जानुँ ?

रतन रातभरि निदाएको बहाना ग¥यो तर निदाउन सकेन । भोलिपल्ट कुबिजाको अनुहार हेरेर मुस्कुराउन खोज्छ । तर आँसुले भरिएको तलाउको डिल भत्किन्छ । अमिलो मन, भारी तन लिएर घरबाट निस्कदै गर्दा लक्की उसैको खुट्टामा लडीबुडी गर्दै मायाले सुम्सुम्याउँछ । कुबिजाले आफ्नो आधा मुटुलाई दबाएर भैंसीको गोठमा गई डाँको छोडेर रुन्छे।  

दिनहरू आफ्नै गतिमा सल्बलाइरहे । रतन दुबई पुगेर होटलमा काम गर्न थाल्छ । रतन निकै मेहनेती पनि थियो । ‘भाउजू बेले काकाको घर दाइको फोन आ’को थियो । म बोलेर आ’को । तपाईँलाई दिउसो तीन बजे माथि फोनमा बोलाइदिन भन्नुभएको छ ।’ जुनुले यति के भनेकी थिई कुबिजाको मन चङ्गा भयो । कतिबेला तीन बज्ला भो कुबिजालाई । आँगनको डिलमा घामले पारेको ओझेलको घेरा हेर्दै हिसाब गर्न थाली।

‘कुबिजा सञ्चै छौ ?’ ऊ एकछिन बोल्नै सक्दिन ।

‘किन नबोलेकी ? मेरो काम कति राम्रो छ । गाउँमा धेरै दुःख गरेको भएर होला विदेशको कामले मलाई त्यति अत्याउन सकेन । एकजना साथी आउँदै छ । पैसा पठाउँछु बेले काकालाई दिनू । अनि सुन त बहिनीलाई धेरै माया गर्नू । उसको बुवा,आमा र दाइ सबथोक तिमी नैं हो । कपुर बसाउने सुटकेश भनेकी छे । त्यो पनि पठाइदिन्छु ।’  

‘हस् ! अनि मेरो याद आउँदैन तपाईँलाई ?’ ‘त्यो पनि सोध्ने कुरा हो र लाटी ? म तिमीहरूकै खुसी किन्न सक्ने बन्न त विदेशमा छु ।’ कुबिजाले उसको आवाज सुनिरहन्छे । त्यो आवाज कति मीठो ! तिमी यहाँ हुदाँ जति सुन्यो उति सुनिरहूँ लाग्थ्यो । अझ टाढा हँुदा त यो आवाजमा भएको मिठासपनको हिसाबकिताब नैं छैन । तिम्रो आवाजलाई पटुकीमा कसेर राख्न पाए पनि हुने । ऊ नबोली मनमनै सोँच्छे । उताबाट रतन बोलिराख्छ । कुबिजा सुँक्क–सुँक्क गर्न थाल्छे । रतनले थाहा पाउँछ कि भन्ने डरले फोन काटिदिन्छे ।  

जुनु फुरुङ्ग हुँदै साथीहरूसँग चुङ्गी खेल्दै थिई । साथीहरूसँग कुरा गरेको कुबिजाले सुन्छे । ‘थाहा छ तिमीहरूलाई ? मलाई त दाइले कपुर बसाउने सुटकेस पठाइदिनुहुन्छ । अब त मेरो जामा पनि धनी मान्छेको कपडा जस्तै बसाउँछ ।’ कुबिजाले जुनुको खुसीलाई हेर्दै आफू पनि खुसी हुन्छे।

जुनु बढ्दै गई । ऊ गुराँस जस्तै खुल्दै गई । एकदिन कुबिजाले जुनुलाई लिएर बजार जान्छे । बजारमा रङ्गीचङ्गी कपडाहरू सजाएर बेच्न राखिएको थियो । जुनुले पसलमा भएका ती सुन्दर वस्त्रहरूमा आफू सजिएको कल्पना गर्न थाली । एउटा पसलमा भएको लेहेङ्गालाई घोरिएर हेरिरहेकी थिई । ‘नानी लेहेङ्गा मन प¥यो ?’ पसलेले सोध्छन् । तर ऊ मुन्टो हल्लाउँदै आफ्नो बाटो लाग्छे । पसलेले उसको चाललाई परै पुग्दासम्म हेरिरहन्छ।

केही दिनपछि जुनु साथीहरूसँग खेतमा मुसुरो च्यात्दै थिई । परबाट आवाज आउँछ । ‘ल सस्तो राम्रो लुगा हजुर !’ जुनुले सुरुमा उसलाई मनपर्ने लेहेङ्गा देख्छे । उसले लेहेङ्गालाई हेरी बेच्नेले जुनुलाई । उमेरले दिवास्वप्न देख्ने बेलाकी जुनु । त्यही बेला दुई बीच आँखा जुध्न थाल्छ । जुनु मुसुक्क हाँस्न खोज्छे तर डराउँछे । यसरी कपडा बेच्ने निहुँमा त्यो व्यापारी जुनुलाई पछ्याउँदै आउन थाल्छ । बिस्तारै जुनुले पनि उसलाई मन पराउन थाल्छे । उनीहरूको बीचको आकर्षण बढ्ने क्रममा हुन्छ।

‘नानी दाइले तपाईँलाई कपुर बसाउने सुटकेश पठाइदिनुभाको छ ।’  

‘आहा भाउजू !’ भन्दै जुनुले छिटो–छिटो सुटकेस खोल्छे । सुटकेसभित्र जुनुलाई मनपर्ने सामानहरू साथमा एउटा चिठी पनि थियो । चिठीमा लेखिएको थियो ।  

प्यारी बहिनी जुनु !  

धेरै पढ्नु, ज्ञानी मान्छे बन्नु, उमेर कच्चा छ । कसैलाई मन परिहाल्यो भने पनि सम्झनु त्यो आकर्षण मात्र हो । जीवन र लक्ष्यको तगारो हो । हरेक कुराको समय हुन्छ । समय बलवान् छ । अहिलेको तिम्रो समय पढ्ने, आफ्नो भविष्य बनाउने अनि आफ्नो जीवनको सुन्दर महलको परिकल्पनालाई साकार पार्न जाग्ने समय हो । तिम्रो नजीक रहेर अभिभावकको कर्तव्य पूरा गर्न सकिन । तिम्रो भविष्य सुन्दर बनाउने सपनाले मलाई निदाउन दिएको छैन । खुब मन लगाएर पढ्नू ।

                                                                           उही

तिमीलाई माया गर्ने दादा

सुटकेसभरि भएका रङ्गीन कलम, डायरी अनि महान व्यक्तित्वहरूको पुस्तकले उसको सिर्जनशील उमेरलाई चन्द्र छुने लक्ष्यतर्फ प्रेरित गर्न थाले । उसको व्यवहार र सोचाइमा दिनप्रतिदिन अनौठो परिवर्तन हुँदै जान थाल्यो । किशोर अवस्थामा हरेक सन्तानलाई ऊर्जा बनिदिने अभिभावकको जरुरत हुन्छ । कसैलाई मन पराउनु, चिटिक्क बन्न मन लाग्नु, आफूलाई संसारकै सुन्दर ठान्नु प्राकृतिक कुरा हो । बेसुरमा बग्न खोज्ने खोलीलाई किनारा बनेर सँगसँगै बग्न सिकाउनु हाम्रो कर्तव्य हो । कोइलालाई खारेर कोहिनुर बनाउन समर्पित हुनुपर्छ । दाइको कपुर बसाउने सुटकेसको कोसेलीले जुनुको जीवनलाई सही मार्ग देखाउँछ । लामो अध्ययन र संघर्षपछि अधिकृतको जागिरे बनेर जुनु घर आउँछे । सुटकेसमा राखिएका आफ्ना बाल्यकालका तस्वीरहरू हेर्दै आफ्नो आमाबुवाको सपना पूरा गरेकोमा आमाको तस्वीरलाई आफ्नो छातीमा टाँसेर आँसु बगाइरहेकी हुन्छे जुनु !  

प्रकाशित: २६ जेष्ठ २०७८ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App