१३ असार २०७९ सोमबार
कला

एक्लोपनको भ्रम

कथा

असार महिना। बाहिर झम्झम् पानी दर्किरहेको छ। मन्द हावा अनि पानीको चोटका कारण बोटबिरुवाबाट निस्किएका आवाजले मधुर सङ्गीतको आभास गराइरहेको छ। त्यही धुनमा मग्न हुँदा पनि आनन्द आउने। अहिले पनि परिवारका सदस्यले केही नभन्ने हुन् भने पानीमा आनन्दले भिजेर प्रकृतिसँग जिस्कन औधि मन लाग्छ। त्यसो त मलाई जीवनमा रमाइलो लाग्ने क्षणमध्ये एउटा पानीमा घण्टौँ भिजेर आनन्द लिनु पनि हो।  

झ्यालबाट बाहिर हेरेर रमिरहेकी थिएँ। शनिबार न पर्‍यो, परिवारका सबैको छुट्टी थियो। सरल पनि कम्प्युटरअगाडि बसेर अफिसको काम गरिरहेको थियो। उसको कामलाई नजिकै गुञ्जिरहेको मधुरो सङ्गीतले साथ दिइरहेको थियो। अदिति र आशीष पनि आफ्नै कोठामा थिए। मचाहिँ आफ्नो दैनिक काम सिध्याएर भर्खरै कोठामा आएकी थिएँ।  

जति नसम्झुँ भन्दा पनि यो झरीमा मलाई फेरि शशाङ्कसँगको मित्रताको क्षण याद आइरहेको थियो। त्यही यादमा भुल्दै म एकतमासले टोलाएर पानीका थोपाथोपा नियालिरहेकी थिएँ। यत्तिकैमा सरलको आवाजले मेरो एकाङ्कीपन भङ्ग भयो– वर्षा, तिमी किन यसरी टोलाएर बाहिर हेरिरहेको, भर्खरै भान्साको त्यत्रो काम सिध्याएर आएकी छ्यौ, एकछिन सुस्ताउ न, फेरि नास्ता र चिया खाने बेला हुन्छ। एउटा सघाउने मान्छे राख भन्दा पनि मान्दिनौ। त्यही भएर आजकल त भन्न पनि छाडिसकेँ।

मलाई अचम्म लागिरहेको थियो– शशाङ्कको ‘तिमी’ सम्बोधनप्रति। आजसम्म श्रीमान्ले समेत आफ्नो लुगा, खानेकुरा, कुन पहिरनमा राम्री देखिन्छु आदि विषयमा बोलेका थाहापत्तो थिएन। अहिले आएर यिनै विषयमा शशाङ्कले खुलस्त प्रशंसा गर्दा बल्ल आफ्नो परिचय पाएजस्तो लाग्यो मलाई। शशाङ्कका हरेक कुरा मन पर्न थाल्यो।

सरलका भनाइले मलाई कल्पनाबाट बाहिर लगिदिन्छ। आफैँलाई लाज भएजस्तो लाग्छ। फेरि भान्सामै जान्छु अनि सरल र आफूलाई कफी बनाउन थाल्छु। दूध/पानी बसालेर फेरि कल्पनामा डुबुल्की मार्न पुग्छु। उही अघिकै कल्पनाको निरन्तरता...।

विवाह भएको ५–७ वर्षपछि हाम्रा दुई छोराछोरी भइसकेका थिए। परिवारको खर्च पनि बढ्दै गइरहेको थियो। सरल अफिसको काममा व्यस्त। छोराछोरी सानै हुँदा म पनि घर र छोराछोरीको स्याहारसुसारमा व्यस्त। बिस्तारै छोराछोरी पनि आआफ्नो पढाइमा व्यस्त हुन थाले। त्यसपछि भने मसँग फुर्सदै फुर्सद। बिहानदेखि बेलुकासम्म खाली एक्लै। सरल र बच्चाहरूलाई कुर्नेबाहेक केही कामै थिएन भन्दा पनि हुन्छ। छोराछोरी घर आउँथे अनि आफ्नै कोठामा बस्थे, त्यो पनि ढोका लगाएर। सरल घरमा पनि अफिसकै काम लिएर आउने, त्यसैमा व्यस्त जतिखेर पनि। मचाहिँ सधैँ एक्लै। न आफूलाई समयअनुसार अपडेट राख्न मन लाग्ने, न केही गर्नै मन लाग्ने। न साथीसङ्गीसँग भेट गर्न मन लाग्ने न त अरू कुनै काममै रुचि।  

जीवनको ३५औँ वसन्तमा भर्खरै टेक्दैछु। किन यति धेरै नैराश्यता ? कसरी मैले आगामी जीवन बिताउने होला ? के छोराछोरीले आमालाई समय दिनुपर्दैन ? के श्रीमान्ले मलाई समय दिनुपर्दैन ? यी यस्ता प्रश्न थिए जसले मेरो जीवनलाई नैराश्यताको डिलतिर धकेलिरहेका थिए। यस्ता प्रश्नबाट पन्छिन खोज्थेँ तर आफ्नै मनलाई सम्हाल्न गाह्रो भइरहेको थियो।  

पानी पनि उम्लेपछि पोखिन्छ भन्छन्। अति भएपछि एक दिन साहस बटुलेर सरललाई भनेँ– सरल मलाई समय बिताउन एकदमै गाह्रो भयो। तिमीहरू त आ–आफ्नो काममा व्यस्त छौ। यो घरमा मैले बोल्ने र मलाई कहिलेकाहीँ गाह्रो/साँघुरो हुँदा भन्ने कसलाई ? मनको कुरा पोख्ने कोसँग ? यही पारा रहिरहने हो भने त म बिरामी पर्छु होला, सायद। अस्ति माइती भेटघाट कार्यक्रममा पनि म दिलैदेखि रमाउन सकिनँ। जति मेरी दिदी रमाएकी थिई। ऊ अझै यो काम गर्छु र त्यो काम गर्छु भन्दै थिई। मचाहिँ जीवनको अन्त्य कुरेर बसेको मान्छे जस्तो, जीवनप्रति नकारात्मक सोच मात्र। आखिर मानिस न हो। परिवारमा बस्न चाहन्छ। सुख–दुःख बाँड्न चाहन्छ। आफ्नो मूल्य जान्न खोज्छ। रातदिन परिवारका लागि समर्पित भएपछि त्यसको जस पनि खोज्छ। आखिर त्यो ‘स्याबासी’ नै किन नहोस्। माया पनि खोज्छ। विचार र भावनाविनाको मेसिनजस्तो बस्न सक्दैन।

‘होइन वर्षा, किन यति धेरै आत्तिएकी ? आफ्नो जीवनशैली त आफैँले बनाउने हो नि। अनि तिमीलाई मैले के कुरामा रोकतोक गरेको छु ? तिमीले जे भन्यौ त्यही मानेकै छु। रह्यो, तिमीले मेरो समय पाइनौ भन्ने सवाल। अब घर चलाउन आम्दानी गर्नैपर्‍यो। त्यसका लागि पनि व्यस्त त हुनैपर्‍यो नि हैन र ? छोराछोरी पढ्दै छन्, उनीहरूका लागि पनि खर्च चाहिन्छ’, सरलले एकोहोरो आफ्नो कुरा भनिरह्यो, ‘कुरा बुझ न वर्षा, अझ केही वर्ष मेरो काममा आउने र जाने ठेगान हुँदैन। तिमी पनि आफूलाई व्यस्त राख। घुमफिर गर। कलेज जीवनमा कथा/कविता लेख्थ्यौ। त्यसलाई कन्टिन्यु गर। साथीभाइ बनाऊ। यसरी आफ्नो विचार सकारात्मक बनाऊ। मन लागेको गर। हेर वर्षा, जीवनको साँचो आफैँसँग हुन्छ। आफैँ आफ्ना लागि बनाउने हो। अरू त केही क्षणका लागि मात्र हो। तिमीले आफ्ना लागि जे गर्‍छ्याै, त्यही तिम्रो हो।’

भयो, भयो सधैँभरि एउटै कुरा। एक्लै बाँच्नुपर्र्ने अनि एक्लै खुसी हुनुपर्ने मैले मात्र ? पुग्यो, नदेऊ यस्ता अर्ती उपदेश– मैले उसलाई बीचमै रोकेँ।

समय बित्दै गइरहेको थियो। छोराको पढाइ अलि कमजोर थियो। उसका लागि ट्युसन टिचर खोजियो। जो सरलको साथीको भाइ शशाङ्क थियो। ऊ ५ देखि ७ बजेसम्म पढाउन आउँथ्यो। काठमाडौं विश्वविद्यालयबाट एमबिए गरिरहेको फरवार्ड केटो थियो। आफ्नो घरजस्तै गरेर नास्ता र चिया खान भान्सामै आउँथ्यो। अनि दिएको खाना स्वाद लिइलिई वर्णन गरीगरी मज्जाले खान्थ्यो। त्यति मात्र हो र ? कसरी बनाएको यस्तो मीठो खाना, यस्तो त आजसम्म खाएकै थिएन भनेर फुर्काउँथ्यो पनि बेलाबेला। एकदमै बोल्नुपर्ने, रमाइलो कुरा गर्नुपर्ने, आफ्नो कुरामा सबैलाई मुग्ध पार्ने कलाको धनी शशाङ्क अति फरासिलो मात्र नभई रमाइलो समेत थियो।  

जबदेखि शशाङ्क आउन थाल्यो, त्यसपछि नै हो हाम्रो घरमा हल्ला, हाँसो, ठट्टा हुन थालेको। म पनि आज शशाङ्कलाई नास्ता के बनाएर ख्वाउँ भनेर सोच्ने भएँ, ऊ आउनुअघिदेखि नै। अनि नयाँनयाँ परिकार बनाउन जाँगर पनि चलाउन थालेँ। यो दुनियाँमा मैले बनाएको खाना मन पराउने अनि मेरो गुणगान गाउने मानिस पनि रहेछ भन्ने लाग्न थाल्यो। खानाको मात्र के कुरा ? कहिलेकाहीँ शृङ्गार नगरी बस्दा किन आज यस्तो उदास भएर बसेको भनेर पनि सोध्थ्यो। ‘वर्षा तिम्रो निधारमा टीका एकदमै सुहाउँछ, अस्तिको हरियो कुर्ता–सुरुवालमा कति राम्री देखिएकी, साँच्चै त्यो दिन मैले तिमीबाट आफ्नो नजर हटाउनै सकेको थिइनँ, किनकिन तिमीले जे लगाउँदा पनि सुहाउँछ। सरलदा कति भाग्यमानी, तिमीजस्ती राम्री जीवनसाथी पाएको, भगवान्ले तिमीजस्तै राम्री श्रीमती जुराइदेओस् मलाई पनि’– यस्ता कुरा पनि ख्याल–ख्याल हुन थाले उसका लागि।  

आज मलाई अचम्म लागिरहेको थियो– शशाङ्कको ‘तिमी’ सम्बोधनप्रति। आजसम्म श्रीमान्ले समेत आफ्नो लुगा, खानेकुरा, कुन पहिरनमा राम्री देखिन्छु आदि विषयमा बोलेका थाहापत्तो थिएन। अहिले आएर यिनै विषयमा शशाङ्कले खुलस्त प्रशंसा गर्दा बल्ल आफ्नो परिचय पाएजस्तो लाग्यो मलाई। शशाङ्कका हरेक कुरा मन पर्न थाल्यो। त्यसपछि नै हो, मेरो जीवनप्रतिको सोचाइ र बुझाइ भिन्न हुन थालेको।  

समय सधैँ एकनास कहाँ हुन्छ र ? त्यसपछि मैले जीवनलाई नयाँ तरिकाबाट सोच्न थालेँ। आफूलाई अपडेट राख्न थालेँ। अझै मेरो जिम्मेवारी धेरै छ, मैले गर्नुपर्नै कार्य थुप्रै छन्। सिक्नुपर्ने क्षेत्र अथाह छ भन्ने लाग्न थाल्यो। अर्कोतर्फ छोराको पढाइ पनि राम्रो हुँदै गयो। त्यही कारण मेरो परिवारले शशाङ्कप्रति धेरै विश्वास गर्न थाल्यो। ऊ सबैको प्रशंसाको पात्र हुन थाल्यो। अझ सरल त शशाङ्कको प्रशंसा गरेरै थाक्ने थिएन, आखिर उसको साथीको भाइ न प¥यो। यसरी बिस्तारै शशाङ्क पनि मेरै घरको सदस्यजस्तै भइसकेको थियो। यताउता मात्र हैन, सिनेमा हेर्न होस् वा किनमेल गर्न, सरलले नै शशाङ्कसँग जाऊ भन्थ्यो मलाई। म पनि खुसी भएर ऊसँग हिँड्थेँ।  

समय राम्रैसँग बितिरहेको थियो। मेरो एक्लो जीवनमा एउटा साथी पाएकी थिएँ। यो मित्रता भन्ने पनि कति ठूलो कुरो रहेछ। जसले निराश जीवनमा हाँस्न, बाँच्न र रम्न सिकाउने। यही मित्रताको महत्व भएर होला, कृष्णजी र सुदामाको मित्रताको उदाहरण युगौँसम्म सम्झना गरेका मानिसले। शशाङ्कको धेरै समय हाम्रै घरमा बित्थ्यो। उसले मेरो काममा पनि सघाउन थाल्यो। म पनि साथी पाएकाले बेखुसी हुनुपर्ने कुनै कारण थिएन। सरल हप्तामा १–२ चोटि कामविशेषले बाहिर गइरहनुपथ्र्यो। एक दिनको कुरा हो– शशाङ्क घरमा आउँदै उदास थियो। मसँग राम्ररी कुरा पनि गरेन। अनि मैले किन उदास छौ, के भयो तिमीलाई आज भनी सोध्दा केही भएको छैन भन्यो। धेरैचोटि सोधेपछि बल्ल उसको ओठ खुल्यो– आज मेरो मोबाइल हरायो। दाइले किनिदिनुभएको थियो। अब दाइसँग कुरा गर्न पनि नपाउने भएँ। उहाँ रिसाउनुहुने भो। यति सानो कुरामा पनि मन किन खल्लो पारेको ? कति पर्छ ? म दिन्छु।

पर्न त ३५ हजार पर्ने हो तर अबचाहिँ एप्पलको फोन लिन मन छ, त्यसको डेढ लाख जति पर्छ, सबै साथीको एकसे एक फोन छ। उसको कुरा सुनेपछि एकछिन सोच्न बाध्य भएँ तर आफ्नो साथीको अनुहार मधुरो भएको देखेर आफूले बचत गरेको पैसा ल्याएर दिएँ, खुरुक्क।

ओहो वर्षा, तिम्रो यो मित्रताको ऋण म जीवनभर भुल्दिनँ। थ्यांक यु वर्षा, भोलिपर्सि कमाएर तिर्छु, अवश्य...।

ऊ खुसी भयो। ऊ खुसी भएको देखेर म पनि खुसी भएँ। उसका चाहना यसै गरी बढ्दै गइरहेका थिए। म पनि उसका चाहना सकेसम्म पूरा गर्न खोज्थेँ। मलाई विगतको त्यो शून्यपनमा फर्कन पटक्कै मन थिएन। एक्लै कफी पिउने मन पनि थिएन। सरलसँग गर्न नपाएका कुरा गुम्स्याउने मन पनि थिएन। अनि आफूले गरेका हरेक कार्यको मूल्याङ्कन गर्ने साथी गुमाउने मन त झनै थिएन। एक्लै काम गर्न अनि एक्लै खान मन पनि थिएन। त्यसैका लागि त मैले शशाङ्कका सबै आर्थिक इच्छा पुर्‍याउँथेँ।

यसरी नै दिन बितिरहेका थिए। ममा पनि धेरै परिवर्तन आएको थियो। सरल मात्र हैन, छोराछोरीप्रति पनि कुनै गुनासो थिएन। प्रायः शशाङ्क घरमा आउँथ्यो अनि चिया, कफी पिएर जान्थ्यो। यत्तिकैमा फेरि एक दिन उसले मोटरसाइकल किन्न पाए आफ्नो समय बचत हुने र अरू दुई–चार ठाउँमा काम गर्न भ्याउने बतायो। नत्र दाजुले घरमै फिर्ता बोलाएको कुरा पनि सुनायो। अनि भविष्यमा कमाएर तिर्छु भन्दै तीन लाख रूपैयाँ मसँग माग्यो। म केही नबोली कोठामा गएँ। मेरो गाडीको इन्स्टलमेन्टको पैसा थियो। त्यहीमध्येको झिकेर उसलाई दिएँ। विश्वास थियो कि पछि उसले दिइहाल्छ। अनि मोटरसाइकल भएपछि काठमाडौं छाडेर जाँदैन। पैसा दिँदै गर्दा उसको फोनको घन्टी बजेको बज्यै गर्न थाल्यो। दाइको फोन भनेर बाहिर अलि टाढा गएर कुरा गर्न थाल्यो। म भने कफी बनाउन भित्र पसेँ। धेरै बेरसम्म नआएपछि उसलाई बोलाउन बाहिरै गएँ। ऊ भने अझै पनि फोनमै व्यस्त। त्यत्तिकैमा उसको बातचित मेरो कानभित्र प्रवेश ग¥यो। भन्दै थियो– पैसावालकी श्रीमतीलाई फकाइरहेको छु, मैले भनेको जे पनि मान्छे, मेरो मित्रतामा विश्वास गरेकी छे, भर्खरै तीन लाख मागेँ, फेरि तुरुन्तै १० लाख कसरी मागुँ ?  

मलाई देख्नेबित्तिकै ऊ आत्तियो। मैले पनि केही नबुझेजस्तो, थाहा नपाएजस्तो गरी उसलाई कफी दिएँ। ऊ जरुरी काम पर्‍यो भनेर तुरुन्तै निस्कियो त्यहाँबाट।  

मेरो भने हातखुट्टा कामिरहेको थियो। एक पाइलो अघि सार्न सकिरहेकी थिइनँ। एकैछिन भित्तामा अडेस लागेर उभिइराखेँ। आँखाबाट अनायासै झरिरहेका बलिन्द्र आँसु रोकिने कुनै छाँटकाँट थिएन। आफ्नो एक्लोपन हटाउन एउटा मात्रै साथी पाएकी थिएँ, त्यो पनि टाढिन्छ कि भनेर उसका हरेक आर्थिक इच्छा/आकाङ्क्षा पुर्‍याएँ। हीरा भनेर सम्हालेको साथी त काँचको टुक्रा पो परेछ। मलाई सम्झीसम्झी आफैँमा घृणा लाग्न थाल्यो। त्यस्तो नराम्रो सोच भएको मान्छेलाई मैले कसरी चिनिनँ ? आफैँमाथि प्रश्न सोधिरहेँ। मान्छे चिन्न नसकेकामा ईश्वरसँग क्षमा मागेँ। मैले मात्र हो र ? हामी सबैले एउटा शुभचिन्तक अनि असल साथीका रूपमा लिएका थियौँ उसलाई। असल बोली, वचन र व्यवहारका कारण सच्चा मित्र बनाएकी थिएँ। उफ् कस्तो गलत मानिस पो परेछ। उसका शब्दले घोचिरह्यो बारम्बार– कस्तो नराम्रा शब्द बोलेको शशाङ्कले मेरोबारेमा। जिउ भारी पारिरहन चाहिनँ। त्यसैले बाथरुम पसेँ र नुहाएँ। केही हलुका हुने अपेक्षासहित।

अनि भोलिपल्ट फेरि आइपुगेको शशाङ्कलाई भनेँ– तिम्रो फोनको कुरा मैले हिजो सबै सुनेँ। अब यो नाटक नगर। जीवनमा मित्रताको ठूलो महत्व हुन्छ। यसलाई बुझ। सुन, मसँग सापट लिएको सबै पैसा सकेसम्म सरलको खातामा हालिदेऊ। शशाङ्क टाउको निहुराएर मेरो सबै कुरा सुनिरहेको थियो। त्यसपछि म ढोका लगाएर भित्र पसेँ। पूजा कोठामा गएर भगवानसँग प्रार्थना गरेँ– मलाई थप बर्बादीबाट बेलैमा बचाइदिएकामा धन्यवाद।

कफीको पानी उम्लिएर भुइँभरि पोखिएको थियो। सरल आएर बोलाएपछि म आफ्नो कल्पनाबाट बल्ल ब्युँझेँ। ‘यथार्थतालाई स्विकार्नुपर्छ, त्यसैमा रमाउनुपर्छ। हरेक व्यक्तिले आफ्नो जीवन आफैँ बनाउने हो। सरल बनाए सरल हुन्छ, जटिल बनाए जटिल। अहिलेको यथार्थ त तिमी र म सँगै छौँ, सँगै कफी पिउँ’– कति राम्रो सोचाइ सरलको। यथार्थ अनि सत्य कुरा। सजिलोसँग उद्धृत गरेँ आज। सरलका हरेक वाक्यमा अमृत घोलेको महसुस हुन्थ्यो। जीवनसाथी भनेको जीवनसाथी नै हो। एक्कासि सरललाई अङ्गालो मार्न पुगेछु– आइ लभ यु सो मच !

प्रकाशित: २२ जेष्ठ २०७८ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App