८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

डार्विन, विकासवाद र अध्यात्म

डा.गणेशप्रसाद घिमिरे

संसार र मानव सभ्यताको विकास ईश्वरीय देन होइन, यो क्रमिक विकासको आधार हो। यो सैद्धान्तिक आधार पेस गर्नु विकासवादी सिद्धान्त हो। विकासवाद वैज्ञानिक सिद्धान्त हो। यसका अन्वेषक र खोजकर्ता चाल्र्स डार्विन (१८०९–१८२२) हुन्। उनको सैद्धान्तिक आधार प्रकृतिको सिद्धान्त सन् १९५९ मा आएको हो। सो सिद्धान्तको कसीमा डार्विनको विकासवादबाहिर आएको हो। डार्विन विकासवादी अन्वेषक हुन्।  

डार्विनको यात्रा  

तत्कालीन समय बेलायत क्रमिक विकासको गतिमा थियो। पृथ्वी र मानिसको उत्पत्ति ईश्वरीय वरदानबाट भएको हो भन्नेमा पूर्ण विश्वास थियो बेलायतमा पनि। चर्च र जीव उत्पत्तिका विरुद्धमा बोल्न पाउने अवसर कतै थिएन। चिकित्सक बन्ने उद्देश्यले अध्ययनमा लागेका डार्विनलाई प्रकृतिप्रेमले तानिरहेको थियो। उनी प्रकृतिको अध्ययनमै केन्द्रित रहेर अघि बढे। सन् १८३१ देखि १८३६ सम्म डार्विन विश्वयात्रामा निस्के। यो यात्रामा गरेको अध्ययनले डार्विनलाई नयाँ सिद्धान्तको खोजमा अग्रसर गरायो। बेलायतको कट्टरपन्थमा डार्विनको विकासवाद गतिशील बनेर आएको पाइयो। डार्विन एक वैज्ञानिकका रूपमा देखापरे। जसले पश्चिममा मात्र होइन, पूर्वको चिन्तनमा पनि नवीन धारणालाई बाहिर ल्याए। त्यही सैद्धान्तिक आधारलाई गतिशील तुल्याउने काम डार्विनको विकासवादले गरेको पाइयो। समुद्रको चट्टान र त्यसमा विद्यमान जीवको अवशेष अध्ययन गरेर डार्विनले नयाँ सिद्धान्तलाई बाहिर ल्याएका हुन्। त्यो सिद्धान्त आजको वैज्ञानिक युगमा नयाँ मान्यता बनेर आएको छ। जसलाई उनले विकासवाद भने।  

विकासवादको पहिलो चरण  

सृष्टिलाई ईश्वरीय क्षमताको विकास मान्ने प्रक्रियामा डार्विनले संसारको हरेक तत्वको विकास क्रमिक रूपमा भएको तथ्यलाई बाहिर ल्याए। उनले कुनै पनि प्राणीले बाँच्नका लागि संघर्ष गर्नुपर्छ। संघर्षबिना संसारको कुनै प्राणी बाँच्न सक्दैन। भोजनका निमित्त र बाँच्नका निमित्त गरिने संघर्षले जीवनलाई गति दिएको हुन्छ। यो जिजीविषाको सन्दर्भमा अध्यात्मले एउटा धारणा अघि सारेको छ, यसलाई मत्स्यन्याय (ठूलोमाछाले सानो माछालाई खान्छ) भनिन्छ  

अहस्तानि सहस्तानामपदानि चतुष्पदाम्

फल्गुनि तत्र महतां जीवो जीवस्य भोजनम्।।

अर्थात्, हात नभएकालाई हात भएकाले, खुट्टा नभएकालाई खुट्टा भएकाले सानालाई ठूला जीवले आहारा बनाउँछन्।  

यो संघर्ष होइन र ? यो कुरा भागवत महापुराणमा उहिले नै आएको हो। भागवत पुराणको समय इसाको पहिलो शताब्दी मानिएको छ। डार्विनको खोज इसाको १९औँ शताब्दी हो। त्यसैले भन्न सकिन्छ, विकासवाद अध्यात्मवादको पछि आएको सिद्धान्त हो, पहिले होइन।

डार्विनको जीवोत्पत्ति

डार्विनको पाँच वर्षको अध्ययन र निष्कर्षले जीवको उत्पत्तिमा नयाँ दृष्टि बाहिर ल्यायो। पहिले जलचर, उभयचर, मेरुदण्डको हाड भएको प्राणी, मानव आउनु पूर्वको पशुरूप, पुड्के मानिस र मानिसको उत्पत्ति डार्विनको विकासवाद हो। यही सिद्धान्तलाई प्रामाणिक मान्ने हामी ईश्वरीय आधारलाई मान्न तयार छैनौँ।

अध्यात्म चेतनाका आधारमा सृष्टिको कर्मलाई भागवत् पुराण भन्छ–  

सृष्ट्वा पुराणि विविधान्याजयात्मशक्त्या।

वृक्षान्न् सरीसृपपशून् खगदंशमत्स्यान्।

तैस्तैरतुष्टहृदयःपुरुषं विधाय।

ब्रह्मावलोकधिषणं मुदमाप देवः।

अर्थात्, भगवान्ले मायाशक्तिका माध्यमबाट विभिन्न प्रकारका वृक्ष, घिस्रेर हिँड्ने जीव, पशु, खग (आकाशमा उड्ने पक्षी) दंश (सर्प, बिच्छी) मत्स्य (माछा) आदि सृष्टि गरे। यो सृष्टिबाट ईश्वर सन्तुष्ट भएनन्। अन्त्यमा मानवको सृष्टिले भगवान् सन्तुष्ट भएको कुरा उल्लेख गरिएको छ। यो सृष्टिको क्रम निर्धारण डार्विनको विकासवादले पनि गरेको छ। यो सैद्धान्तिक आधारमा डार्विन प्रमाणित र अध्यात्म अप्रमाणित किन ? अध्यात्मलाई अप्रमाणित मान्ने होड र अध्ययनको अभावले यो स्थिति सिर्जना भएको होइन र ?

विकासवाद अध्यात्मवाद

डार्विनको विकासवादले जीवको उत्पत्ति र त्यसको विकासलाई क्रमिक मानेको छ। जीव एक्कासि मानिसका रूपमा आएको होइन। यही कुरालाई अध्यात्मवादी चिन्तनले सरल तरिकाबाट बाहिर ल्याएको छ, जीव विकासको आधार। अध्यात्मवादको पहिलो आधारमा जीवोत्पत्तिलाई यसरी उल्लेख गरिएको पाइन्छ।  

पहिलो अवतार माछो हो। माछो जलचर हो। दोस्रो अवतार कछुवा हो, कछुवा उभयचर प्राणी हो। तेस्रो अवतार वराह (बँदेल) हो। जसमा मेरुदण्डको हड्डी रहेको छ। चौथो नारसिंह हो। शरीरको कम्मरदेखि तलको भाग मानिस र कम्मरदेखि माथिको भाग सिंह। पाँचौँ अवतार वामन। मात्र ५२ औँलाको व्यक्ति। छैटौँ अवतार परशुराम पूर्ण मानव। यो अध्यात्मको चेतना र यसले व्यक्त गरेको पौराणिक मान्यता हो। यही आधारमा डार्विनको विकासवाद कहाँ छ भन्ने कुरा प्रमाणित गरिदिएको छ।

आयु निर्धारण  

डार्विनको विकासवाद जीवको उत्पत्तिका सन्दर्भमा उल्लेख्य प्रमाण लिएर आएको छ। तिनको आयुका सन्दर्भमा विकासवाद निर्णयमा पुग्न सकेको छैन। अध्यात्मवादले आयुको निर्णय गरेको छ। शुक्रनीतिमा आयुका सन्दर्भमा भनिएको छ–

शतमायुर्मनुष्याणां गजानां परमं स्मृतम्  

चतुस्त्रिंशत्तु वर्षाणांमश्वस्यायु परं स्मृतम्  

पञ्चविंशति वर्षाािण मरमायुर्वृषोष्ट्रयो।।

अर्थात्, मानिस र हात्तीको आयु सय वर्ष, घोडाको ३४ वर्ष, ऊँट र गोरुको २५ वर्ष आयु मानिएको छ। डार्विनको विकासवाद आयु निर्धारणमा चुकेको देखिन्छ। विकासवादले जीवको उत्पत्ति र त्यसले निर्धारण गरेको संघर्षलाई बाहिर ल्यायो। आयु निर्धारणमा डार्विनभन्दा अध्यात्म नै बढी सिर्जनशील देखिएको छ। सम्भवतः विज्ञानले प्राणीको उत्पत्तिलाई त बाहिर ल्यायो, आयुनिर्धारण गर्न सकेन।  

विशिष्ट स्थिति  

डार्विनको विकासवादले उत्पत्तिको अवस्थालाई संघर्ष मानेको छ। अध्यात्ममा देखिएका विभिन्न दर्शनले कार्य र कारणको अवस्थालाई सिर्जनाको आधार मानेको छ। प्रकृति र पुरुषको सहयात्रा सृष्टि मान्ने साङ्ख्यशास्त्रले सिर्जनालाई कार्य–कारण भाव मानेको छ। विशिष्ट जलवायुको योगबाट अंकुरित, पुष्पित, विकसित र फलित हुँदा मात्र त्यसका भेद बाहिर आउँछन्। माटो कारण हो, माटोबाट बनाउने विभिन्न भाँडा कार्य हुन्। सुन कारण हो, सुनबाट निर्मित विभिन्न गहना कार्य हुन्। यो कार्य कारणावस्थाका माध्यमबाट सिर्जित जगत् हो। यो कुरा डार्विनको विकासवादले बताउन सकेन। विकासवाद निर्माणमा र उत्पत्तिमा रहेको सिद्धान्त हो। अध्यात्मवाद कारण–कार्यमा निहित रहेको सिद्धान्त हो। अध्यात्मले कारण नभई कार्यको उपस्थिति मान्दैन, कार्य हुनलाई कारण अनिवार्य मान्छ। कारणको उपस्थितिविना कार्य सम्भव छैन। न्याय सिद्धान्त भन्छ–

अन्यथासिद्धिशून्यस्य नियता पूर्ववर्तिता।

कारणत्वं भवेत्तस्य त्रैविध्यं परिकीर्तितम्

अर्थात् कार्यको नजिकको क्षणमा रहेर कार्यको उत्पत्तिका लागि जसले सहयोग गर्दछ, त्यसलाई कारण भनिन्छ।

यहाँ कारणविना कार्यको उपस्थिति सम्भव छैन। त्यो अध्यात्म चिन्तनको कार्य–कारण भाव हो। यही भावलाई ईश्वरीय सृष्टि मानेको छ, अध्यात्मले।  

चयनको स्वतन्त्रता  

डार्विनले विकासवादमा प्राकृतिक चयनको स्वतन्त्रता दिएका छन्। उनले प्रकृति चयनमा पाँच तत्वलाई निर्धारण गरेका छन्। परिवर्तन सबैतिर विद्यमान छ, उत्पादनमा अत्यधिक वृद्धि अनिवार्य छ, जीवन सङ्ग्राम हो, अयोग्यको नाश र योग्यको रक्षा जीवन हो, योग्यहरूको वंशविस्तार विकासवादको निणर्य हो। यो डार्विनले विकास गरेको प्रकृति चयनको स्वतन्त्रता हो। जीवन संघर्ष हो। प्रत्येक प्राणी बाँच्नका लागि सदैव संघर्ष गरिरहन्छ। संघर्षविना जीवन सम्भव छैन। त्यसैले वीरभोग्या वसुन्धरा (पृथ्वी वीरहरूका लागि हो) भनेर उल्लेख गरिएको छ। यसले के प्रमाणित गरेको छ भने डार्विनको विकासवाद पहिले नै उनको सिद्धान्तलाई प्रमाणित गर्ने आधार अध्यात्ममा विद्यमान थियो। डार्विनले चयनको स्वतन्त्रता दिए। यो कुरा अध्यात्मवादमा परापूर्व कालमा विद्यमान थियो। यो तथ्यलाई न विज्ञानले, न डार्विनको विकासवादले नकार्न सक्छ।

पश्चिमा जगत्मा अथवा भनौँ बेलायतमा डार्विनको विकासवादले जुन तथ्यलाई प्रामाणिक मानेर बाहिर ल्यायो, त्यसले त्यहाँको परिस्थितिलाई मूल्यांकन गरेको थियो। त्यतिबेलाको बेलायतले डार्विनको विकासवादलाई अस्वीकार गरेको थियो। डार्विनले उक्त वादलाई प्रामाणिक भूमि दिएर बाहिर ल्याएका हुन्।

अध्यात्म र भौतिक  

विकासवाद वा कुनै वाद किन नहोस्, विज्ञानले प्रमाणित गरेर बोलेको हुन्छ। अध्यात्ममा त्यस किसिमको अवस्था पाइँदैन। त्यसैले अध्यात्मवाद पछि परेको अड्कल काट्न सकिन्छ। डार्विनले उक्त सिद्धान्तलाई आफ्नो पाँच वर्षको अध्ययन भ्रमणका आधारमा बाहिर ल्याएका हुन्। अध्यात्मवाद हजारौँ वर्षको तपस्या र ऋषिहरूको आस्थाबाट बाहिर आएको हो। ऋषिहरूलाई मन्त्र द्रष्टाका रूपमा मानिन्छ। त्यसकारण साम्य र वैषम्यका बीचमा रहेको छ, भौतिकवाद र अध्यात्मवाद। डार्विनको विकासवाद आउनुपूर्व नै अध्यात्मवादको इतिहासमा वेद, उपनिषद, पुराण आएका थिए। यो प्रामाणिक तथ्य हो। विकासवाद र विकासवादले निम्त्याएको जीवको उत्पत्तिलाई आजको अवस्थामा हेरिनु हुदैन। तत्कालीन समयको अवस्था र त्यसले सिर्जना गरेको तथ्यलाई प्रमाणित मानेर हेर्नुपर्ने हुन्छ।

वेद, स्मृति र पुराण साक्ष्य  

संस्कृत साहित्यको इतिहास लेख्ने सन्दर्भमा आज पनि एबी किथको इतिहास नै प्रामाणिक मानिन्छ। भारतमा शासन गरेका अङ्ग्रेजले संस्कृतको इतिहास लेखे। वेद, स्मृति, पुराण र साहित्यको अध्ययन गरे। उनीहरूले काव्य सिर्जना त गरेनन्, तर इतिहासलाई जीवन्त बनाए। मैक्समुलर, किथ, गेटे, याकोबीजस्ता विद्वान् र दार्शनिक भारतमा आए। अध्ययन गरे र संस्कृत भाषा र साहित्यलाई प्रामाणिक इतिहास दिए। उनीहरूले अध्ययन गरेको इतिहासले काव्यको साक्ष्यलाई इसापूर्व प्रथम शताब्दी मानेको छ। वेदलाई अपौरुषेय वा श्रुति मानिन्छ। वेदका सन्दर्भमा प्रामाणिक आधार पश्चिमका विद्वान् र अन्वेषकले पनि दिन सकेका छैनन्। त्यसको लेखाजोखा पश्चिमा भौतिक जगत्मा हुन सकेको छैन। भौतिक जगत्ले दिएको आधार, त्यसले निर्वाह गर्ने समयको कसीमा अध्यात्म कहिले पछि पर्न सक्ने अवस्था देखिँदैन। वाल्मीकिको रामायण, महाभारत र पुराणको रचना सामान्यतया इसाको प्रथम शताब्दी मानिन्छ। नेपालबाट बौद्ध धर्मको प्रचारप्रसार भएको हो। बुद्ध नेपालका सम्पत्ति हुन्। उनले बौद्ध धर्मलाई आध्यात्मिक चेतनाका माध्यमबाट विश्वजनिन बनाए। आज बौद्ध धर्मको विकास संसारभर भएको छ। उनको समय इसापूर्व ५६३ मानिएको छ। यसरी डार्विनको विकासवादले निम्त्याएको सैद्धान्तिक आधार सनातन परम्परामा इसापूर्व नै स्थापित भएको मानिन्छ। बुद्धकै समयमा स्मृतिहरू बाहिर आएका हुन्।

जीव उत्पत्तिका दृष्टिले हेर्दा मत्स्य, कुर्म, वराह, नृसिंह र वामन अवतार सत्ययुगका हुन्। आध्यात्मिक कोणबाट हेर्ने हो भने परशुराम अवतारलाई त्रेता युगको मानिएको छ। युगको अपेक्षाका आधारमा सनातन परम्परामा चार युगको कल्पना गरिएको छ। सत्य युगमा नै डार्विनको सिद्धान्तलाई परिभाषित गर्ने कार्य अध्यात्मवादमा देखा परिसकेको थियो। यो अवस्थाको कल्पना डार्विनले १९औँ शताब्दीमा गरे। त्यो समय बेलायत धार्मिक असहिष्णु थियो। पादरी, चर्च र क्रिस्चियन धर्मका बारेमा केही बोल्न पाइन्नथ्यो। त्यस्तो समयमा विकासवादी सिद्धान्त बाहिर ल्याएर डार्विनले पक्कै पनि क्रान्ति गरेका हुन्।

साक्ष्य र प्रमाणका आधारमा हेर्ने हो भने पूर्वको सनातन, अध्यात्म परम्परा आजको नभई पूर्व युगको देन हो। हामीले पढ्न जान्यौँ तर पश्चिमले सुविधा सम्पन्न भएर त्यसलाई प्रमाणित गर्न सक्यो। त्यसैले सनातन परम्परामा विद्यमान रहेका धेरैजसो कुरालाई आज विज्ञानले प्रमाणित गरेको छ। यो नै अध्यात्मको सफल बाटो हो। हामी पढौँ, बुझौँ, लेखौँ र अध्यात्मको प्राचीन र प्रमाणित बाटोलाई गति दिऊँ।

प्रकाशित: ८ जेष्ठ २०७८ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App