१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

भेरीमा बगेको समय

कविता

म नवराज विक

वर्ष– २१

वर्ण– शूद्र

जात– विश्वकर्मा

अभियोग– अन्तर्जातीय प्रेम।

 

सबै प्रकारको विभेद र उत्पीडनको

अन्त्य गरिएको

म एक सार्वभौमसत्ता सम्पन्न नागरिक

माफ गर्नुहोला

मैले जात नहेरी प्रेम गरेँछु  

म एक जात नमिलेको प्रेमी।

 

मैले प्रत्येक वर्ष सामाजिक पुस्तकमा पढेथेँ–

देशको मूल कानुन हो, संविधान।

त्यही दिनदेखि  

बिस्तारै स्वतन्त्रताको उडान भर्न खोज्दै थिएँ

तर, दूर–सुदूरसम्म पुगेनछ

संविधानका परिभाषित अर्थहरू

र समयको चेतना।

 

मलाई कसैले सिकाएनछन्–

देशको मूल कानुनभन्दा बलियो हुन्छ

बाबुसाहेबका निजी नीतिहरू,

समाजका अलिखित नियमहरू  

संविधानसँग बाझिएको हदसम्म खारेज हुन्छ।

मैले बिर्सेंछु–

मान्छेलाई अहंकारले छोपेपछि

संवेदनाहीन क्रूरताले शासन गर्छ भनेर।

 

आफ्नो सत्य इतिहासमाथि

मलाई झुटो गर्व रहेछ–

यो देश बनाउन  

हतियारसँगै जीवन अर्जापेँ

जुन आरनको अवशेषमा  

यो देशको सिमाना, सभ्यता र संस्कृतिको अनुहार छ  

के मेरो प्रश्न झुटो हो–

यो देशको कुन परिवर्तनमा  

मेरो खुन बगेको छैन,

आँसु र पसिना बगेको छैन ?

 

मैले  

कसैलाई प्रेम गर्नु अपराध करार भयो  

यही अभियोगमा  

स्वघोषित महामानवले बगाइदिए

मेरो देशप्रतिको मोह

जीवनप्रतिको अमर प्रेम  

र, पानी नचलाइएको नश्लीय एक शरीर  

इतिहासको भेरीमा।

 

माफ गर्नुहोला,

वर्ग, नश्ल, जात र परम्परा भन्दामाथि उठेर

मैले मानव हुने दुस्साहस गरेँछु

मान्छे हुन वर्जित यो समाजमा  

आफ्नो अस्तित्व निर्माण गर्न खोजेँछु।

 

भेरीमा बग्दै गर्दा  

मेरो यो प्रश्न छ–  

नदीले निर्माण गरेको तिम्रो सभ्यता  

मेरो लाससँगै कुहिँदैन र ?

प्रकाशित: ८ जेष्ठ २०७८ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App