८ वैशाख २०८१ शनिबार
कला

प्रशान्तको किनारमा उभिएर

संस्मरण

उदय निरौला

 

हिजो घाम बास बसेपछि प्रशान्त ! छाडेको थिएँ तिमीलाई अधूरै रअपूरै। राति पनि आँखाहरू बाटिन , लट्ठिन र कसिन निकै हम्मे परेको थियो। मलाई तिम्रा ती छालहरूका गडगडाहटका नादहरू संगीत बनेरै आइरहे कानमा तिमी लाग्छ आँखामा मात्र हैन कर्णप्रिय पनि बढ्दै नै छौ। अहिले टुप्लुकिएँ यी घामका छिप्पट उष्णताका किरणहरूसँगै। तिमीले बदलेकी पनि छैनौं किनारा र छोपिहालेकी पनि छैनौ बालुवाको यो ढिकुरो यो हिँउदको न्यानोमा। म उभिएँ तिमी नजिकै र मनका गर्तमा खामिएको मेरो माटोले अग्ल्याएको चाँदीजस्तो हिमाललाई हेरें। लाग्छ बिस्तारै –बिस्तारै मेरा हिमालहरूलाई वकासुरहरू, बाणासुरहरू र महिषासुरहरूले थिच्दैथिच्दै निमोठ्दै–निमोठ्दै होच्याइरहेछन्।  के नै गर्न सकिन्छ र प्रशान्त म जस्ताहरूले जो तिम्रा सुसाइमा छोपिएर सपनाहरूको संसार बुनिरहेछन् र यतिविघ्न छोपिएर तिम्रा बालुवाको काखमा बालुवै बनेर जीवनयापनको खतरा मोलिरहेछन्। झोलामा अनेकन् सपनाहरू खाँदेर, पट्याएर जिजीविषाहरू अनि स्नेही आमाको काखलाई तिलाञ्जली दिएर सुकुमार इच्छाहरूलाई कुन्ठ्याएर मेरा माटोका निरीह र विवश पात्रहरू धोइरहेछन् । तिम्रो फोहोर यद्यपि पनि प्रशान्त तिमी पनि उसै छचल्किनु र हल्लनुको तापक्रममा कहाँ ! बाटो नै मोड्न सक्छ्यौ र? अँ नगरौं यी कुण्ठित बातहरू म त एक पर्यटक। म त एक घुमन्ते। म एक फिरन्ते।

अँ म आखाँमा उहीँ मेरो माटोका शिल्पी घले बाहरूको कथा सुनाइरहेको थिएँ तिमीलाई प्रशान्त ! ती सेतु निर्माण गरिरहेका अविनाशको कथा, गजलबारमा गुनगुनाइरहेका रवि प्राञ्जलहरूको कथा अनि असंख्य बगैंचामा फुल्नै लागिरहेका अर्किड र लिलीहरूको कथा।

यस्तै क्रममा मैले रगतकै नाता पर्ने तर जीवनको एक्काइस वसन्तहरू पार गरिरहँदा पनि चिनाजाना नै नभएका एक कथाकार, उपन्यासकार र प्रगाढ अंग्रेजी साहित्यका विद्वान दाइ अर्जुन निरौलालाई एक साँझ नामसालिङको बाँस झ्याँङका फेदमा भेटेको थिएँ। हुन त उनलाई दाइ गणेश निरौला र दुर्गा शर्माले  ‘शिशिरको बतास’ उपन्यासमा मलाई चिनाएकै हुन्। तर पनि सामीप्यको नजिक मैले पुग्ने अवसर पाएको थिइन। उनले उनको ‘रात सँगसँगै’ र ‘घाम डुबेपछि’ नामक कथासंग्रह र उपन्यास पनि मलाई दिएका थिए र अद्यपि मसँग सुरक्षित छँदैछ। यिनलाई नेपाली साहित्यका फाँटमा उनै अविनाशको सेतुले जोडेको छ यसरी प्रशान्त – अविनाशले। अनेकन् कार्यहरू गरेका छन् खै उनलाई प्राज्ञ दिएको ? खै उनलाई पुरस्कारको डंगुरले थिचेको तैपनि काम त गरिरहेकै छन? हात, पाखुरा र कलम चलेकै छन्।

प्रशान्त! थुप्रै छन् मेरो माटोमा उदासीहरू फलेका र फुलेका तर पनि अर्मलेको सेपले, उसैको जंगलले निमोठ्न सकेका छैनन्, थिच्न सकेका छैनन् र किच्न सकेका छैनन्।

वर्तमानमा साहित्यका खेतहरूमा बंगुरहरूको फोहोर र सलहहरूको डंगुर उठेको छ आमाको गुन्यू च्याते , आमाको बुलाकी लुटेर अनि आमाकै नांगो बान्कीमा साहित्य नामको ठ्यास्फु आमाकै डँडाल्नोमा लाद्नेहरूको अनि बिनागुरुको मन्त्र पढेर भुँइफुट्टा बन्दै सारा मिडिया पेवा बनाउनेहरूको तैपनि तुलसी दिवसहरू, विवश पोखरेलहरू र सुदूरतिर मधु पोखरेलहरू कविता गुनगुनाइरहेकै छन् । थुप्रै कुन्ता शर्माहरू कविता कुँदिरहेकै छन्। यस्तो छ प्रशान्त! मेरो माटोको सुवास कतै तिमीले पफर््युम गिफ्ट नपठाए पनि जाई, चमेली, सुन क्यावरा र कनखचम्पाहरू मिठो अत्तर छरिरहेकै छन् र मगमगाइरहेकै छ मेरो माटामो मगमग–मगमग । कति मगमगाएको छ हिन्दीमा पनि र अंग्रेजीमा पनि सुवास छरिरहेका चन्द्र गुरुङहरू पनि मेरै माटोले उमारेका वटवृक्षहरू होइनन् र? सरी ! प्रशान्त तिमीलाई के थाहा? तिमी त यताबाट फैलिँदै बाणासुरहरूको पातालतिर प्रवेश गछ्र्यौ । बाटै परेन तिम्रो मेरो माटोको।

सरी प्रशान्त, ऐले मेरो माटोमा उब्जिएको वेदको विश्वविद्यालय जर्मनीमा छ र सुन्छु, खोतलेर वेदका पानाहरू उनीहरू अनेक विज्ञान र वैज्ञानिकहरू आविष्कार गरिहेछन् र विश्वलाई नै प्रविधिको मुठीमा कैद गरिरहेछन् नासा पुगेर अर्को , अर्को र अर्को ब्रम्हाण्डको सफर गरिरहेछन् मेरो माटोमा भने साम्प्रदायिक धर्मका मठाधीशहरूले  वेदका पानाहरूलाई कि त महाराजधिराजहरूका बंगारा र कच्छाड कैद गर्ने म्युजियम सजाएका छन् ।

प्रकाशित: ३ जेष्ठ २०७८ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App