७ वैशाख २०८१ शुक्रबार
कला

‘ग्रिन टावेल’ भित्रको वर्तमान समाज

अक्षर

कथाकार शान्ति शर्माको दोस्रो कथासंग्रह हो ‘ग्रिन टावेल’ (२०७७)। समाज, समय र युगको चेतनाले मष्तिष्कलाई झङ्कृत पारेपछि नै सिर्जनाले मूर्तरूप पाउने हो। त्यसैले कुनै पनि लेखकले समाजभन्दा पृथक् रहेर सिर्जना गर्ने कल्पना गर्न सक्दैन। कथाकार शर्माका कथामा हामी बाँचेको, भोगेको समय र हाम्रो युगको प्रतिविम्ब देखिन्छन्। समाजको यथार्थलाई कथामा उतार्नु र कथामा विविध चरित्रको भावना, कुण्ठा, प्रेम, संवेग, संवेदना, यौनमनोविज्ञान आदिलाई सुललित ढङ्गले प्रस्तुत गर्नु शान्ति शर्माका कथागत विशेषता हुन्।  

समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई कथामा अभिव्यक्त गर्ने हो। यस्ता कथाले नै पाठकको हृदयलाई स्पर्श गर्छ। पाठक स्वयंले पनि अनुभूत गर्न सक्ने कथा छन् ‘ग्रिन टावेल’भित्र। सामाजिक यथार्थलाई टपक्क टिपेर प्रस्तुत गरिएका यस संग्रहका १५ वटा कथा पढ्दा समाजको ऐना हेरेजस्तो लाग्छ।  

समाजमा दैनन्दिन हुने घटना र दुर्घटना, प्रेमका नाममा हुने धोका र छल, विवाहका नाममा हुने शारीरिक शोषण र मानसिक तनाव, परम्पराका नाममा टिकिरहेको कुरीति, विभेद र हिंसा, प्रेमका नाममा भइरहेका उच्छृङ्खलता, यौनका नाममा भइरहेका अश्लीलता, जातिय विभेद, वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक विकृतिसँगै स्वदेश तथा विदेशमा भइरहेका दुर्दान्त घटनाजस्ता वर्तमान समय र समाजको यथार्थ नै ‘ग्रिन टावेल’ भित्रका कथाका विषयवस्तु हुन्। हरेक कथाभित्र हाम्रै समाज र हाम्रै परिवेशका घटना र विषयवस्तु समेटिएका छन्। जसलाई हामी आफ्नो होइन भन्नै सक्दैनौं।

कथाकारको नारी मनोविज्ञानको प्रभाव कथामा कतै न कतै, कुनै नै कुनै रूपमा परेको देखिन्छ। नारीजन्य कोमलता र हार्दिकता हरेक कथामा भेटिन्छ। संग्रहको पहिलो कथा छ, ‘आखिर ऊ पनि गई।’ पितृसत्तालाई निरन्तरता दिने सुषुप्त मनोकांक्षाको दबाबस्वरूप सिर्जित परिस्थितिजन्य नियतिको चित्रण यो कथामा गरिएको छ। आधुनिक र सभ्य परिवारमा पनि सामाजिक रुढीवादले निरन्तरता पाइरहेको सत्यलाई यो कथाले उजागर गरेको छ। 

यो सामाजिक रुढीवादको प्रतिनिधि कथा हो। यसमा सामाजिक रुढीवादप्रतिको मनोविज्ञान पनि झल्कन्छ। दाम्पत्य जीवनको सुरुवातमा हुने मानसिक र शारीरिक कुतूहल मेट्न नपाउँदाको असन्तुष्टि र कुण्ठाको मनोभाव ‘प्रतिशोध’ कथामा व्यक्त भएको छ। परस्त्रीगमनमा पल्केको शेखर र पतिव्रता ललिताबीचको दुई विपरीत चरित्रको चित्रण पनि यो कथामा छ। त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको औसत कथा हो ‘दोस्रो लोग्ने’। कथाको प्रस्तुति रुचिकर छ, तर कथावस्तु हल्काफुल्का लाग्छ।  

कथामा पात्रको मनोदशालाई सुरुचिपूर्ण ढंगमा विश्लेषण गरिएका छन्। प्रेम एउटासित र विवाह अर्कोसित गर्नेजस्ता समाजमा दैनन्दिन भइरहने सी ग्रेडका सिनेमामा देखाइने मतलबी प्रेमका सन्दर्भलाई पनि सौम्य र शालीन ढंगले पात्रको मनोदशा केलाउँदै विश्लेषण गरिएको हुँदा उनका ‘दोस्रो लोग्ने’ लगायत प्रेमकथा गम्भीर पाठकका लागि पनि रुचिकर लाग्नेछन्।  

जातीय विभेदको विषयलाई उठान गरिएको कथा हो, ‘मोह’। जातीय विभेद पवित्र प्रेमको तगारो बनेर उपस्थित हुने कटुयथार्थको वर्णन यो कथामा गरिएको छ। कुनै चलचित्रको कथाझैँ लाग्ने यो कथा अलि हल्काफुल्का लाग्छ। यो कथा गम्भीर पाठकका लागि रुचिकर नलाग्न सक्छ। यद्यपि जातीय विभेदविरुद्धको नारा राजनीतिक दाउपेचको एउटा अस्त्र मात्रै हो भन्ने व्यंग्यात्मक प्रहार कसिलो छ।

वैदेशिक रोजगारीले सिर्जना गरेको दुर्दान्त अवस्था प्रतिनिधित्व गर्ने कथा हुन् ‘पर्खाल’, ‘पीडक पत्नी’ र ‘भत्किएको संसार’। अहिले दैनिक औसतमा तीनवटा रातो बाकस आउने गरेको छ, विदेशमा मृत्यु भएका नेपाली कामदारको लास बोकेर। ‘पर्खाल’ कथाका पात्र शिशिर पनि यसै गरी रातो बाकसमा बन्द भएर आएको कारुणिक कथा छ। यसैगरी वैदेशिक रोजगारीले नेपालीको जीवनशैलीमा भएको परिवर्तन र त्यही वैदेशिक रोजगारीले नेपाली समाजमा सिर्जना गरेको पारिवारिक विखण्डनको समस्यालाई ‘पीडक पत्नी’ कथामा दर्शाइएको छ। ‘भत्किएको संसार’ कथामा वैदेशिक रोजगारीले सिर्जना गरेको विकृति र विसंगतिको अर्को पाटोलाई उघारिएको छ।  

‘मनकली’ आञ्चलिक कथा हो। यसमा मनकलीको भाग्य र मनोदशालाई चित्रण गरिएको छ। एकल महिलाप्रतिको सामाजिक दृष्टिकोण पनि यहाँ छरपस्ट भएको छ। ‘ग्रिन टावेल’ चाहिँ यो कथासंग्रहको शीर्षककथा हो। यसमा गुरु र शिष्याबीचका स्वाभाविक सम्बन्धलाई बडो शिष्ट र शालीन ढंगमा प्रस्तुत गरिएको छ। यो शिष्टता र शालीनताभित्र पनि केही अव्यक्त राग–अनुरागको संकेत पनि पाइन्छ। कुनै समय र कुनै अवस्थामा यस्तो राग–अनुरागको भावना आउँछन्, जान्छन्। तर कुनैकुनै यस्ता भावना पछिसम्म रहिरहन्छन्। जस्तो यो कथामा रहेको छ।  

सन्तान नहुँदाको मानसिक पीडा र छटपटी, सामाजिक लाञ्छनाको भय र चिन्ता ‘कोख’ कथामा व्यक्त भएको छ। अन्ततः बाँझो कोखका कारण पीडा, छटपटी र तनावमा रहेका नवीन र स्वरूपालाई टेस्टट्युब बेबीले खुसी र समाधान दिन्छ। कथाको सुखान्त रोचक छ। किशोरवयमा हुने प्रेमप्रसंगलाई ‘प्रेमातंक’ कथामा दर्शाइएको छ। 

प्रेम रोमाञ्चक हुन्छ, तर त्यही प्रेम असफल हुँदा आतंक बन्छ भन्ने संकेत समेत यो कथाले गरेको छ। संयोगले जुरेको सहयात्रा यौन असक्षमता र सामाजिक जिम्मेवारी बोधका कारण वियोगमा टुंगिएको सन्दर्भ ‘सहयात्रा’ कथामा छ। यसैगरी विज्ञानलाई आधार बनाएर लेखिएको ‘सम्बन्धसूत्र’ कथामा आफैँले शुक्रकीट दिएर जन्मेकी केटी र आफ्नो छोराबीच प्रेमसम्बन्ध भएको संयोगलाई उतारिएको छ।  

जिन्दगीको विपर्यासलाई ‘कोभिड–१९’ कथामा दर्शाइएको छ। लोग्ने मरेको अवस्थामा पनि कोभिड–१९ लागेको होइन भन्ने थाहा पाएर खुसी हुनुपर्ने अवस्थाले जीवन साँच्चै अनौठो छ भन्ने आभास गराउँछ। संग्रहको अन्तिम कथा हो ‘पछुतो’। वृद्ध आमासँगै बस्न वा आमालाई आफूसँगै राख्नका लागि प्रतिस्पर्धा गर्ने र निर्णयका लागि वकिलसम्म पुग्ने दाजुभाइ आदर्शका नमुना हुन्। दिमागलाई घोत्लिन बाध्य पार्ने कथा पनि छैनन्। यद्यपि कोमलता र हार्दिकतायुक्त कथाहरूको सहज प्रवाह सुललित, हृदयस्पर्शी र मीठासपूर्ण छन्। 

कथाहरू कल्पनाको आकाशमा उडान नगरी यथार्थको धरातलमा टेकेर नै लेखिएका छन्। त्यसैले कथाहरूमा वर्तमान समय र समाजको प्रतिविम्ब भटिन्छन्। कथा पढ्दा कतै प्रेम र यौनका कुतकुत्याउने मीठा अनुभूति, कतै पीडाका पहाड र कतै छल अनि धोका र कतै कर्तव्य र जिम्मेवारीबोधका गहन अनुभूति हुन्छ। कथाहरू सामाजिक परिवेशमै आधारित छन्। राजनीतिक चेतका कथा शून्य छन् भने कथामा कुनै प्रयोग वा वादको आग्रह पनि गरिएको छैन। कथाहरूमा सहज प्रवाह छ र पठनीय छन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App