१६ चैत्र २०८० शुक्रबार
कला

एक्ले सारौँले साथी भेट्टायो

भावना पौडेल

 

विगत चार महिनादेखि हाम्रो घरको बार्दलीमा एउटा सारौँ आउँछ । हरेक दिन बिहान पाँच बज्न लाग्दादेखि आएर ऊ आलाप गाउँछ । यो आलापले मेरो मिठो निन्द्रा भंग गरिदिन्छ । मलाई कहिलेकाहीँ मेरो निन्द्रा भंग गरेकोमा रिस पनि उठ्छ । तर, न त मैले गरेको गाली नै उसले बुझ्छ न त अब नआइज भन्दा मान्छ नै । त्यसो हुनाले एक पटक गाली गरेर उसलाई उठाइदिन्छु।

उडेर अलिपर जाओस् भन्ने मेरो चाहना हुन्छ । तर, सारौँ त ३ मिटर परको बत्तीको पोलमा गएर बस्छ र पुनः यसै गरी कराउन थाल्छ। उसको जोडी अहिलेसम्म देखेको छैन । ऊ जतिबेला आउँछ एक्लै हुन्छ। सायद उसको जोडीलाई कसैले मारिदिएको हुनुपर्छ । ऊ मलाई भन्दो हो मेरो जोडी हरायो, के तिमीले खोजिदिन सक्छौ ? विचरा बोल्न नसक्नु र आफ्नो कुरा भन्न नसक्नु जस्तो दुःख अरू के होला र ? म यो कुरा सोचेर कहिलेकाहीँ उसलाई गाली गरेकोमा पश्चाताप गर्छु।

ऊ यहाँ आएको बेला नराम्रोसँग रोएजस्तै गरेर कराइरहन्छ । मलाई यो कुराले दुखी बनाउँछ । तर बारम्बार कराइरहँदा मेरो पढाइमा डिस्टर्व गर्छ । अनि दिक्क लागेको  बेला उसलाई धपाइदिन्छु । तर, फेरि केही क्षणमा मेरो आँखा छलेर आउँछ र उसै गरी कराउन थाल्छ । सायद यही इलाकाबाट उसको जोडी हराएको हुनुपर्छ। नत्र किन यही आएर बारम्बार कराइ रहन्छ त ?  

ऊ यहाँ आएर दिनभरि बस्छ, कराउँछ । तर, राति ऊ पायः यहाँ बास बस्दैन । कहिलेकाहीँ भने राति हेर्दा टाउको पखेटाको भित्र लुकाएर निदाइरहेको हुन्छ । ऊ हाम्रो घरको कलात्मक तरिकाले बनाएको खोपीमा यसरी नै निदाउँछ । ऊ यसरी बसेको बेला क्रिकेटको बल जस्तो र जत्रो मात्र देखिन्छ।

चराहरूको रंगीन प्वाँख र उड्ने शक्ति राम्रो लाग्छ । मलाई चराहरूमा सुगा बढी मन पर्छ । अरू चराहरू पनि राम्रो लाग्छ । तर, तिनीहरूले गर्ने फोहोर मलाई मन पर्दैन । अझ चराको विष्टादेखि मलाई धेरै घीन लाग्छ । पहाडको हाम्रो घरमा कुखुरा र परेवा पाल्ने चलन छ। तिनको झरेको प्वाँख र सुली देख्दा मलाई घीन लाग्छ । यस्तो देखेको बेला मलाई खाना खान पनि मन लाग्दैन । तसर्थ चराहरू राम्रो लागे पनि चराको विष्टा मलाई राम्रो लाग्दैन।

अहिले केही दिनदेखि उसले भँगेरालाई साथी बनाएको छ । ऊ आएको केही क्षणमा भँगेरो पनि आउँछ र दुवै नजिकै बसेर एक अर्कालाई हेरेर कराइरहेका हुन्छन् । भँगेरो पनि एक्लै छ । यी एक्ला एक्लै रहेका फरक प्रजातिका चराले साथी पाएकोमा मलाई खुसी लागेको छ । अब त दुख मानेर कराउन छोड्ला कि ?

– मेरो बाबाका अनुसार यो चरालाई ठाउँ अनुसार सारौँ, रुप्पी र डाङ्ग्रे पनि भन्ने गरेको पाइन्छ ।  

प्रकाशित: ३१ वैशाख २०७८ १६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App