८ वैशाख २०८१ शनिबार
कला

लिभिङ टुगेदर

कथा

ओहो, आज के भएको यस्तो, हावाहुरी अनि पानी बाटोभरि, अस्तव्यस्त ! वैशाख सकिन आँटिसक्यो, चैतमा लाग्ने हावाहुरी अझै बेस्सरी चलिरहेकै छ। पानी पर्न रोकिएको थिएन। बाहिर हावाहुरीले ताण्डव मच्चाइरहेको थियो। म अफिसबाट भर्खरै फर्किएकी थिएँ। त्यो पनि छिटोछिटो काम सिध्याएर आएको। आकाश पहिले नै आएको रहेछ, ऊ कोठामा बसेर टिभी हेरिरहेको देखेँ। अचम्म परेँ।

‘आकाश तिमी कति छिटो आएको अफिसबाट ? म छिटो भनेकोे त तिमी पो झन् छिटो आइसकेका रहेछौ। सञ्चो भएन कि तिमीलाई ? बरु मलाई भनेको भए सँगै आउन हुन्थ्यो नि।’

होइन, आज खासै काम थिएन अनि चाँडै घरै आएँ। बरु मीठो एक कप चिया बनाऊ, एउटा राम्रो मुभी हेर्दै सँगै पिउँ– आकाशले जवाफ फर्कायो। म अफिस युनिफर्म चेन्ज गरेर अर्काे कपडा लगाइवरी भान्सामा गएँ। अदुवा हालेको चिया बनाउन थालेँ, जुन हामी दुवैको ‘फेबरेट’ थियो।  

आकाश र म काठमाडौंस्थित एउटै बैंकमा काम गथ्र्यौं। म क्रेडिट शाखा हेड थिएँ, ऊ वित्तीय शाखाको जुनियर म्यानेजर। कमाइको हकमा मेरो उसको भन्दा अलि बढी तलब थियो। अर्कोतर्फ आकाशको तुलनामा घरको जिम्मेवारी मेरो खासै थिएन। हामी गत दुई वर्षदेखि एउटै फ्ल्याटमा बस्दै आएका थियौँ। काठमाडौंमा दुवैका आफन्त कोही थिएनन्। आकाश विराटनगरवासी थियो, मचाहिँ पोखरेली।  

आकाशसँग मेरो पहिलो भेट अफिसकै पिकनिकमा भएको थियो। उसको शालीनता अनि सभ्य बोलीबाट म निकै प्रभावित भएकी थिएँ, पहिलो दिनमै। राम्रो त ऊ छँदै थियो, सँगै व्यवहार पनि आकर्षक। त्यही पिकनिकपछि हामी नजिकिँदै गएका थियौँ। फुर्सद मिलेका बेला एकअर्कासँग भेटिहाल्ने लालसाले निकै हतारिन्थ्यौँ। मायाका कुरा साटासाट हुन्थे घन्टौँ तर पनि समय बितेको पत्तै हुन्नथ्यो।  

किन होला, युवा मन मायाका लागि निकै चञ्चल हुन्छ ? कहिलेकाहीँ आफ्नै मनमा आउने प्रश्नको उत्तर आफैँसँग थिएन। जसले आफ्नो मायालुप्रति पनि त्यत्तिकै समर्पित गराउँछ। यदि यो मिथ्या हो भने हामीले इतिहासका पानामा मायालुप्रतिको त्याग, तपस्या अनि समर्पण सुन्न अनि पढ्न पाउँदैनथ्यौँ सायद। यसैले होला, अचेल म पनि आकाश भनेपछि हुरुक्कै हुन्छु।  

हाम्रो माया गहिरिँदै गइरहेको थियो। अफिसबाट फर्केपछि साँझको खाना पनि हामी कतै बसेर सँगै खान्थ्यौँ, अनि गरुङ्गो मन लिएर आ–आफ्नो फ्ल्याटतिर लाग्थ्यौँ। हामी मानिसका सुख–दुःखका भावना एकअर्कासँग बाँड्थ्यौँ, अनि सुन्थ्यौँ पनि धैर्यसाथ। हामी दुवैका परिवार आ–आफ्नो पुख्र्यौली थलोमै थिए। यसर्थ हामी परिवारबाट टाढा थियौँ। यस्तो अवस्थामा हामीले एकअर्कालाई सुखदुःखमा साथ नदिने कुरै भएन।  

एक दिनको कुरा हो– म ज्वरोले एकदमै आत्तिएर अफिस नगई घरमै सुतिरहेकी थिएँ। यति सताइएकी थिएँ कि आफैँ पानी सारेर पिउन सक्ने अवस्था पनि थिएन। दिनभर ओछ्यानमा पल्टिरहेँ, त्यो पनि अचेत अवस्थामै। ‘उन्नति ! के भयो तिमीलाई, आज अफिस किन आएनौ, हिजो शनिबार तिमीसँग भेट पनि भएन, शुक्रबार अनुहार निन्याउरो देखेको थिएँ, सोध्दा तिमीले केही भएको छैन भन्यौ, के भयो तिमीलाई ?’ आफैँछेउ उभिएर एकैचोटि धेरै प्रश्नको पोको फुकाइरहेको आकाशलाई देखेपछि बल्ल चेत आएझैँ भयो। ऊ आफ्ना कुरा एकोहोरो राखिरहेको थियो– तिमीले आफ्नो दुःख आफैँसँग राख्यौ। म यति पराइ भइसकेँ तिम्रा लागि ? हेर अनुहार कस्तो गलेको। केही खायौ कि नाइँ ? खै निधार हेरुँ, अहो ! कस्तो तातो। बाबा के गरेको यस्तो, ल हिँड डक्टरकोमा जाऊँ। मेरो साथी सुमनलाई फोन गर्छु। ऊ एकदमै राम्रो डक्टर हो। मेडिसिटीमा काम गर्छ। म ऊसँगै सल्लाह गर्छु।

‘पर्ख आकाश नआत्तिउ, मैले हिजै डा. सुमनसँग कुरा गरिसकेँ। भाइरल फ्लु हो, तीन दिनमा निको हुन्छ, आत्तिनुपर्दैन भनेको छ। बरु मलाई तातोपानी ल्याइदेऊ, अनि सुप बनाइदेऊ प्लिज, एउटा औषधि खानु छ।’

आकाश पुनः बर्बराउन थाल्यो– के भनेको त्यस्तो ? म दिइहाल्छु नि। यसरी बिरामी हुँदा पनि खबर नदिएकामा मेरो चित्त दुःखेको छ बुझ्यौ। मलाई किन पराइ ठान्यौ भन त उन्नति ? ल भइहाल्यो, म किचनमा गएँ, पानी र सुप तयार गर्छु। त्यति मात्र हैन, तिमी निको नहुन्जेल छाड्दिनँ।  

डन्ट वरी।

त्यो दिनदेखि त आकाशले एकदमै माया गर्न थाल्यो। मेरो हरेक सुख–दुःखमा साथ दिन थाल्यो। म दुःखी हुँदा मभन्दा बढी ऊ चिन्तित हुन्थ्यो। उसका सबै प्रयास कसरी मलाई खुसी राख्ने भन्नेमा केन्द्रित हुन थाले। यसरी नजानिँदो तवरले नै सही, हामी एकअर्काबिना एकछिन पनि बाँच्न नसक्ने हुन थल्यौँ। त्यसपछि त उचित समय मिलाएर विवाह गर्ने निर्णयका साथ एउटै फ्ल्याटमा बस्न थाल्यौँ।

‘उन्नति, उन्नति आऊ न,’ आकाशको स्वर सुनेपछि चिया र बिस्कुट लिएर बिस्तारै कोठामा गएँ। अनि, ऊसँगै बसेर खाँदै टिभी हेर्न थालेँ। म अलि रोमाञ्चित पनि थिएँ। आज पानी परेको चिसोसँगै न्यानो वातावरण, हातमा चिया, मन परेकोे प्रोगाम अनि आफ्नो मायालुको साथ, अरू के नै चाहियो र मजस्तो प्रेमिकालाई ? एकदमै खुसी थिएँ। आकाशको साथ पाएर हरेक क्षण रमाइलो अनि जीवनका हरेक पल रंगीन। कुनै दुःख थिएन मनमा, आकाशको माया अनि खुसी मात्र थियो। बेलाबेला म झसंग हुन्थेँ, विवाहअगाडि नै आकाशसँगै बसेकामा। मनको कुनामा कताकता यो गल्ती त भएन भन्ने लाग्थ्यो तर केही समयपछि विवाह गर्ने त हो भनेर मनलाई शान्त तुल्याउँथेँ।

‘आकाश, आकाश ! हामी विवाह कहिले गर्छौं भन न, दुई वर्ष भइसक्यो भन न प्लिज...’ अनायाशै म आकाशलाई अँगालो मार्न पुगेछु। ‘केही समय कुर बाबा, म पनि अलि तिमीजस्तै कमाउने बनौँ न। नत्र के भन्छन् तिम्रा माइतीले, छोरीभन्दा ज्वाइँ कम आर्जन गर्ने, त्यो पनि त भन्न दिनुभएन,’ आकाश यस्तै कुरा गरेर फकाउँदै जान्थ्यो।  

दिन यसरी नै बित्दै गइरहेको थियो। हामी आआफ्नो काममा व्यस्त हुँदै गयौँ। यसै क्रममा आकाशको दिनचर्यामा भने केही परिवर्तन देखिएको महसुस हुन थाल्यो। ऊ अफिसको काममा कम ध्यान दिन थालेको थियो। त्यसैले अफिसबाट चाँडै निस्कन्थ्यो। घरको काम सघाउने क्रम पनि घट्दो थियो। त्यति मात्र होइन, मसँग पनि धेरैबेर सँगै बस्न नपरे हुनेजस्तो व्यवहार प्रदर्शन गर्न थाल्यो। मलाई भने उसमा हुर्कंदै गरेको यो परिवर्तन पत्याउन निकै गाह्रो परिरहेको थियो।

आज शुक्रबार। पोखरा ब्रान्च गएर केही काम गर्नु थियो। सोचेँ– अफिसबाट चाँडै आएर रातिको बसमा पोखरा जानुपर्ला। एक दिन मामु–पापाकहाँ गएर बस्छु। आउटिङ पनि हुन्छ, फ्रेस पनि भइन्छ।  

यस्तै योजना मनमनै गुन्दै बिहानको नास्ता बनाउँदै थिएँ, फोनको घन्टी बजिरह्यो निरन्तर। निकैबेर नउठेपछि हेर्दा आकाश बाथरुममा भएकाले पो रहेछ। उफ् कसको फोन होला, नउठेपछि त नबज्नु नि भन्ने लाग्यो मनमा। आखिर त्यो फोनको के गल्ती थियो र ? यसो हेरेँ विशाखाको फोन रहेछ।  

विशाखा को हो ? हाम्रो साथी त होइन। उसका र मेरा प्रायः साथीभाइ कम्बाइन्ड थिए– मनमा चिसो पस्न थाल्यो मेरो। त्यसपछि फेसबुक, इन्स्टाग्राम अनि भाइबर हेरेँ। ओहो जति भित्र पस्यो, उतिउति मेरो मन थर्थर काम्न थाल्यो। विशाखा र आकाशका मेसेजहरू पढ्नै सकिनँ। अनि छिटो छिटो स्क्रिनसट लिएर आफ्नो मोबाइलमा पठाउन थालेँ।  

उसको मायामा म कति अन्धो भएँछु। कति धेरै माया गरेँ आकाशलाई, अब म आफूलाई कसरी सम्हालुँ भगवान् ? मेरो मायाको हरेक शब्द अनि भावना विशाखालाई पठाउँदोरहेछ उसले। मेरो मुटु छियाछिया हुँदै गयो। कस्तो अँध्यारो भयो भन्दै थिएँ। यत्तिकैमा आकाशले अँगालोमा ग्वाम्लाङ्गै कसेर बोकेर लग्यो ओछ्यानमा।

‘उन्नति, के भयो माया तिमीलाई ? किन यस्तो कमजोर भयौ आज ? जाऊँ हिँड डक्टरकोमा मेरो माया।’

आकाश ! के तिमी मलाई माया गर्छाै ? तिमी ढोँगी रहेछौ, तिमीलाई मैले यति धेरै माया अनि विश्वास गरेँ, तिमीले मलाई यो सजाय दियौ। जिन्दगीभर नमेटिने घाउ दियौ। मेरो मायामा के कमी थियो जबकि आज मैले यस्तो दिन देख्नुपर्‍यो ? म बोलिरहेकी थिएँ पीडा अनि रोदनका साथ।  

‘के भनेको माया यस्तो, तिमीविना मेरो को छ र ? तिमीले गर्दा नै मैले यो संसारमा खुसी नै खुसी देखेको छु मेरो माया, यस्तो नभन मलाई। म तिमीबिना बाँच्नै सक्दिनँ। तिमी नै मेरो संसार हौ। तिमी नै मेरो आशा हौ। अब हामी मामुपापालाई भनेर यही असारमा विवाह गर्छौं। अनि हामी दुवै मिलेर एउटा खुसीको नयाँ संसार बनाउँछौँ माया,’ आकाशले थामथुम पार्न खोज्यो।

चुप, चुप, चुप ! बिन्ती छ चुप लाग आकाश। तिम्रो धारणा, तिम्रो भावना मैले सबै थाहा पाइसकेँ, अब बढी नाटक नगर। मेरो मनमा तिमी नै तिमी छौ तर तिम्रो मनमा म अट्न सकेकी रहेनछु। यस्तो झुटो नबोल। मैले तिम्रो र विशाखाको सम्बन्धबारे सबै कुरा थाहा पाइसकेँ। जाऊ गएर हेर, नभए मेरो मोबाइल हेर, मैले यसमा पठाएको छु। मलाई एक्लै बस्न देऊ प्लिज...।  

केहीबेरपछि म आफ्नो सुटकेस लिएर निस्केँ। अनि आकाशको मुखमा हेर्दै भनेँ– आकाश ! म पोखरा जान्छु, सोमबारसम्म फर्कन्छु, तिमी डेरा सर।  

गाडी गुडिरहेको थियो। दायाँबायाँ हरियाली थिए, वल्लोपल्लो सिटका यात्रुले प्रकृतिको सौन्दर्यबाट आनन्द लिइरहेका थिए। मेरो मन भने फिटिक्कै त्यता जान मानिरहेको थिएन। आकाश मात्र थियो मनभरि। लाख प्रयास गर्दा पनि बिर्सन सकिरहेकी थिइनँ उसलाई। आँखाबाट आँसु बगिरहेको थियो। उफ्, कस्तो मान्छे, दोहोरो जीवन बिताउने। मायाकै कारण उसलाई सहज होस् भनेर मैले आफ्नो सिद्धान्त अनि सोचाइविरुद्ध लिभिङ टुगेदरलाई समेत मान्यता दिएर सँगै बसेँ। सकेसम्म उसलाई खुसी राख्ने प्रयास गरेँ। साथीसङ्गीले किन यसरी लिभिङ टुगेदर बसेको भनेर शङ्का व्यक्त नगरेका हैनन्। अफिसमा केटाकेटी सँगै बसेर काम गर्न हुन्छ भने एउटै फ्ल्याटमा बस्न किन नहुने भनेर त्यसो भन्नेको मुख टाल्दै आएकी थिएँ। म आकाशको मायामा यति अन्धो भइसकेकी थिएँ कि उसका हरेक कुरामा विश्वास गरेँ। अहिले आएर पछुताएर के गर्नु ? मायामा जे भयो भयो तर यो आधुनिकतारूपी लिभिङ टुगेदर नबसेको भए हुन्थ्यो। अब यो समाजमा मैले गल्ती गरेको होइन भनेर कसरी भन्न सक्छु ? उफ् मनमा धेरै कुरा आइरहेका थिए। थानकोट–नौबिसे–मुग्लिन–खैरेनी हुँदै पोखरा आइपुगेछ– सहचालकले दिदी पोखरा आयो भन्दा पो झसंग भएँ।  

आज वर्ष दिनपछि मलाई देखेर आमा निकै खुसी भइरहनुभएको छ। म पनि आमाको सामीप्यमा लुटुपुटु गरिरहेँ। सँगै सारा दुःख बिर्सने प्रयास पनि। हुन पनि छोराछोरीलाई आमाको काखमा जस्तो सुखको अनुभव अरू कहाँ होला र ? म पनि पक्कै अपवाद थिइनँ। आमाले घरीघरी मेरो आँखा पढ्न खोजिरहनुभएको आभास हुन्थ्यो, तर म भने आमासामु आँखा लुकाइरहेकी थिएँ।  

दुई दिन पोखरामा हाँसीखुसी बित्यो। त्यसपछि काठमाडौं त फर्कनैपथ्र्यो, फर्किएँ। आकाश फ्ल्याट छाडेर गइसकेको रहेछ। उसको याद गराउने सामान हटाएर आफ्नो तरिकाले कोठा मिलाएँ। त्यसपछि आफूलाई बढीभन्दा बढी अफिसको काममा व्यस्त राख्न थालेँ। आखिर यसो गर्नुको विकल्प पनि के थियो र मसँग ? कुनै कुनै बेला आकाशसँग जम्काभेट हुन्थ्यो। त्यतिबेला ऊ लज्जित चेहरा लुकाउँदै छेउ लाग्थ्यो।

समय बित्दै गइरहेको थियो। मेरो विवाहका लागि आमाबाबाले जोड दिन थाल्नुभयो। मैले पनि कहिलेसम्म टार्नु ? अब त नाइँ भन्न सक्ने अवस्था नै थिएन। जोसँग विवाह गरे पनि आकाशसँग लिभिङ टुगेदर बसेको कुरा भन्छु भन्ने अठोट गरेँ। तर जब शैलेशसँग यो लिभिङ टुगेदरको कुरा गरेँ, उसले यसप्रति खासै रुचि देखाएन। उल्टै भन्यो कि मेरा पनि दुई–तीनजना साथी थिए। अब विवाहपश्चात् हामी एकअर्काप्रति समर्पित हुनुपर्छ। म तिमीलाई पाएर धेरै खुसी छु।

मन–मुटुमा कतै गढेको किला निकालेझैँ मैले हल्का महसुस गरेँ। त्यसपछि सोच्न बाध्य भएँ– ओहो मानिस मानिसमा सोचाइको कति धेरै भिन्नता ? कति सहज रूपले उसले मेरो सबै कुरा सुनेर स्विकार्‍यो। उसको यो सोचको सम्मान गर्दै म कहिले पनि धोका दिने छैन। शैलेशसँगको दाम्पत्य जीवनमा म सधैँ समर्पित रहनेछु। 

प्रकाशित: २५ वैशाख २०७८ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App