११ कार्तिक २०७८ बिहीबार
कला

हसने रहरहरु आँसुमा डुबे...

करिब चारदशक अगाडी चलचित्र जीवनरेखाका लागि उनले गाएको ‘हसने रहरहरु आँसुमा डुबे...’ गीत  प्रकाश थापाले निर्देशन गरेका सिनेमाका पात्रसँग सम्बन्धित थिए। बिहिबारबाट त्यही  गीत प्रेमध्वज प्रधानलाई माया गर्नेको लागि समर्पित बन्न पुगेको छ।  

वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन जन्मेका प्रेमध्वज प्रधान बिहीबारबाट जीवनको घुम्तीमा अब कहिल्यै आँखा जुधाउन नआउने गरी बिदा भएका छन्। ८५ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको खबरसँगै नेपाली संगीतको एउटा तारा खसेको छ।

२०२३ सालमा पहिलोपटक चलचित्र माइतीघरमा भारतीय गायिका उषा मंगेशकरसँग गाएको ‘नमान लाज यस्तरी’ बाट  सुमधर मखमली आवाजका धनी  प्रधानको पाश्र्वगीतको सुरुवात भएको थियो। तिनै प्रधान बिहीबार आँखा चिम्लिएर हामीबाट कतै हराएका छन्। 

वि.सं.१९९४ सालमा जन्मेका सुमधुर स्वरका धनि प्रेमध्वज प्रधान बिहीबारबाट जीवनको घुम्तीमा कहिल्यै आँखा जुधाउन नआउने गरी अस्ताएका छन्।   

प्रेमध्वजको नाम सुरुमा गणेशध्वज थियो। निकै सुन्दर र आकर्षक देखिने उनलाई यस्तो नाम सुहाएन र, विद्यालयका  प्रधानाध्यापकले प्रेम राखेर प्रेमध्वज बनाई दिएका थिए रे। सबैले प्रेम गरेका तिनै गायक संगीतप्रेमीलाई रुवाउँदै बिदा भए। ‘पर लैजाऊ फूलहरु..’ मार्फत् प्रियसीलाई याद नगर्न सिकाउने प्रधानले याद आउने धेरै चिजहरु हामीमाझ छाडेर गएका छन्।  

माइतीघर, अन्याय, मायालु, बदलिँदो आकास, फेरि फेटौँला, जीवनरेखाजस्ता   थुप्रै चलचित्रहरुमा स्वर दिइसकेका प्रधानले सात सयभन्दा बढी आधुनिक, राष्ट्रिय, लोक, भजन, नेवारी गीत गाएका छन्। उनका सुमधुर गीत विभिन्न समाजिक सन्जालमार्फत्  बिहीबारमात्र  दशौंहजार पटकभन्दा बढी बजेका छन्। उनका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘तारा मात्र हैन तिमीलाई’ ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

२०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम भएका उनले  गोरखा दक्षिण बाहु चौथा, छिन्नलता पुरस्कार, विख्यात त्रि–शक्तिपट्ट तेस्रो, भूपालमानसिंह पुरस्कार, गंगा लुनकरणदास चौधरी पुरस्कार लगायतका थुप्रै सम्मान पाएका छन्।  

‘तारामात्र हैन तिमीलाई जुन पनि दिइदिउँला...माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला’ गाउने गायकले आफ्ना परिवार र शुभचिन्तकलाई दुखित तुल्याउँदै जीन्दगीको यात्रा टुंग्याएका छन्। उनले यात्रा टुंग्याए पनि  उनको स्वरमा सजिएका सुमधुर गीतहरुका माध्यमले नेपाली श्रोताहरुले उनका गीत समाउँदै अनन्तकालसम्म उनीसँगै हिँडिरहनेछन्।

प्रकाशित: २३ वैशाख २०७८ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App