६ वैशाख २०८१ बिहीबार
कला

अमेरिकन आइडलको शीर्ष सातमा ‘अर्थर गन’

नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन्। उनी ‘कोको’ फिल्मको ‘रिमेम्बर’ बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन्।

निर्णायक तथा गायिका केटी पेरीले अर्थर गनको सो प्रस्तुति अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भनेर तारिफ गरेकी थिइन्। ‘गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं,’ उनले भनिन्, ‘हामीले सधैं तिमीलाई सम्झिरह्यौं।’ अर्का निर्णायक लायोनल रिचीले उनको गायन शैलीको प्रशंसा गरेका थिए। ‘स्टाइलिस हुनु ठूलो कुरा हो,’ उनले भने, ‘तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ। तिमीलाई आइडलमा पुनःस्वागत छ।’ शीर्ष सातमा पुग्न प्रतिस्पर्धीले डिज्नीको गीत गाएका थिए।

अर्थर गनले यसपटकको अमेरिकन आइडलमा कमब्याक प्रस्तुतिमार्फत शीर्ष १० मा प्रवेश गरेका थिए। गत वर्ष उनी उपविजेता भएका थिए। यसपटक अमेरिकन आइडलले गत वर्षका १० सहभागी कलाकारलाई कमब्याक प्रस्तुतिमार्फत यस सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका दिएको थियो। फेरि अमेरिकन आइडलमा फर्कंदाको अनुभवबारे उनले भनेका थिए, ‘सुरुमा मलाई अचम्म लाग्यो। फेरि यही स्टेजमा गाउन पाउँछु भन्दा खुसी पनि लाग्यो।’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साटेका छन्।  

‘सर्वप्रथम सबैलाई धन्यवाद दिन चाहन्छु, ज–जसले मलाई भोट दिनुभयो,’ उनले भनेका छन्, ‘अमेरिकन आइडललाई पनि यो अवसरका लागि धन्यवाद। फेरि आइडलको स्टेजमा फर्कन्छु भन्ने सोचेको थिइनँ।’

प्रकाशित: २१ वैशाख २०७८ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App