२ जेष्ठ २०७८ आइतबार
कला

बागदाता

कथा

चन्द्र रानाहँछा

 

रमिते गाउँँ–

साया घरमा आराखा (रक्सी) पार्दैछिन् । जतिपटक वाताको पानी फेर्छिन्   उति पटक फुङ्गाको  बिटमुनि  औंलाले धर्का तानेर पाने संख्या (पानी फेरेको  संख्या) चिन्ह लाउँदैछिन् । 

सायाको मोबाइलमा रिङ् बज्छ । उनी देब्रे   हातले धुवाँले चहरयाएको आँखा मिच्दै जस्केलमा गएर दाइने हातले मोबाइल रिसिभ गर्छिन् । 

साया – हेल्लो !

धुवाँले गर्दा मोबाइलमा नम्बर देखिँदैन ।  

उताबाट फोन गर्ने मान्छे ध्यानु हुन्छ ।  

ध्यानु – साया!

सायाले दाइको आवाज चिन्छिन् । उनको हृदयमा माइतीको मायासँगै डरको हिमाल एकसाथ चुलिएर आउँछ । दुवै आँखा पररर रसाउँछ ।  

साया– (खुसी र भय मिश्रित भावमा बोल्छिन्) दाजै, म..म... !  

ध्यानु– मैंले माया मारें बैनी तँलाई, म बाँचिन्जेल साप्सु खोला तरेर नआउनू !

फोन काटिन्छ । सायाले जस्केलमा उभिएर रुँदै पारि हेर्छिन् । सधैं थोरै भाग मात्रै देखिने साल्मा (माइती) गाउँको शिरलाई आज तुवाँलोले छपक्कै ढाकेको छ । तल बगिरहेको साप्सु खोला एकोहोरो ‘स्वाँ...’ गरेर सुसाइरहेको छ।  

साया विक्षिप्त भएर बाहिर निस्किन्छन् । माइतघर छोड्दा परिवारको एकप्रति सामूहिक तस्वीर साथमा ल्याएकी थिइन् उनले । जो, अहिले प्रेममा सजिएको छ । उनी प्रेमको तीनै तस्बिर झिकेर सुम्सुम्याउँछिन् । तस्वीरमा दुधे सायालाई बोकेर उनको पापा उभिएका छन् । फुच्चे दाइ (ध्यानु) लाई आमाले समातेकी छिन् ।  

तस्वीर हेर्दाहेर्दै सायाको आँसु तस्वीरमा माइती (ध्यानु)को छातीमै खस्छ।

नाम्बुङ स्कुलबाट आइपुग्छ । सिकुवाको खाटमा बसेर कोर्ट खोल्छ । आँगनमा कुखुराहरू चरिरहेका छन् । घुरयानको खोरमा पन्ध्रबीस धार्नीको सुँगुर चारो खाइरहेको छ।  

नाम्बुङ– खाजा के छ हौ ? सारै भोक लाग्यो। (भित्र पस्छ)  

साया– नक्कल पारेर खुब बिहान भातै नखाई जानुभाथ्यो त, अहिले निस्क्यो ? (मुस्कुराउँदै) सुठुनी उसिन्देको छु, बस्नुस्, वासिम छान्दिउँ ?  

नाम्बुङ  – वासिम त खान्न हौ । मही छ ?  

साया– थ्यो, अमिलिएछर चारोमा पो हाल्दिएँ।  

नाम्बुङ सुठुनी उप्काउन थाल्छ । सायाले आम्खोरामा पानी ल्याएर अगाडि राखिदिन्छन्।  

साया सुँगुरलाई चारो पकाउँदैछिन् । नजिकै फोसीमा भर्खरै उतारेको रक्सीको कट छ।  

साया– (चारो चलाउँदै) दाजुले फोन गर्नुभाथ्यो आज!

नाम्बुङ – हो र ? (उत्सुक्तापूर्वक) के भन्नु भो त ?  

साया– ऊ बाँचिन्जेल मेरो माइत गाउँँको बाटो बन्द भो अरे, साप्सु तरेर नआउनु भन्नुभो!

सायाको अनुहार उदास हुन्छ । नाम्बुङ्ले मुखमा लाएको सुठुनी चपाउन बिर्सेर सायालाई हेर्छ।

नाम्बुङ– मैले गर्दा तिमी चेलीमाइती बिचमा पर्खाल अग्लियो।  मलाई माफ गर। (लामो सास तान्छ)

साया चारो चलाउँदै नाम्बुङलाई हेर्छिन् । नाम्बुङ भावुक देखिन्छ । चारो उतार्छिन्। चारोको भाँडालाई टालोले समातेर सुँगुर खोरमा लगि पाखुङमा खन्याउँछिन् र रित्तो भाडा लिएर घरभित्र छिर्छिन्।

नाम्बुङ – कत्ति कडा रिस हौ हैट ।  

साया नाम्बुङलाई पुलुक्क हेर्छिन् र तख्ताछेउ उभिएर थालहरू मिलाउँछिन् । नाम्बुङलाई खान रुचि हुँदैन। ऊ जुरुक्क उठेर सायाको छोउमा पुग्छ । कपाल सुम्सुम्याइदिँदै सायालाई अँगालेर चुम्छ।

नाम्बुङ – म छु नि , अब तिम्रो संसार मै हुँ ।

सायाले हिक्कहिक्क रुँदै दुवै हातले च्याप्प समाउँछिन् नाम्बुङलाई । नाम्बुङले उनकोे बिस्तारो आँसु पुछिदिन्छ ।

नाम्बुङ– जोसँग हृदय हुन्छ, उसैलाई मात्र थाहा हुन्छ माया र सम्बन्धको मूल्य , हुदय नै नहुनेलाई त के माया, के सम्बन्ध ।  

नाम्बुङको घर टिनले छाएको छ । घर मतानबिचमा ठूलो आँगन छ । आँगनछेउ धारा छ । घरमाथि किम्बुको रुख छ । किम्बुको फेदमा उभिएर रेमनले एकचोटि किम्बुको टुप्पोमा बसेको जुरेलीलाई गेटिसले हान्छ । जुरेली उडी जान्छ ।  

रेमन – थुक्क, अलिकतिले हौं , (विस्मात गर्छ) । जुरेली उडी गएपछि बल्ल उसले नाम्बुङलाई बोलाउँछ) ‘नाम्बुङ अंकल, नाम्बुङ अंकल ...!’ 

नाम्बुङ– (भित्रबाट आँगनमा निस्कँदै) को हो ? (रेमनलाई देख्छ) किन रेमन ?

रोमन– हल्दार कोपाकोमा दन्ते कोपा र इन्द्रहाङ अंकल जुद्धैछ ।  

नाम्बुङ – लौ, के गर्छ इनरु ? हिँड् त हिँड् ।  

दुवैजना तेर्सै दौडिन्छ । घरभित्रबाट साया आँगनमा निस्किन्छन् । नाम्बुङ र रेमनलाई कुद्दै गएको परसम्म हेरिपठाउँछिन्।

हल्दारको घरको आँगन अलि साँगुरो छ । आँगन कुनामा कुखुरा खोर छ । अस्ति साउनको एकराते झरीमा घर माथ्लोपट्टिको डिल भत्किझरेर ढुंगा थुप्रिएकाले सानो आँगन झन् साँगुरो भएको छ । आँगनछेउ लिची, लहरे आँप र जामुनको रुख छ।

साँगुरो आँगनबीचमा हँछा र खुसेले दन्ते साइँलाको निधारको आलो घाउको प्राथमिक उपचार गर्दैछन् । हँछाले घाउलाई औषधि हाल्दिएर पट्टीले बाँधिदिँदैछ। खुसेले साइँलालाई समातेकी छिन् । छेउमा एक आम्खोरा पानी छ।

नाम्बुङ आइपुग्छ । रेमन चैं अलि परै ढुङ्गामा छलिएर सिमीको झ्याङमा बसिरहेको भद्रायोलाई गेटिस ताक्न थाल्छ।

नाम्बुङ  – हैन, के भौ काका ? किन जुध्नुभाको ? (साइँंलाको घाउ हेर्दै) ओहो, चोट त गैह्रो छ त, केले हान्यो बज्याले ?

दन्ते साइँला  – ए भतिज, हँहँ, हँना दिन बिग्रेपछि कसैको केई लाग्दैन है। (घाउ छाम्दै) हना रत्ना पकुकोमा एकसेर आराखासँगै किनिखाइङ् कि राजनीतिग् डिस्केस गर्दै झर्दै पो थिङ् ता, याँ आङ्नुसाथ हात मिसामिस भैगो, त्याँखी हँहँ, बराबरी नै पो जुध्दै थिङ । त्यसले प्वाक्क हान्दा, मुइले स्वाट्टै छेल्थें, मुइले बुङ्गै हान्दा त्यसले झ्वाट्टै– छेल्थो तर, अन्तिम फाइनलमा मुजीले चुप्पी झिकेछ । मुइले देख्दै देखिना ।

नाम्बुङ – अनि ?  

दन्ते साइँला  – अनि ता, ई ... (घाउ देखाउँदै) ल्वात्तै ताछिहालो जाँठाले, के गर्नु, आबो यस्तै भो भतिज । यो सबै दशै रैछ भनुङना हँहँ।

साइँलाको आँखामा कचेरा र आँसु बराबर टल्किएको छ । साक्षर साइंलाको गरिबी उसैले लगाएका अधर्ने दौरा सुरुवालले प्रदर्शन गरिरहेको छ । गरिब भए पनि साइँला गाउँमा अत्यन्तै मेहेनेती र इमानदार मान्छे हो ।  

नाम्बुङले कपास पानीमा भिजाएर घाउबाट बगेको रगत सफा गर्दिन्छ।

नाम्बुङ– माथि नेताहरू चैं बाहिर कुकुर र बिरालोजस्तो गरे पनि भित्र एकमुख भइहाल्छ, तल हामी जनताहरू चैं आराखा खाएर पार्टीगत डिस्कोस गर्दै यसरी मारामार गरिरहन्छौं...।

दन्ते साइँला  – राजनीतिग् ता निहुँ मात्रै ह, मुजीले मलाई हेपेर हात लायो, गरिब र अनपढ् हुनु नजाती रैछ भतिज, अनाहकमा चुटिनुपर्छ, आफूले फर्काङ्नु सकिन्दैना।  

नाम्बुङ– कहाँ गयो त इन्द्रे डाका ?

दन्ते साइँला  – हना बसिराख्छ त्यो ? इ मलाई ताछिराखेर टाप कसिगोनी तर मान्छे राख्छु आबो म, मेरो पाइन देखाउँछु चोरलाई ... ।



रमिते गाउँँ–

उच्च मावि साइनबोर्डमा लेखिएको छ–  ‘रमिते उमावि बेंसीटोल ८, रमिते, खोटाङ ।’

नाम्बुङ हातमा किताब र चक समातेर पढाउँदैछ । ब्ल्याकबोर्डमा चकले ठूलो अक्षरमा लेखिएको छ ‘इतिहासको पुनर्लेखन र पहिचानको मुद्धा!’

नाम्बुङ – जब एकात्मक अर्थात् केन्द्रीकृत राज्यप्रणाली स्थापना गरेर खस् नेपाली भाषालाई मानक बनाइयो । दुर्भाग्य, त्यस यताका कालखण्डबाट हाम्रो खास इतिहास, अभिलेख, पहिचान, भाषा र संस्कृति लोप हुँदै गए।

झ्यालछेउमा बसेकी एक छात्राले नाम्बुङलाई बाहिर हेर्न संकेत गर्छिन्।

छात्रा – सर, हजुरलाई बाहिर बोलाउँदै हुनुहुन्छ।

नाम्बुङ्ले किताब हातमै समातेर ढोकाबाट बाहिर हेर्छ । बाहिर पर्खाल छेउमा साया उभिएकी छिन्।

नाम्बुङ – तिमी ? (बाहिर निस्किन्छ )

साया– (बिस्तारै) एकछिन हेल्थपोस्ट जाऔं न।

हेल्थपोस्टमा नर्सले सायाको प्रेसर, सुगर, रगत लगायतका परिक्षणहरू गर्छिन्।  

नर्स  – (मुसुक्क हाँस्दै) बधाईछ तपार्ईंं दुवैलाई, छिट्टै ड्याडी ममी बन्दै हुनुहुन्छ।

साया र नाम्बुङले खुसी हुँदै एक अर्कालाई हेर्छन् ।  

साया र नाम्बुङ हेल्थपोस्टबाट फिर्दैछन् । बाटो वपिरिर घँघर, एेंसेलु, काफल र निगालोका झ्याङहरू भेटिन्छन् । कहीँ खोल्सा, कहीँ धारा–कुवा र कहीँ वरपीपल चौतारी भेटिन्छ।

चौतारी छेउमा आइपुगेपछि नाम्बुङले ठट्टिदै सँगै हिँडिरहेकी सायाको पेट छोएर सोध्छ – यो पेटमा हुर्किरहेको मान्छेको नाम के राख्ने ?

साया– हजुरले राख्दिनुस् न।(लजाउँछिन्)  

नाम्बुङ – हाम्रो नाम र मायाको चिनो हो। त्यसैले अब उसको नाम हो ‘सायाबुङ’।

साया– आहा, कस्तो राम्रो नाम (उनी पनि दोहो¥याउँछिन् )  ‘सायाबुङ’।

नाम्बुङ– हाम्रो पुनर्जन्म ‘सायाबुङ’ (सायालाई हेर्छ) ।

साया हिँड्दै नाम्बुङको शरीरमा लेपिन्छिन् । नाम्बुङले उनलाई सुस्तरी एक हातले समाउँछ । पाइलाको धिमा गति चलिरहन्छ ... ।

साया – (भावुक भएर) कति माया गर्नुहुन्छ है मलाई। (टाढा देखिने हिमाल चुचुराहरू हेर्दै) हजुरको मायामा रमाउनु यो नाथे एक जुनी थोरै हुन्छ मेरो लागि।  

नाम्बुङले सायालाई हेर्छ, सायाको दुवै आँखामा आँसु भरिएको छ।

नाम्बुङ – अपुग माया अर्को जन्ममा गरौंला नि , जन्म त फेरि पन् हुन्छ रे।

साया – आ... भनाइ मात्रै, कस्ले देखेको छ र? अर्को जन्म हुन्छ, हुँदैन। (नजिकैको बाँसको टुप्पामा चरा उड्दै आएर बस्छ । (त्यतै हेर्दै) भए पनि, मान्छे नभई चरा भइएला, बेग हानेर कहाँकहाँ एक्लाएक्लै पुगिएला ... (सुस्केरा छोड्छिन्)।

नाम्बुङ– चरा भए त हुन्थ्यो नि लाटी।

साया– के भइएला त ?

नाम्बुङ – (पारि भित्ताको पहिरो र उजाड पहाडहरू हेर्दै) म पहाड हुन्छु होला , पर्खिरहन्छु होला तिमीलाई, तिमी चैं खोला भएर मलाई नभेटी उँधै उँधो बगिजान्छौं होला ... ।  

निकै तल बगिरहेको खोला धर्साजस्तो मात्र देखिन्छ ।  

हिँड्दाहिँड्दै सायाले नाम्बुङलाई जोडले समात्छिन् । उनको आँखामा जमेको आँसु नाम्बुङको छातीमा तपतप खस्छ । 

 ( चन्द्र रानाहँछाकृत प्रकाशोन्मुख कथा कृति  ‘वाग्दत्ता’ को कथांश !)

प्रकाशित: २० वैशाख २०७८ १९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?