१ जेष्ठ २०७८ शनिबार
कला

पीडितहरूको कथा दंश

समीक्षा

ओमबहादुर राना क्षेत्री

समाजमा दिनहुँजसो कोही न कोही पीडित हुन्छन् । त्यही पीडालाई टपक्क टिपेर लेखक सिर्जना गर्छन् । त्यसैले कथामा धेरैजसो पीडा नै आउने गर्छ । दिनमानको दंश कथा सङ्ग्रह तिनै पीडाहरूको संगालो हो भन्न सकिन्छ।

नेपाली समाजको वर्तमान समयको चित्रण पाइने दंश कथा संग्रहमा जम्मा १८ कथा छन् । पहिलो कथा अनुहार अनायासै हुन गएको यौन सम्बन्धले उत्पन्न परिस्थितिमाथि घुमेको छ । माओवादी युद्घको उत्तरार्ध मा चौकी आक्रमण हुँदा ज्यान जोगाउन भागेको एक प्रहरी शरण लिएको घरको युवतीसँग राति भएको सहवास र परिस्थिति कथाको अन्तमा खुलेको छ । त्यो कुरा म पात्र प्रहरीलाई पनि चिठीमार्फत् ज्ञात हुन्छ । र, बेवारिसे ठानिएको बालक उसैको भएको पुष्टि हुन्छ।

विपन्न मुसहर भगीरामको तराईमा हिउँदमा ज्यानमारा बन्ने चीसोसँगको कथा हो घुर । सानो झोपडीमा जीवन गुजारिरहेको उसको घरमा न्यानो ओछ्यानको अभाव छ, उसको आयआस्ताले गर्जो धान्न सकेको छैन । चीसो धपाउन रक्सीको सहारा लिएको उसले स्वास्नी र आमालाई समेत रक्सी खुवाउँछ र नशामा आगो ताप्ने घुरमा घरको छानो खरानी बनाउँछ । सतहमा चिसोको कथा लागे पनि यो आर्थिक विपन्नतामा जिउने मुसहर समुदाय र तराईका विपन्न नागरिकको कथा हो जसले चिसोबाट बर्सेनि अकालै ज्यान गुमाउने गर्दछन् ।  

महामारी कथामा युद्घकालमा घाइते बनेर आएका कमरेड विश्वजीतका राजनैतिक सम्भाषणले म पात्र उनीप्रति र उनले बोकेको दर्शनप्रति आकृष्ट भएको छ । उच्च नेतृत्वमा रहेका उनले केही परे सम्झिन दिएको आश्वासनले म पात्र पानीको जोहो गरिदिने माग, आशा, अपेक्षा बोकी राजधानी पसेपछि रित्तो फर्किन विवश छ । जसले आजको राजनीतिक अवस्थाको चित्रण गरको छ । योद्घासँग केही पल कथाले जनताको मुक्तिको संघर्षमा आफ्नो जीवनको परवाह नगरी होमिएकाहरूको पक्षमा बोलेको छ । जसले परिवार गुमाएको छ, जीवनको उज्यालो गुमाएको छ तिनले भोलिको चिन्ताचाहिँ व्यक्त गरेको छ ।  

संसारबाट महिला गायब भयो भने के हेन्छ ? के पुरुषहरूले आजको जस्तो जीवन बाँच्न सक्छन् ? यस्ता प्रश्नहरू चियाको बाफ कथा पढेपछि पाठकको मनमा आउन सक्छन् । महिलाबिनाको संसारको कल्पना पनि गर्न सकिन्न । तर, यही समाजमा महिलामाथि हिंसा गरिन्छ । झन् हिजोआज त प्रहरीबाटै महिला पीडित छन् । कथा संग्रहको शिर्ष कथा दंशको मूल मर्म पनि यस्तै छ । दंश कथामा प्रहरीद्वारा नै प्रहरीकी पत्नी बलात्कृत हुन्छिन् । पुलिस प्रशासनको धज्जी उडाइएको छ। संग्रहको शीर्षक कथा दंश घटना, परिवेश, उपकथा बनोटको कोणबाट उत्कृष्ट भएको छ।

प्रेमको धरहरा २०७२ को भूकम्पमा अवसान हुन पुगेकी प्रेमिका र त्यो जोडी प्रेमयात्रीको प्रेमकथा हो । त्यस्तै गरी आधुनिक समाजमा अब पुरुष वेश्या पनि छ भन्ने उजागर गरेको छ पुरुष कथाले । पुरुषहरू बेरोजगारीको मारमा अहिलेको शहरीया महिलाको उपभोगको साधन बनेको पुस्ट्याइन्छ  । कथाले समाजको अँध्यारो दिशा र विचलनलाई उजागर गरेको छ । यसबेला ऊर्जावान् युवा पुरुष वेश्या बन्न विवश छन् भने शहरीया महिलामा भयावह रूपमा झाँगिदै गएको अनैतिक लहराको कहालीलाग्दो पटाक्षेप गरिदिएको छ कथाले। 

पराजित जस्तो कथाले आत्महत्या उचित नरहेको र जीवनमा धेरै गर्न बाँकी रहेको बताएको छ । वैदेशिक रोजगारीले नेपाली समाज र युवालाई डसिरहेको यथार्थ संक्रमण कथामा प्रस्तुत भएको छ । कतिले लास बन्नु परेको छ, कतिले विभिन्न रोगले पीडित बन्नु परेको छ र कतिले नैतिक विचलनले पारिवारिक जीवनको दुर्घटना तथा पैसाको बर्बादीलाई सहनु परेको छ जो कुरा कथामा आएका छन् । मूलतः वैदेशिक रोजगारीले निम्त्याइरहेको हाम्रो पीडा कथामा चित्रित भएको छ ।

हामी अनलाइनको दुरूपयोगले बढेको ब्लयाकमेलिङ, हत्या र आत्महत्याको दुःखद जीवन जिउन बाध्य छौं जसलाई वेभ तृष्णा कथाले बयान गरेको छ । मूलतः अनलाइनका घिनलाग्दा क्रियाकलापबाट म पात्रझैं बचाउनु वेभ तृष्णा कथाको आदर्श मर्म हो । निलो गुलाब अर्को उत्कृष्ट कथा हो । कथा रहस्यमय छ । यसको कथानक सुन्दर छ । कथाले बढ्दै गरेको कालो धन, अपराधमा प्रहरीको संलग्नता, खोजी पत्रकारिताको जोखिम, अनैतिक यौनकाण्डलाई चित्रण गरेको छ । पनामा पेपर्स, तेत्तीस किलो सुनकाण्ड आदिले हाम्रो वर्तमान अपराधका प्रवृत्तिलाई उदांगो पारेझैं यस कथाले राज्यलाई कालो धनप्रति सजग गराउने प्रयत्न गरेको छ।  

संग्रहको अन्तिमक कथा मधेशको गर्मीमा म पात्र अन्ततः आफैसँग हुर्केको, पढेको घनिष्ट साथी असल मबाट अपहरित भएको छ । यसैगरी रामहरिको ठूल्दाइ, अब्दुल, रामललवा, भुवन हमाल, म पात्रको बाजे कमानसिंह, जितन ठाकुर आदि पात्र मधेश आन्दोलनको लप्काको शिकार भएका घटना र प्रवृत्रिमाथि कथा बुनिएको छ । पात्र परिचयसहित आएको यस कथामा मधेशमा चलेको पहिचान र आत्मसम्मानको आन्दोलन र सँगै त्यसमा वनमाराझैं हुर्किएका साम्प्रदायिकता, आग्रहपूर्वाग्रह, बदलाको भावना, अपराध, भूमिगत गतिविधिलाई मिहिन ढंगले केलाउने प्रयास गरिएको छ । कथाको बनोट, घटना र उपकथाको संयोजन आकर्षक र लोभलाग्दो छ । शब्द र वाक्यको सरलता यसको अर्को बलियो पाटो हो । त्यस आन्दोलित समयलाई यसले लिपिबद्घ गर्ने प्रयास गर्नु पनि प्रशंसनीय पक्ष हो भने हरेक नेतृत्वलाई आन्दोलनले जन्माउने जोखिम, अराजकतातर्फ पनि यसले सचेत पारेको अनुभूति हुन्छ।

सरल शब्द र वाक्यमा कथाहरू लेखिएका छन् । आगन्तुक शब्दको प्रयोगलाई स्थान दिइएको पाइन्छ जसलाई निरुत्साहित गर्नुपर्दथ्यो । व्याकरणीय शुद्धता खट्किन्छ । कथाले ससानादेखि गहन विषय सामान्य प्रस्तुति र घटना तथा उपकथाका माध्यमबाट बयान गरेका छन् । पात्र अभावमा जन्मिएका छन् र ती अभावसँग पौँठेजोरी खेल्दछन् । कतिपय पात्र पत्रकारका भूमिकामा उदाएका छन् भने परिवेशमा कफीसप हावी भएको लाग्दछ । यथार्थलाई काल्पनिकताले समेत रंग्याइएको पाइन्छ ।  कथानक दोहोरिनबाट बचाउन अलि असावधान भएको लाग्दछ ।  

कतिपय शब्द, वाक्य, अनुच्छेद र सन्दर्भलाई निफन्न आवश्यक देखिन्छ । यस कार्यमा सम्पादकीय पाटो गम्भीर हुनुपर्दथ्यो । समग्रमा कथा संग्रहले सामयिक यथार्थलाई अहम् स्थान दिएको छ । संग्रहले कथाकार दिनमान गुर्मछानको कथाकारिताको यात्रालाई उज्यालो देखाएको छ।

प्रकाशित: २० वैशाख २०७८ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?