२ जेष्ठ २०७८ आइतबार
कला

सन्तानको मूल्य

लघुकथा

खेमराज पोखरेल  

 

उसलाई मैले ज्यादै मन पराउने कारण हो उसको जीवनकथा । उसले हाँसउठ्तो तथा दिक्कलाग्दो आफ्नै कथा सुनाएकी थिई । कथासार यस्तो थियो –ऊ एक्ली छोरी थिई । आठ वर्षकी छँदा उसका बाबु कतारबाट रातो बाकसमा आएका थिए । आमा छाती पिटीपिटी रोएको उसलाई सम्झना थियोे।  

उसकी आमाले मान्छेको घरमा गएर लुगा धोएर, भाँडा माझेर र घरधन्दा गरेर जीविका चलाउनुभएको थियो । आमाले कमाएको प्रायः सबै पैसा उसको पढाइमा खर्च गर्नुहुन्थ्यो । ऊ बाह्र वर्षकी थिई । ७ कक्षामा पढ्न गाउँभन्दा निकै परको स्कुलमा जानुपथ्र्यो । सबै साथीभाइसँग साइकल थियो । उसले पनि एक दिन आमालाई भनी  – आमा, मेरा सबै साथीसँग साइकल छ । मलाई स्कुल पुग्न गाह्रो छ । एउटा साइकल किनिदिनु न ।

आमाले भन्नुभयो रे – पख एकदुई महिना, पैसाको जोहो गरेर किनिदिन्छु ।  

तर ६ महिनासम्म पनि आमाले साइकल नकिनिदिएपछि उसले आमालाई दह्रोसँग भनी – मलाई साइकल नकिनिदिने भए म स्कुल जान्न।

आमाले उदास भएर भन्नुभयो – छोरी, तिमीले धेरै पढ्नु पर्छ । ठूलो र असल मान्छे बन्नुपर्छ । म तिमीलाई भोलि नै साइकल किनिदिन्छु ।

आमाको कानमा एकजोर टप थिए रे सुनका । टुपुक्क परेको । त्यो लाउँदा आमालाई अप्सराजस्तै राम्रो देखिन्थ्यो रे । त्यो टप उसकी आमालाई सासूले दिएको चिनो थियो रे।

आमाले त्यो टप लाउनुभएको थिएन रे । कसैले सोधे भन्नुहुन्थ्यो रे – चोरको बिगबिगी छ । सासूको चिनो हरायो भने त पितृले पनि सराप्छन् । त्यसैले सन्दुकमा थन्क्याइदिएकी छु।

दिनहरू बिते रे । उसले एसएलसी सकेर जागिर खान थालेपछि आमालाई भनी रे – आमा, त्यो टप नलगाएको धेरे भयो । अब लगाउनू न । कस्तो राम्रो सुहाउँछ तपाईँलाई ।  

आमा केही बोल्नुभएकै थिएन । सँगै रहनुभएकी ठूली आमाले भन्नुभयो रे – टप भए पो लाउनु । तेरो साइकल किन्दा बेचेको नि।

उसले एकदम रिसाएर भनी रे – आमा, पुर्खाको चिनो, त्यति राम्रो टप किन बेच्नुभएको ?

अनि आमाले जवाफ दिनुभएको थियो रे – पुर्खाभन्दा सन्तान प्यारो हुन्छ नि त छोरी।  

प्रकाशित: १९ वैशाख २०७८ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?