११ कार्तिक २०७८ बिहीबार
कला

कोरोना राहत

लघुकथा

जताततै कोरोनाको महामारी फैलिँदै थियोे । त्यसको प्रभाव सुन्तले चउरमा पनि पर्‍यो। सरकारले एक्कासि लकडाउन घोषणा गर्‍यो।

सडक नजिकै खुला पाखामा सक्कले कान्छा पाल टाँगेर बसेको थियोे । उसकी स्वास्नी तीन महिने सुत्केरी थिइन् ।

अचानक सक्कले कान्छाले प्रहरी चौकीमा राहत बाँड्दै गरेको सुन्यो । उसले फुरुङ्ङ हुँदै श्रीमतीसित खुसी बाँड्यो, ‘ओई डल्लेकी आमा, भोकभोकै मरिन्छ भनेर डराउनु पर्दैना आबो । प्रहरी चौकीमा नाउँ लेखाएपछि रासनपानी र दुईदुई हजार पैसा पाइन्छ रे । म त्यहीँ गएर आङ्छु है आबो।”

नभन्दै सोधखोज गर्दै ऊ त्यहाँ पुग्यो । वरदेखि परसम्म लाइन लागेको थियोे । एक अर्का अलि टाढाटाढा बसेका थिए। ऊ पनि रमाउँदै लाइनमा ठिंग उभियो।

ऊ चैते घाममा उभिँदाउभिँदा पसीनाले निथ्रुक्क भिज्यो । फत्रक्क गल्यो तर उसको हतपती पालै आएन । ऊसँग उभिने सबैले खुरुखुरु राहत पाउँदै थिए।

उसले सम्झ्यो, ‘मैले यत्ति पाएँ भने डल्लेकी आमालाई दुई महिना पुरयाउँछु।’

घाम डुब्नै लागेको थियोे। जाडो हुन थालेको थियोे। बल्ल ऊ गेटमा पुग्यो।

नाउँ टिपाउनेले सोध्यो – नागरिकता दिनुस् ।

– मासँग ता छैना नागरिकता।

– त्यसो भए घरबेटीको नाउँनम्बर भन्नुस् ।

– मेरा त घरबेटी छैना । मा ता सुकुम्बासी बस्तीमा बस्छु ।’

– नागरिकता पनि छैन, घरबेटी पनि छैन भने राहत पाइँदैन । खुरुखुरु घर फर्किए हुन्छ ।

–हैना सर, मा ता  बिहानैदेखि लाइनमा बसेको । मेरी श्रीमती सुत्केरी छा।

–श्रीमती सुत्केरी भएर के गर्नु ? नियमले मिल्दैन।

– हजुर यो नागरिकता कसले दिन्छ ?

– कस्तो बुद्धू मान्छे रहेछ । सरकारले दिन्छ नि।

– सरकार कहाँ छ बास्छ ?

– कस्तो कुरा गर्छ यो मान्छे ? यो सबै सरकार त हो नि 

– हेर्नुस् त, साहुका परिवारले जनैपिच्छे राहत लगे। यो त धनीको सरकार हो । मालाई बताइदिनुस् न, हामी गरीबको सरकार  कहाँ बसेको हुन्छ होला ?

प्रकाशित: १५ वैशाख २०७८ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App